९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

चिन्ता छैन चीनमा

चीनमा कोभिड–१९ संक्रमण सुरु भएको २ महिना बितिसकेको छ। गत जनवरी २३ तारिखदेखि बन्द भएको हुपेई प्रान्त र त्यसआसपासका क्षेत्र अझै खुलेका छैनन्। सन् २००२÷३ मा भोगेको सार्स संक्रमण र त्यो नियन्त्रण गर्दाको अनुभवकै आधारमा चीनले नयाँ कोरोना भाइरसको उद्गमस्थल उहान र हुपेई प्रान्त बन्द (लक्ड) गरी क्वारेन्टाइन र सेल्फ आइसोलेसन प्रणाली सुरु गरेको हो। चीनले अवलम्बन गरेको यो पद्धतिको आलोचना गर्दै पश्चिमी मुलुकले चीनविरुद्ध लाञ्छना लगाएका थिए।

तर अहिले विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई विश्वव्यापी महामारी बन्नबाट रोकेको भन्दै चिनियाँ कदमको प्रशंसा गरेको छ र यो विधि अन्यन्त्र पनि लागू गर्ने जनाएको छ। पछिल्लो समय चीनका छिमेकी मुलुक– दक्षिण कोरिया र जापानमा कोभिड–१९ संक्रमण तीव्र गतिमा फैलिएको छ। तसर्थ त्यो नियन्त्रणका लागि चीनले आफ्ना अनुभवअनुसार ती देशलाई सहयोग गर्ने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चिच्याङले बताएका छन्। फेब्रुअरी २५ तारिख बेइजिङमा पत्रकार सम्मेलन गरी उनले उक्त जानकारी दिएका हुन्।

प्रविधि, पुँजी र जनशक्तिका दृष्टिले चीन सम्पन्न छ। तर पनि यतिबेला उसलाई कोभिड–१९ प्रकोपले हालयकायल बनाएको छ। यस्तो बेला कतिपय मुलुकमा भ्रामक समाचार र गलत सूचनाका कारण चीनको बदनाम गर्ने काम भइरहेका छन्। नेपालमा पनि धेरै मानिसमा कोरोना संक्रमणबारे भ्रम छ भन्ने कुरा हुपेईबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीप्रति स्थानीय बासिन्दाको बुझाइले पनि प्रस्ट पार्छ। कतिपय शुभचिन्तकले सोध्ने गर्छन्, ‘अहिलेसम्म किन चीनमा बसिरहेको ? किन नेपाल नफर्केको ?’ चीनमा यतिबेला के–कस्तो स्वास्थ्य सुरक्षा अपनाइएको छ र बस्नलाई कति सहज छ भन्ने जानकारी दिन यो आलेख तयार गरिएको छ।

पाइला–पाइलामा होसियारी र कडा निगरानीका कारण चीनमा अहिले कोरोना संक्रमण क्रमशः कम हुँदै छ। चेतना, प्रविधि, जनशक्ति र पुँजीको  अभाव नभएकाले ढुक्कसँग काम गर्न पाइएको छ।

साप्ताहिक बिदाअन्तर्गत गत जनवरी २४ तारिखदेखि ३ दिनसम्म मेरो बिदा थियो। त्यसैमा चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त पर्वको बिदा पनि खप्टिएको थियो। वसन्त चाडका अवसरमा बेइजिङका विभिन्न पार्कमा ७ दिनसम्म टेम्पल फेयर अर्थात् मेला आयोजना हुन्छन्। तीमध्ये तिथानमा लाग्ने मेला सबैभन्दा ठूलो हुन्छ। चीनमा साढे ६ वर्ष बिताउँदा सन् २०१६ को वसन्त चाडमा मात्र म तिथान मेला गइँन। लाखौं मान्छे भेला हुने भव्य मेलाको तामझाम हेर्दै फोटो र भिडियो खिच्न मात्र भए पनि म हरेक वर्षजसो त्यहाँ जान्थे। यसपटक पनि जनवरी २५ तारिख तिथान मेलामा जाने तयारी गरेको थिएँ। त्यहाँ गएर अफिसका लागि भिडियो र फोटो पठाउने जानकारी पनि गराएको थिएँ।

जनवरी २३ तारिख सहकर्मी कु छङसी (राधिका)ले उहानबाट फैलिएको नयाँ कोरोना भाइरस संक्रमण बढेकाले मलाई मेलामा नजान सुझाव दिइन्। अर्की सहकर्मी चाङचिङ (हिमा)ले पनि उही सुझाव दिइन्। त्यसको अघिल्लो दिन मात्र उनै चाङचिङले मलाई तिथान मेलामा गएर फोटो र भिडियो ल्याउन भनेकी थिइन्। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग मैले मेलामा जाने सल्लाह गरेको थिएँ। राजदूत सपरिवार मेलामा जाने तयारीमा थिए।

बिहीबार बेलुका अर्की सहकर्मी चु मेई (ललिता)ले विच्याटमार्फत एउटा चिनियाँ समाचारको लिंक पठाउँदै बेइजिङमा आयोजना गरिने सबै मेला रद्द गरिएको जानकारी दिइन्। मैले त्यसलाई अंग्रेजीमा अनुवाद गरेर पढें। जसमा  ग्रेटवाललगायत चीनका मुख्य पर्यटकीय स्थल पनि बन्द गरिएको सूचना रहेछ। अनि बल्ल मलाई झस्का पस्यो, कोरोना संक्रमण त निकै गम्भीर बनिसकेछ। भोलिपल्ट मैले राजदूत पौड्याललाई टेलिफोनमा मेला रद्द भएको जानकारी गराएँ। मेलामा नगए पनि शनिबार दूतावासमा भेट गर्ने हाम्रो सल्लाह भयो।

त्यो, चिनियाँ मुसा वर्ष सुरु भएको दिन थियो। सडक सुनसान थिए। बसमा यात्रु एकदमै कम थिए। बसमा भएका सबैले मास्क लगाएका थिए। मैले पनि जिन्दगीमै पहिलोपटक मास्क लगाएको थिएँ। काठमाडौंको धुलो र धुवाँमा मोटरसाकइल चलाउँदा पनि मैले कहिल्यै मास्क लगाएको थिइँन। मास्क लगाउने बानी नभएकाले उकुसमुकुस हुँदै थियो। राजदूत निवासमा पुग्दा पौड्याल सिजिटिएनमा समाचार हेर्दै थिए। त्यतिबेलासम्म हुपेई प्रान्त र उहान सहलाई चीन सरकारले ‘लक्ड’ गरिसकेको थियो। उहानमा १० दिनभित्र तयार गर्ने गरी अस्पताल निर्माण सुरु भएको कुरा पनि तातो समाचार बनिसकेको थियो। अपराह्न दूतावासबाट निवास फर्किंदा बसमा म एक्लो यात्रु थिएँ।

जनवरी २७ तारिखदेखि म नियमित कार्यालय जान थालें। कार्यालय छिर्ने गेटमै थर्मल गनबाट शरीरको तापक्रम जाँचेर मात्र पस्न पाइने व्यवस्था रहेछ। वसन्त चाडको बिदा भएकाले आलोपालो गरेर कार्यालयमा थोरै कर्मचारी मात्र उपस्थित थिए। समाचार कोरोनामय भइरहेका थिए। मास्क लगाउने उर्दी जारी गर्दै कार्यालयले हामीलाई मास्क दिएको थियो। कुनै भिडभाड स्थलमा नजान र बेइजिङ बाहिरबाट आएका व्यक्तिसँग भेट नगर्न भनिएको थियो।

चिनियाँ विज्ञान प्रतिष्ठान, अनुसन्धान क्षेत्रमा कार्यरत डा. कल्याण रोकाले नेपाल जाने योजना सुनाएपछि केही सामान पठाउन म फेब्रुअरी १ तारिख बस चढेर ओलम्पिक रंशालानजिकै उनी बसेको स्थानमा गएँ। म बसेको ठाउँबाट त्यहाँको दूरी लगभग २० किलोमिटर थियो। सामान्य समयमा ट्याक्सीलाई पनि १ घण्टाभन्दा बढी समय लाग्थ्यो। बसमा जाँदा केही दूरी हिँड्न पनि पर्ने भएकाले डेढ घण्टाभन्दा बढी लाग्थ्यो। वसन्त चाडको बिदा सकिए पनि कोरोनाका कारण बिदा थप गरिएकाले सडक खुला थिए। जसका कारण त्यस दिन बसबाट पनि म ४० मिनेटमै रोकाकहाँ पुगें। उनी मलाई लिन बस बिसौनीसम्म आए। उनी एउटा सानो होटलको दोस्रो तलामा बस्दारहेछन्। लबीमा कोही पनि थिएनन्। हामी सरासर कोठामा गयौं।

कोठामा पुगेको २ मिनटमै होटलका ३ कर्मचारीले ढोका ढकढक्याए। सोध्न थाले– को हो ? किन आएको ? कहाँबाट आएको ?  आदि इत्यादि। मैले सकेसम्म चिनियाँ भाषामा आफू बेइजिङमै काम गरिरहेको र साथी भेट्न आएको बताउँदै पाँचै मिनटमा फर्किने जानकारी दिएँ। तर उनीहरूको चित्त बुझेन। फोन गरेर प्रहरी पो बोलाउन थाले। लफडामा पर्नुभन्दा उम्किनु जाती  ठानेर म रोकाजीलाई नेपाल पठाउने सामान दिएर तुरुन्तै बाहिरिएँ। होटलबाट बसस्टपमा पुग्दा प्रहरी आउँदै थियो। होटलका मान्छेले मतिर औंल्याउँदै के–के भन्दै थिए म बस चढेर टाप कसें।

मेरो बसोबास क्षेत्र र कार्यालय लगभग ३ सय मिटर दूरीमा छ। कार्यालयको प्रवेशद्वारमा केही दिनमै थर्मल गनको सट्टा डिजिटल स्क्यानिङ क्यामरा राखियो। थर्मल गनबाट शरीरको तापक्रम मात्र जाँच्न सकिन्छ। स्क्यानिङ क्यामराले ५ मिटर टाढा उभिएको व्यक्तिको तापक्रम, धड्कन, श्वासप्रश्वास, छातीको अवस्था एकैचोटि देखाउन सक्नेरहेछ। क्यामरामा सीधा निधार पर्ने गरी केही सेकेन्ड उभिनुपर्ने र प्रवेश गर्नुपर्ने थियो। अहिले त्यो क्यामराभन्दा अत्याधुनिक प्रविधियुक्त अर्को क्यामरा जडान गरिएको छ। अब उभिनै पर्दैन। लामबद्ध भएका कुनै व्यक्तिमा कोरोना संक्रमण भए त्यसले तुरुन्तै औंल्याइहाल्छ। हरेक २ वा ३ घण्टाको फरकमा विद्युतीय भ¥याङ (लिफ्ट) तथा शौचालयमा कीटाणुनासक पदार्थ (अल्कोहोल) छिटेर शुद्धीकरण गरिन्छ।

सडक सुनसान थिए। बसमा यात्रु एकदमै कम थिए। बसमा भएका सबैले मास्क लगाएका थिए। मैले पनि जिन्दगीमै पहिलोपटक मास्क लगाएको थिएँ।

दैनिक हजारभन्दा बढी व्यक्तिलाई तत्कालका लागि क्यान्टिनबाट खाना लिएर घरमै खाने व्यवस्था गरिएको छ। खाना लिन जाँदा क्यान्टिनको प्रवेशद्वारमा पनि डिजिटल क्यामराबाट जाँच गरेर मात्र भित्र पस्न दिइन्छ। काममा अथवा अन्यन्त्र कतै गएर बसोबास क्षेत्रमा आउँदा प्रवेशद्वारमा हरेकपटक थर्मल गनबाट तापक्रम लिइन्छ। सानातिना तरकारी बजार अथवा ठूला सपिङ–मल जहाँ गए पनि बाहिरपट्टि थर्मल गनबाट तापक्रम लिएर मात्र भित्र पस्न दिइन्छ।

बेइजिङबाहिर जाने जो कोही पनि फर्किएपछि १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। चिनियाँ सहकर्मीहरू त्वान नाना (मुना) र लिउ सान (लालिमा) वसन्त चाडमा आफ्नो जन्म घर गएर जनवरी ३० मा बेइजिङ फर्किएका थिए। उनीहरू १४ दिनसम्म घरभित्रै बस्न बाध्य भए।

कसैमा ३७.२ डिग्रीभन्दा बढी तापक्रम देखिएमा तुरुन्तै अस्पताल लगेर जाँच गराइन्छ। कडा कसरत गरेर अथवा दौडिएर आएको छ भने स्वाभाविक रूपमा उसको शरीरको तापक्रम बढी हुने गर्छ। धड्कन र श्वासप्रश्वासको गति पनि बढ्छ। त्यस्तो अवस्थामा २० देखि ३० मिनेटसम्म आराम गरेर मात्र स्क्यानिङ क्यामराअगाडि जानुपर्छ भनेर सूचना टाँसिएको छ। यही बीचमा सिआरआईको तामिल विभागमा कार्यरत भारतीय नागरिक पाण्डारिनाथमको एकदिन तापक्रम थोरै बढी हुँदा उनलाई कार्यालयमा छिर्न दिइएन। अंग्रेजी विभागमा काम गर्न अफ्रिकन नागरिक निलालाई रुघा र ज्वरो आएको भन्दै एम्बुलेन्स बोलाएर अस्पताल लगियो। भाग्यवश, दुवैमा कोरोना संक्रमण देखिएन।

यसरी पाइला–पाइलामा होसियारी र कडा निगरानीका कारण चीनमा कोभिड–१९ संक्रमण क्रमशः नियन्त्रण हुँदै छ। चीनका कतिपय प्रान्तमा अहिले नियन्त्रण विधि  खुकुलो पार्न थालिएको छ। चेतना, प्रविधि, जनशक्ति र पुँजीको अभाव नभएकाले ढुक्कसँग काम गर्न पाइएको छ।

(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई)को नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

प्रकाशित: १६ फाल्गुन २०७६ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App