coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सुरु गरौं प्रेमको महाअभियान

एउटी युवती आफ्ना प्रेमीले विवाह प्रस्ताव राखेको तर आफूलाई त्यो सम्बन्ध कसिलो बनाउन सक्छु कि सक्दिनँ भन्ने शंका/डरले प्रस्ताव स्वीकार गरौं कि नगरौं भनी दोधार भएको भन्दै कुनै सद्गुरु कहाँ सल्लाह माग्न गइन्। आफूलाई सम्बन्ध निर्वाह गर्न नै शंका छ भने तिमी त्यो व्यक्तिको प्रेममा पूर्ण रूपमा डुबिसकेकी छैनौ। यही अवस्थामा तिमीले विवाह ग-यो भने सम्बन्धलाई दिगो र प्रेमिल बनाउन कठिन हुन्छ। तिमी वर्तमान प्रेमीलाई नै जीवनपर्यन्त प्रेमी बनाउन चाहन्छौ भने प्रेमको अभ्यास गर र जब तिमी उसको हरेक प्रतिक्रियामा आफूभित्र कृष्णप्रति मिराको समर्पण भावजस्तो एउटा स्थिर तर प्रेम र करुणाले भरिएको भावना प्रेमीप्रति आएपछि मात्र विवाह गर भन्ने सद्गुरुको सल्लाहपश्चात् प्रेम एउटा अभ्यास प्रयोग गरिन्।

पहिलो कोर्सका रूपमा उनले ढुंगासँग प्रेम गर्नुपर्ने थियो। जहाँ गए पनि त्यो ढुंगा बोकेरै जानुपर्ने, सुत्दा/उठ्दा खाना खाँदा सँगसँगै राख्नुपर्ने, आफ्नो बच्चाजस्तै सम्हाल्नुपर्ने। जब झर्को लाग्न छाडेर उनको मन ढुंगामा बस्न थाल्यो तब उनको कोर्स बिरुवासँग सुरु भयो। एउटा बिरुवा किनेर ल्याई गमलामा रोपिन्। त्यसलाई स्याहार्ने, खाँदा/बस्दा, सुत्दा/उठ्दा, काम गर्दा त्यही बिरुवाको चिन्तन गर्ने। जब त्यो बिरुवाको उपस्थितिबिना परिवेश नै खल्लो लाग्न थाल्यो, बिरुवालाई हेरिरहूँ, उसैसँग कुरा गरिरहूँझैं अद्भूत प्रेम अनुभूति हुन थाल्यो तब उनको कोर्स कुकुरसँग सुरु भयो। सानो कुकुरको बच्चा किनेर ल्याई आफ्नो बच्चाजस्तै स्याहारिन्। चौबीसै घण्टा आफूसँगै राख्ने, नुहाउने, खुवाउनेलगायत सबै जिम्मेवारी एकदमै भावसाथ पूरा गर्दागर्दै एकदिन उनलाई यस्तो अनुभूति भयो कि यो कुकुरको छाउरो नै उनको संसार हो। जसबिना उनी आधा छिन्। उनले सद्गुरुलाई सुनाइन्, यो कुरा। प्रतिक्रियाविहीन ढुंगा, पाशविक चरित्रको कुकुर र साइलेन्ट प्रेमी बिरुवाप्रति तिम्रो मनमा एकोहोरो लगाव र समर्पण पैदा भयो। यो तिमीमा प्रेम प्रस्फुटनको सुरुवात संकेत हो। अब यसलाई निरन्तर र दिगो राख्न सबै मान्छे, सबै जीव र समस्त प्रकृतिप्रति स्थिर र समभाव राख्न सक, तब मात्र तिम्रो मनमा प्रेमको मूल फुट्छ र आफ्नो सम्बन्धप्रति प्रेमिल र करुणायुक्त हुन सक्छौ।  सद्गुरुको यस्तो सुझावपछि उनी प्रेम जगाउने अभियानमा जुटेको कथा मैले कतै पढेकी थिएँ।

श्रीमती टाउको दुखेर सुतेका बेला के भयो त, आराम गर भन्दै टाउको सुमसुम्याउनुको साटो सुरुमै सिटामोल–पानी तेस्र्याउँदै ‘टाउको दुखेको खप्न हुन्न के, एउटा सिटामोल खाएपछि ठीक भइहाल्छ नि’ भन्ने बोलीमा प्रेमभन्दा स्वार्थकै बढी गन्ध आउँछ।

यो कथा पढ्दै गर्दा मैले आफैंलाई तुलना गरें, आफ्नै बुबाआमालाई सम्झें,  हुर्के/बढेको समाज सम्झें, टोल/छिमेक परिवेश, स्कुल/कलेज र कार्यालयका सम्बन्ध सम्झें जहाँ हामीले विभिन्न सम्बन्धको भूमिका निर्वाह गर्नुपर्छ। त्यहाँ कहिल्यै हामीले सम्बन्ध सुमधुर बनाउन केही प्रयास गरेका हुन्छौं ? हामी तेरा बाउआमा हौं, हामीले भनेको तैंले मान्नुपर्छ। म तेरो लोग्ने हुँ, म तिम्री स्वास्नी हुँ, मैले भनेको नमानेर कसले भनेको मान्छौ ? म हाकिम हुँ,  म जे भन्छु त्यही मात्र गर बढ्ता जान्ने हुने होइनजस्ता बडप्पनले सम्बन्धको मानलाई अरूलाई दमन गर्दा, गाली गर्दा हुने सानले जितेको छ। प्रेम, करुणा, सम्मानलाई हामीले यति साँघुरो बनाएका छौं कि एकपटक मैले फेसबुकमा प्रेमसम्बन्धी स्टाटस लेख्दा मेरा समकक्षीले गरेको ‘ यो उमेरमा पनि के प्रेमको कुरा गर्नू ?’  कमेन्टले हाम्रो समाजमा प्रेमप्रतिको बुझाइ कस्तो छ प्रस्ट पार्छ। विपरीत लिंगीप्रतिको आकर्षणलाई प्रेम बुझ्ने, ठूलो पदमा आसिनलाई सम्मान गर्नुपर्ने र गरिब/दुःखीलाई करुणा चाहिनेजस्ता संकुचित धारणाले संसार बदल्ने प्रेमको विराट शक्तिलाई भुत्ते बनाइदिएको छ।

हामी यति कठोर भएका छौं कि आफूले आफैंलाई प्रेम गर्दैनौं। लामो सास तानेर सुस्केरा हाल्ने ‘१ मिनेट’ हामीसँग छैन। टुसुक्क बसेर एक गिलास पानी पिउने समय छैन।  के खाँदै छु भन्नेसम्म नसोची हामीलाई पेट भर्नकै हतारो छ। दिनभरिका थकान भुलाउँदै लम्पसार परेर आफ्नो दिनचर्या समीक्षा गर्ने फुर्सद छैन, भोलि चाँडै उठेर कतै गइहाल्न अहिले निदाइहाल्नुपरेको छ। आफूलाई त प्रेम नगर्ने हामीले अरूप्रति कसरी प्रेमिल हुन सक्छौं ? अचेल त हाम्रो बच्चाप्रतिको प्रेम पनि व्यावसायिक बनेको छ। हतार/हतार उसको पेट भरिदिएर अफिसका लागि निस्किनुपर्ने हुन्छ। छिटो÷छिटो उसलाई सुताएर भोलि मिटिङका लागि फाइल हेर्नुपर्ने हुन्छ अथवा अन्य घरायसी काम सक्नु पर्ने हुन्छ वा उसलाई सुताएर टिभी र इन्टरनेट हेर्नुछ। बिनाभाव कोच्याइएको भात र कथा सुन्दै आमाको अँगालोमा निदाउन नपाएको बच्चाले कसरी प्रेम सिक्छ र संसारलाई सिकाउँछ ?

श्रीमती टाउको दुखेर सुतेका बेला के भयो त, आराम गर भन्दै टाउको सुमसुम्याउनुको साटो सुरुमै सिटामोल–पानी तेस्र्याउँदै ‘टाउको दुखेको खप्न हुन्न के, एउटा सिटामोल खाएपछि ठीक भइहाल्छ नि’ भन्ने बोलीमा प्रेमभन्दा स्वार्थकै बढी गन्ध आउँछ।

व्यक्ति स्वयं आफैंभित्र द्वन्द्वरत छ। परिवार, समाज, संगठन, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा भएका द्वन्द्व त दिनहुँ छताछुल्ल पोखिएका पोखियै छन्। यो सबैको कारण प्रेम र करुणाको गैरउपस्थिति नै हो। जब प्रेम र करुणा रित्तिन्छ नि तब ‘म ठीक छु अरू सबै गलत’ भन्ने अहंकारले हाम्रो हृदय भरिन्छ र जीवन/जगत्का सबै तहमा द्वन्द्व, निराशा, कठोरता, घृणाले राज गर्छ।

एउटा चरित्र अभिनेताले जसरी स्क्रिप्टको भूमिका निर्वाह गर्न वर्षौं त्यसमा अभ्यास गर्छ, जसरी सुरुमा उल्लेख युवतीले आफ्नो सम्बन्धलाई जीवनपर्यन्त प्रेमिल बनाउन लामो साधना गरिन्, त्यसरी नै हामीले व्यक्तिगत, संस्थागत, सामाजिक, कार्यगत सम्बन्ध सहज, विश्वासिला, प्रेममय बनाउन थोरै चिन्तन किन नगर्ने ? आफ्ना तर्फबाट अहंकारको बदलामा थोरै प्रेम भर्न सके संसारमा आनन्द र खुसीको वर्षा हुन्छ भने ससाना प्रयत्न किन नगर्ने ? आउनुहोस्, प्रेमको महाअभियान यही प्रेम दिवसबाट सुरु गरौं।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App