२४ जेष्ठ २०७७ शनिबार
विचार

बहुमतको ‘उलेमा’

काठमाडौंलगायत देशका विभिन्न भागमा १९९० माघ २ गते महाभूकम्प गएका बेला प्रधानमन्त्री जुद्धशमशेर सिकार खेल्न पश्चिम तराई पुगेका थिए। मंसिर अन्त्यतिर उनी त्यसतर्फ गएका थिए भने ठूलो भूकम्प आएर जनधनको निकै क्षति भयो भन्ने सन्देश पाएपछि उनी काठमाडौं फर्किए।

ठाहिँला भाइ सूर्यशमशेरले पठाएको तार पढेर उनले काठमाडौंमा ठूलो क्षति भएको सन्देश पाएका थिए। विदेशीहरूले भूकम्पपीडितलाई सहायता गर्न खोज्दा उनले रोके। जुद्धको तर्क थियो– राजधानीमै विदेशीलाई भित्र्याइयो भने उनीहरूले देशको भेउ पाउँछन्। त्यो नेपालको सुरक्षाका लागि कालान्तरमा खतरा हुन सक्छ।

तराईका विभिन्न भागको भ्रमण गर्दा उनले जनजीवन बुझ्ने मौका पाए। गाउँलेसँग कुरा गर्दा उनले एकजना थारू जमिन्दारलाई नेपाललाई विदेशीले हमला गरे भने तिमीले के मद्दत गर्न सक्छौ भनेर सोधेका थिए। तिनले जवाफ दिए– महाराज, म धेरै त सक्दिनँ, नेपालको सैनिकलाई ६ महिनासम्म भात खुवाउन सक्छु।

अर्का एकजना जमिन्दारले २० हजार मन चामल दिने वचन दिए। त्यस्तै अर्का धनाढ्यले ९० लाख रुपैयाँसम्म नगद दिएर सहायता गर्छु भनेपछि देशलाई संकट पर्दा निष्पक्ष भएर सहयोग गर्ने मानिस धेरै रहेछन् भन्ने उनले बुझे।

विदेशी सहायताबेगर पनि देश चल्न सक्छ भन्ने सन्देश जुद्धका लागि निकै प्रेरक बन्यो। उनले राष्ट्रको हितसँग कुनै सम्झौता नगर्ने निर्णय गर्दै जस्तोसुकै संकट आए पनि आफैंले सामना गर्ने निर्णय गरे। त्यसपछि भूकम्पपीडितहरूलाई ऋणस्वरूप आर्थिक सहायता गर्न ब्रह्मशमशेरलाई संयोजक बनाएर के–कति पीडित छन् र तिनलाई कति सहायता गर्ने भन्ने कुरा व्यवस्थापन गर्न लगाए।

मुसलमान मठाधीशहरूले हुकुम प्रमांगीको भरमा उलेमा शासन चलाएझैं आफ्ना हुकुमले सबै कुरा चल्छ भन्ने सोच्नु प्रजातान्त्रिक चिन्तन होइन।

राणा शासनको इतिहास पढ्दा कतिपय घटनाक्रमले अहिलेका शासकलाई समेत व्यंग्य गरेको जस्तो लाग्छ। किशोरनरसिंह राणाले डिजाइन गरेको काठमाडौं महांकालस्थाननजिकै त्रिचन्द्र मिलिटरी अस्पताल १९८३ भदौ २४ गते (१९२६ सेप्टेम्बर ९) उद्घाटन गरिएको थियो। राजा त्रिभुवन र विशिष्ट व्यक्तिहरूलाई सम्बोधन गर्दै एउटा सुन्दर सपना साकार भएकामा खुसी व्यक्त गरेका थिए, श्री ३ चन्द्रशमशेरले। खोकी लागेर सबै भाषण पढ्न नसक्ने भएपछि अधिकांश भाषण उनका सेक्रेटरी बडाकाजी मरिचमानसिंहले वाचन गरेको कुरा आफूले बाल्यकालमा सुनेको कवि नीरविक्रम प्यासी (राणा)बाट सुनेको हुँ। बालकृष्ण समले पनि आफ्नो पुस्तकमा यो विषय  चर्चा गरेका छन्।

प्रथम विश्वयुद्ध (सन् १९१४–१९१८) हुँदा हजारौं नेपाली सैनिकको मृत्यु भयो। ब्रिटेनलाई सहायता गर्न पठाइएका ती सैनिक परिवारलाई राहतस्वरूप दिइएको आँसु पुछाउनी (क्षतिपूर्ति) रकम र सरकारलाई प्राप्त रकमबाट अस्पताल बनाउनु सराहनीय कुरा थियो।

आफ्ना दाजु देवलाई अपदस्थ गरेर चन्द्रशमशेर नेपालको १३औं प्रधानमन्त्री भए, प्रथम विश्वयुद्धका बेला। कतिपय लेखकले चन्द्रलाई अपमान गरेका छन्। २८ वर्ष प्रधानमन्त्री छँदा उनले गरेका ५०औं सत्कर्म ओझेलमा पारेर केही कमजोरीको मात्र चर्चा गरेका छन्। ‘घरेलु उद्योगका पिता’ तुलसीमहेर श्रेष्ठलाई ‘महात्मा गान्धीबाट घरेलु कपडा बुन्ने इलम सिकेर आऊ’ भन्दै खर्च दिएर पठाएका थिए चन्द्रले। केही लेखकले घरेलु उद्योग खोल्ने तुलसीमेहरलाई चन्द्रशमशेरका विरोधी भनेर लेखे। देशका विभिन्न भागका युवालाई घरेलु उद्योगको १६ महिने तालिम दिएर काठमाडौंमा प्रशिक्षित गरिएको थियो २००४ सालतिर। मनहरा दरबारमा सञ्चालित गान्धी आश्रममा घरेलुको प्रशिक्षण हुन्थ्यो र हाल त्रिपुरेश्वरको आँखा अस्पताल रहेको क्षेत्रमा छात्रावास थियो, त्यो रातो घर अहिलेसम्म छँदै छ।

तारादेव भट्टराई प्रमुख प्रशिक्षक रहेको उक्त अड्डाले स्वदेशी कपडा उत्पादन गर्न युवालाई प्रशिक्षण दिएर देशका विभिन्न भागमा पु¥याउने नीति लिएको थियो। सोहीअनुसार धेरै ठाउँमा त्यस्ता उद्योग स्थापना गराएको पाइन्छ।

चन्द्रशमशेरको शासनकाल विकासका दृष्टिले मात्र होइन, कूटनीतिक हिसाबले पनि सफल देखिन्छ। सन् १९२१ मा बेलायतसँग पहिलो कूटनीतिक वार्ता गरे, उनले। त्यसपछि १९२३ डिसेम्बर २३ मा सिंहदरबारमा नेपाल–बेलायतबीच भएको सन्धिपछि बेलायतले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा मान्यता दियो। नेपालका राजालाई ब्रिटेनका राजासरह ‘हिज म्याजेस्ट्री’ भन्न थालियो। यो सन्धिलाई सन् १९२५ मा संयुक्त राष्ट्रसंघको रेकर्डमा राखियो। विश्व समुदायले नेपाल भन्ने देश स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न हो भन्ने स्पष्टसँग बुझ्दै गए।

समयले साथ दिए पनि, जनताले विश्वास गरे पनि, प्रशस्त स्रोत/साधन भए पनि, राष्ट्रप्रतिको इमान, सम्मान र अठोट छैन भने शासक कता–कता अलमलिइरहन्छन्।

सन् १९०८ मा चन्द्रशमशेरले बेलायत भ्रमण गर्दा नेपाल र नेपालीका बारेमा ब्रिटेनका जनता र सरकारले धेरै कुरा बुझ्ने मौका पाए। उनलाई अक्सफोर्ड विश्वविद्यालयले नागरिक कानुनतर्फ मानार्थ विद्यावारिधि उपाधि दियो। राणा शासकमा त्यस्तो उपाधि पाउने उनी पहिलो व्यक्ति थिए।  नेपालका प्रधानमन्त्रीहरूमा विद्यावारिधि उपाधि पाउने उनी पहिलो मानिन्छन्। यस्तै फ्रान्सले पनि श्री ३ चन्द्रलाई उच्च विभूषणले सम्मान गरेको थियो। उनकै पालामा ब्रिटेनका राजा जर्ज (पाँचौं) नेपालमा सिकार खेल्न आएका थिए भने कूटनीतिक परिपक्वता देखाएर चन्द्रले विदेशीहरूलाई पनि प्रभावित तुल्याएको इतिहासकारले उल्लेख गरेका छन्।

कतिपय इतिहासकारले चीनको छिङ राजसंस्था र नेपालबीच थापाथली दरबारमा भएको सन्धि उल्लंघन गर्दै नेपाललाई ब्रिटेनपरस्त बनाएको भनेर चन्द्रशमशेरको आलोचना पनि गरेका छन्। १९१२ को चैत ८ गते सुरु भएको चीनसँगको सन्धि मिचेर चन्द्रशमशेरले बेलायतलाई तिब्बतविरुद्ध हमला गर्न अनुमति दिने र ब्रिटिस कूटनीतिक दल (यङ हस्वेन्डको टोली) नेपालको बाटो हुँदै तिब्बततर्फ जान दिनु उनको भूल भएको बताएका छन्।

केही वर्षसम्म नेपालले तिब्बतमा शासन गरेको र तिब्बत सरकारले नेपाललाई प्रत्येक वर्ष १० हजार रुपैयाँ बुझाउनुपर्ने प्रावधानलगायत बुँदामा थापाथली सन्धिले मञ्जुर गरेको पाइन्छ। तिब्बत र नेपालले चिनियाँ सम्राटलाई सम्मान गरे पनि कुनै तेस्रो पक्षले तिब्बतमा हमला गरेमा नेपालले तिब्बतलाई सहयोग गर्ने कुरा सन्धिमा उल्लेख थियो। तर चन्द्रशमशेरले बेलायतले तिब्बतमा हमला गर्न खोज्दा सहमति दिएपछि इतिहासकारले उनले सन्धि उल्लंघन गरेर ब्रिटेनलाई सघाएको भन्दै आलोचना गरेका छन्। कूटनीतिमा एउटै मान्यताले निरन्तर काम गर्छ भन्ने विषय सधैं बहसमा आउँछ। पश्चिम राष्ट्रपरस्त भएको भन्दै चन्द्रशमशेरको आलोचना भए पनि उनले ब्रिटेनलाई उचालेर चीनलाई कमजोर बनाउन खोजेको देखिँदैन। तसर्थ अहिलेका कूटनीतिज्ञले पनि इतिहासबाट शिक्षा लिएर समय र परिस्थितिअनुसार कूटनीति सञ्चालन गर्न सकेनन् भने त्यसले राष्ट्रमाथि नै कुठाराघात हुन सक्छ।

चीनसँगको सुपुर्दगी सन्धिको कुरा ऊबेला पनि उठेको थियो। कुनै अपराधी एउटा देशबाट भागेर अर्को देशमा गएमा दोस्रो देशले सम्बन्धित देशमा सुपुर्दगी गर्ने कुरा थापाथली सन्धिमा उल्लेख थियो। वि.सं. २०१२ सम्म नेपाल सरकारलाई चीनले हरेक वर्ष १० हजार रुपैयाँ बुझाएको देखिन्छ। राजा महेन्द्रले शासन सम्हालेपछि त्यो मिनाहा गरिदिएका थिए।
कतिपय इतिहासकारले जंगबहादुरका पालादेखि मोहनशमशेरका पालासम्म राणा शासकहरूले व्यक्तिगत सुख÷सुविधाका लागि राज्यको सम्पत्ति दोहन गरे भन्ने विश्लेषण गरे पनि गम्भीर किसिमको राष्ट्रघात नगरेको र मुलुकको इज्जत जोगाउन प्रशस्त प्रयास गरेको उल्लेख गरेका छन्। एकतन्त्रीय जहानियाँ शासन रहे पनि धर्म, संस्कृति, परम्परा र प्रचलनको सम्मान गर्दै महŒवपूर्ण निर्णय गर्ने क्रममा न्याय दिन कन्जुस्याइँ नगरेका पनि देखिन्छ। धर्मप्रति अगाध आस्था राख्ने भएकाले त्यसबेला बनेका अधिकतर कानुन धार्मिक मान्यतामा आधारित पाइन्छन्।

काठमाडौंको फर्पिङमा पहिलोपल्ट बिजुली निकाल्ने चन्द्रशमशेर नै हुन्। उनीलगायत राणा परिवारका धेरैलाई सैनिक शिक्षा दिने बागलुङ कुँडुले निवासी कर्णेल चक्रपाणी सापकोटाका वंशजले सुरक्षित राखेका पुराना दस्तावेजमा धेरै कुरा भेटिन्छन्। कर्णेलको घरलाई सरकारले ‘अमाली घर’ मान्यता दिएको र धौलागिरि क्षेत्रका सुरक्षाकर्मी एवं जनताको हितका लागि सिंहदरबारबाट अधिकार प्रत्यायोजन गरिएकाले त्यस्ता कागजपत्रमा इतिहासका महत्वपूर्ण घटनाको प्रमाण पाइन्छ।

कर्णेल चक्रपाणीका पनाति तथा सो क्षेत्रका समाजसेवी बलराम हमाल ठकुरी भन्छन्– ‘फर्पिङमा वि.सं. १९१३ मा बिजुली उत्पादन गरिँदा चन्द्रशमशेरले चक्रपाणीलाई निमन्त्रणा गरेर गुरुप्रति सम्मान देखाएको पाइन्छ।’ काठमाडौंका कतिपय पुराना बस्तीमा ‘चन्द्रज्योति’ लेखिएका बिजुलीका फलामे खम्बा आज पनि भेटिन्छन्।

अमलेखगन्ज भन्ने छुट्टै बस्ती बसाएर देशभरका दासदासीलाई घरघरबाट मुक्त (अमलेख) गरिदिए, चन्द्रले। ठाउँठाउँमा स्कुल÷कलेज खोले। महाकवि लक्ष्मीप्रसाद देवकोटालाई त्रिचन्द्र कलेजमा पढाउने गुरु प्रा. केशरबहादुर केसी (खत्री क्षत्रीलाई केसी लेख्ने प्रथम व्यक्ति उनै हुन्) भन्थे– सभ्यले मात्र सत्कार्यको अर्थ बुझ्छन् र इतिहासको सम्मान गर्छन्। जंगबहादुरकै पालादेखि राजकाज र राणा परिवारसँग गाँसिएको हुँदा मलाई थाहा छ, राष्ट्र र जनताको अहित नै गर्ने काम राणा शासकले गरेनन्। सीमित स्रोत÷साधन र प्रविधिले भ्याएसम्म उनीहरूले असल काम गरेकै हुन्।

पंक्तिकार कान्तिपुर दैनिकमा सहायक सम्पादक छँदा कैयन् पुराना मानिसको अन्तर्वार्ता लिने मौका मिल्यो। ‘रामकृष्ण कुँवर’ र ‘रजबन्धकी’जस्ता पुस्तक लेख्ने टुकराज मिश्र, प्रा. खड्गमान मल्ल (प्रा. उपेन्द्रमानका पिता)लगायत बूढा/पुराना जीवित इतिहासजस्ता थिए। कलकत्तामा विश्वविद्यालय पढ्न जाँदा त्यहाँका अंग्रेज प्रोफेसरले केशरबहादुर खत्री क्षत्री भन्ने नाम उच्चारण गर्न गाह्रो लागेपछि छोटो बनाएछन्– ‘नो खट्री, नो क्षट्री। यु आर अन्ली केसी।’ त्यो दिनदेखि केशरबहादुर खत्री क्षत्री केसी भए। उनको नक्कल गर्दै अरू धेरैले केसी लेख्न थाले। बागलुङका चित्रबहादुर गौतम चित्रबहादुर केसी भए। नुवाकोटका अनर्जुनरसिंहदेखि अरू धेरै उदाहरण छन्। तर ‘एबिसिडी’ नजान्ने युगमा ‘केसी’ कहाँबाट उत्पत्ति भयो, धेरैलाई पत्तो छैन।

इरा लापिडसको कथन छ– ‘हुलमूलको हल्ला इतिहास हुँदैन।’ हिस्ट्री अफ इस्लामिक सोसाइटिज ग्रन्थमा उनको तर्क छ– ‘सन् १७७४ देखि मुसलमान गुरुहरूको सर्वोच्च पुञ्ज मान्न थालियो, उलेमा। उलेमा अर्थात् मुल्लाहतन्त्र। उलेमाले फलानो अपराधी हो भनेपछि ऊ मारिन्थ्यो। विवेक, विचार, तर्क, प्रमाण, इतिहास, सत्य र तथ्य सबै बहुमतका सामुन्ने अल्पमतजस्ता ठहरिन्थे। धर्म, राजनीति र न्यायका अन्तिम व्याख्याकार उलेमा नै मानिन्थ्यो।’ नेपालमा आज दुईतिहाइको सरकार अर्को उलेमा बनिरहेको छ।

ब्रिटेनमा सन् १६४९ जनवरी ३० मा राजा चाल्र्स (प्रथम)लाई संसद्ले मृत्युदण्ड दियो। सैनिक शासन सुरु गरेर ओलीभर क्रमवेलले ११ वर्ष गणतन्त्र चलाए तर चलेन। धर्म, संस्कृति, परम्परा, इतिहास र सामाजिक सद्भाव मासिन थाल्यो भन्दै जनताले विद्रोह गरेपछि राजतन्त्र पुनस्थापना भयो।

सेक्सपियरले लेखेका छन्– ‘आँखाले आफैंलाई देख्दैन।’ यो कथनमा धेरै गहिरो अर्थ लुकेको पाइन्छ। समयले साथ दिए पनि, जनताले  विश्वास गरे पनि, प्रशस्त स्रोत/साधन भए पनि, राष्ट्रप्रतिको इमान, सम्मान र अठोट छैन भने जतिसुकै जनसमर्थन भए पनि शासक कता–कता अलमलिइरहन्छन्। राष्ट्रलाई कहाँ पु-याउने र जनताको हित कसरी गर्ने भन्ने कुरामा आफैं स्पष्ट नभएसम्म नेतृत्व वर्गले सही बाटो लिन सक्दैन। तसर्थ मुसलमान मठाधीशहरूले हुकुम प्रमांगीको भरमा उलेमा शासन चलाएझैं आफ्ना हुकुमले सबै कुरा चल्छ भन्ने सोच्नु प्रजातान्त्रिक चिन्तन होइन। बहुसंख्यक जनताको आवाजलाई सम्मान गर्न सकेनन् भने कुनै पनि शासकले शासन गर्ने अधिकार गुमाउँदै जान्छन्। यो कटु यथार्थ सबैले स्वीकार गर्नैपर्छ।

प्रकाशित: २४ माघ २०७६ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल