१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नाट्यसम्राट समको सम्झना

५२ वर्षअघि नाट्यसम्राट बालकृष्ण सम भेट्न भनेर म काठमाडौंको ज्ञानेश्वर पुगें। लामो कोट लगाएका खाइलाग्दा उज्यालो महापुरुषले ढोका खोलेर सोध्नुभयो– कताबाट ? मैले भनें– हजुरको दर्शन गर्न आठराईबाट। अनि आठराईबाट ल्याएको खुकुरी समजीको हातमा दिदैं भनें– मेरो उपहार। उहाँले अत्यन्त खुसी भएर खुकुरी लिनुभयो।

२०२४ माघ २४ गते भएको थियो– ती महानसाहित्यकारसँग मेरा पहिलो भेट। मलाई थाहा थिएन, त्यो दिन समजीको जन्मदिन रहेछ। समजीले पनि भन्नुभएन, पछि आफैं थाहा पाएँ। पहिलो भेट उहाँको जन्मदिनमै भएकामा मैले आफ्नो अहोभाग्य ठानें। समजीका नाटकका धेरैजसो कविता मलाई कण्ठ थिए।  मैले मुटुको व्यथाका केही हरफ भनेपछि समजीले पनि बडो नाटकीय पाराले कवितात्मक रूपमा सुनाउन थाल्नुभयो।

‘स्वर्गबाट यहाँ ओर्ले भने अमर मर्दछन्, चिन्ताको रापले सुक्दै किता पत्थर बन्दछन्।’ समजीको ‘मुटुको व्यथा’ नाटकमा व्यक्त यो कविताको व्याख्या गरेर मैले सुनाएँ।  निचोडमा ‘बुद्धले पनि पाप गरे भने नरक पुग्छन्’ भन्ने अर्थ थियो। समजी मसँग असाध्यै प्रभावित हुनभयो। डेढ घण्टाको भेटपछि समजीले मलाई ‘नियमित आकस्मितता’ पुस्तक हस्ताक्षर गरेर उपहार दिनुभयो। मैले नियमित त्यो पढेपछि यति मोहित भएँ की बालकृष्ण सम नेपालको साहित्यको भण्डार र देशको ठूलो सम्पत्ति भएको ठहर गरें। त्यसपछि हरेक शनिबार भेट्ने वाचासहित म बिदा भएँ।

एकदिन ढिला भएछ। म नआउने बुझेर समजी लेख्न थाल्नुभएछ। तपाईं नआउने होला भन्ठानेर लेख्न थालेको थिएँ भन्दै लेखेका केही अंश समजीले मलाई सुनाउनु पनि भयो। अर्को दिन व्यस्तताले गर्दा समजीलाई भेट्न जान ढिला भयो। म क्षेत्रपाटी सातचोक दरबारको माथिल्लो कोठामा बस्छु भनेर समजीलाई मैले पहिला भनेको थिएँ। त्यो दिन अपराह्न म ज्ञानेश्वरतर्फ लाग्दा उहाँ रिक्सामा क्षेत्रपाटी आउँदै हुनुहुँदोरहेछ। म छक्क परें र समजीलाई भेटेर नमस्ते गर्दै त्यो दिन आउन नसक्नाको कारण बताएँ। समजीले भन्नुभयो– ‘तपाईंलाई के प-यो भनेर खोज्दै आएको।’

समजी अत्यन्त देशभक्त हुनुहुन्थ्यो। उहाँले ‘मुकुन्द इन्दिरा’ नाटकमार्फत भन्नुभएको छ– ‘देशभक्त त मर्दैन, चुत्थै देश भए पनि।’

समजी अभिनय गर्न पनि त्यत्तिकै सिपालु हुनुहुन्थ्यो। बहुमुखी प्रतिभाका धनी बालकृष्ण सम नेपालमा अविस्मरणीय महान स्रष्टा हुनुहुन्छ। बालकृष्ण समले आफ्ना अनेकौं नाटक र काव्यबाट नेपाललाई धनी बनाउनुभयो। समको एउटा महाकाव्य– ‘चिसो चुल्हो’मा सन्ते दमाईले माथिल्लो जातकी गौरीसँग प्रेम गरेको कथा छ। जसले नेपाली समाजलाई जातीय बन्धनबाट मुक्त गराउने सन्देश दिएको छ। समले विभिन्न विधाका कैयौं पुस्तक लेखेर नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्नुभएको छ। त्यो महान् व्यक्तित्व आज हाम्रासामु नभए पनि उहाँ अमर हुनुहुन्छ। ‘ज्ञान मर्दछ हाँसेर, रोई मर्दछ विज्ञान।’ कति गहिराइ छ, समजीका कवितामा।

समजी अत्यन्त देशभक्त हुनुहुन्थ्यो। ‘मुकुन्द इन्दिरा’ नाटकमार्फत उहाँले भन्नुभएको छ– ‘देशभक्त त मर्दैन, चुत्थै देश भए पनि।’ नेपालमा प्रजातन्त्रको उदयपछि उहाँ गोरखापत्रका प्रमुख सम्पादक पनि बन्नुभयो। नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति हुँदै राजसभा स्थायी समिति सदस्य भएको अवस्थामा पनि उहाँले अनेक पुस्तक नेपाली समाजलाई दिनुभयो।

मेरा आत्मीय मित्र महान् साहित्यकारको स्वर्गारोहण भएको दिन मलाई जानकारी हुन सकेन। उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न नपाएकामा मलाई अत्यन्त विस्मात छ। नेपालको साहित्यिक जगत्का अग्रज व्यक्तित्व बालकृष्ण समको सम्मानस्वरूप नेपाल साहित्य परिषद्को सक्रियतामा कमलपोखरीमा उहाँको सालिक बनेको छ। आज माघ २४ गते उहाँको जन्मजयन्तीका उपलक्ष्यमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरौं।

 

 

प्रकाशित: २४ माघ २०७६ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App