७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

लामो यातायात हडताल

फ्रान्सले डेढ महिनादेखि यातायात हडताल भोगिरहेको छ। यो आन्दोलन यहाँको सरकारले ‘पेन्सन’ (निवृत्तिभरण) प्रणालीमा गर्न लागेको परिवर्तनविरुद्ध भएको हो। फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले पेन्सनसम्बन्धी विद्यमान ४२ किसिमका व्यवस्था परिमार्जन गरेर एकलबिन्दु प्रणालीमा ल्याई सबैलाई समान गराउने योजना अघि बढाएपछि विरोध सुरु भएको हो। यातायात हडतालले विशेषगरी पेरिस र यसवरपरका क्षेत्रमा लाखौं यात्रुको बिजोग भएको छ।

फ्रान्समा यो यातायात हडताल अहिलेसम्मकै सबैभन्दा लामो हो। आफैं चल्ने मेट्रोबाहेक सबै मेट्रो र रेल ६० प्रतिशत चलेका छैनन्। हडतालका पक्षमा शिक्षक, वकिल र अस्पतालका कर्मचारीसमेत विरोध प्रदर्शनमा सामेल भएका छन्। राष्ट्रपति कार्यालयको अनुमानअनुसार हडतालले अहिलेसम्म राष्ट्रिय रेल्वे कम्पनीहरूलाई ८ सय करोड युरोबराबर घाटा भइसकेको छ । तर श्रम नेताहरूले डिसेम्बरदेखि प्रदर्शनकारीको संख्या क्रमशः घट्दै गएको बताएका छन्।

नयाँ निवृत्तिभरण प्रणालीले देशको आर्थिक भार कम हुने फ्रान्स सरकारको भनाइ छ। नयाँ प्रणाली लागू गर्न नसकिए सन् २०२५ सम्म देशको आर्थिक घाटा बढेर १ अर्ब युरो पुग्ने उसको अनुमान छ।  फ्रान्स सरकारले यस विषयमा ट्रेड युनियनहरूसँग वार्ता सुरु गरिसकेको छ। तर अहिलेसम्म सहमति हुने छाँटकाँट देखिएको छैन। फ्रान्सले अन्य युरोपियन मुलुकका तुलनामा ‘कल्याण’ मा बढी खर्च गरेको छ। वृद्धको जनसंख्या अत्यधिक भएका कारण पछिल्ला वर्षमा स्वास्थ्य सेवा, पेन्सन र बेरोजगारी भत्तामा ठूलो बजेट खर्च हुन थालेको फ्रान्स सरकारले जनाएको छ।

पेन्सन बजेट सन्तुलनमा राख्न भन्दै फ्रान्स सरकारले ६२ को सट्टा ६४ वर्षमा कामदार सेवानिवृत्त हुने गरी नियम बनाउन खोजेको छ। तर यसले लामो समय काम गरेर पनि थोरै पेन्सन आउने भन्दै यातायात कर्मचारी हडतालमा उत्रिएका हुन्।
अहिलेको नियमअनुसार कुनै व्यक्तिले अवकाश पाउने बेलासम्म सबैभन्दा बढी कमाइ भएको २५ वर्षको गणना गरी पेन्सन रकम निर्धारण गरिएको गरिन्छ। जसअनुसार धेरै पेन्सन आउँछ। अहिलेको नियमअनुसार आफ्नो राम्रो वर्षको कमाइको करिब दुईतिहाइ रकम पेन्सनबापत आउँछ। तर अब लागू गर्न लागिएको नयाँ प्रणालीमा कुनै व्यक्तिको पेन्सन, उसले काम सुरु गरेदेखिको अवकाश हुँदासम्म सबै वर्षको गणना गरेर पेन्सन रकम निर्धारण गरिनेछ। यसो गर्दा पेन्सन रकम अहिलेभन्दा कम हुन जान्छ।

रेलका कर्मचारीहरू नयाँ निवृत्तिभरण प्रणालीको सिकार बन्नेछन, किनकि अहिलेको प्रणालीमा धेरैजसो ५२ वर्षको उमेरमा निवृत्तिभरणका लागि योग्य हुन्छन् र पर्याप्त पेन्सन पाउँछन्, जुन औसतभन्दा धेरै बढी हो। तर फ्रान्सका राष्ट्रपति म्याक्रोनले नयाँ प्रणालीअन्तर्गत अवकाश हुने उमेर बढाउनाले देशलाई आर्थिक भार घटेर जाने र सबैलाई समान स्थानमा रहने दाबी गरिरहेका छन्। यो प्रणाली मुख्यतया मजदुरले मन पराएका छैनन्, किनकि त्यो लागू भयो भने उनीहरू अहिलेजस्तो लाभ लिनबाट वञ्चित हुनेछन्। फ्रान्समा डेढ महिनादेखि यातायात हडताल हुनाको प्रमुख कारण यही हो।

अहिलेसम्मको स्थिति हेर्दा सरकार र आन्दोलनकारी र सकारबीच सहमति भएर चाँडै सहमति हुन गाह्रै देखिन्छ। यतिबेला यातायात मजदुर राजनीतिक नेताभन्दा कडा रूपमा प्रस्तुत भइरहेका छन्। पेरिसका अधिकतर रेल कर्मचारीले भनेका छन्– हडतालका क्रममा हामीले यति धेरै तलब गुमाइसकेका छौं कि सरकारले ल्याउन लागेको नयाँ प्रणालीमा ठूलो परिमार्जन नगरेसम्म पछि हट्नेवालामा छैनौं।

निवृत्तिभरण सुधार, राष्ट्रपति म्याक्रोनले जारी गरेको घोषणापत्रको एउटा मुख्य योजना हो, जसलाई उनले फ्रान्सको सामाजिक मोडल र कल्याण प्रणालीको सबैभन्दा ठूलो ‘रूपान्तरण’ भनेका थिए। उनको तर्कमा फ्रान्सको सामाजिक सुरक्षा लामो समयसम्म परिवर्तन नभएकाले घाटा बढेर गएको छ, तसर्थ त्यसलाई परिमार्जन गर्दै भविष्यका पुस्ताका लागि सामाजिक सुरक्षा सुनिश्चित गर्न सकिन्छ।

प्रकाशित: १४ माघ २०७६ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App