१ जेष्ठ २०७८ शनिबार
विचार

विद्यावारिधि, विज्ञ र समाज

नेपाली समाजको आर्थिक र सामाजिक विकाससँगै उच्च शिक्षा अध्ययन गर्नेको संख्या दिनानुदिन बढ्दो छ। केही वर्षयता त औपचारिक शिक्षाको अन्तिम खुड्किलो मानिने विद्यावारिधि तह सम्मै अध्ययन गर्ने नेपाली पनि उल्लेखनीय संख्यामा छन्। शिक्षित, दक्ष जनशक्तिको संख्या बढ्नु  मुलुकका लागि अवश्य खुसीकै कुरा हो। तर डाक्टर उपाधि हुनेबित्तिकै व्यक्तिको विज्ञताको देवत्वकरण गरिहाल्ने हाम्रो सामाजिक चरित्रले कतै प्राज्ञिक योगदानभन्दा पनि उपाधिकेन्द्रित भएर विद्यावारिधि लिने प्रवृत्तिलाई त प्रेरित गरिरहेको छैन भन्ने चिन्ता प्रकट हुन थालिसकेको छ। सबै विद्यावारिधि अनुसन्धानकर्ताको विषयप्रतिको ज्ञान र अनुसन्धानप्रतिको लगाव समान नहुने हँुदा विद्यावारिधिको गुणस्तर मापन कसरी गर्ने भन्ने अन्योलता र अनभिज्ञता पनि हाम्रो समाजमा उत्तिकै छ।

प्रथमतः विज्ञ हुन विद्यावारिधि नै गर्नुपर्छ भन्ने छैन। उदाहरणका लागि विज्ञान र प्रविधिकै क्षेत्रमा पनि भौतिकशास्त्रीहरू चाल्र्स पेडरसन र ज्याक किल्बी, चिकित्साशास्त्रीहरू गर्ट«ुड एलियन र युयु टु तथा रसायनशास्त्री कोइची टनाका विद्यावारिधिबिनै नोबेल पुरस्कार विजेता बन्न सफल भएका थिए। नेपालमै पनि विषयवस्तुको गहिरो अध्ययन भएका कतिपय विज्ञसँग विद्यावारिधि उपाधि नभए तापनि उनीहरूको ज्ञानको स्तर धेरै नै उच्च छ। त्यसो त स्नातकोत्तर गर्दासम्म विज्ञ नकहलिने, तर ३–४ वर्ष अरू पढेर विद्यावारिधि गरेकै भरमा त्यही व्यक्ति स्वतः विज्ञमा रूपान्तरण भइहाल्ने पनि त होइन। विज्ञ त निरन्तर आफ्नो काममा तल्लीन भएर लागिरहन्छ, नयाँ शोध र अनुसन्धान गर्छ र उसले सिर्जना गरेको नयाँ ज्ञान कालान्तरसम्म मानव हितका लागि इतिहासमा सुरक्षितै रहन्छ।

विद्यार्थीले विद्यावारिधि अध्ययन अवधिमा कुनै कृति प्रकाशन वा आफ्नो शोधपत्रमार्फत खासै नयाँ ज्ञान सिर्जना गर्न सकेको छैन भने त्यस विद्यावारिधिलाई सशक्त मानिँदैन।

विज्ञ हुन विद्यावारिधि नै गर्नुपर्छ भन्ने छैन। विज्ञान र प्रविधिकै क्षेत्रमा पनि भौतिकशास्त्रीहरू चाल्र्स पेडरसन र ज्याक किल्बी, चिकित्साशास्त्रीहरू गर्टुड एलियन र युयु टु तथा रसायनशास्त्री कोइची टनाका विद्यावारिधिबिनै नोबेल पुरस्कार विजेता बन्न सफल भएका थिए।

विद्यावारिधि हासिल गर्ने सबै विद्यार्थीको स्तर एउटै भने कदापि हुँदैन। विद्यावारिधिका हकमा विश्वविद्यालयभन्दा पनि कुन प्राध्यापकसँग गरिएको हो भन्ने कुराले विशेष महŒव राख्छ। विद्यावारिधि गर्ने विद्यार्थी प्रायः आफ्नो अनुसन्धान समूह अथवा प्रयोगशालामा मात्रै सीमित हुने भएकाले साधारणतया विश्वविद्यालयको वातावरणबाट प्रत्यक्ष रूपमा लाभान्वित नभएको मानिने हुँदा विश्वविद्यालयको नाम र प्रसिद्धि गौण रहन्छ। कतिपय ख्याति प्राप्त उत्कृष्ट प्राध्यापक आफ्नै गाउँठाउँ नजिक भएकाले होस् वा अन्य कारण खासै नाम नचलेका विश्वविद्यालय वा अनुसन्धान केन्द्रमा कार्यरत पनि हुन सक्छन्।

विद्यावारिधिको स्तर भने केवल कतिवटा र कुन गुणस्तरका अनुसन्धानमूलक कृति प्रकाशन गरेको छ भन्नेले निर्धारण गर्छ। प्राज्ञिक प्रकाशन गृहले कुनै कृति प्रकाशन गर्नुअघि त्यससँग सम्बन्धित २–४ जना अरू विज्ञमार्फत त्यसमा लेखिएका तथ्यको सान्दर्भिकता, सत्यता र मौलिकताको यथेष्ट जाँच गर्छन्। तसर्थ कृतिमा उल्लेख तथ्य र पत्ता लगाइएका नयाँ सामग्रीलाई प्राज्ञिक जगत्मा एकदम विश्वसनीयतासाथ हेर्ने गरिन्छ। हिजोआज त व्यक्तिको अनुसन्धानको प्रभावकारिता कति छ भन्ने जानकारी गुगल स्कोलरलगायत विभिन्न वेबसाइटबाट सहजै प्राप्त गर्न सकिन्छ।

विद्यार्थीले विद्यावारिधि अध्ययन अवधिमा कुनै कृति प्रकाशन गर्न सकेको छैन वा आफ्नो शोधपत्रमार्फत खासै नयाँ ज्ञान सिर्जना गरेको छैन भने त्यस विद्यावारिधिलाई सशक्त मानिँदैन। कतिपयलाई अचम्म लाग्ला– जापानमा कसैले आफ्नै रुचिले प्रेरित भएर घरमै बसेर वा अन्य कतै पूर्णकालीन जागिर गर्दै भए पनि ३–४ वटा मौलिक अनुसन्धानमूलक कृति प्रकाशन गरेको छ भने उसले विश्वविद्यालयमा आधिकारिक रूपमा भर्नै नभई पनि विद्यावारिधि उपाधि प्राप्त गर्न सक्छ। यसले पनि विद्यावारिधि भनेको विश्वविद्यालयमा गएर पाठ्यपुस्तकमा भएका सामग्री भण्डार मात्रै गर्नेभन्दा पनि नयाँ ज्ञान, विधा सिर्जना गर्ने व्यक्तिलाई प्रदान गरिने उपाधि हो भन्ने तथ्य उजागर गर्छ।

त्यसो त उत्कृष्ट कृतिहरू प्रकाशन गरेर स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्ने नेपाली पनि अहिले त धेरै  छन्। यस्ता गुणस्तरीय विद्यावारिधि अनुसन्धान गरेका नेपालीलाई देशको हितमा कसरी प्रयोग गर्ने र त्यसका लागि हाम्रो श्रम बजार कति तयार र सक्षम छ भन्ने पक्षमा पनि बहस हुन जरुरी छ। हाल विश्वमै सबैभन्दा बढी विद्यावारिधि प्रदान गर्ने देश भनेर चिनिएको चीनमा औद्योगिक विकास द्रुत गतिमा अगाडि बढिरहेको हुनाले यस्ता उच्च दक्षतायुक्त जनशक्तिलाई चिनियाँ श्रम बजारले राम्रैसँग खपत गरेको देखिन्छ। अझ भन्ने हो भने अलिबाबा, हुवावेजस्ता चिनियाँ कम्पनीले त आकर्षक तलब÷सुविधा दिएर विद्यावारिधि गरेका युवा नियुक्ति गर्ने गर्छन्। तर कतिपय देशमा आवश्यकता र मागभन्दा बढी नै विद्यावारिधि गरेका मानिस भएकाले उनीहरूको रोजगारी व्यवस्थापन टड्कारो समस्या बनेको छ।

प्रायः विद्यावारिधि गर्ने विद्यार्थीको सपना प्राध्यापक बन्ने नै हुने भए पनि अमेरिका, युरोप, जापान, अस्ट्रेलियाजस्ता विकसित मुलुकमा यो सफलता केवल ५ देखि १० प्रतिशत विद्यार्थीलाई प्राप्त हुने गर्छ। अन्य कतिपय विद्यार्थीलाई त शिक्षण, अनुसन्धानबाहेक अन्य विधामा पनि रोजगारी प्राप्त गर्न चुनौती हुने गरेको छ। जस्तो कि सन् १९९० को दशकमा जापान सरकारले आफ्नो देशमा पनि पश्चिमा मुलुकहरूकै हाराहारीमा विद्यावारिधि गरेका अनुसन्धानकर्ताको संख्या वृद्धि गर्ने लक्ष्य राख्यो। तर यो योजना केही वर्षपछि  वद्यावारिधि हासिल गरेका विद्यार्थीको रोजगारीका लागि प्रत्युत्पादक हुन पुग्यो। केही उत्कृष्ट विद्यार्थी विश्वविद्यालयमै रोजगारी प्राप्त गर्न सफल भए पनि अन्यलाई रोजगारी दिन भने जापानी कम्पनी खासै उत्सुक देखिएनन्।

जापानमा राम्रा कम्पनीले प्रायः जापानकै राम्रा विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थी  भर्ना गरेर कामका लागि चाहिने ज्ञान, सीप कम्पनीमै दिलाउने र आवश्यक परेमा आफ्नै कम्पनीमा कार्यरत केहीलाई विश्वकै उत्कृष्ट प्रयोगशालामा आफ्नै खर्चमा विद्यावारिधि गराउने चलन भएकाले अरू ठाउँबाट विद्यावारिधिपश्चात् कम्पनीमा रोजगारीका लागि प्रवेश गर्न चाहनेलाई अलि मुस्किलै हुन्छ। नेपालमा पनि विद्यावारिधि गरेका जनशक्ति बिस्तारै अति प्रवाह हुन सुरु भइसकेकाले दक्ष जनशक्तिलाई बेरोजगार बौद्धिकमा मात्रै सीमित नगर्न विश्वविद्यालय तथा विभिन्न कम्पनीमा यथेष्ट रोजगारीका अवसर सिर्जना गर्नु अत्यावश्यक देखिन्छ।

अन्त्यमा, हाम्रो समाजमा अहिलेसम्म पनि विद्यावारिधि गरेका व्यक्तिको गुणस्तर मापन उसका मौलिक कृतिका आधारमा गर्ने संस्कार खासै विकास भइसकेको छैन। नवप्रवर्तन, प्याटेन्ट वा मौलिक कृतिलाई गुणस्तर मापनको प्रमुख आधार बनाइएन भने खासै प्राज्ञिक योगदानै नभई उपाधि मात्रै लिन विद्यावारिधि गर्ने र त्यसकै आधारमा केवल सामाजिक प्रतिष्ठा बढाउने वा नियुक्ति र बढुवा प्राप्ति गर्ने प्रवृतिलाई प्रेरित गर्न सक्छ।

यस्तो अवस्था हावी हुँदै गयो भने सच्चा विद्वान् पाखा लाग्ने र छद्म बौद्धिकको संख्या वृद्धि हुने डर पनि त्यत्तिकै मात्रामा रहन्छ। फलस्वरूप यसले समग्र शिक्षा प्रणालीको गुणस्तरमै प्रश्न खडा गर्नेछ। विश्वविद्यालय तथा विभिन्न प्राज्ञिक संस्थामा नियुक्तिका लागि मापदण्ड निर्धारण गर्दा विद्यावारिधिलाई केवल न्यूनतम आवश्यकता तोक्दै प्राज्ञिक कृतिलाई मूल्यांकनको प्रमुख आधार मान्ने प्रचलन विकास भए मात्रै उच्च शिक्षाको गुणस्तर वृद्धि हुनाका साथै योगदानका आधारमा विज्ञताको कदर हुनेछ।

उपप्राध्यापक, टोकियोस्थित जुन्तेन्दो विश्वविद्यालय

 

प्रकाशित: २ पुस २०७६ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?