पशुबलिका लागि एसियामै प्रसिद्ध बाराको गढीमाई मेला यही मंसिर १ गतेदेखि जारी छ। प्रत्येक ५ वर्षमा एकपटक महागढीमाई–१, बरियारपुरमा लाग्ने मेलामा नेपाल तथा भारतका लाखौं भक्तजनको भीड लाग्ने गरेको छ। मेला मंसिरभर चल्नेछ। मेला समितिले मंसिर १७ र १८ गते पशुबलिको तयारी गरेको छ। पशुबलिको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्छ। एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिर दर्शन गर्ने मेला समितिको अनुमान छ।
यसपटक चमार समुदायले बारा, पर्सा र रौतहटलाई केन्द्रित गरी मेलामा बलि दिइएका पशुको सिनो बहिष्कार गर्ने र यस्तो अभियानलाई गाउँ–गाउँसम्म लैजाने घोषणा गरेको छ। चमार समुदायभित्रै सिनो उठाउने कि नउठाउने भन्ने विषयमा विवाद पनि देखिन्छ। यो आलेख चमार समुदायले थालेका सिनो बहिष्कार आन्दोलनमा केन्द्रित छ।
सिनो बहिष्कार आन्दोलनको सुरुवात
नेपालमा दलितले गरेका आन्दोलनको इतिहास कोट्याउँदा २००३ सालमा बागलुङका सर्वजित विश्वकर्मा र धरानका जदुवीर रसाइलीले थालेका जातीय मुक्ति आन्दोलनसम्म पुग्नुपर्ने हुन्छ। त्यसपछि २०११ सालमा काठमाडौंंका सहर्षनाथ कपालीको नेतृत्वमा पशुपतिनाथ मन्दिरमा ११ सय जना प्रवेश गरेको लेखिँदै आएको छ। मधेसी दलित आन्दोलनको कुरा गर्दा जहिले पनि २०५६÷०५७ सालमा सिरहा र सप्तरीमा चमार समुदायले गरेका ‘सिनो बहिष्कार’ आन्दोलन नै अग्रभागमा आउँछ। तर यसका लागि २००९ सालदेखि स्वजातीय रूपमा गरिएको ‘सिनो खान(मरिखाने)बन्द’ आन्दोलनले तयार पारेको पृष्ठभूमि भने छायामा परिरहेको छ।
सिनो बहिष्कार आन्दोलनपछि सिरहा र सप्तरीलगायत तराई–मधेसका चमार समुदायको सामाजिक हैसियत बढेको छ। शैक्षिक रूपमा अगाडि बढ्ने अवसर पाएका छन्। आर्थिक र राजनीतिक पहुँच पनि बढेको छ।
सप्तरीको साविक लालापट्टी गाविस निवासी सोमनदास हरिजन (जसलाई पछि बाबा सोमन दासको नामले चिनियो)लगायत केही क्रान्तिकारी युवाले चमार समुदायलाई भइरहेको विभेद अन्त्य गर्न सिनो खाने प्रथा अन्त्यका लागि २००७ सालपछि स्वजातीयभित्र संघर्ष सुरु गरेको पाइन्छ। यसैगरी चमार समुदायभित्र रहेको कुसंस्कार हटाउन २००९ सालमा सोमन दासको नेतृत्वमा ‘नेपाल हरिजन सुधार संघ’ संस्था गठन गरेर आन्दोलन गरेको पाइन्छ। सिनो खान बन्द आन्दोलन २०१८ सालतिर आउँदा सरकारको स्वामित्वमा रहेको बाँसबारी छाला उद्योग कम्पनीका ठेक्केदारलाई कम मूल्यमा छाला बेच्नुपर्ने बाध्यताविरुद्ध ‘ठेकेदारी प्रथा’ अन्त्य गर्नमा परिणत भएको पनि पाइन्छ। जुन २०३६–०३७ सालसम्म चलेको थियो। २०५३ सालतिर चमार समुदायका दोस्रो पुस्तका महन्थी रामलगायत युवाले आन्दोलनको अगुवाइ गरेको भेटिन्छ। उनी नेतृत्वको आन्दोलनले सिनो फाल्ने प्रथामा सुधार अभियानलाई जोड दिएको थियो। र, सिनो फ्याँकेबापत निश्चित ज्यालासमेत तोकाउन उनी नेतृत्वको राम समाज कल्याण संघ सफल भएको थियो।
दलितको सबभन्दा बढी जनसंख्या रहेको सप्तरीमा सरस्वती सामुदायिक विकास मञ्चले एक्सन ऐड नेपालसँगको साझेदारीमा २०५५ सालदेखि सप्तरीका मधुपट्टी, कुशहा, पिप्रापश्चिम, दौलतपुर र हर्दिया गरी तत्कालीन पाँच गाविसमा अधिकारमुखी अवधारणामा दलित समुदायलक्षित कार्यक्रम सञ्चालन गरेको थियो। मञ्चले पाँचवटै गाविसका दलित संगठित गरी पाँचवटा दलित संगम निर्माण गरेको थियो। महिलालाई संगठित गरी नारी संगम गठन गरेको थियो। पाँचवटै गाविसमा महिलालाई रिफ्लेक्ट कक्षाअन्तर्गत चेतना दिइएको थियो। यस्ता कक्षामा स्थानीय महिलाले भोग्नुपरेका समस्या छलफलमा ल्याई समाधान खोज्ने क्रममा चमार महिलाले परम्परागत रूपमा सुडेनीको काम गर्नुपर्ने र पुरुषले सिनो फाल्ने सवाल पहिचान गरिएको थियो। यसै क्रममा चमार समुदायले सुडेनी र सिनो फाल्न बन्द आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेका थिए। त्यसपछि बल्ल सिनो बहिष्कार आन्दोलनको ज्वारभाटा गाउँदेखि जिल्ला, केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरसम्म चर्चाको विषय बन्यो।
सिरहा र सप्तरीमा सिनो फाल्न बन्द गर्दा २०५६ देखि २०६४÷०६५ सालसम्म थुप्रै गाउँका चमारलाई सामाजिक बहिष्कार र नाकाबन्दी लगाइयो। सिरहाका जमिन्दार एवं नेपाली कांग्रेसका नेता पद्मनारायण चौधरी, सप्तरीका तत्कालीन एमालेका नेता दानालाला चौधरीसहित थुप्रै नेता चमारलाई दमन गर्न खुलेआम उत्रिएका थिए। तर पनि आन्दोलन सफल भयो। यसरी सप्तरीबाट सुरु भएको सिनो बहिष्कार आन्दोलन मधेसका सबै जिल्लामा फैलियो। अनि चमार जातिका लागि बाध्यकारी बालीघरे प्रथाका रूपमा रहेको ‘सिनो फाल्नैपर्ने’ अवस्था अन्त्य भयो।
गढीमाई र सिनो बहिष्कार आन्दोलन
गढीमाईमा बलि चढाइएका राँगा, पाडाको मासु चमार जातिले परापूर्वकालदेखि प्रसाद भन्दै खाने परम्परा पनि छ। सिनो बहिष्कार आन्दोलन सफल भएपछि चमार समुदायका अगुवाले गढीमाई मेलामा बलि प्रदानपछि सिनो बहिष्कार गर्ने आन्दोलन सुरु गरेका थिए। यस क्रममा चमार समुदायका अगुवाले २०६६, २०७१ र अहिले २०७६ सालको मेलामा सिनो बहिष्कार आन्दोलन अभियान सञ्चालन गरेका छन्।
मासु सुकाएर सुकुटी बनाउने, वर्षैभरि खाने, नाताकुटुम्बलाई समेत पठाउने चलन चल्दै आयो, यस्तो सिनोबाट। अझ उक्त ‘प्रसाद’ खाएपछि कहिल्यै रोगव्याधिले नछुने अन्धविश्वासले पनि यसमा मलजल ग¥यो। अहिले पनि चमार समुदायको एउटा पक्ष पुर्खादेखि चलेको बिँडो थाम्ने पक्षमा छ भने अर्को पक्ष सिनो उठाउने परम्परा दास मनस्थितिको उपज मान्दै विभेदकारी प्रथा बन्द गर्नुपर्ने पक्षमा छ। जसलाई परिवर्तनकारी सामाजिक अभियन्ताले साथ दिएका छन्।
बहिष्कार आन्दोलनका अभियन्ता गढीमाईमा ढालिएका राँगा प्रसाद नभई सिनो भएको तर्क गर्छन्। फोहोर ठाउँमा दिइएको बलि २४ घण्टापछि खानयोग्य हुँदैन, त्यसैले वैज्ञानिक दृष्टिकोणले न त्यो प्रसाद हो न त मासु नै भन्ने उनीहरूको भनाइ छ। चमार समुदायको एउटा पक्षले सिनो बहिष्कार आन्दोलन गर्न थालेपछि अघिल्लो पटकदेखि समितिले ठेकेदारमार्फत बलि चढाइएको सिनो उठाउन सुरु गरेको छ। ठेकेदारले १८ घण्टाभित्र ओसारेर मासु उद्योगमा लाने गरेका छन्। त्यसपछि बाँकी रहने मासु चमार समुदायका व्यक्तिले घरमा लगेर खाने गरेका पनि भेटिन्छ।
बदनाम चमार मात्र
गढीमाईमा बलि चढेको राँगा लिन काठमाडौं, पर्सा र रौतहटलगायत जिल्लाबाट विभिन्न जनजाति, दलित र पिछडा समुदायका हजारौं व्यक्ति वधशाला पुग्ने गर्छन्। चमारसँगै कछडिया, नेवार, बडही, थारूलगायत थुप्रै अन्य समुदायले पनि मासु उठाएर लैजान्छन्। कतिपयले तसुकाएर पनि लाने गर्छन्। यसरी हेर्दा सिनो अरू जातिले पनि लान्छन् तर नामचाहिँ चमार जातिको मात्र लिइन्छ। समाज त भई नै हाल्यो, मिडियाले समेत ‘सिनो खाने र लुट्ने’ जातका रूपमा चमार समुदायलाई बदनाम गर्ने गरेका छन्।
अघिल्लोपटक ‘गुरु रविदास धर्मसभा’ ले र यसपटक रौतहट, बारा र पर्साका चमार जातिका अगुवाले दशरथ चमार रामको अध्यक्षतामा सिनो बहिष्कार अभियान समिति गठन गरी ६ महिनादेखि चमार बस्ती–बस्तीमा पुगेर सिनो बहिष्कारका लागि अपिल गरिरहेका छन्। यसपटक तीन जिल्लाका पालिका तहमा समेत चमार समुदायले सिनो बहिष्कार समिति गठन गर्दै स्थानीय समुदायसँग छलफल गरेका छन्।
सिनो बहिष्कार आन्दोलनपछि सिरहा र सप्तरीलगायत तराई मधेसका चमार समुदायको सामाजिक हैसियत बढेको छ। शैक्षिक रूपमा अगाडि बढ्ने अवसर पाएका छन्। आर्थिक र राजनीतिक पहुँच पनि बढेको छ। चमार समुदायभित्र एकता नभएसम्म समाज र मेला समितिले विगतमा झैं यसपटक पनि समुदायभित्रै द्वन्द्व गराउने प्रयास गर्नेछन्। गढीमाईका सिनो अरू सबै समुदायले खाए पनि बदनामचाहिँ चमार समुदायको मात्रै गर्ने काम भइरहेकाले यो समुदायका सबै व्यक्ति एकजुट भएर सिनो बहिष्कार गर्न आवश्यक छ।
प्रकाशित: १५ मंसिर २०७६ ०५:०३ आइतबार