coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सत्कर्मको साइत

छोटो हुन्छ शरद् ऋतु। तर रमाइलो हुन्छ। यतिबेला गर्नुपर्ने काम धेरै हुन्छन्। महत्वपूर्ण हुन्छन्। पछि गरौंला भनेर राख्ने हो भने अर्को वर्ष पर्खनुपर्ने हुन्छ। माटोलाई सिञ्चन गरिदिएबापत मानिसलाई ठूलै मूल्य तिराउने गरेको वर्षायाम यासपालि पनि बाढी, पहिरो, डेंगी, गर्मीजस्ता अनेक दुःख दिएर गयो। त्यति दुःख खेपेर पाएको रसिलो भूमिमा शारदीय घामको मीठो न्यानोमा यतिबेला गरिहाल्नुपर्ने काम अनेक छन्। त्यो अहिले नगरे धेरै लामो समय कुर्नुपर्ने हुन्छ।

देशको स्थिति पनि त्यस्तै–त्यस्तै छ। प्राकृतिक ऋतु परिवर्तनमा झैं देशको राजनीतिमा पनि शरद् नै त आएको छैन अझै। तर केही आशा पलाएको स्थिति छ। यो आशा कतिन्जेल बाँचिरहन्छ, यो आशाको कति अंश साकार हुन्छ, हेर्न बाँकी छ। तर राज्य, राजनीतिक दल र नागरिक समाजले गर्नुपर्ने काम यतिबेलै गरेनन् भने कतिपय कुराका निम्ति अर्को युग नै पर्खनुपर्ने पनि हुन्छ। र, त्यतिबेलासम्म धेरै हानि–नोक्सानी भइसकेको हुनसक्छ।

सत्कर्मका निम्ति, गौरवशाली इतिहास रच्नका लागि जुरेको मुहूर्त नेताहरूले नगुमाउन्।

उहिले–उहिले देशको दुरवस्थाको मूल दोष राजतन्त्रलाई दिए पुग्थ्यो। देशले लोकतान्त्रिक गणतन्त्रका रूपमा काँचुली फेरेपछि पनि झेलिरहनुपरेका अनेक समस्या, दिशाविहीनता, गतिविहीनता, बेथितिलगायत सबै–सबै बिमारीको दोष राजनीतिक अस्थिरतालाई दिए पुग्थ्यो। यतिबेला दोष दिनलाई न राजतन्त्र छ, न त त्यो ‘अस्थिरता’। तर पनि देश भने ती बिमारीबाट मुक्त हुन सकेको छैन। कारण ?

एउटै मात्र छैन होला। तर सबभन्दा प्रमुख कारण भ्रष्टाचार हो। यो यस्तो व्याधि हो जसले आक्रमण गरेपछि जनता, समाज र राष्ट्रका कुनै अंग तथा जनजीवनका कुनै पक्ष स्वस्थ र सफा रहँदैनन्। यो यस्तो राक्षस हो जसले खुसीका सबै मुहान सुकाउन सक्छ। जहाँ भ्रष्टाचार व्याप्त छ, त्यहाँ जस्तोसुकै सुन्दर सपना र पवित्र मन भएका रहरलाग्दा युवा पनि सरकारी सेवामा पसे पनि लामो समयसम्म सदाचारमा रहिरहन सक्दैनन्। दुर्भाग्य ! हाम्रो देशमा यही भ्रष्टाचारको आतंक व्यापक भइसक्यो। यति भइसक्यो कि कुनै पनि सरकारी कार्यालयका जुनसुकै कुनामा, जुनसुकै कुर्सीमा, जोसुकैका दराजमा, फाइलमा यसको अलच्छिन छाया तथाविषालु दुर्गन्ध अनुभूत गर्न सकिन्छ।

जे कुरामा पनि कि लोभ देखाएर ‘व्यवहार मिलाउनुपर्छ है’ भन्दै आँखा सन्काउने, कि भने थर्काएर, दुःख दिएर फाइल घुमाएको घुमायै गर्ने वा गायब नै पारिदिने त चलनैभइसक्यो। ‘त्यति जाबो पैसा आउने, सबैलाई बाँड्दा केही फाइदा नहुने यो फाइलमा किन मिहिनेत गर्ने?’ जस्ता शब्द हाकाहाकी ठूलै स्वरले बोलिरहेका हुन्छन्, कर्मचारीहरू। भ्रष्टाचाररूपी यो राक्षसभन्दा भयावह अरू के हुन सक्छ, एउटा कलिलो लोकतान्त्रिक गणतन्त्रका निम्ति ! र, यो राक्षसकी जननी हो– राजनीतिक दलभित्रको सांगठनिक कुसंस्कार। यसविरुद्ध साँच्चैको सार्थक र निर्मम लडाइँ सुरु गर्न अझै आँट नगर्ने हो भने, अझै हतारो नगर्ने हो भने अकल्पनीय नोक्सानी बेहोर्नुपर्नेछ, देशले। भ्रष्टाचारका अनेक आयामबारे जानिफकारहरू त के पनि भन्छन् भने आतंकवादको चपेटामा परेका सबै मुलुकमा आतंकले निरन्तरता पाउनुमाएउटा प्रमुख कारणहो– भ्रष्टाचार।

केही घटनाका कारण यतिबेला भएभरका बेथितिको बाक्लो बादल थोरै भए पनि फाटेर केही उज्यालो छिर्न थालेको हो कि जस्तो लाग्न थालेको छ। सत्ताभित्र वा बाहिरका शक्तिशाली मानिसले पनि सधैंभरि कानुन नाघिरहन नसक्ने रहेछन् भन्ने कुरा देखिन थालेको छ।

केही घटनाका कारण यतिबेला भएभरका बेथितिको बाक्लो बादल थोरै भए पनि फाटेर केही उज्यालो छिर्न थालेको हो कि जस्तो लाग्न थालेको छ। सत्ताभित्रवा बाहिरका शक्तिशाली मानिसले पनि सधैंभरि कानुन नाघिरहन नसक्ने रहेछन् भन्ने कुरा देखिन थालेको छ। कानुनी राज्य संस्थागत हुँदै गएको र लोकतन्त्रले बिस्तारै परिपक्वताको दिशामा पाइला चलाउन थालेको आभास दिन्छ, यसले। कूटनीतिमा केही परिपक्वता आउन थालेको र मिचाहा विदेशी शक्तिको प्रभावबाट मुक्त हुने दिशातर्फ मुलुकले पाइला चल्न थालेको छनक पनि पाउन थालिएको छ, यतिबेला। यतिले मात्रै पनि निरन्तर दुःख पाइरहेको यो देशले केही राहत महसुस गर्न सकेको छ। लोकतन्त्र तथा सदाचारबारे जनताले छुच्चै बोलीले सतर्क गराउँदा पनि राज्यले सुन्न थालेजस्तो पनि महसुस हुन्छ, बेलाबेला। जनताका अधिकांशदुःखको कारण बनेको भ्रष्टाचार र त्यसलाई जन्माउने राजनीतिक दलहरूभित्र जरा गाडेको सांगठनिक कुसंस्कारविरुद्ध निर्मम युद्ध थाल्ने उचित बेला यही हो।

वर्षौंसम्म अनेक जोखिम मोलेर, दुःख खपेर, आफ्नो जीवनको स्वर्णिमकाल लोकतन्त्र र सामाजिक न्यायका निम्ति चढाएर आएका विभिन्न दलका नेता– कार्यकर्ताले यति पनि नबुझेका हुन् र ? पक्कै हैन। तर के कुरा छ त्यस्तो जसले उनीहरूलाई भ्रष्टाचार, दुराचार र सांगठनिक कुसंस्कारजस्ता डरलाग्दा राक्षससँग लड्न रोकिरहेको छ ? ‘मानिस किन खराब हुन्छ?’ अति गहिरो प्रश्नकै अंश भएकाले यसको उत्तर सहज छैन। तर स्थूल रूपमा केही अड्कल काट्न सकिन्छ।

सम्भवतः कष्टपूर्ण राजनीतिक लडाइँमा लामो समय बिताएका नेताहरू सत्ता हातमा आउनेबित्तिकै, पदीय सुविधा उपभोग गर्न पाउनेबित्तिकै संघर्षको थकाइ अनुभूत गर्न थालेका होलान्। आरामदायी जीवनको चाहना र सम्भावना सँगसँगै देखापर्न थालेका होलान्। नयाँ पुस्ताका सदस्य बनेका, धेरै दुःख नभोगेका छोराछोरीका आग्रह र चाहनाको प्रभाव पनि परेको होला। यी सबै एक ठाउँमा जम्मा भएपछि सम्पत्तिको मोह ह्वात्तै बढेको होला। विदेशमा सम्पति पठाउने प्रक्रिया रोक्ने प्रभावकारी संयन्त्रअभावले यो मोहलाई अझ सघाएको होला।

आफ्ना कुरा सुन्ने कर्मचारी भए भने काम लिन सजिलो हुन्छ भनेर चिनजानका जो पायो उसैलाई कर्मचारी संयन्त्रमा प्रवेश दिनु, पछि गएर यही चलन झनै विकृत हुँदै जाँदा नचिनेकै मानिस वा चिनेका बदमास व्यक्तिलाई पनि घूस लिएर महŒवपूर्ण ठाउँमा राख्नु, तिनै मानिसमा झन्झन् निर्भर हुने व्यावहारिक स्थिति आउनु, आचार अभावमा अर्कोचोटिचुनाव जित्न प्रशस्त पैसाको जोहो गर्नुपर्ने आवश्यकता हुनु आदिजस्ता अनेक कारण स्थूल रूपमै देखिन्छन् जसले राम्रै इतिहास भएका नेताहरूको पनि शीलस्खलन गराएका छन्। सत्तासीन पार्टीका नेताहरूमा आफूपनि स्वच्छ हुने र पार्टीपंक्तिलाई पनि स्वच्छ राख्ने साहस भए, कर्मचारीतन्त्रलाई छपक्कै छोपेको भ्रष्टाचार नियन्त्रण र उन्मूलन नहुने कुरै थिएन। कर्मचारीतन्त्र भ्रष्टाचारमुक्त भए समाजबाटै भ्रष्टाचार उन्मूलन हुन नसक्ने कुरै थिएन। विकृत बजारले मलजल गरिरहेको भ्रष्टाचारको संसार पनि क्रमशः व्यापारी, उद्योगपति वा कुनै पनि आवरणमा रहेका भ्रष्टहरूबाट मुक्त हुँदै निर्मल हुँदै जाने सम्भावना हुन्थ्यो र छ। 

तर यसका निम्ति भ्रष्टाचारको कुचक्रनतोडी हुँदैन। व्यावहारिक तहमा यो कुचक्रका अनेक कडीछन्। ती सबैलाई एक–एक गरी छिनाल्न सम्भव छ। तर त्यो त्यतिबेला मात्र सम्भव हुन्छ जतिबेला सत्तासीन र प्रतिपक्षमा रहेका सबै राजनीतिक नेतात्यसका लागि तयार हुन्छन्। यसरी तयार हुनाका निम्ति भने उनीहरूले दार्शनिक तहमै पसेर केही यत्न गर्नुपर्ने हुन्छ।

खुसी हुने अधिकार सबैलाई छ। नेताहरूलाई पनि यो अधिकार छैन भनेर कसैले भन्दैन। तर ‘हेडोनिक’ अर्थात् वासनाप्रधान सुख र ‘युडायमोनिक’ अर्थात् सम्यक् सुखबीचको भिन्नता बुझ्ने प्रयत्न अरू कसैका निम्ति भन्दा नेताका निम्ति बढी आवश्यक छ। दुर्बल हुन कोही चाहँदैन, शक्ति सबैलाई चाहिन्छ। तर शस्त्र वा पदको शक्ति र जनताबाट प्राप्त प्रेमको शक्तिबीचको भिन्नता बुझ्न अरू कसैका निम्ति भन्दा नेताका निम्ति ज्यादा जरुरी छ। सन्तुष्टिसबैलाई चाहिन्छ, तर सम्यक् दिशाबोधबाट प्राप्त सन्तुष्टिर तात्कालिक सतही ‘सफलता’ बीचको भिन्नता बुझ्नु पनि नेताहरूकै निम्ति बढी जरूरी छ।

सत्कर्मका निम्ति, गौरवशाली इतिहास रच्नका लागि जुरेको मुहूर्त नेताहरूले नगुमाउन्। मंगल होस् ! 
 

प्रकाशित: १ कार्तिक २०७६ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App