१३ फाल्गुन २०८० आइतबार
विचार

‘सी विचारधारा’को सान्दर्भिकता

नेकपाका नेतृत्व वर्ग तथा ‘बौद्धिक’हरूले गत साता २ दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबाट राष्ट्रपति तथा पार्टी महासचिव सी चिनफिङका ‘विचारधारा’बारे प्रशिक्षण लिए। ‘दुई दलबीच विचारधारात्मक छलफल’ भनिए पनि दोहोरो नभएको र चिनियाँहरूले मात्र कार्यपत्र पेस गरी एकोहोरो प्रशिक्षण दिएको सो तामझामपूर्ण कार्यक्रमका सहभागी निकै प्रसन्न देखिन्थे।

सत्तामा रहेका शक्तिशाली नेताहरूका विचार, भनाइ वा कार्यहरूलाई उनीहरूका नामका वाद, विचारधारा, सिद्धान्त वा पथ(?)का रूपमा प्रस्तुत र प्रचार गर्ने कम्युनिस्ट परम्परा नै हो। यद्यपि ती विचारमध्ये अधिकतर न उपयोगी हुन्छन् न धेरै टिक्ने; धेरै त प्रतिपादक नेता सत्ताबाट बाहिरिनासाथ आफैं हराउने हुन्छन्। कम्युनिस्ट पार्टीहरूबीच भाइचारा सम्बन्ध हुने कुरा पनि नौलो होइन।

हिजोको युगमा रुस वा माओकालीन चीनजस्ता ‘कम्युनिस्ट केन्द्र’का ठूला  दलसँग नजिकको सम्बन्ध राख्न साना देशका कम्युनिस्ट दल मरिहत्ते नै गर्थे। ती ठूलाचाहिँ सानालाई आफ्नो नियन्त्रणमा राख्थे र आफ्ना ‘विचार निर्यात’ गर्थे। समाप्त भइसकेको त्यो युग पनि यो प्रशिक्षणले अलिकता सम्झाइदियो।

नेपालजस्तो सर्वथा भिन्न ऐतिहासिक, राजनीतिक, सामाजिक–सांस्कृतिक र आर्थिक परिवेश भएको मुलुकको विकासका लागि ‘सी विचारधारा’ प्रयोग सम्भव छैन।

कम्युनिस्ट प्रणाली अपनाएको मुलुकका नेताबाट वैचारिक प्रशिक्षण लिँदा अत्यन्त उत्साहित हुने नेकपा पंक्ति लोकतान्त्रिक विचार छाडेर बिस्तारै एकदलीय कम्युनिस्ट विचारमै फर्किने हुन कि ? अरू मित्र राष्ट्रहरू झस्किने पो हुन कि ? नेपालले अपनाइरहेको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अब छाडिने पो हो कि ? भू–राजनीतिक सन्तुलन खलबलिने पो हो कि ? यस्ता थुप्रै आशंका र प्रश्नमा ‘हाम्रो संवैधानिक प्रणाली भिन्न भएको हुँदा त्यस्तो हुँदैन र पार्टी पार्टीबीचको भाइचारा सम्बन्ध र समझदारीले सरकारी नीति प्रभावित हुँदैन’ जवाफ रह्यो, सरकार एवं पार्टी पक्षको। यसमा चनाखो बनिरहनुपर्ने र खबरदारी गर्न छाड्न नहुने भए तापनि अहिलेलाई उक्त स्पष्टीकरण स्वीकार्दै सी विचारधाराकै गुणदोष र हाम्रा लागि सो प्रशिक्षणको उपादेयतामा यो आलेख केन्द्रित छ।     

सी चिनफिङ विचारधारा के हो र के होइन ?

सर्वप्रथम हेरौं– सीले के त्यत्रो परिवर्तनकारी सिद्धान्त ल्याए त ‘सी विचारधारा’ भन्नलाई ? आधारभूत रूपमा त सीले पनि देङकै अर्थनीतिलाई कायम राखेका छन्। राजनीतिक प्रणाली पनि माओले प्रारम्भ गरेको र देङले पनि निरन्तरता दिएको एकदलीयकम्युनिस्ट शासन नै कायम छ।

वास्तवमा, सी विचाधारा भनेर अहिले चीनमा जसरी जोडतोडसाथ प्रचार गरिएको छ, त्यो देङ नीतिका कारण विकसित र समृद्ध बन्दै गएको आफ्नो देशलाई अब शक्तिशाली पनि बनाउने सीको मार्गचित्र हो।

वास्तवमा, सी विचाधारा भनेर अहिले चीनमा जसरी जोडतोडसाथ प्रचार गरिएको छ, त्यो देङ नीतिका कारण विकसित र समृद्ध बन्दै गएको आफ्नो देशलाई अब शक्तिशाली पनि बनाउने सीको मार्गचित्र हो।

राजनीतिक र आर्थिक नीतिमा मात्र होइन, विदेश नीति, गृह नीति, सामाजिक नीति कुनैमा पनि पहिलेका भन्दा विपरीत त के, भिन्न नीति कार्यक्रम पनि सीले ल्याएका छैनन्। जस्तो ः माओले कडाइसाथ लागू गरेका ३ दशक पुरानो साम्यवादी अर्थनीति उल्टाउँदै देङले सन् १९७८ मा पुँजीवादी अर्थनीति ल्याएका थिए। सीका पूर्ववर्तीहरू जियाङ जेमिन र हु जिन्ताओले पनि भ्रष्टाचार नियन्त्रणलाई आफ्ना प्राथमिकतामा राखेकै थिए। हो, बेल्ट एन्ड रोड इनिसिएटिभ भन्ने एउटा नौलो परियोजना उनले ल्याएका छन्, पहिले नभएको। जुन कुनै वाद, विचार वा सैद्धान्तिक पथ होइन। विश्वका धेरै मुलुकसँग मिलेर आपसी लाभका परियोजना सञ्चालन गरी ‘कनेक्टिभिटी’ बढाउँदै आफ्नो शक्ति र प्रभाव विस्तार गर्ने चीनको महŒवाकांक्षी र दीर्घकालीन योजना मात्र हो। जसको हिस्सा बन्ने कुरामा नेपालका सबै दल सहमत नै छन्; यो राजनीतिक विचार भएको भए त्यस्तो सहमति सम्भव थिएन।

वास्तवमा, सी विचाधारा भनेर अहिले चीनमा जसरी जोडतोडसाथ प्रचार गरिएको छ, त्यो देङ नीतिका कारण विकसित र समृद्ध बन्दै गएको आफ्नो देशलाई अब शक्तिशाली पनि बनाउने सीको मार्गचित्र हो, अक्टोबर, २०१७ मा सम्पन्न पार्टीको १९औं महाधिवेशनमा दिएको लामो भाषणमा उनले प्रस्तुत गरेका लक्ष्यहरूको संश्लेषण र सारांश हो। कुनै छुट्टै सिद्धान्त होइन। सी अत्यन्त महत्वाकांक्षी नेता हुन्।

जसले आफू चाहेजति समय पदमा रहिरहने ध्येयले महासचिवको कार्यकाल दुईपटक मात्र हुने संवैधानिक प्रावधान हटाएका छन्, दोस्रो कार्यकालमा आइपुग्दा। माओबाट आफैं पीडित बनेका र माओको व्यक्तिपूजा देखेका देङ आफू सर्वशक्तिमान नेता हुँदा पनि प्रचारदेखि दूर, ‘लो प्रोफाइल’मा रहन्थे। माओ शैलीको अधिनायकवाद र व्यक्तिपूजा फेरि कहिल्यै नआओस् भनेर उनले बढीमा दुई कार्यकालको सो सीमा लागू गराएका हुन्। र, चीनको इतिहासमा माओसरहकै नेता भन्न थालिएका सी आफ्नो नामको ‘विचारधारा’को चीनबाहिर पनि प्रचार र प्रवद्र्धन होस् भन्ने चाहन्छन्। जसको सुरुआत कम्युनिस्ट पार्टीको सरकार भएको निकट छिमेकी मुलुक नेपालबाट भएको छ।

चीनको विकासका ‘सिक्रेट’– देङदेखि सीसम्म

सन् २०१२ मा सी सत्तामा आएपछि मात्र वा २०१७ मा ‘प्रतिपादित’ सी विचारधाराकै कारण मात्र चीनले चामत्कारिक आर्थिक विकास गरेको होइन; १९७८ पछि देङले खुलापन र पुँजीवादी अर्थनीति अँगालेदेखि नै निरन्तर गर्दै आएको हो। ‘साम्यवादी’ राजनीतिक व्यवस्थाअन्तर्गत पुँजीवादी अर्थनीति अपनाइएको सो प्रयोगलाई ‘चिनियाँ विशेषतासहितको समाजवाद’ भन्न पनि उसबेलादेखि नै थालिएको हो; यो शब्दावली अहिले आएर सीले ‘क्वाइन’ गरेका होइनन्। वास्तवमा, देङदेखि सीसम्म सबैका राष्ट्र निर्माणको मूल सूत्र एउटै हो– आफ्नो विशद तुलनात्मक लाभको अधिकतम फाइदा लिँदै चीनलाई विश्वकै ‘म्यान्युफ्याक्चरिङ पावर हाउस’ बनाउने। विश्व व्यापार संगठनको व्यापार प्रणालीलगायत विश्वव्यापीकरण एवं भूमण्डलीकरणबाट सिर्जित अवसरहरूको अधिकतम फाइदा उठाउँदै आक्रामक निर्यात गरेर धनी, विकसित र समृद्ध बन्ने। ती उद्देश्य हासिल गर्न स्वदेशी र विदेशी निजी पुँजी÷लगानी अधिकाधिक भिœयाउने, लगानीकर्ताहरूलाई यथाशक्य छुट र सहुलियत दिने, सरकारी संस्थानहरूको निजीकरण गर्ने (यद्यपि राजनीतिक कारण उनीहरू त्यसलाई निजीकरण नभनी स्टक एक्सचेन्जमा सूचीकरण गर्ने भन्छन्) जस्ता आर्थिक नीति अपनाउने।

चीनका तुलनात्मक लाभका क्षेत्र र दायरा अरूका भन्दा भिन्न र ठूला छन्; जस्तो– ठूलो ‘इकोनोमी अफ स्केल’, राजनीतिक र नीतिगत स्थिरता, अनुशासित र सस्तो श्रमको प्रचुरता, वस्तु र ऊर्जा उत्पादनलाई आवश्यक कच्चा पदार्थ। आन्तरिक बजार पनि विशाल छ, जसले निर्यात गन्तव्यमा मन्दी आएका बेला पनि कारखाना बन्द हुनबाट रोक्न सक्छ। देशव्यापी रूपको भाषा–संस्कृतिको एकरूपता, जसले उत्पादकत्व र आर्थिक वृद्धिमा सहयोगी भूमिका खेल्छ; उदाहरणका लागि– विदेशी लगानीकर्ता, व्यवस्थापक, विज्ञ, प्राविधिकहरूले चीनमा लगानी वा काम गर्न जानुपूर्व एउटा भाषा मान्डरिन मात्र सिके पुग्छ(अचेल ग्वाङडोङ प्रान्तमा पनि मान्डरिन वा पुत्तोङह्वा सबैले बुझ्छन्), धेरैवटा भाषा सिक्नु पर्दैन। धेरै मुलुकमा यो खाले तुलनात्मक लाभ हुँदैनन्।

हाम्रा तुलनात्मक लाभका क्षेत्र त चीनको तुलनामा नितान्त भिन्न मात्र होइन, अत्यन्त संकुचित र थोरै छन्। त्यसैले पनि चिनियाँहरूको अनुभव वा ‘प्रेस्क्रिप्सन’ हामीलाई काम लाग्दैनन्। तुलनात्मक लाभको क्षेत्र जलविद्युत्लाई जलमाफिया र राजनीतीकरणले बिगारेको छ। पर्यटनलाई कमजोर पूर्वाधार र बन्द÷हडतालले थला पारेको छ। कृषिलाई बढी लागत, श्रम शक्ति अभाव, बिचौलिया राज र सेवा तथा ‘सपोर्ट’ सुविधा पु¥याउन नसक्ने सरकारी अक्षमताले मारेको छ। हर क्षेत्रको राजनीतीकरण, भ्रष्टाचार र कुशासनले सारा विकास पछाडि पारेको छ। यस्ता समस्याका समाधान खोज्न छाडेर कमरेडहरू र चिनियाहरूसँग ‘एक अर्काको विकास मोडलका अनुभव आदानप्रदान गर्ने’ ६ बुँदे सहमति गर्दै मख्ख परेका छन्।

अन्त्यमा,
वास्तवमा, हाम्रोजस्तो तेस्रो विश्वका देशको द्रुत विकास कुनै नेता वा प्राधिकारका विचारधाराबाट हुने होइन। यो त अर्थशास्त्रका सर्वव्यापी र आधारभूत नियमहरू आत्मसात् गरेर लिनै परे, ‘सक्सेस स्टोरिज’(त्यो चीन पनि हुन सक्छ र सिंगापुर पनि)बाट प्रेरणा लिएर, तर आफ्नो देशको विशिष्ट सम्भावना र सीमा ख्याल गरेर मात्र हुन सक्छ। जसका लागि दृढ राजनीतिक इच्छाशक्तियुक्त ‘भिजनरी’, सक्षम र इमानदार नेतृत्व वर्ग, तदनुकूलका संगठन संरचना, व्यवस्थापन कुशलता, सुशासन र संस्थागत विकास आवश्यक पर्छन्। चीनले पनि राजनीतिक कारण देङका पालादेखि आजसम्म ‘समाजवाद’ शब्द प्रयोग गरिरहे पनि धेरै जोड ‘चिनियाँ विशेषतासहितको’ शब्दावलीमा दिएकाबाट सिकौं। र, जे वाद अपनाए पनि ‘नेपाली विशेषतासहितको’ अपनाऔं।

चीनका लागि चीनकै सीले परिकल्पना गरेका राष्ट्र निर्माणको खाका हाम्रो पनि विकासको मोडल हुनुपर्ने न आवश्यकता हो न हुन सक्ने वस्तुगत अवस्था। हाम्रो विकास एवं अर्थतन्त्रका आकार, स्वरूप, मुद्दा, समस्या, प्राथमिकता र राजनीतिक ढाँचा सबैथोक चिनियाँका भन्दा भिन्न छन्। हो, यस्ता प्रशिक्षणले कम्युनिस्ट स्कुलिङबाट आएका तर लोकतान्त्रिक हुँदै जानुपर्ने बाध्यतामा रहेका कम्युनिस्टहरूलाई भावनात्मक र ‘नोस्टाल्जिक’ सन्तुष्टि मिल्ला। दुवै घटकका आआफ्नै ‘ब्रान्डेड’ र फरक राजनीतिक कार्यदिशाले पार्टी एकतामा समस्या भइरहेका बेला ‘सी विचारधारा’बाट मिलन बिन्दु निस्किन्छ कि भन्ने आश पनि उनीहरूलाई होला। तर नेपालजस्तो सर्वथा भिन्न ऐतिहासिक, राजनीतिक, सामाजिक–सांस्कृतिक र आर्थिक परिवेश भएको मुलुकको विकासका लागि त्यस ‘विचारधारा’ प्रयोग सम्भव छैन।

प्रकाशित: १३ आश्विन २०७६ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App