१६ चैत्र २०८० शुक्रबार
विचार

योग+ध्यान=स्वस्थ जीवन

‘जहाँ शरीर, मन, आत्मा र पर्यावरणबीच सद्भाव रहन्छ, त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति हो’– यसै भन्छ, आयुर्वेद। जसअनुसार यो सद्भाव (स्वास्थ्य) उचित आहार, व्यायाम, जीवनशैलीको चालचलन, ध्यानको अभ्यास एवं मनोवैज्ञानिक कल्याणको निरीक्षणका माध्यमबाट हासिल हुन्छ। योग शब्द र शारीरिक क्रियालाई मात्र महत्व दिएर योगको मर्म पूरा हुँदैन। योग र ध्यानलाई सँगसँगै जीवनशैलीको आधार बनाउन सकेमात्र परिणाम हात लाग्छ। त्यसको मापन नै स्वस्थ जीवनशैली हो, किनभने यसमाध्यमबाटै आत्मस्वीकृति र प्रेमसाथ जीवन चल्छ।

योगसँगै आयुर्वेद शिक्षा पनि जोडिएर आएको हुन्छ। नेपाल र भारतीय महाद्वीपबाट अदिकालमा सुरु आयुर्वेद शिक्षाले शारीरिक स्वास्थ्य मात्र होइन, सांसारिक सुखबाट आत्मिक शान्ति र मोक्ष प्राप्त हुनेसम्मको स्थितिलाई स्वस्थ जीवनशैली अपनाउने अभ्यासमा जोड दिएको छ। जीवनका प्रतिकूल परिस्थिति र विचलनमा अनुकूलता दिने कोसिस नै स्वस्थ जीवन जिउने आधार हो। शारीरिक तथा पाचन प्रक्रिया सन्तुलनमा रहनु, सबै अंगले सही सलामत काम गर्नु, खानपान सात्विक र सन्तुलित अनि नियमित हुनु, सबै इन्द्रियले सन्तुलित रूपमा काम गर्नु र मानसिक रूपमा आनन्दित रहनु स्वस्थ मानिसका लक्षण हुन्। त्यसैले स्वस्थ हुनु भनेको बिरामी नहुनु मात्र होइन, जीवनका सबै आयाममा सन्तुलन र सकारात्मक भएर जिउन सक्नु हो। सांसारिक र आध्यात्मिक सुखका लागि पनि स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ। यसका लागि योग र ध्यान संँगसँगै गर्नु अपरिहार्य छ।

मानिस एक बिरामी प्राणीका रूपमा चिनिन थालेको छ। रोग मानिसमा आउने मात्र होइन, मानिस आफैँं पो बिरामी छ त ! यो बिरामीपन मानिसको दिक्दारी, खुबी, सौभाग्य र दुर्भाग्य बनेर रहेका हुन्छन्। मानिस जति चिन्तित र दुःखी छ त्यति पीडित प्राणी पृथ्वीमा अरू भेटिँदैनन्। सबै रोग मानिसलाई नै लाग्छन्, किनकि यसको कारण हो– हामीसँग जे छन्, त्यसमा खुसी छैनौँ। पशुपन्छीलाई पागल बनाउन जंगलबाट चिडियाखाना वा सर्कसमा लैजानुपर्छ। जंगलमा पशु विक्षिप्त हुँदैन तर मानिस आफ्नै घरमा किन विक्षिप्त रहन्छ ? पशुले आत्महत्या गर्दैन तर मानिसले किन गर्छ ? रोग निवारणका दुईथरी उपाय हुन्छन्ः एउटा– मेडिकल औषधि र अर्को– ध्यान। औषधिशास्त्रले मानिसका रोगलाई एक÷एक गरी छुट्याएर अलग–अलग उपचार गर्छ भने ध्यानले मानिसको व्यक्तित्वमा रोग देख्छ र आफूलाई उपचार गर्ने कला सिकाउँछ। क्यान्सर, दम, बाथ, टिबी रोगबाट बिरामी हुनेभन्दा धेरै मनोरोगबाट पीडित मानिस भेटिन्छन्।

सांसारिक र आध्यात्मिक सुखका लागि स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ। यसका लागि संँगसँगै योग र ध्यान गर्नु अपरिहार्य छ।

धन, पद, मानसम्मान र यश सबैले कमाउँछन् तर जसले स्वस्थ जीवन बाँच्न जानेको छ, त्यो हो– वास्तविक कमाइ। त्यसैले होला, भन्ने गरिन्छ– ‘स्वास्थ्य नै धन हो।’ तर आजका मानिस शक्ति हुँदासम्म धन आर्जनका लागि स्वास्थ्य गुमाउँछन् र जीवनको उत्तराद्र्धमा त्यही स्वास्थ्य प्राप्तिका लागि धन खर्च गर्छन्। जति–जति हामी आधुनिक, सभ्य अनि सम्पन्न बन्दै गएका छौँ त्यति–त्यति हामी अस्वस्थ र रोगी पनि बन्दै गएको वास्तविकतालाई नकार्न सकिन्न। हामीलाई यति धेरै सुख सुविधा उपलब्ध भए कि स्वस्थ र प्राकृतिक प्राणी हामी मानिस अप्राकृतिक र अस्वस्थ बन्दै गएका छौँ, दिनप्रतिदिन। विज्ञानले गरेको प्रगतिसँगै हामीमा रोग पनि बढ्दै गएका छन्। नामै नसुनेका र कल्पनै नगरेका रोगले शरीर र मनमा आक्रमण गर्दै जानुमा हाम्रा खानपान, आचरण, व्यवहार र विचारमा समेत प्रदूषण मिसिएकाले हो भन्दा अत्युक्ति नहोला।

हाम्रो जीवनमा यदि समस्या छन् भने ती सबको कारण हो– योग र ध्यान नगर्नु। यसका लागि समय नछुट्याउनु। ध्यानदेखि समाधिसम्म जाने ४ आयाम र कला हुन्छन्– ‘निराकारप्रति जाग्नु ध्यान हो। आफ्नो चिन्मय आत्मा एवं संसारप्रति जाग्नु साक्षी हो। अन्तर्काशमा लीन हुनु समाधि हो र आत्मा एवं परमात्माप्रति जाग्नु सुमिरन हो।’ अति भोजन, आडम्बरपूर्ण अभ्यास, कडा नियम बनाउनु, शारीरिक र मानसिक चञ्चलता ध्यान र योगाभ्यासका बाधक तŒव हुन्। योगका विभिन्न आयाम संक्षिप्तमा यसरी उल्लेख गरिएको हुन्छ।

राजयोग: पतञ्जलीका अनुसार यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि राजयोगका आठ अंग हुन्। यसलाई अष्टांगयोग पनि भनिन्छ।
लययोगः यम, नियम, स्थूल क्रिया, प्रत्याहार, धारणा, ध्यान र समाधि लययोगका अंग हुन्।
ज्ञानयोग: साक्षीभावद्वारा विशुद्ध आत्मज्ञान प्राप्त गर्नु नै ज्ञानयोग हो। यही ध्यानयोग पनि हो।
कर्मयोग: कर्म गर्नु नै कर्मयोग हो। कर्ममा कुशलता ल्याउनु कर्मयोगको उद्देश्य हो। यही सहजयोग पनि हो।
भक्तियोग: भक्त श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वन्दन, दास्य, सख्य र आत्मनिवेदन रूप– यी नौ अंगलाई नवधा भक्ति भनिन्छ। भक्तियोगअनुसार व्यक्तिले सालोक्य, सामीप्य, सारूप तथा सायुज्य मुक्ति प्राप्त गर्छ, यसलाई क्रमबद्ध मुक्ति भनेर उल्लेख गरिन्छ योग विज्ञानमा।

कुण्डलिनी योग: कुण्डलिनी शक्ति सुषुम्ना नाडीमा नाभिको तल्लो भागमा निष्क्रिय अवस्थामा हुन्छ जुन ध्यानलाई गहि-याउँदै गएपछि सबै चक्रबाट गुज्रिँदै सहस्रार चक्रसम्म पुग्छ। यी चक्र ७ वटा हुन्छन्: मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार। ७२ हजार नाडीमध्ये प्रमुख नाडी तीन छन्– इडा, पिंगला र सुषुम्ना। इडा र पिंगला नासिकाका दुवै छिद्रसँग जोडिएका हुन्छन् भने सुषुम्ना भृकुटीको बीचमा  हुन्छ।

प्रकाशित: ९ असार २०७६ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App