coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बूढानीलकण्ठमा वक्रदृष्टि

अहिलेका सत्ता सञ्चालकहरूसँग गर्नुपर्ने एउटै आग्रह छ– सक्छौ राम्रो काम गर, सक्दैनौ भइरहेका राम्रा संस्था नबिगार। पुराना हुँदैमा सबै नराम्रा हुँदैनन्। कतिपय पुराना संस्थाले राम्रो काम गरेका छन्। तिनले समाजमा सकारात्मक प्रभाव पारेका छन्। नयाँ नेपाल बनाउने नाममा भइरहेका पुरानालाई भत्काउने उपक्रम यसकारण पनि अनुचित हो। त्यसैकारण सकिन्छ भने नयाँ संस्था बनाएर राम्रो काम गर्नपट्टि लाग्नुपर्छ, सकिँदैन भने भइरहेकालाई बिगार्नपट्टि लाग्नु हुँदैन। यति गर्न सकियो भने यो नै मुलुकका निम्ति ठूलो सेवा हुनेछ। बूढानीलकण्ठ स्कुलले चर्चेको जग्गा हात पार्नका निम्ति अहिले यो संस्थालाई धराशायी बनाउने गतिविधि सुरु भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २४ गते संसद्मा यो स्कुललाई ५ सय ७० रोपनी जग्गा र ५ करोड रुपैयाँ किन दिने भनेर प्रश्न गरेका छन्। अरू स्कुलजस्तै बनाउन यो स्कुलले चर्चेको जग्गा खोस्ने र अनुदान दिन रोक्नुपर्ने अभिप्राय किन प्रकट भएको छ ? यो स्कुलमा धेरै मानिसले पढ्न पाउँदैनन्। तर, जतिले पढ्न पाउँछन्, खुला प्रतिस्पर्धाबाट देशैभरिबाट विद्यार्थी यसमा आउँछन्। विपन्न अवस्थामा रहेका तर जेहेन्दार विद्यार्थीले यो स्कुलमा पढ्न पाएका कारण तिनको मात्र जीवन सुध्रिएको छैन, तिनले मुलुककै नाम राखेका छन्। यो स्कुलमा पढेका व्यक्तिहरूले देशभित्र र बाहिर सक्रिय रूपमा योगदान गरेका छन्। राम्रो शिक्षा पाएका व्यक्तिबाट ‘सर्वजन हिताय सर्वजन सुखाय’ काम हुन्छ। त्यो भइरहेको पनि छ।

लामो समयदेखि संरक्षित बुढानिलकण्ठजस्ता संस्थाको जग्गा हडप्न खोज्ने उद्देश्य कुनै अर्थमा पनि जायज मान्न सकिने अवस्था छैन।

बूढानीलकण्ठ स्कुल खास अवस्थामा स्थापना भएको हो। मुलुकमा एकदलीय पञ्चायती शासन सत्ता रहेका बेला खुलेका भए पनि यसमा अध्ययन गर्ने विद्यार्थीले प्रतिस्पर्धामा खरो उत्रिएर मात्र मौका पाउने अवस्था रहेको हो। त्यही परम्परा अहिलेसम्म छ। यो स्कुलका लागि राज्यले बर्सेनि ५ करोड रुपैयाँ अनुदान दिँदै आएको छ। दुई किसिमका विद्यार्थी यहाँ अध्ययन गरिरहेका छन्– एक, पूर्ण छात्रवृत्ति र दुई, आफैँले शुल्क तिरेर। यो स्कुलले चर्चेको जग्गामा अहिले व्यापारिक स्वार्थको आँखा लागेको छ। त्यसमा कहिले बसपार्क बनाउने, कहिले सपिङ कम्प्लेक्स बनाउने आदि इत्यादि चर्चा भइरहेका छन्। विशेषगरी स्वार्थ समूह र राजनीतिक नेतृत्वको अपवित्र गठबन्धनले यो संस्थाको सम्पत्ति हत्याउने र त्यसलाई आर्थिक उपार्जनको स्रोत बनाउन खोजिएको देखिन्छ। शैक्षिक संस्थाका नाममा रहेका यस्ता जग्गा र सम्पत्तिलाई शैक्षिक उन्नयनकै निम्ति उपायोग गर्नुपर्छ। यस्ता संस्थाको जग्गा खाली देखेका भरमा व्यापारिक प्रयोजनका निम्ति उपयोग गर्ने वा तिनले पाइरहेको अनुदान रोकेर समाप्त पार्न खोज्ने इच्छा केको प्रेरणाले जागृत भएको छ भन्ने बुझ्नु आवश्यक छ। सरकारले अहिले देशैभरि सार्वजनिक जग्गाको खोजी गरिरहेको छ र त्यसको संरक्षण गर्ने भनेको छ। संरक्षणको उद्देश्यका निम्ति यसरी खोजी हुनु उचित हो। तर, लामो समयदेखि संरक्षित बूढानीलकण्ठजस्ता संस्थाको जग्गा हडप्न खोज्ने उद्देश्य कुनै अर्थमा पनि जायज मान्न सक्ने अवस्था छैन।

यतिबेला विभिन्न तहका सरकार र स्वार्थ समूहको मिलेमतोमा यस्ता संस्थाका जग्गा कब्जा गर्ने काम भइरहेको छ। अहिले गुठीको जग्गासमेत समाप्त पार्ने गरी सरकारले संसद्मा विधेयक ल्याएको छ। त्यसले अहिलेसम्म मठमन्दिर, सत्तल, पाटीपौवा, स्कुल, कलेज, मसानघाट आदिका नाममा रहेका जग्गा बिस्तारै मोहीका नाममा भन्दै कब्जा गर्ने अवस्था छ। त्यति मात्र होइन आफ्नो राजनीतिक दलनिकट नेताका नाममा खोलिने संस्थाका नाममा समेत बूढनीलकण्ठजस्ता स्कुलका जग्गा खोसिँदै छन्। बूढानीलकण्ठको जग्गा कब्जा गर्ने उद्देश्यले पनि अहिले गतिविधि भइरहेको भन्ने छ। बूढानीलकण्ठ स्कुलजस्ता संस्था देशका विभिन्न स्थानमा खुल्नुपर्छ। यसो भयो भने आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीले त्यसमा अध्ययन गर्ने मौका पाउँछन्। भावी नेपालका निम्ति राजनीति, कला, साहित्य, विज्ञान सबै क्षेत्रमा योगदान गर्न सक्ने व्यक्ति उत्पादन गर्नका निम्ति राम्रा स्कुल खुल्नु आवश्यक छ। सरकारले आफैँ सार्वजनिक स्कुलको उत्कृष्ट व्यवस्थापन गरेर अरूका निम्ति पनि प्रेरक बन्ने कोसिस गर्नुपर्छ। बूढानीलकण्ठ स्कुलमा पढ्ने विद्यार्थी सामन्ती परिवारबाट आउँछन् भन्नेजस्ता प्रचारसमेत गराइएको देखिन्छ। सामान्य परिवारबाट आएर पनि आफ्नो क्षमताका आधारमा त्यहाँ पढ्ने मौका पाएका विद्यार्थीहरूले यस्तो अभिव्यक्ति सुन्दा के अनुभव गर्दा हुन् ? हिजो राजाका सन्तान पनि त्यहाँ पढे भन्ने आधारमै यसो भनिएको हो भने त यसमा के तर्क गर्न सकिन्छ र ! त्यसैले हिजोको निरंकुश भनिएको व्यवस्थाले समेत राम्ररी सञ्चालन र व्यवस्थापन गरेर अहिलेसम्म आइपुगेका यस्ता संस्थालाई भावी पुस्तासम्मको सेवाका निम्ति निरन्तरता दिने कोसिस गरौँ। सबैतिर भत्काएर शैक्षिक क्षेत्रलाई ध्वस्त पार्ने उद्देश्य नराखियोस्। यो स्कुल पनि मार्ने प्रयास गरियो भने सबैलाई सहज चेतना हुनेछ सरकार अहिलेको उज्यालोबाट अँध्यारोतर्फको यात्रामा दौडिरहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App