coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

गुरु बन्ने कि गोरु ?

‘दुइटा गगनचुम्बी पाँचतारे होटलका बीच एउटा फुच्चे घर टिक्छ र ?’ 
एउटा भोज कार्यक्रममा एक महानुभावले नेपाल राष्ट्रलाई इंगित गर्दै सोधे। म एकछिन सोच्न बाध्य भएँ। अनि सुस्तरी भनें, ‘अवश्य टिक्छ, यदि त्यो घर ती दुवैका गुरुको हो भने...।’ अनि हास्दै थपें, ‘तर त्यो घर गोरुहरू मात्र चर्ने ठाँउजस्तो बन्यो भने चाहिँ टिक्दैन है। चुरो कुरो, हामी छिमेकको गुरु बन्ने कि गोरु ?’ 

घर फर्केर अलि गहन रूपमा सोचेपछि म निश्कर्षमा पुगें– देश होस् वा घरपरिवार, त्यो टिक्ने वा नटिक्ने भन्ने कुरा उसका छिमेकले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा भरपर्छ। यदि छिमेकीलाई त्यो फुच्चे घरका परिवार आफैंलाई राम्रोसँग सम्हाल्न नसक्ने मगन्ते र विवेकहीन लाग्यो भने त्यो चाँडै विलिन भएर जान सक्छ। तर त्यो घर कुनै कुटी वा आश्रमजस्तो बन्छ र जुन सुसंस्कृत आचारण र वातावरणले भरिभराउ हुन्छ भने त्यो युगौंसम्म अस्तित्वमा रहन्छ। र, त्यस कुटीलाई तिनै पाँचतारे होटलका शक्तिशाली र समृद्ध छिमेकीहरूले आदरमात्र गर्ने छैनन्, श्रद्धाले शीर नै निहुर्याउनेछन्। यतिमात्र होइन, त्यस कुटीलाई संरक्षण गर्न मरिमेट्नेछन्। त्यसैले अहिले हामी नेपालीका लागि एक अहम् प्रश्न सायद यो हो– हामी छिमेकीको गुरु बन्ने कि गोरु ?

सायद हामीमध्ये कतिपयलाई के थाहा छैन भने कुनै बेला हाम्रो भूमि एउटा अपार ज्ञानको भण्डार थियो। यहीं कुटी बनाएर बसेका महाभारत, वेद, पुराण लेख्ने व्यासदेखि रामायणका रचनाकार वाल्मिकीसम्म ऋषिमुनिका उपदेशहरूले अहिले एक अर्बभन्दा बढी हिन्दू धर्मावलम्बीलाई प्रेरणा दिइरहेका छन्। यही भूमिबाट ज्ञान बाँड्दै हिँडेका गौतम बुद्ध तथा गुरु रिम्पोचे पद्मसम्भव आधा अर्बभन्दा बढी बौद्ध धर्मावलम्बीका लागि मार्गदर्शक बनेका छन्। 

मिथिलाका राजा जनकले यही भूमिलाई सुसंस्कृत आचरण र राज्य सञ्चालनको नमुना बनाएको कथा हामीसँग छ। उनकै छोरी सीताको उदाहरणीय आचरणले करोडौं मानिसलाई मार्गदर्शन गरिरहेको छ। यहीं महागुरु फाल्गुनन्दले किरात समुदायका लागि मात्र नभएर मानव जातिकै लागि करुणादायी उपदेशहरू दिएर गएका छन्। शिखहरूका धर्मगुरु नानक पनि नेपालमा आई शिक्षादीक्षा दिएका कथाहरू पनि छन्। ब्रिटिस साम्राज्यले ढोका ढक्ढक्याइरहेका बेला गुरु गोरखनाथको मार्गदर्शनकै कारण तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको स्वरूप दिन सके। त्यसैले पौराणिक नेपाललाई एक गुरुभूमि भन्दा अत्युक्ति नहोला। 

नेपाललाई फेरि एउटा गुरुभूमि वा ज्ञानभूमिमा रुपान्तरण गरिएन भने देशको अस्तित्व नै संकटमा पर्ने देखिन्छ।

यस्तै अर्थशास्त्रीहरूका अनुसार करिब तीन सय वर्ष अघिसम्म भारत र चीनले संसारकै आधाभन्दा बढी अर्थतन्त्र ओगटेका थिए। र, नेपाल भूमि यही बीचमा थियो। तर यही सभ्यताको शक्तिशाली भूमिका नागरिक हामी अहिले विश्वकै गरिब, अज्ञानी, भ्रष्ट, विवेकहीन र दिशाहीन बन्न पुग्यो। हाम्रा विगतका सुसंस्कारहरू अहिले कता हराए होलान् ? हाम्रो देशलाई फेरि पहिलेको जस्तै सनातन ज्ञानभूमि, गुरुभूमि बनाउन सकिन्छ त ? अवश्य सकिन्छ। किनकि यसको विकल्प नै नै छैन हामीसँग। अहिलेको नेपाललाई फेरि एउटा गुरुभूमि वा ज्ञानभूमिमा रुपान्तरण गरिएन भने देशको अस्तित्व नै संकटमा पर्ने देखिन्छ। 

यथार्थ यस्तो छ– अबको १२ वर्षमा चीन, विश्वको सबैभन्दा शक्तिशाली र ठूलो अर्थतन्त्र बन्दैछ। अनि भारत दोस्रो वा तेस्रो हुनेछ (अमेरिका सँगसँगै)। यिनैका बीचमा रहेको नेपाल एक ‘गोरु राष्ट्र’ सरह अझै पनि अरूहरूकै कृपा–दानमा डोहोरिरहनुपर्ने, अरूकै इशारामा नाचिरहनुपर्ने हो भने धेरै दिन स्वतन्त्र वा सार्वभौम रहन नसक्ने निश्चित छ। यस्तो ‘गोरु राष्ट्र’ को विकल्प भनेकै छिमेकले ‘गुरु’ जस्तो आदार गर्नसक्ने र श्रद्धाले हेर्नसक्ने ‘गुरु राष्ट्र’ बन्न सकेमात्र हाम्रो सार्वभौमसत्ता र स्वाभिमान जोगिन सक्छ। अर्थात् हाम्रो राष्ट्रलाई छिमेकले हेर्ने नजर नै ‘गुरु’ को जस्तो हुनुपर्याे–बनाउनुपर्याे। 

प्रश्न उठ्छ– त्यसोभए गुरु राष्ट्र कसरी बन्न सकिन्छ त ? यसको उत्तर हो– हाम्रै व्यवहार, पृष्ठभूमि र वातावरणले। गुरु राष्ट्र बन्नका लागि त्यस देशका नागरिक असल र सुसंस्कृत आचरणको हुनु आवश्यक छ। जहाँका जनतामा सही र गलत छुट्याउनसक्ने खुबी हुनुपर्छ। जसलाई विवेकशील नागरिक, अनि यी हरेकमा हुनुपर्ने नैतिक रुपान्तरणलाई चाहिँ ‘गुरु संस्कार’ भन्न सकिएला। जसका लागि आवश्यक केही आधारभूत मूल्यमान्यताबारे पनि यहाँ छोटकरीमा चर्चा गरौं। 

१. निष्ठाः बोली र व्यवहारमा तालमेल जब आउँछ तबमात्र उसलाई निष्ठावान् भन्न मिल्छ र ऊ भरोसा गर्न लायक हुन्छ। गुरुहरूका निष्ठावान् सादगी जीवनशैलीले सदैव समाज, देश र संसारलाई नै सामूहिक हितको मार्गतर्फ डोहोर्याउँछ। 

२. विनम्रताः ‘मैमात्र सक्छु, मैलेमात्र जानेको छु’ जस्तो अहम नेतृत्व तहलाई परास्त गर्न यहाँ विनम्र गुरुहरू अपरिहार्य छ। विनम्रताले ‘को ठीक भन्दा पनि के ठीक’ भन्नेतर्फ समाजलाई दिशानिर्देश गर्छ। जसबाट देशवासीहरूमा जित–जितको सम्बन्ध बनाउन सघाउ पुग्छ।

३. समानुभूतिः विविधताले भरिएको नेपालमा एकअर्काप्रति समानुभूति राख्नसक्ने गुरु नागरिकले नै यहाँका सयौं जातजाति र भाषाभाषीलाई एकजुट बनाइराख्न सक्छ। फरक विचार र व्यथालाई ‘समान’ अनुभूति गर्नसक्ने सहिष्णु संस्कार  विकास गरेमात्र हामी देशलाई गुरु राष्ट्रमा परिणत गर्न सक्छौं। 

४. साहसः  नेपाली समाजमा व्याप्त अन्याय र अत्याचारलाई औंला ठड्याउने नैतिक साहस ‘गुरु’ नागरिकमा हुनुपर्छ। बुद्धिको साहसिक उपयोगपछि मात्र विवेकशील गुरु बन्न सकिन्छ। 

५. उत्कृष्टताः  विविधताकै उत्कृष्टतालाई कदर गर्नसक्ने व्यक्ति र समाजले सिर्जनशील, नवीन प्रयोगद्वारा देशको स्वतन्त्रता, समृद्धि (समतामूलक) र नागरिकको स्वाभिमान जोगाउन सक्छ। 

६. पारदर्शीताः विचार र प्रणाली दुवै पारदर्शी बनाउने र खोज्ने नागरिक विकास गर्न सकेमात्र अहिले व्याप्त लूटतन्त्र र भ्रष्टाचारलाई जरैदेखि उखेल्न सकिन्छ। 

गुरु राष्ट्रमा हरेक कोणबाट व्यक्तिलाई समृद्ध बनाउन समाजले आत्मनिर्भरताभन्दा पनि अन्तरनिर्भरता (इन्टर डिपेन्डेन्स) को वातावरण बनाउन पहल गर्छ। नागरिकमा नवीनता र सिर्जनशीलता ल्याउन समाजले गतिशील ‘उद्यमशील’ चरित्र अँगाल्न जरुरी छ। गुरु राष्ट्रमा सरकारको चरित्र शासक होइन, सेवकजस्तो हुन्छ।  जसले एकातिर नागरिक स्वतन्त्रतालाई रक्षा गर्छ भने अर्कातिर सबैको समवृद्धि हुने वातावरण बनाउन पहल गर्छ। यसरी नागरिकका स्वतन्त्रता, समृद्धि र स्वाभिमानलाई बढावा दिँदै सशक्त बनेको राष्ट्रलाई छिमेकहरू आदर–सत्कार गर्न बाध्य हुन्छन्। 

नेपाललाई गुरु राष्ट्र बनाउन हामी नागरिक, समाज र सरकारमा आउनुपर्ने रुपान्तरणको त कुरा गर्याैं। अब केही ठोस रणनीतिका पनि कुरा गरौं। जसले हामीलाई हेर्ने हाम्रा उत्तर–दक्षिणका छिमेकको दृष्टिकोण नै बदल्न सकोस्। अहिलेको अवस्थामा यस ‘उत्तर–दक्षिण’ नीतिअनुरूप हामीले कम्तीमा छिमेक व्यवस्थापनका पाँच भू–रणनीतिमा ध्यान दिनु जरुरी छ।

पहिलोः नेपाल विश्वको केन्द्रबिन्दुमा छ भन्ने यथार्थबोध देश–विदेश दुवैमा गराउने। नेपाल भूमिको गरिमामय इतिहास सम्झाउने, विविध मौलिक पहिचानहरूलाई बलियो बनाउने र भविष्यमा हामी कसरी ‘गुरु राष्ट्र’ बन्ने भन्नेबारे आध्यात्मिक र भौतिक गुरुयोजनाहरू बनाई अघि बढाउने। 

दोस्रोः छिमेकहरूबीच ‘सहअस्तित्व’ भावना दह्रो बनाउने। चीन–भारत–नेपालमा विद्यमान हिन्दू–बौद्धलगायत विभिन्न संस्कृतिको निकटतालाई उजागर गर्दै एक बृहत् बहु–सांस्कृतिक गठबन्धन विकास गर्ने। हरेक भारतीय तथा चिनियाँ नागरिकलाई कम्तीमा एकपल्ट नेपाल आउनै मनलाग्ने वातावरण सिर्जना गर्ने।  नेपाललाई ‘गुरूहरूको देश’ भनेर चिनाउने । 

तेस्रोः ‘अन्तरनिर्भरता’ को पहल गर्ने।  नेपाल, भारत र चीन आपसमा अन्तरनिर्भर हुनेगरी आर्थिक–सांस्कृतिक सम्बन्ध स्थापित गर्ने रणनीति लिने। यस्तै किसिमको अर्थ, शिक्षा तथा उद्यम नीतिमा विशेष जोड दिने। साथै सांस्कृतिक अन्तरनिर्भरतालाई पनि जोड दिने। 

चौथोः ‘समनिकटता’ को नीतिमा जोड दिने। आफ्ना दुई छिमेकबीच एउटा बलियो संयोजक बन्ने। छिमेकबीच हुनसक्ने द्वन्द्व र यसमा विश्व नै मुछिने खतरा निवारण गर्न नेपाललाई एक ‘सम्वाद भूमि’ का रूपमा विकास गर्ने। 

पाँचौंः ‘समानुभूति’ अवधारणाबाट छिमेकलाई सुरक्षा गर्ने नीति अवलम्बन गर्ने। समानुभूतिलाई केन्द्रबिन्दुमा राखी हाम्रा छिमेकमा बस्ने तीन अर्ब जनतालाई परिआउने जटिल मानवीय र पर्यावरणीय समस्याहरूलाई समाधान गर्ने हेतुले नेपाललाई ‘बुद्ध भूमि’ का रूपमा विकास गर्न पहल गर्ने।

अन्त्यमा, सीधा कुरा के हो भने हामी छिमेकको गुरु बन्ने कि गोरु ? दुवै छिमेकले हामीलाई सम्मान र श्रद्धा गर्ने वातावरण बनेमात्र यो मुलकको स्वाभिमान जोगाउन सक्छौं नत्र कुनै न कुनै रूपमा उनैका ‘गोरु’ बन्नु पर्ने जोखिममा हामी छौं। अहिले हामीले पाएका कतिपय शिक्षा, हाम्रा दैनिक आचरण र हाम्रा सामाजिक (कु)संस्कारहरूले हामीलाई गुरुभन्दा गोरु बन्नेतर्फ धकेलिरहेको आभास हुन्छ। यसलाई रूपान्तरण गरी नयाँ पुस्तालाई के सही के गलत छुट्याउनसक्ने शिक्षादीक्षा दिनमा लगानी गर्नु राज्यको पहिलो प्राथमिकता हुनुपर्छ।  

उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक। 
संकल्प के लिनु, गुरु राष्ट्र बन्नु एक।।

                                             (लेखक विवेकशील नेपाली दलका अध्यक्ष हुन्।)

                                                                                          @ujwalthapa

प्रकाशित: १३ चैत्र २०७५ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App