coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मलाई तर्क गर्नु छ, प्रमज्यू!

प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संसदमा संप्रेषित सरकारको रिपोर्ट कार्ड सुनियो।अंग्रेजी वर्ष २०१८ समाप्त भएर सम्पूर्ण विश्व नयाँ वर्षको हर्षोल्लासमय वातावरणमा छ अहिले। यही वातावरण र अंग्रजी नयाँ वर्षमा हाम्रा प्रमलाई झण्डै एक वर्षको प्रगति समीक्षा संसद्समक्ष राख्ने जाँगर चलेको हुनुपर्छ।

सरकारको रिपोर्ट कार्ड फेल भएको विद्यार्थीले मार्कसिट आफैँ सच्याएर उच्च अंक प्राप्त गरी बाबु/आमालाई ठगेजस्तो छ। यसमा तिखो टिप्पणीका आधार छन्।  नेपाल सरकारकै सूचनामा विश्वास गर्ने हो भने पनि प्रम स्वयम् ठगिएका वा अबुझ भएको देखिन्छ। चेक गर्नु तथ्यांकहरू। नागरिकको हैसियतबाट यो रिपोर्टकार्ड सुन्नुपर्दा मलाई उदेकमात्र लागेन। सिंहदरवार परिसरमा बस्ने सबै कानको बहिरा, आँखाका अन्धा, दिमाग नचल्ने र शरीर गलेकामात्र हुँदारहेछन्भन्ने पुनर्पुष्टि भयो। भनिन्छ, सिंहदरवारको वास्तु मिलेको छैन भनेर। म यसमा विश्वास गर्दिन तर केही छ त्यहाँ जो मिलेको छैन।

सरकारको रिपोर्ट कार्ड फेल भएको विद्यार्थीले मार्कसिट आफैँ सच्याएर उच्च अंक प्राप्त गरी बाबु/आमालाई ठगेजस्तो छ। यसमा तिखो टिप्पणीका आधार छन्। 

प्रम ओली आफ्ना बोली र विरोधीप्रति प्रहार गर्ने व्यंग्यवाणबाट चिनिन्छन्। प्रम ओलीको तर्क/कुतर्क जे भए पनि एकथरी नेपाली उनलाई औधी मनपराउने पनि छन् यस्तै बोलीका कारण। मलाई भने साह्रै नै दिक्क त्यतिखेर लाग्यो जब प्रम ओलीले आफू कुनै तर्क र रंगीविरंगी प्रश्नमा नअल्झिने भन्दै सांसदहरूलाई संबोधन गरे गत आइतबार।यो प्रम ओली मौलिकताको अन्त किन भएको हो ? बिना तर्क/वितर्क देश विकास कसरी हुन्छ मैले बुझेको छैन प्रमज्यू ? फेरि संसद् अर्थात पार्लेमेन्ट भनेको तर्क/वितर्क गर्ने ठाउँ नै हो भनी मैले प्रमलाई सम्झाइरहनु नपर्ला। हो, तर्क/वितर्क केको गर्ने भन्ने प्रश्न अहम् छ।

आज संसद् र सांसदहरूलाई आमनागरिकसँग कसरी जोड्ने भन्ने प्रश्न मौलिक छ नेपालमा। योसँग नेपालको संविधानको भविष्य जोडिएको छ। तर जनता राजनीतिबाट मात्र होइन, राजनीतिज्ञबाटै विरक्तिएका छन्यतिखेर। दुईतिहाइको कम्युनिस्ट सरकारबाट निराश छन्। प्रमको सम्बोधनबाट आमनागरिकको कान संसद्प्रति आकर्षित भएन। प्रमको सम्बोधनका क्रममा नागरिकले आफ्नो टिभी सेट र रेडियो बन्द गरे भने सिंहदरवारले के बुझ्ने ? प्रमले एक वर्ष रेल, पानीजहाज, घर–घरमा ग्यास, मोनोरेल यस्तै नचाहिँदा अनेक कुरा गरेर बिताए, अझै गर्दैछन्। अनेक ठूला सपना देखाए तरनिर्मला हत्या प्रकरणमा प्रम अपराधीझैँ भएर कठघरामा उभिएका छन् अझै। संस्थागतभ्रष्टाचारले नेपालको दयनीय अवस्थामात्र देखाउँदैन दुईतिहाइको कम्युनिस्ट सरकार भ्रष्टाचारमा रमाएको पनि देखिन्छ। प्रम ओली निसन्देह निर्मला हत्या प्रकरणमा मात्र कठघरामा उभिएका छैनन् आम नागरिकबीच पनि उनी दुईतिहाइको शक्ति लिएरकठघरामा उभिन बाध्य छन्।

सरकार प्रमुखबाट आमनागरिकले केही कुरा सुन्न र जान्न चाहेका थिए उनको संबोधनमार्फत। सरकार प्रमुखबाट विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्दै भविष्यप्रति आमनागरिकलाई आश्वस्त पार्ने जिम्मेवारी थियो यतिखेर। आमनागरिक आफ्नो पीडादायी वर्तमानबाट मुक्तिको खोजी गर्दै भविष्यप्रति आश्वस्त हुन चाहन्थे प्रमको संबोधनमार्फत।  विगत एक वर्षदेखि दुईतिहाइको कम्युनिस्ट सरकार जनअपेक्षाअनुरूप भएन भनी सर्वत्र कोलाहल छ। यस्तो आरोप वर्तमान सरकार निर्माणमा सक्रियता देखाएका कैयन् सर्वसाधारण  भन्दैछन्।

नागरिकको हैसियतबाट यो रिपोर्टकार्ड सुन्नुपर्दा मलाई उदेकमात्र लागेन। सिंहदरवार परिसरमा बस्ने सबै कानको बहिरा, आँखाका अन्धा, दिमाग नचल्ने र शरीर गलेकामात्र हुँदारहेछन्भन्ने पुनर्पुष्टि भयो।

सार्वभौम जनतामा सर्वोच्च शक्ति हुन्छ भनी हामीले संविधान बनाएका छौँ। त्यही सर्वोच्च शक्तिले आफ्नो सत्ता प्रम खड्ग ओलीलाई सुम्पिएको छ। अनि नागरिक आफैँले निर्माण गरेको प्रतिनिधि शक्तिबाट निराश र अपहेलित हुनुपर्ने संबोधन प्रमलाई किन गर्नुपरेको होला ?

एकातिर सरकार आफैँले ‘गरेँ’ भनेका काम लथालिंग भएर बसेका छन्। सिन्डिकेट अन्तदेखि गैरसरकारी संस्थालाई पारदर्शी बनाउने काम यसका उदाहरण हुन। यस्ता कैयन् उदाहरण छन् जसको ठेली नै बन्ने बेला भइसक्यो।  अर्कोतिर सरकारले संविधान नै मिचेर जेलमा भएका व्यक्तिलाई सपथ खुवाउनुपर्ने के परिस्थिति निर्माण भयो ?बुझिनसक्नु छ । प्रमका सबै काम/कारबाही विरोधाभाषपूर्ण त छ नै, भविष्यमा पनि नसच्चिने डरलाग्दो संकेत देखिनु दुर्भाग्य हो। थुप्रै कमी/कमजोरीको पृष्ठभूमिमा पनि वर्तमान सरकारको संवैधानिक विकल्प छैन। कम्तीमा पनि यो सरकार पाँच वर्षसम्म चलोस् भन्ने सर्वसाधरणको अपेक्षा अझै समाप्त भएको छैन। अर्थात सरकारसँग अझै चार वर्ष बाँकी छ। के गर्ने यो चारवर्ष ?

भारतमा अहिले नरेन्द्र मोदीको सरकार भएको चारवर्षभन्दा बढी भयो। मोदी सरकारले आफ्ना प्रारम्भिक दिनहरूमा प्रमओली सरकारले झैँ चम्किला विकासका सपना बाँडे। मोदी सपनाको क्वाइन थियो– ‘अच्छे दिन आने वाले है।’अहिले ओली सरकारको क्वाइन छ– ‘समृद्ध नेपाल, सुखी नेपाली।’ उस्तै उस्तै छ  दुवैको। दुई दशकअगाडि भारतमा तत्कालीन प्रम अटलबिहारी वाजपेयीको सरकारलाई ‘साइनिङ इन्डिया’ भन्थे। जब बाजपेयीले पाँच वर्षको कार्यकाल पूरा गरे र आमनिर्वाचनमा गए, इन्डिया त साइनिङ नै भयो तर भारत गरिब थियो। भारतवासी गरिबी र बेरोजगारीमा थिए र बाजपेयी चुनाव हारे। अहिले नरेन्द्र मोदीको सरकार पहिलोपल्ट भारतसँग जोडिन खोज्दैछ। अर्थात इन्डिया निर्माणको सोच त्यागी भारत निर्माणको सोचबाट अगाडि बढ्न खोजेको छ।

के हो भारत समृद्धिको सोच र के हो नेपाल समृद्धिको सोच ? आज पनि भारत र नेपालमा अधिकांश जनता कृषिमा निर्भर छन् तर कृषि र किसानको हालत बेहालछ। यो दिव्यज्ञान मोदी सरकारलाई भर्खर आयो रउनले कृषिमा व्यापक सुधार सुरु गरेका छन्। नेपालमा ओली सरकारले अहिले नै कृषिमा किन सुधार सुरु नगर्ने ?

कृषि क्षेत्र अपहेलितमात्र छैन, सरकारले बेवास्ता नै गरेको अवस्था छ। कृषिलाई बर्बाद बनाएको छ कृषि मन्त्रालय, विदेशी परियोजना र सोचले। यहीकारण एकातिर कृषिसँग जोडिएका युवा गाउँवाट पलायन भएर सहरमा मजदूरी गर्न बाध्य छन्। सहरमा तिनले बस्ने, खाने र परिवार पाल्ने अवस्थाप्रति सरकारको फिटिक्कै ध्यान गएको छैन। तिनका सन्तानको कुनै आशालाग्दो भविष्य छैन। अर्कोतिर मलेसिया र मध्यपूर्व जाने तिनै ग्रामीण युवा गाउँबाट निस्केदेखि काठमाडौँ हुँदै त्रिभुवन विमानस्थलमा अनि विदेशमा पनि देशी÷विदेशी सबैले ठग्छन्, लुट्छन् र अपमानित पनि गर्छन्। सर्वप्रथम ओली सरकार साइनिङ काठमाडौँ अर्थात हवाईजहाज, रेल, मोनोरेल, निजी स्कुल, निजी कलेज, निजी अस्पताल यी साइनिङ कुराबाट मुक्त भएर सही अर्थमा नेपालको विकासमा प्रवेश गर्नुपर्‍यो। नेपालको विकास किसान र कृषिको विकासबिना सम्भव नै छैन।

भ्रष्टाचारमा प्रमको संलग्नता छ भने यो देशलाई अझै बर्बादी हुनबाट रोक्न सकिन्न। यो दुुर्भाग्य नेपालीले भोग्नैपर्छ। यहाँ यो विश्वासमा अगाडि बढ्नुको विकल्प छैन कि प्रम भ्रष्टाचारलाई न्यून गर्न चाहन्छन् भनेर। अब प्रमसामु प्रश्न आउँछ– किन वाइड बडी खरिद प्रकरणमा भएको घोटाला सार्वभौम संसद्समक्ष सफा र प्रष्टरूपमा नराखेको भनी। प्रमलाई हेक्का हुनुपर्छ नैतिक शक्तिबिना जनताको दुईतिहाइ शक्तिले मात्र शासन संभव छैन, समृद्धिको त कल्पना पनि नगरौँ। विश्वास गरौँ, प्रमको नैतिक शक्ति समाप्त भएको छैन भनेर।

भ्रष्टाचार तीन ठाउँमा छ– शासक, प्रशासक र विदेशी दातृ निकायमा।यी तीनै अंगले देश चलाएका छन्। शासक अर्थात राजनीतिज्ञ। यी जानेर÷नजानेर भ्रष्टाचार गर्छन्, फस्छन्। शासकका आफन्तले भ्रष्टाचारको  नेटवर्किङ चलाएको राणा, राजाको समयदेखि हो। यसमा कुनै सुधार छैन, अझै बढ्यो। जस्तो अहिले मन्त्रीहरूका छोराहरू मिलेर सर्वत्र भ्रष्टाचारको सञ्जाल निर्माण गरेका छन् भनी छापाहरूमा पढ्न पाइन्छ। दरवार पनि यस्तै त थियो। प्रशासकसँग दिगो र भूमिगत भ्रष्टाचारको सञ्जाल छ। यो दिगो छ, दिगो विकास नेपालले यसैमा गरेको छ।  यो संस्थागत छ र यसका उदाहरणहरू कोसँग कति गाडी छ र कति घरवार छन् भनी छापाहरूमा दिन/रात आइ नै रहेका छन्। प्रशासकको भ्रष्टाचार सञ्जाल बुझ्न र यसमाथि निर्ममतापूर्वक प्रहार गर्न प्रमसँग को छ टिम ?

नेपालमाशासकपरिवर्तन भइरहेका छन्। कहिले राणा, शाह, कांग्रेस र कम्युनिस्ट अनेक आए। यिनले संस्थागत भ्रष्टाचारको सञ्जाल बनाउन संभव छैन। यी पटके हुन्। तसर्थ धेरै नै लोभी पनि छन्। तर प्रशासनतन्त्र स्थायी सत्ता हो। यसको सञ्जाल वडा सचिवदेखि सुप्रिम कोर्टसम्म छ। जनता यही सबैभन्दा धेरै भ्रष्टाचारबाट प्रताडित छन्। विदेशी दातृ निकाय र कर्पोरेट जगतले गर्ने भ्रष्टाचारको सीमा छैन। यसको सञ्जालले नै  साइनिङ काठमाडौँ भएको छ। इमान्दार प्रमले एक वर्षमा यसको सामान्य ज्ञानमात्र पाउन सके धन्य हो।यी सुकिलामुकिला भ्रष्टहरू अंग्रेजी र टाइ कल्चरवाला छन्। यीसँग शासक र प्रशासक दुवैको हिमचिममात्र छैन, लेनदेन पनि दरो छ।

प्रम ओली सत्तासीन हुँदा कम्युनिस्ट पृष्ठभूमिका कारण साइनिङ काठमाडौँको भ्रष्टाचारमा हस्तक्षेप र सुधार होला भन्ने अपेक्षा थियो तर किन हो प्रमको यसतर्फ खासै चासो देखिएन। शासकीय सुधारका कार्यमा कठोर हुनुपर्ने दुईतिहाइको कम्युनिस्ट प्रम सबैभन्दा लचिलो अहिलेसम्म त्यसैमा देखिएकाले उनको कार्यकाललाई फेल भनिएको हो।

देशको व्यापार घाटा डरलाग्दो अवस्थामा छ। संसारभरको बजार नेपाल भएको छ। नेपालमा पनि काठमाडौँ भएको छ। यो कसरी संभव भयो ? प्रमले बुझ्नुपर्छ कि पर्र्दैन ? यतिमात्र बुझे देशको अर्थतन्त्र सुधार गर्न संभव छ।  प्रमको संबोधनमा व्यापार घाटा घटेको कतै सुन्न पाइएन। आयात पनि उपभोग्य सामानले ढाकेको छ। अर्थ मन्त्रालयको काम नै भन्सारबाट राजश्व संकलन गर्नु अनि ढुकुटी बढ्यो भनेर देखाउनु रहेको छ। आजसम्म अर्थ मन्त्रालयबाट देशको उद्योग र व्यापारमा आयात निरुत्साहित गरी उत्पादनशील क्षेत्रलाई समर्थन र सहयोग गर्ने नीति फिटिक्कै कतै सुनिएन।

प्रमज्यूले होली वाइन खाएको र आफ्नो फोटो सेसन गरेको चर्चा संसद् संबोधनमा गर्नुभएन। यो नराम्रो कुराको चर्चा गर्नु पनि ठीक थिएन। केटाकेटीलाई नकारात्मक असर पर्ने खतरा हुन्छ। तर नेपालको सामाजिक सद्भावलाई खलबल्याउन प्रमले आमनिर्वाचनमा मात्र भूमिका खेलेको होइन, होली वाइन खाएर पनि हो। यसको प्रायश्चित गर्ने थलो संसद् नै थियोजसमा प्रम चुके। छापाहरूमा प्रमको भद्दा फोटो सेसन किन गरेको संसद् संबोधनमा परेन। उदाहरणमा माथि अगाडि सारेको भारतका प्रमद्वय त दक्षिणपन्थी भनी चिनिन्छन् र उनले सहरिया साइनिङ विकासको बाटो समाते। यहाँका प्रम ओली नाममात्रको कम्युनिस्ट हुन् वा भाइ कांग्रेस हुन् वा सच्चा समाजवादी कम्युनिस्ट के हुन् प्रमाणित गर्ने समय अझै चारवर्ष छ।

प्रकाशित: २४ पुस २०७५ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App