हामी जीवनको एकतिहाई समय सुतेर बिताउँछौँ। मानिसमात्र होइन, अहिलेसम्म अध्ययन भएका सबै प्राणीका लागि सुत्नु आवश्यक देखियो। यद्यपि सुताइको प्रकृति भने प्राणी नै पिच्छे फरक देखिए। टाटे बाघ दैनिक १६ घण्टा सुत्छ भने जिराफका लागि केवल २ घण्टा निदाउनु पर्याप्त देखियो। प्राणीहरूका निन्द्राका स्वरूप पनि भिन्न देखिए। उदाहरणका लागि चराहरू उडिरहेकै अवस्थामा पनि एउटा आँखा बन्द गरेर सुत्न सक्छन्। स्वस्थ मानिसलाई दैनिक ८ घण्टाको सुताइ आवश्यक हुन्छ भने ७ घण्टा पनि नसुत्ने व्यक्तिमा विभिन्न स्वास्थ्य समस्या देखियो। अहिलेको उत्पादनमुखी समाजमा सुत्नु नपरे उत्पादकत्व कति बढ्थ्यो होला भन्ने सोच नदेखिएको होइन। निन्द्राका सम्बन्धमा भएका भिन्न अनुसन्धानात्मक निषकर्ष पस्कनु यो आलेखको मर्म रह्यो।
सन् २०१३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निन्द्राको कमीलाई क्यान्सरको सम्भाव्य कारणका रूपमा मान्यो। कम सुत्ने मानिसमा तुलनात्मकरूपले क्यान्सर अधिक लागेको देखिए पनि त्यसको ठोस वैज्ञानिक कारण भने नजुटिसकेकाले डब्लुएचओले अल्प निन्द्राले अर्बुद रोग लाग्न सक्ने मान्यो। पछिल्ला दिनमा भएका अनुसन्धानले त्यसै दिशामा औँला ठड्याएकाले कुनै पनि दिन विश्व स्वास्थ्य संगठनले कम सुत्नुलाई कार्सिनो जेनिक फ्याक्टर भनी एकिन गर्न सक्ने देखियो। क्यान्सर र अल्प निन्द्राको तालमेल के छ त ?
नेपाललगायत गरिब मुलुकमा स्तन क्यान्सरका रोगीको संख्या विकसित मुलुकको तुलनामा पाँच गुणा कम देखियो। ब्राका जिनमा आएको खराबीले ब्रेस्ट क्यान्सर लाग्ने भए तापनि गरिब तथा सम्पन्न मुलुकमा बस्ने समान प्रकृतिका महिलाको तुलनात्मक अध्ययन गर्दासमेत भौतिक विकासको टाकुरामा रहेका देशमा स्तन क्यान्सरका रोगी अत्यधिक देखिनु आफैँमा अचम्मको कुरा भयो। थप उत्खनन गर्दा बिजुली बत्तीको अभावले गर्दा गरिब मुलुकका आमाहरू रात परेपछि सुत्ने तर सम्पन्न मुलुकमा अहोरात्र खुल्ने बिजनेस व्यापार तथा कलकारखानाका कारण त्यहाँ काम गर्ने महिलाहरू तुलनात्मकरूपले निकै कम सुत्ने गरेको पाइयो। तर कम सुतेकै कारण अर्बुद रोग लाग्ने संभाव्यता बढ्छ त भन्ने सन्दर्भमा भएका अनुसन्धानले अचम्मको परिणाम दियो।
८ घण्टा सुतेर जाँच दिने समूहका विद्यार्थीले अर्को ग्रुपभन्दा निकै राम्रो स्कोर ल्याए। सिकेको ज्ञान रातभर दिमागले प्रशोधन गर्दा अझ खारिने भएकाले सुतेका समूहका विद्यार्थीले अब्बल प्रस्तुत गरेका ठहर भयो।
हाम्रो शरीरमा क्यान्सरका कोसहरू नियमितरूपले बन्ने गर्छन्। हाम्रो इम्युन सिस्टमअन्तर्गत विशेष प्रकृतिका कोस हुन्छन् जसलाई ‘न्याचुरल किलर सेल’ भनिन्छ। ती प्रतिरक्षात्मक कोसले शरीरमा पैदा भएका क्यान्सर सेल तथा बाह्य संक्रमणमार्पmत भित्रिएका खराब वस्तुलाई नास गर्छन्, हामीलाई रोग लाग्न दिँदैनन्। प्रयोगशाला परीक्षण गर्दा दैनिक ८ घण्टा निदाउने व्यक्तिको तुलनामा दैनिक ४ घण्टामात्र सुत्ने मानिसमा न्याचुरल किलर सेलको उत्पादन ७० प्रतिशत घटेको देखियो। धेरै मात्रामा न्याचुरल किलर सेल उत्पादन हुने व्यक्तिलाई क्यान्सरलगायत अन्य संक्रमणले कम सताउनु अन्यथा भएन। अल्प निन्द्राले रक्षात्मक कोसको उत्पादन घट्नु अनि क्यान्सर रोगीको संख्या बढ्नुलाई आधार मानेर डब्लुएफओले कम निदाउने लक्षणलाई क्यान्सरको संभाब्य कारण देख्यो र सदस्य राष्ट्रलाई आफ्ना नागरिकलाई पर्याप्त सुत्ने वातावरण मिलाउन सल्लाह दियो। विपन्न मुलुकको नागरिक हुनुको पनि फाइदा देखियो।
जसरी दैनिक कामका लागि हामी थमड्राइभमा आकडा भण्डारण गर्छौँ अनि नचाहिँदो डाटा डिलिट गरी आवश्यक तथ्यांक दीर्घकालीन स्टोरेजका लागि कम्प्युटरको हाडड्राइभमा सेभ गर्छौँ, हाम्रो ब्रेनले पनि ठ्याक्कै त्यही ढाँचामा काम गर्छ। दिनभरि सिकेका ज्ञान हाम्रो दिमागको हिप्पोक्याम्पस भन्ने भागमा संकलन हुन्छ। तर हिप्पोक्याम्पसको भण्डारण क्षमता निकै कम हुन्छ, धेरै दिनको अनुभव संम्हाल्न सक्दैन त्यसले। त्यसैले दिनभर जम्मा भएका अनावश्यक तथ्यांक नष्ट गर्ने अनि महत्वपूर्ण डाटालाई दीर्घकालीन लागि शान्त वातावरण आवश्यक रहने भएकाले मस्तिष्कले हामी निदाएको समयमा उक्त काम गर्छ। गहिरो निन्द्राका समय शरीरका अन्य भाग शिथिल हुन्छन् भने ब्रेनको फाइल ट्रान्सफर र डिलिट गर्ने प्रक्रिया भने तीव्ररूपमा चल्छ।
खाएको खानाको विवरण दुई दिनपछि उतार्न हम्मे पर्नु तर दुई दशकअघि भएको आफ्नो विवाहको विवरण हुबहु आज पनि बयान गर्न सक्नुको कारण के हो त ? झिनामसिना तथ्यांकलाई हाम्रो दिमागले दीर्घकालीन भण्डारणका लागि कर्टेक्समा सार्दैन बरु हिप्पोक्याम्पसबाट हटाएर त्यसलाई भोलिका लागि तयार पार्छ। खानाको विवरण केही दिन पनि याद नरहनु तर विवाहको प्रत्येक घटना आवधिक रहनुको कारण हाम्रो दिमागले केलाई महत्व दियो भन्ने कुराले निर्देशित गर्ने हो।
जसरी दैनिक कामका लागि हामी थमड्राइभमा आकडा भण्डारण गर्छौँ अनि नचाहिँदो डाटा डिलिट गरी आवश्यक तथ्यांक दीर्घकालीन स्टोरेजका लागि कम्प्युटरको हाडड्राइभमा सेभ गर्छौँ, हाम्रो ब्रेनले पनि ठ्याक्कै त्यही ढाँचामा काम गर्छ।
दैनिकरूपले जम्मा भएका विवरण सान्दर्भिकताअनुसार नष्ट गर्ने तथा भण्डारण गर्ने काम निदाएको समयमा हुने भएकाले कदाचित कुनै व्यक्ति सुतेन भने उक्त मानिसमा त्यसको के÷कस्ता दीर्घकालीन प्रभाव पार्छ त भन्ने सम्बन्धमा वैज्ञानिकले निकालेका निष्कर्षको चर्चा सान्दर्भिक ठानियो।
हाम्रो दिमागमा भावना, आवेग तथा डर नियन्त्रण गर्ने बदाम आकारका एक जोर ‘एमिग्डेला’ हुन्छन्। अल्प सुताइ हँुदा एमिग्डेला क्रियाशील हुन्छ। एमिग्डेला क्रियाशील भएका बखत मानिस संवेदनशील हुन्छ। भावना तथा आवेग नियन्त्रण गर्न सक्दैन। रातभर पढेर बसेका केटाकेटीका लागि आमा÷बाबुको सामान्य सल्लाहले समेत चिडचिडाहट ल्याउनुको कारण एमिग्डेलाको सक्रियता नै हो। अब अर्को पाटो हेरौँ– दिमागी सन्तुलन बिग्रिएको मानिसका लागि निदाउनु कठिन बन्छ। फलस्वरूप एमिग्डेला सक्रिय हुन्छ अनि व्यक्ति आकलन गर्न नसकिने अवस्थामा पुग्छ।
अनिदो बसेका बखत मानिसको अणुवांशिक पदार्थ ‘जिन’ को भूमिका के हुन्छ त भनी एकिन गर्न ६ घण्टाभन्दा कम सुतेका व्यक्तिहरूको जेनेटिक नक्सा हेरियो। उक्त अनुसन्धानले उनीहरूमा झण्डै ७५० जिन अस्तब्यस्त भएका देखिए। शरीरलाई बाह्य संक्रमणबाट जोगाउन महŒवपूर्ण भूमिका खेल्ने इम्युन सिस्टमसँग सरोकार राख्ने जिनहरूको क्रियाशीलता निकै घटेको देखियो भने क्यान्सर तथा मुटु रोगलाई उकास्ने जिनहरू सक्रिय भएका देखिए। हामीलाई स्वस्थ राख्न मद्दत गर्ने जिनहरू निष्क्रिय हुनु अनि रोगको कारकका रूपमा रहेका जिन सक्रिय हुनुले निन्द्रा नपुग्दा बहुआयामिक रोगको सिकार हुन सक्ने कुरालाई अणुवांशिंकरूपमै पुष्टि गरे वैज्ञानिकले।
परीक्षाका बखत नसुत्ने अभ्यास असामान्य होइन। अनिदो बसेर पढ्दा सिकाइमा के प्रभाव पार्यो भन्ने कुराको अध्ययन गरे अन्वेषणकर्ताले। उक्त अध्ययनमा विद्यार्थीलाई दुई समूहमा विभाजन गरियो। एक पक्षलाई बिहान पाठ पढाएर सामान्य दिनचर्यापछि त्यसै दिनको साँझमा परीक्षा लिइयो भने अर्को समूहलाई बेलुका क्लास लिएर सुत्न पठाइयो अनि ८ घण्टाको गहिरो निन्द्राबाट उठेपछि टेस्ट लिइयो। ८ घण्टा सुतेर जाँच दिने समूहका विद्यार्थीले अर्को ग्रुपभन्दा निकै राम्रो स्कोर ल्याए। सिकेको ज्ञान रातभर दिमागले प्रशोधन गर्दा अझ खारिने भएकाले सुतेका समूहका विद्यार्थीले अब्बल प्रस्तुत गरेका ठहर भयो। फरक अध्ययनले केबल किताबी सिकाइमात्र होइन, गितार बजाउने जस्ता सिपको हकमा समेत निन्द्राले महत्वपूर्ण भूमिका खेल्ने देखियो।
उमेर ढल्कँदै गएपछि कम निन्द्रा लाग्नु, स्मरण शक्ति क्षीण हुनु सामान्य समस्या हो। उमेर पाको भएपछि आजको कुरा भोलि सोध्दा पनि किन उनीहरू सम्झन सक्दैनन् त ? कुनै पनि घटना स्मरणमा बस्नका लागि गहिरो निन्द्राको साइकल पार गर्नुपर्ने हुन्छ। तर बूढाबूढीको हकमा उनीहरूको निन्द्रा अति पातलो हुने भएकाले हिप्पोक्याम्पसका स्मरण दीर्घकालीन प्रयोगका लागि कर्टेक्समा सर्ने क्रम रोकिन्छ अथवा अति सूक्ष्म गतिमा हुन्छ। त्यसैले पाको उमेरमा स्मरण क्षमता शिथिल हुनु अन्यथा भएन।
सुत्न समस्या भएका मानिसलाई निन्दा लगाउने हर्मोन मेलाटोनिन तथा भिन्न ओखती प्रयोग गर्न दिइन्छ। मादक पदार्थ सेवन गरे निन्द्रा लाग्छ भन्ने अवधारणासमेत पुरानो रहेन। औषधि तथा मादक पदार्थलाई निन्द्राको सहारा बनाउने सम्बन्धमा ‘स्लिप डिप्लोम्याट’ एबम् युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलेका प्राध्यापक म्याथ्यु बाकरको धारणा पृथक देखियो। निन्द्रा लाग्दै नलागेर बस्नुभन्दा औषधि खाएर सुत्नु ठीक भए तापनि बाह्य सहाराले जबर्जस्ती निद्रा लगाउँदा शरीर गहिरो निन्द्रामा नजाने भएकाले ज्ञान आर्जनको सवालमा फाइदाजनक नहुने ठान्छन् प्राध्यापक बाकर। यद्यपि वैज्ञानिकहरूले एउटा क्लिनिकल ट्रायलमा समान्य उपकरण प्रयोग गरी विद्युतीय तरंगमार्पmत सुत्न समस्या भएका मानिसलाई प्राकृतिक निन्द्राको आनन्द दिन सफल भएको देखियो। अनुगमन निकायले अनुमति दिएको खण्डमा उक्त उपकरण छिटै नै बजारमा आउने र त्यसले सुताइमा समस्या भएका मानिसलाई वरदान सावित हुने देखियो।
निन्द्रा सबैलाई लाभदायक भए पनि विद्यार्थीका लागि सुताइ कति आवश्यक छ भन्ने सम्बन्धमा अमेरिकी अध्ययन चाखलाग्दो छ। मिनासोटा राज्यको एडिना भन्ने सहरले बिहान ७ः२५ मा सुरु हुने कक्षालाई एक घण्टा पछि धकेल्दा विद्यार्थीको ‘स्याट टेस्ट स्कोर’ मा उल्लेख्य बढोत्तरी भएको देखियो। कक्षा सुरु हुने समय पछि सरेकाले विद्यार्थीले एक घण्टा बढी सुत्न पाउनु नै उक्त परिणामको कारक ठानियो। उक्त अभ्यासलाई पछिल्लो दिनमा बायामिड्ग तथा बासिङ्गटन राज्यले समेत अंगीकार गरे अनि त्यहाँका विद्यार्थीले समेत तद्नुरूपकै सफलता हासिल गरे। उपरोलिखित सन्दर्भ नियाल्दा करोडौँ वर्षको क्रमिक विकासले स्थापित गरेको निन्द्रालाई जबर्जस्ती छोट्याउन खोज्दा ज्ञान आर्जनलगायत विभिन्न आयाममा नकारात्मक प्रभाव पार्ने यथार्थको स्मरण सान्दर्भिक देखियो।
प्रकाशित: १७ पुस २०७५ ०३:११ मंगलबार