२३ श्रावण २०७७ शुक्रबार
विचार

विनय विनाका कम्युनिस्ट

आफ्नै संस्मरणका पोया फुकाएर सन्दर्भ सुरु गर्न चाहन्छु। २०४९ सालतिर डोटीको उच्चाकोटस्थित सीताराम माविमा ८ कक्षामा पढ्दै थिएँ। एकदिन अचानक तीन–चार जना विद्यार्थीको समूह आएर हाफटाइमको समूहमा सानो आमसभा जस्तै गरे। सायद तिनले प्रधानाध्यापकसँग अनुमति लिएका थिए। छोटो समयमा तिनले भनेका ठयाक्कै वाक्य त सम्झन्नँ तर तिनले जे बोलेका थिए, त्यो ८ कक्षामा पढ्ने बालकले पनि बुझ्ने गरी सामाजिक न्यायको कुरा गरेका थिए । तिनले एक झमटमै बोलेको आधारमा म त्यही दिन तिनकै हातबाट अखिलको सदस्यता लिएको थिएँ । जसलाई २०५४ सम्म कायम राखेँ। जीवनको पहिलो सदस्यता थियो त्यो । त्यसपछि मैले आजसम्म अरू कुनै राजनीतिक संस्थाको सदस्यता लिएको छैन।

अहिले अतीततिर फर्केर सोच्छु, म जहाँ बस्थेँ, मामा प्रधानाध्यापक हुनुहुन्थ्यो, जिल्लाभरिमै कहलिएको थियो, उहाँको र विद्यालयको छवि । मलाई लाग्छ, उहाँ कांग्रेसप्रति झुकाव राख्नुहुन्थ्यो । उहाँसँगै बस्ने उहाँको भान्जा म त्यो समयमा जतिखेर कांग्रेस र कम्युनिस्टको पानी बाराबार हुन्थ्यो, स्कुलमा एक झमट भाषण सुनेकै आधारमा कम्युनिस्ट भइसकेको थिएँ।

पछि ०५३ तिर डोटी क्याम्पसमा आइए दोस्रो वर्षमा पढ्दा मलाई सदस्यता लिनका लागि उत्प्रेरित गर्ने व्यक्तिसँग नै म संयोगले होस्टेलमा एउटै रुम सेयर गरेँ । ८ कक्षाको त्यो आवेग र आकर्षण आइए पढ्दा तिनैसँग त्यति प्रभावित हुन सकिनँ । बरु म मेरै गाउँभन्दा तलको गाउँका गगन दाइसँग बढी प्रभावित भएँ । निकै न्यून आर्थिक पारिवारिक अवस्थाबाट उदाएका गगन दाइ अहिले मैले कखरा पढेको स्कुलमा प्रधानाध्यापक हुनुहुन्छ । विद्यार्थी हुँदा पनि सोही विद्यालयको अब्बल विद्यार्थी हुनुहुन्थ्यो । हामी डोटी क्याम्पसमा पढ्दा सँगै बस्यौँ, उहाँ बिएको विद्यार्थी, म आइएको । विचारले उहाँ नेविसंघको, म अखिलको । हामी दुईले सँगै भात पकायौँ, भाँडा माभ्mयौँ र एउटै कोठामा सुत्यौँ । स्ववियुको चुनाव आयो, गगन दाइ नेवि संघका तर्फबाट सभापतिका उम्मेदवार बने, म अखिलको तर्पmबाट सदस्यको । हामीले एक अर्कासँग भोट मागेनौँ । स्ववियुको चुनावमा गगन दाइको नेवि संघले पूरै सिट जित्यो । जब कि हामी भन्दा अघि पूरै सिट अखिलले जितेको थियो।

त्यसको एउटै मात्र कारण थियो, गगन दाइको विनयशीलता । उनी मीठो भाषण त गर्थे नै, साथै अन्यन्त विनम्र पनि थिए र अहिले पनि छन् । अहिले यी सन्दर्भ कोट्याउनुको कारण म त्यो समय सम्झन्छु, जसले मलाई कम्युनिस्ट बनाए, जसले सामाजिक न्यायको चेत भरे, जसले अब मानिसको एउटै मात्र जाति हुन्छ, त्यो पनि अन्तर्राष्ट्रिय जाति भने, म तिनलाई सम्झिरहेछु।

हिजै मात्र अहिलेका प्रधानमन्त्रीका एकजना सल्लाहकारको अन्तर्वार्ता पढदैथेँ । पढि मात्र के सकेथेँ, मभित्र प्रश्नको हुण्डरी चल्यो । अनि आफैँलाई प्रश्न गरेँ, के त्यही जराबाट हुर्किएका हाँगा हुन् उनी कि सत्ताले उनको विनयलाई भ्रष्ट बनाएको हो ? वा उनकै शब्दमा शक्तिको अहंकारले उनको माकाफुइँले सगरमाथा चुमेको हो?

त्यसैले प्रश्न गर्न मन लाग्यो, हिजो जुन चेत भरेर जागरणका कुरा गरियो, के त्यसैले आज यत्रो कद बनाइदिएको होइन ? के प्रम ओली अजेय नायक हुन् जो कहिल्यै सत्ताबाट तल झर्दैनन् ? जुन विधि, राजनीतिक प्रणाली र प्रक्रियालाई आत्मसात् गरिएको छ, के त्यसले प्रम ओलीबाहेक अरू पनि व्यक्ति प्रधानमन्त्री हुने सम्भावना औँल्याउँदैन, कि यो धर्तीमा अब उहाँपछि अरू कसैले सत्ता चलाउँदैन?

अस्ति मात्रै भाकपाका महासचिव यचुरीको भारतका कम्युनिस्टबारेको प्रवचन सुन्दै थिएँ र उनी भन्दै थिए, अरूभन्दा कम्युनिस्टले आफ्ना गल्ती र कमजोरी चाँडो स्वीकार गर्नुपर्छ । बंगालको ३५ वर्षे कम्युनिस्ट शासनको केस्राकेस्रा केलाउँदै थिए, त्रिपुराको खतरा औल्याउँदै थिए अनि केरलाको। अनि चीनभन्दा एक वर्षअघि स्थापना भए पनि भारतमा चीनजस्तो फस्टाउन नसकेको कुरा गर्दै थिए।

‘विद्या ददाति विनयम्...’(विद्याले विनय दिन्छ र विनयले ...) भन्ने उक्ति उहिल्यै स्कुलमा खुब पढियो अनि लेखनाथ बाजेको फलेको वृक्षको हाँगो निहुरिने कविता कण्ठ पारियो । के ती स्कुलमा मात्र पढाइने पाठ हुन् ? जसका कमी–कमजोरी औँल्याएर, एकएक खोट केलाएर हामीलाई भन्यौ कि हामी न्यायका कुरा गर्छौं, विधिका कुरा गर्छौं, पद्धतिका कुरा गर्छौं, प्रक्रियाका कुरा गर्छौं र जनतालाई शिरमा राखेर तिनका कुरा गर्छौं अनि तिनैबाट आर्जन भएको शक्तिको मातले अहिले आँखै नदेख्ने?

इतिहास पढेका मात्र होइन, संयोगले भोगेको पुस्ताको पनि सदस्य भएकाले फेरि लेखनाथ बाजेलाई सम्झेँ- कसैको लोकमा छैन एकैनास समुन्नति, अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति।

प्रजनन स्वास्थ्यका दुई शब्द छन्ः स्खलन र शीघ्र स्खलन । अघिल्लोले प्राकृतिक परिणतिको भाका बोल्छ भने पछिल्लोले रोगको संकेत गर्छ। शक्तिको उन्मादले यो सरकार शीघ्र स्खलनको बाटोमा हिँडने कि विनयको भावमा बरु इतिहासदेखि अहिलेसम्म भएका अन्याय र अत्याचारका लागि क्षमा माग्दै सुधारमा हिँड्ने ? जसरी अस्ट्रेलियाले माग्यो, जसरी क्यानाडाले माग्यो । अहिले प्रधानमन्त्री उपचाररत हुनुहुन्छ, बिमारले गलेका बेला सामान्यतया मान्छेहरू आफूले गरेका भन्दा गर्न नसकेका कुरा बढी सम्झन्छन् । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना । निको भएपछि जे गर्न सकिनँ भनेर सम्झनुभएको थियो, त्यतैतिरको बढी सम्झना होस्।

होइन फेरि पनि शक्तिको दम्भ देखाएर अहंकारी उही भाका दोहो-याउनुभयो भने एक नागरिक भएको हैसियतले भन्नैपर्ने हुन्छ, शक्तिको उन्मादमा तिमी विनयको भाका छौड्छौ भने माफ पाऊँ आउने चार वर्षपछि तिमी हाम्रो कठघरामा उभिने साहस सँगालेर राख्नू। हजुर वरिष्ठ, हस्त नमस्ते!

प्रकाशित: १९ कार्तिक २०७५ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App