८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

उताका कथा, यताका दुःस्वप्न

केही वर्षयता उग्र दक्षिणपन्थ, अन्ध राष्ट्रवाद, छाडा बजारलगायत अनेक रूपमा नवरूढिवाद विश्वका हरेका कुनामा अवतरित भइरहेको छ । केही अचम्मलाग्दो र अलि बढी डरलाग्दो कुरा चाहिँ के भने जहाँ जहाँ यो अवतरित भएको छ, सैन्य विद्रोह वा त्यस्ता नाटकीय घटनाबाट मात्र हैन, प्रायः निर्वाचनकै बाटोबाट भएको छ । एकपछि अर्को गर्दै साना, ठूला, धनी, गरिब अनेक धर्म संस्कृति भएका देशमा आफ्नो विजय ध्वजा फहराउँदै भर्खरै मात्र ब्राजिलमा झन्डा गाडेको छ– नवरूढिवादले।

कुनै जमानामा त्यति धेरै लोकप्रियता हासिल गरेका, चार करोड जनतालाई गरिबीबाट उकास्न सफल भएका लुला दा सिल्वा जस्ता नेताको पार्टीले किन यो पराजय भोग्नुप-यो ? अनि केही दशक अघिसम्म पनि उग्रदक्षिणपन्थ तथा सैनिक शासनको त्यति कटु अनुभव बोकिसकेका ब्राजिली जनताले किन ‘दक्षिणको ट्रम्प’का नामले चिनिएका, अनुदार, नश्लवादी, महिला विरोधी बोल्सोनारो जस्तो मानिसलाई नै आफ्नो नयाँ शासकका रूपमा छाने होलान् ? यी प्रश्नका उत्तर निर्वाचनशास्त्र, मानव मनोविज्ञान, लोकतन्त्र, विकास, समृद्धि आदिसँग जोडिएका छन् । यी प्रश्नहरू ब्राजिल जस्तो ठूलो आकारका र फरक धर्मसंस्कृति भएको देशका निम्ति जति महत्वपूर्ण छन्, हाम्रो नेपाल जस्तो सानो र गरिब देशका निम्ति पनि त्यत्तिकै महत्वपूर्ण छन् । सत्ताको लगाम समातेर बसेकाहरूका निम्ति जति महत्वपूर्ण छन्, देशको परिस्थितिप्रति चासो राख्ने नागरिकका लागि पनि त्यति नै महत्वपूर्ण छन् । तर यी यावत् महत्वपूर्ण प्रश्नका उत्तर सहजप्राप्य भने छैनन् । यिनका बारेमा सम्बन्धित विद्वान्हरूले अध्ययन अनुसन्धान गर्दै गर्लान् । हाम्रै लागि तत्काल चासोको प्रश्न चाहिँ के भने कुनै पार्टीले निर्वाचनमा भारी बहुमतले जित्दैमा राजनीतिक स्थिरता आउने हो कि हैन ? अनि एक वर्ष अघिसम्म हामी धेरैले सोच्ने गरे जस्तो ‘राजनीतिक स्थिरता’ मात्रैले नै समृद्धि र खुसी ल्याउने हो कि हैन?

पृथिवीको जुनसुकै कुनामा भएका घटनाबाट पनि सिक्ने केही कुरा छन् भने त्यो अवसरलाई गुमाउनु हुँदैन।

ब्राजिल हामी भन्दा धेरै कुरामा फरक छ । तर केही महत्वपूर्ण कुरामा हामीबीच केही समानता पनि छन् । अधिनायकवादी शासनको अनुभव हामीलाई पनि छ, उनीहरूलाई पनि छ । धनी र गरिब बीचको विशाल खाडल यता पनि छ, उता पनि । हाम्रा सडकमा मिल्किएका सडक बालबालिकाका कथा उनीहरूका लागि पनि त्यति बिरानो हैन । जसरी यहाँका गाउँहरू रित्तिँदैछन् र सहर निस्सासिँदै छन्, त्यहाँको बसाइँसराइको हालत पनि उस्तै छ । बरू ठूलो देश र बाक्लो जनघनत्वका कारण उनीहरूका समस्या हाम्रा भन्दा अझ नाटकीय होलान् । ‘ब्राजिलमा जे भयो, भयो, त्यसमा हाम्रो किन टाउको दुखाइ ?’ भन्नु भन्दा पनि विश्वव्यापी परिघटनाहरूको उदाहरण भएका कारण त्यहाँको अनुभवबाट हामीले के सिक्ने भनेर घोत्लिनु आवश्यक छ । जहाँ पनि कुनै अमूक पार्टीको जीत–हार, उत्थान–पतन भइरहन्छ । त्यो आफैँमा त्यति महत्वपूर्ण कुरा हैन । तर कतै जनताले केही आशा र विश्वास राखेको कुनै पार्टीभित्रका कमजोरी, विकृतिहरूका कारण मान्छेकै अस्मितालाई ठाड्ठाडै नकार्ने हदसम्मका प्रतिगमनकारी शक्तिहरूको पनि पुनरागमन र अभ्युत्थान हुनसक्दो रहेछ भन्ने कुरा भने महत्वपूर्ण मात्र हैन, भयावहसमेत हुन्छ । त्यसकारण पृथिवीको जुनसुकै कुनामा भएका घटनाबाट पनि सिक्ने केही कुरा छन् भने त्यो अवसरलाई गुमाउनु हुँदैन।

कुनै जमानामा जुत्ता पालिस गरेर छाक टार्ने ब्राजिलका लुला कस्ता थिए, उनका काम कस्ता थिए, कुनै समयमा कसरी जनतालाई रिझाउने धेरै राम्रा काम गर्न सके, कसरी अहिलेको बेहाल स्थितिमा पुगे, अनि अहिले उनको पार्टीका कमीकमजोरीका कारण सिंगै देशले बोल्सोनारो जस्तो ‘दक्षिणको ट्रम्प’को शासन सहर्ष स्वीकार गर्नुपर्ने स्थिति आयो, हाम्रा लागि साँच्चै सान्दर्भिक छ।

सुुरुसुरुमा लुला र उनको मजदुर पार्टीले गज्जब गरेको थियो । गरिब परिवारले आफ्ना बच्चालाई स्कूल पठाउन निरन्तरता मात्रै दिने र नियमित स्वास्थ्य परिक्षणका निम्ति जाने मात्रै गर्ने ‘सर्त’मा (– जो आफैँमा सकारात्मक घटनाचक्रलाई गति दिने जिम्मेवार गतिविधि हो ।) सरकारले पैसा दिने काम ग-यो  । अर्थशास्त्रीय हिसाबले यो कत्तिको ‘लोकरिझ्याइँ’को अभ्यास थियो अथवा स्वास्थ्य र शिक्षामा सार्थक लगानीको साथ साथै असमानताका विरुद्धको उचित संघर्ष थियो– यसमा वादविवाद चलिरहला । तर के कुरामा शङ्का छैन भने हामीकहाँ बेला बेलामा देखिने ‘लोकरिझ्याइँ’ भन्दा मात्रामा पनि, गुणमा पनि  धेरै ठूलो पाइला थियो । चार करोड मानिसलाई गरिबीबाट उकास्नु भनेको निश्चय नै चानचुने कुरा हैन । सुरुसुरुमा अन्तर्राष्ट्रिय लगानी पनि प्रशस्त भित्रिएकै हो । मानिसको जीवनस्तरमा अचम्मसँग सुधार भएको थियो । सन् २०१४ मा विश्वकप र २०१६ मा ओलिम्पिकको आयोजना गर्ने बेलासम्ममा देशको स्थिति धेरै बिग्रिसकेको भए तापनि त्यो स्तरसम्म एउटा दक्षिण अमेरिकी देशलाई पु-याउन सक्नु चानचुने कुरा थिएन । बाराक ओबामाले आफू राष्ट्रपति भएपछि लुलासँग हात मिलाउँदै ‘यो पो हो त मेरो मान्छे ! मैले प्रेम गरेको मान्छे’ भनेर भावुक उद्गार त्यसै दिएका थिएनन् होला।

भ्रष्टाचारविरुद्ध लड्ने अवसरलाई प्रयोग गरेर इतिहास रच्नुको सट्टा ‘हाम्रा मान्छे’, ‘चिनेको मान्छे’, ‘गुन लगाएको मान्छे’ भनेर जे पनि हुन दिइरहेका छन् । जबसम्म आफ्नै पार्टीलाई भ्रष्टाचारबाट मुक्त पार्ने आँट देखाउँदैनन्, जबसम्म यिनका आफ्ना मन्त्रीहरू ठेकेदारीबाट बदनियतपूर्ण तरिकाले कमाउन छाड्दैनन्, पुलिसभित्रका ठेकेदारहरूलाई कसरी तह लगाउन सक्लान्?

तर लुला र उनको पार्टीको उपलब्धि लामो समय कायम रहन सकेन । उनीहरूका दृश्य उपलब्धीको गहिराइमा लुकिरहेको भ्रष्टाचारले कहिल्यै आफ्नो ठाउँ छोडेन । लुलामाथि शंका गर्नै पनि मानिसहरू चाहँदैन थिए । उनीलाई गर्नैपर्ने प्रश्न पनि आसेपासेले गरेनन् होला । बरू जसरी भए पनि रिझाउनै लागिरहे होला । तर उनीभन्दा कम व्यक्तित्व भएकी उत्तराधिकारीको भने त्यो आभा र प्रताप थिएन। भ्रष्टाचारका कुरा जब उठ्न थाले, लुलासमेत तानिए र जेल जीवन बिताउन बाध्य भए । एउटा रोग हुन्छ, जुन लागेपछि नेताहरू, नीतिनिर्माताहरू, ‘हाम्रो मान्छे’, मैले चिनेको मान्छे’ भनेर बर्बराउँछन्। लुलाको पार्टीमा पनि त्यो रोग थियो– दशकौँदेखि देशले भोगिरहेको त्यो रोगबाट उनीहरू मुक्त थिएनन् । त्यसले पनि गर्नु ग-यो।   

लुला, ब्राजिल र त्यहाँको मजदूर पार्टीको यो कथा हाम्रो कथासँग मिल्दोजुल्दो छैन ? त्यहाँ पटाक्षेप भएको नाटकको अलिक छोटो र विकृत भर्सन यहाँ मञ्चन हुन थालेको त हैन ? त्यहाँ त धेरै राम्रा काम भएका थिए । यहाँ त अझ बोली मात्रै सुनिन्छ, जो झन् झन् अप्रिय र अस्वीकार्य हुन थालेको छ जनसाधारणका कानमा।

भ्रष्टाचार र परनिर्भरता– यी दुई दुष्टात्माबाट ग्रस्त छ देश र यीबाट छुटकारा नपाउने हो भने राष्ट्रकै अस्तित्व पनि संकटमा पर्छ भन्ने नबुझेका होलान् र हाम्रा शासकले ? क्रान्ति गरेर आएका ‘कामरेड’ हुन् नि यी त ! भ्रष्टाचारविरुद्ध लड्ने अवसरलाई प्रयोग गरेर इतिहास रच्नुको सट्टा यी पनि ‘हाम्रा मान्छे’, ‘चिनेको मान्छे’, ‘गुन लगाएको मान्छे’ भनेर जे पनि हुन दिइरहेका छन् । जबसम्म आफ्नै पार्टीलाई भ्रष्टाचारबाट मुक्त पार्ने आँट देखाउँदैनन्, जबसम्म यिनका आफ्ना मन्त्रीहरू ठेकेदारीबाट बदनियतपूर्ण तरिकाले कमाउन छाड्दैनन्, पुलिसभित्रका ठेकेदारहरूलाई कसरी तह लगाउन सक्लान् ? अत्यन्त घटिया, ‘व्यापारी’को भेषमा रहेका अपराधीको पैसा लिन (‘पार्टी’को निम्ति भनेरै किन नहोस् !) छोड्दैनन्, कसरी यिनले सुशासन र थिति बसाल्ने काम गर्न सक्लान्?

लुलाको कद हाम्रा नेताको भन्दा कम थिएन– अलिकति बढी नै थियो । उनले सामान्य जनताका निम्ति ‘भुइँमान्छे’का निम्ति गरेका काम यिनले गरेको भन्दा कम थिएन, धेरै बढी थियो । उनका सपना यिनका भन्दा साना थिएनन्– ठूलै थियो । तर यतिबेला उनी जेलमा छन् । उनको पार्टी सत्ताबाट फ्याँकिएको छ । र उनका ठाउँमा उनकै जस्तो अर्को कुनै पार्टी हैन, चरम दक्षिणपन्थी शक्ति सत्तामा छ । यो सब सैनिक विद्रोह वा अरू कुनै त्यस्तै घटनाबाट हैन, आम चुनावबाट भएको छ।

हामीकहाँ गणतन्त्र आएको त्यसै हैन । धेरै जीवनको, समयको, ऊर्जाको लगानी भएको छ यो परिवर्तनका लागि । तर लोकतन्त्रको यात्रा लामो यात्रा हो । भ्रष्टाचार र परनिर्भरताले यो यात्रालाई अवरुद्ध पार्छ । सत्तारथको लगाम समाएका महारथीहरू, कृपया यो बुझिदिनोस् । भ्रष्टाचारविरुद्ध निर्मम लडाइँ लड्न थाल्नोस्– सबै सचेत नागरिकले साथ दिनेछन् । हैन भने आफ्नै वरिपरि नियालेर हेर्नोस्– राष्ट्रलाई धान्ने खम्बाहरू मक्किँदै गइरहेका देखिन्छन् । गाह्रो हुन्छ!

प्रकाशित: १६ कार्तिक २०७५ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App