२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

तरूणको रूपान्तरण

नेपाली कांग्रेस पार्टीको भ्रातृ संगठन नेपाल तरूण दलको स्थापना भएको हिजो ६५ वर्ष पूरा भएको छ ।  प्रजातान्त्रिक योद्घा महामानव बिपी कोइरालाले २०१० कात्तिक १० गते नेपाल तरूण दलको स्थापना गर्नुभएको हो । १०४ वर्षको जहानियाँ राणा शासनको अन्य र २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपाली राजनीतिलाई गतिशील बनाउने, युवा सरोकारका मुद्दालाई मूर्त रूप दिने, साथै नेपाली कांग्रेसको राजनीतिलाई समाजवाद उन्मुख बनाउने ध्येयका साथ स्थापना भएको तरूण दल सबै राजनीतिक पार्टीको भ्रातृ संगठनहरूमध्ये सबैभन्दा जेठो संगठन हो।

२००७ सालको क्रान्ति सफल गर्नका लागि कांग्रेसले खडा गरेको मुक्ति सेनाको प्रजातन्त्र स्थापनापश्चात् विघठन गरिएको थियो । त्यसपछि नेपाली कांग्रेसमा खड्किएको युवा संगठनको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल तरूण दलको स्थापना भएको भन्ने नेपाली कांग्रेसका नेताहरूको भनाइ छ भने प्रजातन्त्र विरोधीहरू सलबलाउन थालिसकेकाले प्रजातन्त्रका पक्षमा उभिन सक्ने बलियो युवाहरूको जमात तयार गर्ने हेतुले तरूण दल गठन गरिएको हो पनि भन्ने गरिन्छ।

तरूण दलको स्थापनाको पहिलो अध्यक्ष सिंहध्वज खड्का हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा बनेको कमिटीले नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउने, पार्टीलाई समाजवादमा रूपान्तरण गर्नका लागि नेताहरूलाई दबाब सिर्जना गर्ने, जनतालाई प्रजातन्त्रका बारेमा सुसूचित गर्ने कार्यमा पार्टीलाई  महत्वपूर्ण सहयोग गरेको नेपाली कांग्रेसका नेताहरूको भनाइ रहेको छ । जसले गर्दा नेपाली कांग्रेसको २०१२ सालमा वीरगञ्जमा भएको महाधिवेशनले आफ्नो संगठनलाई समाजवादी पार्टी घोषणा गरेको र २०१५ सालमा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसलाई दुई तिहाइ सिटसहित पहिलो पार्टी बनाउन केही भूमिका तरूण दलको थियो भन्ने नेताहरूको विश्वास छ।

तरूणहरू भनेका विद्यार्थी जस्ता होइनन् र पार्टीका नेता जस्ता पनि होइनन्, तरूणहरू भनेको फरक खालको युवाहरूको क्याडरबेस अर्गनाइजेसन हो भन्ने महामानव बिपी कोइरालाको भनाइ र तरूण दल कांग्रेसको भ्रातृ संस्था होइन, साथी संस्था हो भन्ने सन्त नेता कृष्णप्रसाद भट्टराईको भनाइले नेपाली कांग्रेसका संस्थापक नेताहरूको भित्री इच्छा पनि तत्कालीन अवस्थामा नेपाल तरूण दललाई विचारमा आधारित, सबल र सशक्त संगठनका रूपमा लैजाने हो भन्ने देखाएको छ।

२०१५ सालको आमनिर्वाचन पछि बनेको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मन्त्रिमण्डलले अगाडि सारेको जनमुखी नीति र कार्यक्रमलाई जनतामा लैजाने माध्यम नेपाल तरूण दल हो भन्ने शंका तत्कालीन दरबारियाहरूलाई परेको देखिन्छ । जसको प्रमाण २०१७ सालमा नेपाल तरूण दलकै महाधिवेशन स्थलबाट राजा महेन्द्रले सेनाको जत्था प्रयोग गरी बिपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरूलाई गिरफ्तार गरेर दलमाथिको प्रतिबन्ध लगाई पञ्चायती व्यवस्था लागू गर्नु हो।

२०१७ पुस १ गतेपछि नेपाली कांग्रेसका अधिकांश नेताहरू जेल पर्नुभयो भने कति निर्वासनमा लाग्नुभयो । तरूण दलको तत्कालीन अध्यक्ष सिंहध्वज खड्का र कांग्रेसका  केही नेताहरू पञ्चायततिर लागेको नेताहरूको भनाइ छ । त्यसपछि २०५४ सालसम्म नेपाल तरूण दलको अस्तित्व समाप्त भएको  देखिन्छ । पछिल्ला समयमा पञ्चायती शासनका विरुद्घ भएका भद्रअवज्ञा आन्दोलन, बिपीको मेलमिलाप नीति, जनमत संग्रह, सत्याग्रह साथै २०४६ सालमा वीर गणेशमान सिंहले घोषणा गर्नु भएको जनआन्दोलनमा नेपाली कांग्रेसमा आबद्घ युवाहरूले नेपाल विद्यार्थी संघ साथै पार्टीकै सदस्यका रूपमा सहभागी भए । नेपाली कांग्रेसमा लागेका धेरै तरूण युवाहरूले विरगति प्राप्त गरे, अंगभंग भए र जेल जीवन बिताए।

२०४६ सालको जनआन्दोलनकोे सफलतापछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । सो सरकारले छोटो समयमा संविधान जारी गर्न सफल भयो । २०४८ सालको प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो, नेपाली कांग्रेसले बहुमत सिट प्राप्त ग-यो । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एकमना सरकार गठन भयो तत्काल नै २०४९ सालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भयो । त्यसमा पनि नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जित्न सफल भयो।

देशमा अब राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा आमूल परिवर्तन सम्भव छ भन्ने जनतामा एक खालको उत्साह र उमंग थियो । नेपाली कांग्रेसको एक मना सरकार ५ वर्षको अवधिसम्म टिक्न सकेन । संसद् विघठन भयो र २०५१ सालमा मध्यावधि निर्वाचन भयो, नेपाली कांग्रेस दोस्रो भयो । नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्यो । २०५४ सालमा स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसले थोरै सिट मात्र हात पा¥यो । नेपाली कांग्रेसमा फेरि एकपटक युवा शक्तिको आवश्यकता महसुस भयो र २०५४ साल कात्तिक ५, ६ र ७ गते नेपालगञ्जमा भएको नेपाली कांग्रेसको महासमितिको बैठकले नेपाल तरूण दलको पुनःस्थापना गर्ने निर्णय ग-यो।

नेपाल तरूण दलको चौथो महाधिवेशनसम्म आइपुग्दा सिंहध्वज खड्का, बालकृष्ण खाँड, महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशमशेर राणा र जीतजंग बस्नेत तरूण दलका अध्यक्ष भएका छन् । २०५६ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई निर्वाचित गर्न होस् वा २०६२/६३ को जनआन्दोलन सफल बनाउन होस्, नेपाल तरूण दलको महत्वपूर्ण भूमिका रहेको छ । २०६२/६३ को जनआन्दोलन सफल बनाउन नेपाल तरूण दललगायत तत्कालीन अवस्थाका सात राजनीतिक पार्टीका धेरै युवाले बलिदानी दिएका छन् । नेपाली राजनीतिमा नेपाली तरूण युवाहरू परिवर्तनका संवाहक हुन् भनी दाबाका साथ भन्न सक्ने अवस्था नेपाली तरूण युवाहरूले आफ्नो गतिविधिबाट स्पष्ट पारेका छन्।

पक्कै पनि तरूण युवाहरू बुद्घि, विवेक, साहस, ऊर्जा र लगनशीलताका प्रतीक हुन् । अवसर पाएको खण्डमा देशको मुहार फेर्न सक्ने क्षमता तरूण युवाहरूमा छ । विडम्बना परिवर्तनका लागि सधैँ तरूण युवा तयार गर्ने परिवर्तनपछि संस्थागत गर्नका लागि तिनै तरूण युवालाई प्रयोग गर्न चुक्ने र अवसर दिन कन्जुस्याइँ गर्ने सबै राजनीतिक पार्टीका नेताका पुस्तैनी संस्कारको भूमरीमा तरूण युवाहरू फसेका छन्।

(अध्यक्ष, तरूण दल, काठमाडौँ)

प्रकाशित: ११ कार्तिक २०७५ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App