चिनियाँ क्रान्तिको करिब १६/१७ वर्षपछि त्यहाँका प्रमुख नेता माओले एक आश्चर्यजनक कुरा गरे, क्रान्तिले जित्छ वा हार्छ, अझै निश्चित भइसकेको छैन । उनलाई लाग्यो कि कम्युनिस्ट नेतृत्वमा हाबी भइरहेको ‘प्रतिक्रियावादी’ चरित्रले क्रान्तिलाई सिध्याउँदै छ । ‘बमबार्ड त हेडक्र्वाटर’ भन्ने शिर्षकको एउटा सानो आलेखमा उनले नेतृत्वमा बुर्जुवा शैली विकास भएको भन्दै आलोचना गरे । र विशेषतः तत्कालीन प्रधानमन्त्री ल्यु शाओ ची र नेत देङ साओ पिङमाथि जाइलाग्न घुमाउरो रूपमा कार्यकर्तालाई आह्वान गरे । लगत्तै सांस्कृतिक क्रान्ति सुरु भयो । यसले चिनियाँ क्रान्तिमा थुप्रै अवसाद निम्त्यायो । भलै यो निम्तिनुका पछाडि माओको क्रान्तिले जित्छ वा जित्दैन भन्ने द्विविधाले मात्र हैन माओसँगैको कित्तामा रहेका कतिपय नेतामा निहित सत्ताकोे आसक्तिले समेत काम गरेको थियो । यस घटनाले देखायो कि क्रान्ति सम्पन्न भइसकेपछि पनि क्रान्तिको जीत–हार भने निश्चित हुँदो रहेनछ।
नेपालमा ०६२/६३ को जनक्रान्तिले १३ वर्ष पूरा गरिसकेको छ । क्रान्तिको अगुवा शक्ति नेकपा अहिले करिब दुई तिहाइको हैसियतमा सत्तासीन छ । तर नेकपा, यसका नेता तथा कार्यकर्ता भने अहिले द्विविधाग्रस्त छन्, आखिर के हुँदै छ ? क्रान्तिले जित्दैछ वा हार्दैछ ? केही समय अगाडि नेकपा नेता घनश्याम भूषालले सामाजिक सञ्जालमा लेखे, ‘क्रन्तिले जित्छ या हार्छ अझै निश्चित भएको छैन ।’ संसद्को बर्खे अधिवेशनको अन्त्यसँगै वरिष्ठ नेता माधवकुमार नेपाल समेतले सरकारको तीखो आलोचना गर्दै भने ‘सरकार ठीक बाटो हिँडिरहेको छैन।’
यदि हेर्दैनौँ भने ठोकुवा गर्न सकिन्छ- यो क्रान्ति हैन, पतन हो। क्रान्तिको विघटन हो, हार हो।
यो एउटा क्रान्तिकारी शक्तिका लागि अझ क्रान्तिबाट मुक्तिको आशा गरेकाहरूका लागि सामान्य विषय हैन । हाम्रा अगाडि नजरअन्दाज गर्नै नमिल्ने केही दृश्यहरू छन्, जसले परिस्थिति असामान्य बन्दै गएको प्रमाण दिन्छन् । ‘मालदार’ अड्डा नेपाल टेलिकमबाट अयोग्य भनी हटाइएको दिगम्बर झा पुनः एकाएक योग्य बने । तामझामले यातायातको सिन्डिकेट हटाएको घोषणा गरियो, तर दसैँको मुखमा १० प्रतिशत यातायात भाडा वृद्धिको सम्झौता त्यही हट्यो भनिएको सिन्डिकेटका अधिकारीहरूसँग गरियो । चिनी तथा अन्य खाद्यपदार्थको महँगीको विषय उस्तै पीडादायी छ । निर्मला हत्याकाण्ड र त्यसमा देखिएको किर्ते औँठाछाप, लास सत्गदको प्रक्रिया, मुचुल्कादेखि नै अपराधीका प्रमाण नष्ट गर्न गरिएको प्रपञ्च । र, यी सबै काममा राज्यको प्रत्यक्ष संलग्नता । कारबाही गरिनुपर्ने ठेकेदारहरूले लगातार राज्यको ठेक्का पाइरहनु । भ्रष्टाचार भेटिनु तर भ्रष्टाचारी नभेटिनु । तस्करी पत्ता लाग्नु तर तस्कर फेला नपर्नु । एकातिर गण्डकी प्रदेशका कम्युनिस्ट मुख्यमन्त्रीले रेडलाइट एरिया बनाएर यौनकर्मीसँग कर लिने व्यवस्थाको वकालत गर्नु । अनि अर्कोतिर ‘केही करोड’ लगानीका साथ भित्रिएको एनसेल ‘केही अर्ब’ लाभकर नतिरी खरिद–बिक्री भएकोतर्फ कम्युनिस्ट सरकारकोे बेवास्ता हुनु । संघीय सरकार र प्रदेश सरकारबीचका असमञ्जस्यताहरू, असन्तुष्टिहरू । नेकपाभित्र निर्णय प्रक्रिया र निर्णयहरू केन्द्रीकृत हुनु । सामूहिक छलफल र सहभागिता निस्तेज पारी आदेश र हुकुमका भरमा पार्टी चलाइनु । आखिर के हुँदैछ, क्रान्तिले जित्दैछ वा हार्दैछ । परिस्थिति द्विविधाग्रस्त छ।
यदि मानिसको जिन्दगीमा केही फरक नपार्ने हो भने यो क्रान्तिले जित्ने वा हार्ने कुराको कुनै अर्थ छैन । तर क्रान्ति मानवीय मुक्तिसँग सम्बन्धित छ । मुक्ति, जसले मान्छेलाई मान्छे बनाउँछ । जाति, भाषा, लिङ्ग, वर्ण, क्षेत्र कुनैको आधारमा भेदभाव हुन्न । उत्पीडन र शोषण हुन्न । माक्र्सका अनुसार मुक्ति त्यो अवस्था हो जहाँ मान्छे आफ्नो श्रमको मालिक आफैँ हुन्छ । र समाजवाद मानवीय मुक्तिको एउटा अनिवार्य खुट्किलो हो । यही मुक्तिको अभिलाषालाई मान्छेको जिन्दगीको यथार्थमा रूपान्तरण गर्न हामीले समाजवादउन्मुख संविधान बनायौँ । र आज जनताले आफ्नो मुक्तिका खातिर कम्युनिस्ट पार्टीमार्फत समाजवादतर्फ हुइँकिने मत जाहेर गरेको छ।
तर हामीले यो मानवीय मुक्तिको सवाललाई यतिबेला विकासको भाष्यले ढाकिदिएका छौँ । स्थापनादेखि नै मुक्तिका लागि संघर्षको अगुवाइ गर्छु भन्दै आएको कम्युनिस्ट पार्टी यतिबेला विकास र समृद्धिको अगुवाइ गर्छु भन्दै छ । यसरी विकास अहिले मुक्तिको सर्त बनेको छ । यस अर्थमा समाजवादको अंग बनेको छ । तर हाम्रो विकासको तयारी कस्तो छ ? हाम्रो उत्पादक शक्तिको अवस्था कस्तो छ ? हामीले गरिरहेको काम र यही उत्पादक शक्तिको अवस्थाले हामीलाई समाजवादतर्फ लैजान्छ त ? हामीले चर्चा गरिरहेको विकासको मोडेल, अवधारणा, काम र तयारी ट्रम्प, मोदी वा मार्केलहरूको जस्तै हो कि यो आधारभूत रूपमा भिन्न छ । यदि उस्तै हो भने त्यो समाजवादी बाटो हुन सक्दैन । समिर अमिनका अनुसार परिधिमा रहेका हाम्राजस्ता देशहरूमा अतिरिक्त उत्पादनलाई केन्द्रीकरण गर्ने साम्राज्यवादी प्रणालीलाई नकाम नबनाई हाम्रो उत्पादक शक्तिको विकास हुँदैन । यसका लागि देशभित्रै विकेन्द्रीकरणमार्फत समाजवादी संक्रमण जरुरी छ । के हामी यसो गर्दैछौँ त ? यही विन्दुबाट निश्चित हुन्छ क्रान्तिको जीतको । हाम्रो विकास र मानवीय मुक्तिको । जस्तो कि, हामी चीनतर्फ ढोका खोल्ने प्रयत्नमा लागिरहेका छौँ । भारतवेष्ठित हाम्रो बाध्यकारी परिस्थितिलाई फेरबदल गरी उत्तरी नाका खोल्ने कुरा हाम्रो राष्ट्रिय मुक्ति हो या साम्राज्यवादको अर्को ढोका हो ? निश्चय नै यसलाई हामीले कसरी प्रयोग गर्छौं त्यसमा भर गर्छ । ठीक यसरी नै हाम्रा समग्र विकासका परियोजनाहरू, ढाँचाहरू मानवीय मुक्तिसँग गाँसेर हामी हेर्छौं कि हेर्दैनौँ । यदि हेर्दैनौँ भने ठोकुवा गर्न सकिन्छ यो क्रान्ति हैन, पतन हो । क्रान्तिको विघटन हो, हार हो।
मुक्ति कुनै क्रान्तिकारी नेताले पोको पारेर जनताको घरघरमा दिने उपहार हैन। सुखी नेपाली समृद्ध नेपालको नाराभित्र उनिएको हाम्रो समाजवादी यात्रा, अर्थात् हाम्रो मुक्ति, जनताको प्रयत्न, सहभागिता र लोकतन्त्रविना सम्भव छैन । यसमा प्रत्येक मान्छे सामेल हुनुपर्छ।
क्रान्तिको जीत वा हारको फैसलामा भूमिका खेलिरहेका केही आधारभूत सैद्धान्तिक वैचारिक विचलन र विरोधाभाषहरू हामीसँग छन् । जस्तै, हामीले क्रान्तिका संसारभरका असफलताहरूबाट सिक्ने त भन्यौँ तर नेतृत्वलाई स्थापित गर्ने नाममा सोभियत संघमा भएको अति केन्द्रीकरणको नक्कल यो वा त्यो रूपमा यहाँ पनि ग¥यौँ । एकातिर लोकतन्त्र भन्न छोडेनौँ । अर्कोतिर पार्टीभित्र आन्तरिक लोकतन्त्रका मसिहाका रूपमा खडा भएका पात्रहरू, आफ्नो अवसर आउँदा झन् निरंकुश बन्यौँ । वीर र भिडको अवधारणा सामन्ती अवधारणा थियो । जस्तै कृष्ण वीर थिए अरू सबै भिड । राम वीर थिए अरू बानरहरू भीड । तर यसको निरन्तरता समाजवादी आन्दोलनमा समेत आइपुग्यो । लेनिन, स्टालिन, माओ वीर, अरू सबै भिड । हामीकहाँ माओवादीभित्र प्रचण्ड वीर, अरू भीड । एमालेभित्र मदन भण्डारी वीर, अरू भीड । एक्काइसौँ शताब्दीको चेतनामा अझ ऐतिहासिक भौतिकवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्नेहरूबीच यो अवधारणा प्रसारित गर्नु र यो गर्न तछाडमछाड गर्नु हाम्रो विचारको अर्को विद्रुप पक्ष हो । यसका पछिल्ला पटाक्षेपहरू सामाजिक सञ्जालमा छयास्छयास्ती देखिन्छन् । ‘राजनेता केपी ओली’ । ‘राष्ट्रनायक प्रचण्डलाई काम गर्न देऊ’ । अझ चुनावमा देशभर घन्किएको गीत छ , ‘देश बनाउने जिम्मा अब केपी ओलीलाई’ । यसरी हामीले हाम्रो क्रान्ति, मुक्ति सबै एकजनालाई जिम्मा लगायौँ, लगाउँदै छौँ।
मुक्ति कुनै क्रान्तिकारी नेताले पोको पारेर जनताको घरघरमा दिने उपहार हैन । समाजवादी चिन्तक पाउलो फ्रेरेका अनुसार जसरी एउटा क्रान्तिकारी नेता कसैको उक्साहट वा लहडमा नभई उसमा निहित मुक्तिको चाहनाबाट प्रेरित भई संघर्षमा होमिन्छ त्यसैगरी जनता पनि आफँै संघर्षमा सामेल नभई मुक्ति सम्भव छैन । यसरी सुखी नेपाली समृद्ध नेपालको नाराभित्र उनिएको हाम्रो समाजवादी यात्रा, अर्थात् हाम्रो मुक्ति, जनताको प्रयत्न, सहभागिता र लोकतन्त्रविना सम्भव छैन । यसमा प्रत्येक मान्छे सामेल हुन्छ, हुनुपर्छ । तर हाम्रा तयारीहरू त्यतापट्टि छन् त ? अहिले त्यस्तो देखिँदैन।
यो सामान्य हैन, ठूलो विचलन हो । हाम्रो मनोविज्ञानमा, गीत, संगीत, साहित्यमा । पार्टी सञ्चालनमा । सबै हाम्रा तौरतरिकाहरूमा । आज सिंगो पार्टीपंक्ति लोकतन्त्रको अभावमा, विचारको अभावमा दिनप्रतिदिन कुँजो बनिरहेको छ । विचारको अभावमा कुनै पनि संगठनले परिवर्तनका समग्र र वास्तविक आयामहरूलाई निर्देशित गर्न सक्दैन । समिर अमिनका अनुसार विचारले निर्देशित नगर्दा कुनै पनि परिवर्तन क्रान्तिमा परिणत हुन्न । यसरी विचारबाट निर्दिष्ट हुने वा नहुने प्रयत्नले फैसला गर्नेछ, क्रान्ति या पतन । अर्थात् क्रान्तिले जित्छ कि हार्छ।
प्रकाशित: ८ कार्तिक २०७५ ०२:५६ बिहीबार

