२५ श्रावण २०७७ आइतबार
विचार

छोरीभर्सेज बुहारी पत्रकार

गत महिना सञ्चारिका समूहले प्रदान गर्ने उमासिं पत्रकारिता पुरस्कार ग्रहण गरेपछि पत्रकार गीता कुँवरले अछाममापत्रकार महिलाका लागि आधारभूत तालिम सञ्चालन गरेको र तालिमपछि धेरै छोरी र बुहारी रेडियोमा राम्रो कार्यक्रम चलाइरहेको बताइन्। उनकाअनुसार तालिमपछि बुहारीहरू पनि अब्बल ठहरिएका छन् तर घरबाट काम गर्ने अनुमति नपाएका कारण पूर्णकालीनरूपमा कामलाई निरन्तरता दिनचाहिँ सकेका छैनन्।

आजभोलि पत्रकारितासँग सम्बन्धित संघ÷संस्थाले आयोजना गरेका कार्यक्रममा पनि छोरी पत्रकार र बुहारी पत्रकारबारे कुरा उठ्न थालेको छ । अधिकांशको गुनासो हुने गर्छ–‘विवाहपश्चात् पत्रकारिताबाट महिला पलायन हुन्छन् ।’जबथुप्रै चुनौतीका साथ आएका छोरीपत्रकार पत्रकारितामा जम्न थाल्छन्, तब तिनै छोरीबुहारी हुन्छन् र पत्रकारिता छाड्छन् । विवाहपछि अधिकांशले पत्रकारितालाई निरन्तरता दिँदैनन् । थोरै तलब भए पनि अन्यत्र नै काम गर्न रुचाउँछन् ।  कति त पत्रकारिता गर्नुभन्दा घरमै बस्नु बेस ठान्छन्  । कति पत्रकार महिला देशबाटै पलायन हुने गर्छन् भने अंग्रेजी भाषामा राम्रो ज्ञान भएका पत्रकार महिलाचाहिँ गैरसरकारी संस्थामा सञ्चारविज्ञका रूपमा प्रवेश गर्छन् । छोरीहरूले पत्रकारितामा टिकिरहनका लागि निकै ठूलो लगानी गरेका हुन्छन् । लामो संघर्ष र लगावकै कारण उनीहरू स्थापितसमेत हुन्छन्।

समाचार संकलनका लागि जुनसुकै बेला जुनसुकै ठाउँमा पनि पुग्नुपर्ने हुन्छ । विभिन्न अवरोधका बाबजुद पत्रकारिता गर्दै बल्लतल्ल स्थापित भएका अधिकांश छोरी पत्रकार विवाहपछि पलायन भएका छन् भने कतिपय विवाह अगाडि जस्तो सक्रिय हुँदैनन् । दिनभर समाचार खोज्न दौडने छोरी पत्रकार बुहारी पत्रकार भएपछि घर परिवारबाट त्यसरी दौडने अनुमति थोरैले मात्रै पाउँछन् । विवाह गरेर गएपछि सासू/ससुरा,नन्द/आमाजू रश्रीमान्ले बेलान कुबेला हिँडेको र धेरै मान्छेसँग भेटघाट गरेकै पनि मन पराउँदैनन् । जुनसुकै बेला जोसुकैलाई भेटेर समाचार लेख्दा पनि राम्रो तलव नपाएपछि त जागिरमा जान्छु भन्दा पनि अप्ठेरो हुने गर्छ।

झट्ट हेर्दा पत्रकार भनेपछि सम्मानित र ठूलाबडासँगको संगत गरिने राम्रो पेशाजस्तो लाग्छ तर  समयमा न्यूनतम् पारिश्रमिक नपाएर छट्पटाइरहेका पत्रकारले विवाहपछि पत्रकारिता छाड्नु नौलोचाहिँ होइन । समयमा तलव नपाउने वा थोरै तलब पाउने समस्याका कारण पत्रकारितापेसामा उनीहरूलाई घर÷परिवारबाटै अवरोध आउनु स्वाभाविक पनि हो । त्यसैमाथि पनि आमा भइसकेपछि त समय व्यवस्थापनमा पनि कठिनाइ हुने गर्छ । सरकारले पत्रकारको न्यूनतम् पारिश्रमिक २५ प्रतिशत वृद्धि गरेको छ  तर महिनाको १० हजार पनि नपाउने पत्रकार महिलालाई पारिश्रमिक वृद्धिले कुनै प्रभाव पार्न सकेको छैन । अनेक संघर्ष गरेर भर्खर स्थापित भएका छोरी पत्रकार बुहारी पत्रकार हुनासाथ निष्क्रिय हुनु दुःखद  हो।

त्यसो त पत्रकारितामा पत्रकार महिलाको उपस्थिति नै कम छ । त्यसमा पनि सक्रिय पत्रकारिता गर्नेहरू त औँलामै गन्न पुग्नेमात्रै छन् । सञ्चारिका समूहको पछिल्लो अध्ययनअनुसार ६२.१ प्रतिशत महिला रेडियोमा कार्यरत छन् । पत्रकार महिलामध्ये छापा माध्यममा २२.६ प्रतिशत छन् । यस्तै टेलिभिजनमा १०.७ प्रतिशत र अनलाइनमा ७ प्रतिशत छन्  । अध्ययनले सञ्चारमाध्यममा न्यूनतम र नियमित पारिश्रमिक नपाउने समस्या विकराल बन्दै गएको देखाएको छ । अध्ययन  गरिएका ४१.४ प्रतिशत पत्रकार महिलाले न्यूनतम पारिश्रमिक नपाएको बताएका छन्  । यो समस्या उपत्यकामा भन्दाबाहिर बढी छ । न्यूनतम तलब नपाउनेमध्ये ८४.१ प्रतिशत पत्रकार महिला उपत्यका बाहिर छन् । अध्ययनमा ५७.८ प्रतिशत पत्रकार महिलाले मात्रै नियमितरूपमा तलब पाउने गरेको उल्लेख  छ । पत्रकारिताका माथिल्ला पदमा पुग्ने पत्रकार महिलाको संख्या औँलामा गन्न सकिनेछ । यस्तो अवस्थामा पत्रकारितामा छोरी/बुहारी पत्रकारको सार्थक र सक्रिय उपस्थितिको अपेक्षा नै पनि बढी महत्वाकांक्षी लाग्नु अस्वाभाविक हैन।

प्रकाशित: २९ आश्विन २०७५ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App