२७ श्रावण २०७७ मंगलबार
विचार

सामाजिक समरसताको शब्दजाल

कुनै पनि शब्दको प्रयोग निश्चित उद्देश्यलाई ध्यानमा राखेर गरिएको हुन्छ । समरसता शब्दको प्रयोग पनि त्यही निश्चित उद्देश्य अनुसार सवर्णहरूले गर्दै आइरहेका छन् । शब्दले मान्छेको अन्तःकरणमा सञ्चारित हलचल पत्ता लगाउने भेदियाको काम गर्छ । जब शासक जातजातिलाई कुनै शब्द प्रयोगबाट खतरा महसुस हुन्छ तब त्यो शब्दलाई नकार्न षड्यन्त्र वा जालझेल सुरु गरिन्छ । सामाजिक समरसता केवल शब्द नभएर शब्दजाल हो । शासक जातजाति समता शब्दबाट भयभीत छन् र यसलाई नकार्न समरसता शब्दजालको प्रयोग गर्छन्।

समरसताको मतलब
शासक जाति समरसको कुरा गर्छ । नैसर्गिक नियमको अनुसार मानव समरस हुन्छन् । सम्पूर्ण जीवित प्राणी आ–आफ्नो प्रकृति अनुसार समरस हुन्छन् । समरस जीवित प्राणीको अन्तर्निहित गुण हो । यदि कुनै मुस्लिम महिला हिन्दु पुरुषसँग, अमेरिकी महिला कुनै नेपाली पुरुषसँग र ब्राह्मण महिला कुनै बहुजन पुरुषसँग समरस हुन्छ भने उनीहरूको सम्भोगबाट उनीहरूजस्तै रूप–रंगको सन्तानको जन्म हुन्छ । कुनै कुकुर बिरालोसँग, गाई भैँसीसँग र हात्ती उँटसँग समरस भएको खण्डमा आफ्नो प्रजातिको पशु जन्माउन सक्दैन । हरेक प्राणीको प्रजननको फरक फरक नैसर्गिक नियम हुन्छन् । हरेक प्राणी समरस छन् । मानव जाति पनि समरस छन् । तैपनि शासक जातिद्वारा समरसताको राग अलापियो भने कुनै न कुनै निहित स्वार्थ हुन्छ । समरसता शब्द प्रयोगको पछाडि शासक जातिको सत्ता प्राप्ति र सत्तामा निरन्तर कायम रहिरहने लक्ष्य रहेको छ । यही कारण समता शब्दलाई उनीहरूले नकार्ने गर्छन् ।
समरसता शब्दको प्रादुर्भाव सत्ताबाट भएको हो । करिब असीको दशकबाट भारतीय जनता पार्टीका प्रत्येक नेता कार्यकर्ता सामाजिक समरसता शब्दको प्रयोग गर्दै आएका छन् । सवर्णहरूबाट सामाजिक समरसता शब्दको प्रयोग नेपालमा पनि हुँदै आइरहेका छन्, सामाजिक सद्भावजस्तै । जब वर्णव्यवस्था र त्यसले निर्माण गरेको जातव्यवस्थाको कुरा हुन्छ तब सवर्णहरूले सामाजिक समरसताको दलिल दिन्छन् । वर्ण तथा जातव्यवस्थामा कुनै समस्या देख्दैनन् । उक्त व्यवस्था समरस रहेको तर्क गर्छन् । लोकजीवनमा शास्त्रसम्मत कार्य विभाजनलाई दैविक आदेशको सज्ञा दिन्छन्।

शब्द प्रयोग
लोकजीवन वा सामाजिक जीवनमा शब्दको ठूलो महत्व हुन्छ । शब्द प्रयोग वा उपयोगको सन्दर्भमा कबिरको भनाइ सान्दर्भिक छ :

शब्द, शब्द सब कोई कहै, शब्द का करो विचार।
एक शब्द शीतल करै, एक शब्द दे डार।
शब्द सम्हारे बोलीए, शब्द के हाथ न पाँव।
एक शब्द औषधि करे, एक शब्द करे घाव।

यसको अर्थ हो, शब्द, शब्द सबैले भन्छन् तर शब्दको परिणाम उपर कसैले चिन्तन मनन गर्दैन । एउटा शब्दले शीतलता प्रदान गर्छ भने अर्को शब्दले जलाएर राख बनाउँछ । शब्दका हातखुट्टा हुँदैनन्, त्यसैले शब्दको प्रयोग वा उपयोग सोचेर गर्नुपर्छ किनभने शब्दले कतै औषधीको काम गर्छ भने कतै गहिरो घाउ पनि दिन्छ।

सवर्ण पाठशालामा शब्दको प्रयोगबाट कसैले गर्व महसुस गर्छन् भने बहुजनचाहिँ आजीवन हीनभावनामा बाँच्न मजबुर हुन्छन् । सवर्णले आफ्नो जातीय पहिचानबाट सशक्त भएको वा छाती चौडा भएको महसुस गर्छन् । त्यहीँ बहुजन समाजका कुनै चमार, डोम, मुसहर जातीय रूपमा परिचित हुँदा उसको छप्पन इन्चको चौडा छाती खुम्चेर छत्तीस इन्च भइहाल्छ । जातिगत शब्द प्रयोगबाट उक्त समुदायले अपमानित महसुस गर्छन् । उनीहरूको अनुहार निन्याउरो हुन्छ । सवर्णले होटल खोल्छन् । होटलको नाम शुक्ला पण्डित ढावा राख्छन् । एउटा बनियाले मिठाइको दुकान खोल्छ । दुकानको नाम ‘गुप्ता मिष्ठान भण्डार’ राख्छ । यी दुकानमा ग्राहकको भीड हुन्छ । बहुजन समाजले ‘चिडिमार चमार शुद्ध भोजनालय’को नाममा होटल खोल्छ । यो शुद्ध भोजनालयमा कुनै ग्राहक हुँदैन । कतिसम्म भने चिडिमारसमेत चमारकोमा जाँदैनन्, चमारहरू पनि चिडिमारकोमा जाँदैनन् । यी दुई जाति समुदायको मान्छे नै शुद्ध भोजनालयमा जाँदैनन् भने सवर्णहरू जाने कुरै भएन । यी शब्दको निर्माण सवर्ण पाठशालामा भएका छन्।

बहुजन समाजलाई जातव्यवस्थाले घृणित अलगाव पैदा गरेको छ । जब कुनै चमारको हत्या हुन्छ तब डोम रुन जाँदैन । जब डोमको हत्या हुन्छ भने मुसहर प्रतिरोध गर्न जाँदैन । जब डोम, चमार, मुसहरको हत्या हुन्छ भने पासवान मद्दत गर्न जाँदैन । ब्राह्मण रुन जाँदैन । जब सवर्ण मर्छन् तब यी सब रुन जान्छन्।

बहेलिया र तीत्राको भाषा
शब्दले वाणको काम गर्छ। शब्द तीर समान भएकाले यसले मान्छेलाई घायल बनाउँछ। समरसता शब्दमा आकर्षण र मोहकता छ। शब्दको योगबाट वाक्य बन्छ र प्रत्येक वाक्यमा शब्दकै प्रभाव हुन्छ। समरसता शब्द मात्र होइन शब्दजाल हो। जालमा पहिला मान्छेलाई फसाइन्छ, पछि उनीहरूसँग सुनिश्चित सलूक गरिन्छ।

समरसताको शब्दजाल एउटा कथाबाट सजिलै बुझ्न सकिन्छ । एउटा बहेलियाले जंगलबाट एउटा तीत्रा समातेर ल्याउँछ । तीत्रालाई काजु, बदाम खुवाउन थाल्छ । तीत्रा खुसी हुन्छ । बहेलियाले तीत्राको हाल खबर सोध्छ । तीत्रा जवाफ दिन्छ, यत्तिको सुख त जंगलमा पनि कहिले भोगेको थिएन।

बहेलिया तीत्रालाई भन्छ, तिम्रो बिरादरीका सबैलाई म यसरी नै काजु, बदाम खुवाएर सेवा र धर्म गर्न छु । यो जन्ममा मैले धर्म र सेवाको काम गरेँ भने अर्को जन्ममा म खुसहाल हुन्छु । यसका लागि तिमी मलाई आफ्नो बोली सिकाइदेऊ । यसले गर्दा तिम्रो बोली बोल्ने बित्तिक्कै तिम्रा बिरादरीका सबै तीत्रा मकहाँ आउँछन् र सबैलाई काजु, बदाम खुवाउन सक्छु।

तीत्राले आफ्नो मालिक बहेलियालाई तीत्राको बोली सिकाइदिन्छ । एकदिन बहेलिया आफ्नो पाल्तू तीत्रालाई लिएर जंगलमा जान्छ । जंगलमा एक ठाँउमा जाल बिछ्याउँछ । जालमा काजु, बदामको दाना झुण्डियाइदिन्छ । पाल्तू तीत्रालाई जालमा छाडिदिन्छ।

बहेलिया जालको डोरी समातेर झाडीमा लुकेर बस्छ । उसले तीत्राको बोली बोल्न थाल्छ । एकछिनमा तीत्राको झुण्ड जालमा झुम्न आउँछ जहाँ पाल्तू तीत्रा पहिलेदेखि नै मस्त थियो । सबै तीत्राले काजु बदामको दाना खान थाल्छन् । बहेलिया डोरी तान्छ । सबै तीत्रा जालमा फस्छन् । उसले सबै तीत्रालाई पाल्तू तीत्रासामु एकएक गरी काट्छ । पाल्तू तीत्रा डरले बहेलियालाई केही भन्न सक्दैन । पाल्तू तीत्राको कारण जंगलका सबै निर्दोष तीत्रा मृत्युको मुखमा पुग्छन्।

आज देशमा यही स्थिति छ । शासक जाति बहुजन समाजभित्रबाट पाल्तू तीत्रा (चम्चा) पैदा गर्दैछ । शासक जाति पाल्तू तीत्राको माध्यमबाट बहुजन समाजमा छिर्छ । तिनै चम्चालाई प्रयोग गरेर बहुजन समाजलाई फसाउँछ । त्यसका लागि समरसताजस्ता मोहक तथा आकर्षक शब्दजाल निर्माण गर्छ।

‘समरसता’ शब्द सवर्ण व्यवस्थालाई पूर्ववत् बनाइराख्ने ब्राह्मणी षड्यन्त्र हो । समरसताले जातव्यवस्थामा परिवर्तन चाहँदैन । जातव्यवस्थारूपी सोपानक्रमलाई चुनौती दिँदैन । वर्णव्यवस्थाको आधारमा निर्धारण गरिएका श्रम र श्रमिक विभाजनलाई जायज ठान्छ । शास्त्रसम्म सामाजिक व्यवस्था एउटा समरसमा आधारित हो भन्ने कुतर्क र भ्रम सिर्जना गर्छ।

समरसता शब्दजालको प्रयोग गरेर समतालाई नकार्छन् । समताको प्रयोग वा उपयोगबाट देशको सम्पूर्ण समाजलाई न्याय, मान–सम्मान, स्वाभिमान प्राप्त हुन सक्छ । समतालाई बचाउन बहुजनले नेतृत्व लिनुपर्छ । सवर्ण विचारधारा मानव हितमा छैन । सवर्ण विचारधारा राष्ट्रहित र देशहितमा पनि छैन । त्यसैले समरसताको शब्दजालबाट बच्नुपर्छ । बहुजन समाजलाई यो षड्यन्त्रबाट जोगाउनुपर्छ।
(रजक बहुजन अभियन्ता हुन्)

प्रकाशित: २७ श्रावण २०७५ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App