coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

प्रम ओलीलाई खुलापत्र

प्रम ओलीलाई खुलापत्र
प्रा.डा. जयराज आचार्य
सम्माननीय प्रधानमन्त्री
खड्गप्रसाद ओलीज्यू
सादर नमस्कार।

डा. गोविन्द केसीलाई उहाँको चौबिसौँ दिनको अनशनमा भेटेर आएपछि म तपाईंलाई यो पत्र लेख्दैछु । उहाँको स्वास्थ्य अवस्था ज्यादै नै नाजुक देखेँ । तर मैले भन्दा बढी तपाईंले बुझिराख्नु भएको होला किनकि तपाईं राष्ट्रको अभिभावक हुनुहुन्छ र राष्ट्रिय संयन्त्रमार्फत तपाईंकहाँ यथार्थ सूचना आएकै हुनुपर्छ । अभिभावकका रूपमा तपाईंले गर्नुपर्ने काम के हो त्यो पनि मैले भनिरहनु आवश्यक छैन । तपाईं स्वयं विज्ञ हुनुहुन्छ ।  

तैपनि मलाई के भन्न मन लाग्यो भने डा. केसीका माग सम्बोधन गर्दा तपार्इंको हाइट घट्दैन, अझ बढ्छ । वास्तवमा यदि डा. गोविन्द केसी मान्नुहुन्छ भने तपाईं स्वयं गएर आफ्नै हातले जुस ख्वाएर उहाँको अनशन तोडाउनोस्– त्यसले तपाईंको हाइट अझ बढ्छ, घट्दैन । देशभर तपाईंको जयजयाकार हुनेछ । यो तपाईंका लागि ठूलो अवसर हो– भारतको नाकाबन्दीविरुद्ध तपाईंले लिनुभएको अडान भन्दा पनि ठूलो अवसर हो । त्यो अडान जसले तपाईंलाई र तपाईंको कम्युनिस्ट पार्टीलाई आज यो अवस्थामा ल्यायो।

डा. केसीविरुद्धको अडानले तपाईंलाई ठूलो नोक्सान गर्दैछ । यो ध्रुवसत्य हो । किनभने, डा. केसी कुनै व्यक्तिगत माग राखेर अनशनरत हुनुहुन्न ।

तर डा. केसीका विरुद्धको अडानले तपाईंलाई ठूलो नोक्सान गर्दैछ । यो ध्रुवसत्य हो । किनकि डा. केसी कुनै व्यक्तिगत माग राखेर अनशनरत हुनुहुन्न । देशभर पैदल घुमेका उहाँ दूरदराजका गरिब नेपाली जनताका पक्षमा र समग्र राष्ट्रका पक्षमा अनशनरत हुनुहुन्छ । जनताले त्यो बुझेका छन् । वास्तवमा डा. केसीलाई सबैभन्दा ठूलो कम्युनिस्ट या जोगी भने पनि हुन्छ– परिवारविहीन, सम्पत्तिविहीन । उहाँलाई कुनै पार्टीको ट्याग लगाउन मिल्दैन । किनकि उहाँले सन् २०१२ देखि प्रायः सबै प्रधानमन्त्रीहरूको कार्यकालमा दुईदेखि चारपटकसम्म अनशन बसेको देखिन्छ– बाबुराम भटराई (२), खिलराज रेग्मी (२), सुशील कोइराला (३), केपी ओली (अहिलेसमेत गरी २ पटक), पुष्पकमल दाहाल (२) र शेरबहादुर देउवा (४) । कसका पालामा कति पटक अनशन गरेको भनी अङ्कहरू स्पष्ट बोल्छन्।   

कम्युनिस्ट सरकारहरूले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्ने हो, प्राइभेट मेडिकल कलेजलाई सम्बन्धन दिने होइन । चीन, क्युबा, उत्तर कोरिया कतै पनि प्राइभेट मेडिकल कलेज भएको मैले सुनेको छैन । श्रीलंकामा पनि छैन । तपाईंलाई यो पनि थाहै होला क्युबाको स्वास्थ्य सेवा विश्वमै राम्रो मानिन्छ । मैले त देखेर आएको छु ।

कम्युनिस्ट सरकारहरूले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्ने हो, प्राइभेट मेडिकल कलेजलाई सम्बन्धन दिने होइन । चीन, क्युबा, उत्तर कोरिया कतै पनि प्राइभेट मेडिकल कलेज भएको मैले सुनेको छैन । श्रीलंकामा पनि छैन । तपाईंलाई यो पनि थाहै होला, क्युबाको स्वास्थ्य सेवा विश्वमै राम्रो मानिन्छ । मैले त देखेर आएको छु ।

जसले आजसम्म प्राइभेट मेडिकल कलेजमा लगानी गरेका छन्, तिनको लगानीको उचित मूल्यांकन गरी त्यसमा ब्याजसमेत थपेर सरकारी ढुकुटीबाट भुक्तानी गरिदिनोस् र तिनलाई राष्ट्रियकरण गरिदिनोस् । त्यस कामलाई त्यति अपराध मानिनेछैन जति गुणस्तरविहीन कलेजलाई दिइने सम्बन्धनलाई मानिएला । वीरगन्जको नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजमा विद्यार्थी भर्ना नभई ४५–४६ सीट खालि रहेको कुरा पनि अखबारमा पढेँ । तपाईंले पनि पढ्नुभयो होला । सायद सरकारी भएकै कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राम्रो छ । गुणस्तरहीन कलेजलाई त सम्बन्धन दिए पनि जनताले तिनमा छोराछोरी पढाउँदैनन् । बरू विदेश पठाउँछन् ।    

म डा. केसीलाई हेर्न जाँदा संयोगवश पूर्वराष्ट्रपति डा. रामवरण यादव पनि जानुभएको रहेछ । त्यसकारण मैले एकछिन बाहिरै बसेर पालो कुर्नुप¥यो, कुरेँ । अरू पनि कुरिरहेका थिए । कुर्दा मलाई एक जना साधारण गरिब गाउँलेजस्ता देखिने मानिससित कुराकानी गर्ने मौका पनि मिल्यो । मैले त नचिनेको मानिससित कुरा गर्न चाहने कुरो थिएन । तर मलाई कहिलेकाहीँ टेलिभिजनमा देखेकाले चिनेर उनले नै कुरा गर्न चाहेका रहेछन् । अनि उनले तपाईंका बारेमा मसित जुन आक्रोशको भाषामा आलोचना गरे, त्यो तपाईंका लागि कत्ति पनि राम्रो थिएन ।

मैले भनेको थिएँ, डा. केसीको अनशन प्रधानमन्त्री ओली आफैँले हस्तक्षेप गरेर सामाधान गर्नुपर्छ, मैले उहाँसित भेट गर्न पाए म उहाँलाई यही कुरा भन्थेँ । मेरो यो वाक्य सुनेपछि उनले भने, “म ओलीको पार्टीलाई भोट हालेको मान्छे हुँ, तर डाक्टर साहेब, ओलीलाई भेटेर काम छैन ।” किन काम छैन भनी बुझाउन उनले अरू थप कुरा पनि भने तपाईंका बारेमा । त्यो सबै कुरा मिडियामार्फत पठाउने यो पत्रमा नलेख्नु नै बेस होला । तर तपाईंकै पार्टीको समर्थकले जुन आक्रोश व्यक्त गरे, त्यो व्यक्तिगत रूपमा, पार्टी अध्यक्षको रूपमा, प्रधानमन्त्रीका रूपमा या कुनै रूपमा पनि तपाईंका लागि शुभलक्षण होइन । सारांशमा यत्ति भनौँ– डा. गोविन्द केसी अनशन प्रकरणमा सरकारप्रमुख, पार्टीप्रमुख र नेपाल कम्युनिस्ट पार्टी सबैको लोकप्रियता घटेको छ ।  

तपाईंका नगिचका मानिसहरूले भन्दा होलान्– अहिले हाम्रो लोकप्रियता घटेको छ भन्नु बकबास हो, हामीसित दो–तिहाइ बहुमत छ, पेलेर जान सकिन्छ । दो–तिहाइ बहुमत २०१७ सालमा पनि थियो । तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ । त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन । हो, २०१७ साल र २०७५ सालको नेपाल उही र उस्तै छैन । तर यो निश्चित हो कि डा. गोविन्द केसी अनशन प्रकरणको अविलम्ब समुचित समाधान भएन भने त्यसले ल्याउने दुष्परिणाम ज्यादै दुःखद र अकल्पनीय पनि हुनसक्छ । त्यसकारण म तपाईंको र राष्ट्रको भलो चाहँदै तपाईंले राष्ट्रको अभिभावकका रूपमा ठूलो छाती भएको व्यवहार गर्नुहुनेछ भनी आशा गर्छु ।
 

प्रकाशित: ९ श्रावण २०७५ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App