१६ चैत्र २०८० शुक्रबार
विचार

डि–इ विद्यार्थी कहाँ जाने ?

भर्खरै प्रकाशित एसइई परीक्षाको नतिजा केहीका लागि खुसीको विषय भए पनि धेरैका लागि भने निराशाजनक नै रह्यो । तीन वर्ष अघिदेखि लागू गरिएको ग्रेडिङ प्रणालीमा कोही पनि फेल हुँदैन भन्ने अवधारणा राखिएको छ । तर कोही पनि फेल नहुने प्रावधान रहे पनि डि प्लस, डि र इ ग्रेडमा उत्तीर्ण भएका परीक्षार्थी भने ११ कक्षामा भर्ना हुन नपाइने व्यवस्था गरिएको छ । जसले गर्दा हरेक वर्षझैँ यो वर्ष पनि सि ग्रेडभन्दा तल  ‘पास’ भएका विद्यार्थीहरू कहाँ जाने भन्ने प्रश्न उठिरहेको छ।

यस वर्षको एसइई परीक्षामा सि ग्रेडदेखि डि ग्रेडसम्म १ लाख ९४ हजार ३१५ विद्यार्थी उत्तीर्ण भएका छन्। डि प्लस र डि ग्रेडमा मात्र ९३ हजार २७३ विद्यार्थी छन् । सि ग्रेडसम्म आएका विद्यार्थीले ग्रेड वृद्धिका लागि पुनः परीक्षा दिन पाउने भनिएको छ । नयाँ परीक्षा प्रणालीले १.६ जिपिए भन्दा कम आएका विद्यार्थीले ११ कक्षा पढ्न नपाइने भएकाले ती विद्यार्थीहरू नतिजामा ‘पास’ भएर पनि भविष्य भने अन्यौलग्रस्त हुन पुगेको छ । सि ग्रेडका विद्यार्थीले खोजेको कलेज र  रोजेको विषयमा पढन पाउने अवस्था छैन । सरकारले कुनै पनि विद्यार्थीलाई फेल नगराउने नयाँ नीति त ल्यायो तर १० पास भएर पनि ११ पढ्न नपाइने यो विरोधाभाषपूर्ण स्थितिलाई के भन्ने ?  त्यो भने बुझ्न नसकिने भएको छ।

११ कक्षा पढ्नबाट वञ्चित यी विद्यार्थीहरूका लागि सरकारले विभिन्न प्राविधिक सीपमूलक शिक्षा आर्जन गर्न सकिने व्यवस्था गरेको छ । यसको लागि सिटिइभिटी कक्षाको प्रबन्ध मिलाएको छ । तर सिटिइभिटी कक्षाको क्षमता भने हरेक वर्ष सि ग्रेडदेखि तल उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीलाई थेग्न सक्ने अवस्थामा छैन । हाल नेपालभर १८५ वटा सामुदायिक विद्यालय, ३७ वटा आंशिक क्याम्पस र ३०० वटा निजी स्तरका विद्यालयमा सिटिइभिटीको पढाइ हुने व्यवस्था गरिएको छ । यी विद्यालय र कलेजहरूको वार्षिक विद्यार्थी क्षमता भनेको जम्मा ४० हजार मात्रै रहेको छ । यी शिक्षण संस्थाहरूमा भर्ना हुन वर्षेनि १ लाख विद्यार्थीले प्रवेश परीक्षा दिने गर्छन् । तर त्यसमा पास हुने विद्यार्थीको संख्या भने ४० हजार मात्रै हुने गर्छ । एसइईमा ‘फेल’ नभएका ६० हजारभन्दा बढी विद्यार्थी भने यसमा आएर फेल हुन पुग्छन् । अर्थात् ११ कक्षा पढ्न नपाएका कारण सरकारले उपलब्ध गराएको एउटा सानो अवसरबाट पनि उनीहरू वञ्चित हुन पुग्छन्।

सिटिइभिटीले वर्षेनि भर्ना गर्न सक्ने जम्माजम्मी क्षमता ४० हजार मात्र छ जसले गर्दा गत वर्षदेखि अहिलेसमेत गरी झन्डै दुई लाख विद्यार्थी सिटिइभिटी कक्षासमेत पढ्न नपाइने गरी अलपत्र अवस्थामा पुगेका छन् । सिटिइभिटीमा पढ्न लायक विद्यार्थीहरू वर्षेनि झन्डै दुई लाखको संख्यामा उत्पादन हुन्छन्, तर सिटिइभिटीले पढाउन सक्ने क्षमता भने ४० हजार मात्रै छ, भनेपछि हरेक वर्ष ६० हजारभन्दा बढी विद्यार्थी ११ कक्षा र सिटिइभिटी दुवै पढ्नबाट वञ्चित हुने अवस्थामा पुगिरहेका छन् । आखिर ती विद्यार्थीहरू कहाँ जान्छन् ? कहाँ गइरहेका छन् ? राज्यले सोच्नुपर्ने मूल प्रश्न नै यही हो।

गत दुई वर्षको तथ्यांक लिने हो भने सिटिइभिटी प्रवेश गर्न नपाएका र ११ कक्षा पनि पढ्न नपाएका विद्यार्थीहरूको संख्या तीन लाखको हाराहारीमा रहेको छ । एसइईको परीक्षाफलको नतिजाको ट्रेन्ड हेर्ने हो भने हरेक वर्ष लगभग एक लाख विद्यार्थीहरू थपिन आउने देखिन्छ । उनीहरूका लागि राज्यले गर्ने व्यवस्था के हो ? उमेरका हिसाबले अत्यन्त कलिला र जनशक्तिका हिसाबले अत्यन्त ऊर्जाशील चरणमा प्रवेश गर्न लागेका विद्यार्थीहरूको यो ठूलो संख्यालाई राज्यले गम्भीर रूपमा ध्यान नदिने हो भने सरकारले देखेको समृृद्धिको सपना पनि बीचैमा तुहिने देखिन्छ । किनभने ऊर्जाशील उमेर समूहका यति धेरै विद्यार्थीहरू सीप र शिक्षाबाट वञ्चित हुन पुगे भने त्यसको प्रत्यक्ष असर भोलि राज्यका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा समेत पर्न जाने निश्चित छ । त्यसमाथि लामो समय शिक्षाको कुनै पनि समूहमा समावेश हुन नसके उनीहरू निराशा र कुण्ठाको शिकार भई अर्काे नकारात्मक बाटोमा लाग्ने खतरा पनि उत्तिकै रहेको हुन्छ । यदि भोलि त्यस्तो कुनै अवस्था आइप¥यो भने त्यसको मूल्य राज्यले पनि चुकाउनुपर्ने हुन्छ । परिवार र समाज त त्यसको प्रभावैले थिलथिलो बन्ने निश्चितै छ।

प्राविधिक तथा व्यावसायिक तालिम र शिक्षाअन्तर्गत हाल नेपालमा कृषि, इन्जिनियरिङ, स्वास्थ्य तथा मेडिकलतर्फ सीपमूलक तालिम लिन सकिने कक्षाहरू सञ्चालनमा रहेका छन । कृषिमा वनस्पति विज्ञान, पशुविज्ञान र खाद्य तथा दूग्धजन्य प्रविधिको तालिम हुन्छ भने इन्जियिरिङतर्फ सिभिल इन्जिनियरिङ, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, सर्वे, कम्प्युटर, सूचना प्रविधि तथा आर्टिटेक्चर इन्जिनियरिङ पर्छ । त्यसैगरी स्वास्थ्य तथा मेडिकलतर्फ औषधी विज्ञान, साधारण औषधी, नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, आयुर्वेदिक, फार्मेसी, डेन्टल तथा आँखासम्बन्धी तालिम तथा शिक्षा हुने गर्छ । यसरी दिइने शिक्षा र तालिम प्राप्त गर्न सकिए रोजगारमूलक र सीपमूलक हुने त देखिन्छ तर एकातिर त्यो सीप सिक्ने अवसर पाउनै पनि कठिन छ भने अर्कोतिर अवसर पाएकाहरूले पनि रोजगारी प्राप्त गरे कि गरेनन्, त्यसको खोजी भने आजसम्म भएको देखिँदैन । सिटिइभिटीले दिने शिक्षा र तालिम रोजगारमूलक भए पनि त्यो पढाइसम्म ठूलो संख्यामा रहेका विद्यार्थीहरूको पहुँच नै पुगेको हुँदैन।

त्यसैले सबैभन्दा पहिले राज्यले सिटिइभिटीको यो क्षेत्रसम्म सि ग्रेड भन्दा तल ‘पास’ भएका सम्पूर्ण विद्यार्थीहरूको पहुँच पु-याउनु प-यो । यसका लागि सिटिइभिटी शिक्षालाई निजी क्षेत्रका विद्यालयहरूमा पनि समावेश गराउनु पर्छ । त्यसो भए मात्रै तल्लो ग्रेड ल्याएर पास भएका विद्यार्थीहरू पनि अवसरबाट वञ्चित हुन नपर्ने हुन्छ । त्यति मात्र होइन, हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा आउने गर्छन् । आएका मात्र २० प्रतिशतले मात्र स्वदेशी श्रम बजारमा अवसर पाउँछन् । बाँकी कहाँ जान्छन् ? के गर्छन् ? यिनीहरूको खोजी गरी सम्बोधन गर्न सके मात्र आवश्यक जनशक्तिको  अभाव  टार्न सकिने हुन्छ । अनि सरकारले अहिले कल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपनालाई साकार पार्न सकिन्छ।

प्रकाशित: २६ असार २०७५ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App