७ वैशाख २०८१ शुक्रबार
विचार

कसरी मनाउने छाउपडीका देउतालाई?

यहीजेठ महिनाको २८ गते छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट अछाम जिल्लामा एक किशोरीले ज्यान गुमाउनुपरेको दुःखद समाचार फेरि सुन्नुप-यो। तत्कालीन सुदूर पश्चिम र मध्यपश्चिमका केही जिल्लामा कायम यो कुप्रथाका कारण महिलाले अकालमा ज्यान गुमाउनु परिरहेको छ।  

बेलाबेलामा यस्ता घटना भइरहन्छन् । जतिपटक घटना हुन्छन् त्यतिपटक कडा नीति नियम निर्माण गर्नेबारे, यस्ता कुरीति अन्त्य गर्ने कुरामा र सरकारलाई जवाफदेही बनाउने कुरामा संघ/संस्था तथा यो विषयका अगुवा लागिपर्छन् । केही दिन यस्तैमा बित्दै जान्छ र बिस्तारै बिर्सिन्छन् यो कुरा। अनि केही महिनापछि फेरि घटना दोहोरिन्छ र फेरि सबै जाग्छौँ आ–आफ्नो ठाउँबाट । यही सिलसिलामा यो लेख केन्द्रित छ ।जसले छाउपडी प्रथा अन्त्यका लागि भए÷गरेका प्रयासको सराहना गर्दै यसमा अन्तर्निहित कारण खोतल्ने र त्यसलाई जरैबाट उखेलेर फाल्नका निम्ति केही उपायबारे चर्चा गर्नेछ।

प्रयासहरू : छाउपडी हटाउनका निम्ति भएका प्रयास कम छैनन् । पछिल्लो पटकको घटनालाई ताजा उदाहरण बनाएर नेपालका विभिन्न समाचार माध्यममा र अमेरिकी समाचार संस्था ‘द न्युयोर्क टाइम्स’ले समेत यो विषयलाई लिएर समाचार प्रसारित गरे । मुद्दा उठान राम्रोसँग भयो भन्ने कुरा सकारात्मक भएतापनि देशमा अझै जर्जर कुरीति र अन्धविश्वासहरूकायम रहेको कुराको अन्तर्राष्ट्रियकरण हुनु लाजमर्दो पनि हो।

जब घटना हुन्छन् त्यतिबेला सरकार पनि त्यस्तो कार्यविरुद्ध कडारूपमा प्रस्तुत हुँदै आएको छ । सामाजिक संघ/संस्थाले छाउपडीविरुद्धका थुप्रै अभियान सञ्चालन गर्दै आइरहेका छन् र केही सुधार पनि भएको छ । राजधानीकेन्द्रित केही सामाजिक अभियन्ताले यस कुप्रथाविरुद्ध आफ्ना कलम चलाउने र अन्य प्रकारले योगदान दिने काम पनि निरन्तर गरी नै राखेका छन् । सम्बन्धितजिल्लामा सञ्चालित सामाजिक परिचालन केन्द्रित कार्यक्रमहरूको एउटा मुख्य सवाल यही रहँदै आएको छ । तर सोचनीय विषय के भने यतिविधि लगानी र चासो हुँदाहुँदै पनि किन जुन रूप र गतिमा यो कुप्रथामा परिवर्तन आउनुपथ्र्यो त्यो आएन भन्ने हो।

अन्तर्निहित कारणहरू : छाउपडी प्रथा अन्त्यका लागि छाउपडी गोठहरू भत्काउने, छाउपडीमुक्त गाउँ घोषणा गर्ने, स्थानीय सरकारले नीति नियम तयार गर्ने, विभिन्न स्तरका सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्य भएका कुरामा सबै जानकार छौँ । यस्ता गतिविधिको परिणामस्वरूप छाउपडी गोठ प्रयोगकर्ताको संख्यामा कमी पनि आयो । छाउपडीको स्वरूप गोठबाट फेरिएर घरभित्रसम्म आउन सक्यो । केही वर्षअगाडि डोटीको एउटा परिवारले छाउपडी गोठ छाडेर घरभित्र आएपछि घरभित्र नियमित सर्प आउन थालेको भनेर फेरि छाउगोठमानै फर्किएको कुरा सुनाएका थिए । त्यस्तै छाउगोठ छाडेपछि घरमा बिसन्चो हुन थालेको र फेरि छाउगोठमै बस्न थालेको कुरा सुन्ने/सुनाउनेको जमात पनि ठूलो छ।

केही समयअगाडि बझाङ जिल्लामा छायांकन गरिएको एउटा टेलिभिजन कार्यक्रममा महिलाले अरु सबै कुरा परिवर्तन गर्न सकिन्छ, छाउगोठ छाड्न सकिन्छ तर ‘रिसाएका देउता’ मनाउन सकिँदैन र ती देउता सबैभन्दा बढी छाउ बारेन भने रिसाउँछन् भनेका थिए । गतजेठ १४ गतेमात्र राजधानीमा ‘राष्ट्रिय मर्यादित महिनावारी दिवस’मनाउँदा प्रदेश नम्बर ७ का विभिन्न जिल्लाका गाउँपालिकाका उपाध्यक्षहरूले सिंहदरवारमा भइरहेको एउटा छलफलमा भनेका थिए– ‘द्वन्द्वकालमा बन्दूकको नाल देखाएर छाउपडी गोठ प्रयोग नगर्नू’ भन्दा त मानेनन्, अहिले नियम बनाएर छाउपडी रोक्न कसरी सकिन्छ र ? त्यही समूहको अगुवाइ गर्दै काठमाडौँ आएकी दोगडाकेदार गाउँपालिका बैतडीकी मञ्जु भट्टले ‘निर्वाचित महिला जनप्रतिनिधिलाई नै देउतासँग नडराउन र छाउ नबार्ने विषयमा बुझाउन निकै चुनौतीपूर्ण बनेको बताउँदै भनेकी थिइन्– जति जे जे कुरा गरे पनि ‘अछूत’ भएका बेला देउता छुने र दैविक नियमहरू तोड्ने विषय फलामको चिउरा चपाउनुसरह छ।’

त्यसो भन्नुको अर्थ पछि ती प्रतिनिधिहरूले बेलीबिस्तामा सुनाए । खास कुराचाहिँ गोली हानेर मारे पनि सहन तयार तर देउताका विरुद्ध जान कसैले पनि आ“ट गर्न नसक्दा रैछन् । यसैगरी असारको दोस्रो सातातिर सुर्खेतको चौकुने गाउँपालिका ६ भावरकी अनिता शर्मा विवाहपश्चात देउता रिसाउने डरले छाउँ घरमा बस्न बाध्य भएको समाचार विभिन्न समाचारमाध्यममा आयो । सो गाउँमा करिब ५३ घरधुरीका ९० जनाको हाराहारीमा महिनावारी हुने महिलाका लागि ५ वटा छाउगोठ रहेको तिनै समाचारमा उल्लेख छ । यस विषयमा शोध गरिरहेकी भागेश्वर डडेलधुराकी सरिताकुमारी भट्टका अनुसार‘छाउपडी भएका बेला अपनाउनुपर्ने सावधानी, स्वास्थ्य सुरक्षा र अरु स्वच्छताका विषयमा र यस कुप्रथा हटाउने विषयमा महिला तथा घरपरिवारका सदस्यहरू परिवर्तन हँुदै आएको छ ।भट्टको विचारमा यसबारे घरका सबै सदस्य सचेत पनि छन् जब देवी देउताका कुरा आउँछन् तब सबै छलफलले फरक मोड लिने गरेको देखिन्छ । समाजशास्त्रीय सिद्धान्तहरूमा उल्लेख भएबमोजिम हिन्दु धर्मशास्त्रमा ‘शुद्ध र अशुद्ध’ को अवधारणा बलियो रहेको र देउता, खाना, पानी, भान्सा, मन्दिर आदि कुरा ‘शुद्ध’ ठाउँ तथा वस्तुका रूपमा मानिने भएकाले छाउपडीका बेला यिनै ठाउँ तथा वस्तुहरू छुन वर्जित हुन्छन्। र, सबैभन्दा बढी चुनौतीपूर्ण पनि यही काम हो यो अभियानको।

यो ‘शुद्ध र अशुद्ध’को नियममा आधारित छाउपडीको सिकार केवल गाउँमात्रै नभई सहर र महानगरमा बसोबास गर्ने प्रायःमहिला पनि हुँदै आएकाछन् । महानगरमा बसोबास गर्ने महिलाको जमात आज पनि छाउ भएका बेला मन्दिर जान सक्दैनन् । नयाँ घर सर्ने दिन, घरमा पूजा गर्ने दिन, आफन्तको बिहे आदि जस्ता  पवित्र (‘शुद्ध’) मानिएका कार्यमा आज पनि छाउ भएका महिला सहभागी हुँदैनन् । एकाध महिला अधिकारकर्मीले छाउ भएका बेला आफू देउतालाई सजिलै छुन सक्ने कुरा गरेको निकै सराहनीय विषय हो । त्यसैगरीमन्दिर प्रवेशका अलावा एउटा ठूलो जमात भान्सा छुन, पकाउन, पिउने पानीको जार छुने जस्ता कार्यआजपनि गर्दैनन्।

यी केही प्रतिनिधिमूलक उदाहरणले छाउपडीको मूल कारण देवीदेउता र धार्मिक आस्था हो भन्ने बुझिन्छ । हामीले सञ्चालन गर्ने सामाजिक अभियानहरूका विषय यस मुख्य कारण पहिचान गरी निराकरणका उपाय सोच्नुभन्दा पनि त्यसका लक्षण, जस्तै–गोठ भत्काउने, तालिम दिने आदि कार्यहरूमा सीमित भए । धार्मिक मान्यता बाधक हो भन्नेमा पनि थोरबहुत बहस भने भएका छन् तर पर्याप्त भने छैन।  

छाउपडी गोठ भत्काउनका निम्तिपहिलो काम देउतामाथिको डर भत्काउन जरुरी छ । धार्मिक आस्था भत्काउनुगाह्रो विषय अवश्य हो तर असम्भवचाहिँ होइन । राजधानीमा यस विषयमा काम गर्ने स्वतन्त्र महिला तथा संघ/संस्थाले जुन दिन सञ्चारमाध्यमले थाहा पाउने गरी छाउ भएका बेला पशुपतिनाथलगायतका अन्य धार्मिक शक्तिपीठहरूको दर्शन गर्ने हिम्मत गर्नेछन् त्यो दिनबाट देउताको डर कम हुँदै जानेछ।

स्थानीय सरकारमा निर्वाचित महिलाको समूहले देखिनेगरी जव सुर्खेतको देउती बज्यै, डोटीको शैलेश्वरी, अछामको वैजनाथ धाममा छाउ भएका बेला गएर पूजा गर्न सक्नेछन् अनिमात्र गाउँका सर्वसाधारण महिलामा देउताप्रतिको डर कम हुँदै जानेछ । अछाम, डोटी र सुर्खेतलगायत जिल्लामा छाउपडीविरुद्ध कार्य गर्ने थुप्रै संघ÷संस्था छन । यी संस्था र स्थानीय सरकारले मिलेर अब सामूहिकरूपमा छाउ भएका महिलाको समूहलाई मन्दिर प्रवेश गराउन सक्नु नै यस कुप्रथाबाट बिस्तारै उन्मुक्ति पाउने बाटो हुनेछ ।

प्रकाशित: १७ असार २०७५ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App