२९ असार २०८२ आइतबार
image/svg+xml
विचार

खुराक हो खुर्सानी

आमालाई पेट दुखेर अस्पताल लाँदा होस् अथवा दाँत र आँखा जँचाउन जाँदा नै किन नहोस्, पिरो नखान सल्लाह दिन्थे नेपालमा चिकित्सकहरूले। डाक्टरले खुर्सानी नखान दिएको सल्लाह स्वाभाविक लागे पनि आँखा र दाँत जँचाउने क्रममा पनि पिरोप्रतिको वर्जन बुझ्न सकिएको थिएन। 

धूमपान र मद्यपानझैंहरदृष्टिले बेकामे भएकाले खुर्सानीप्रति बहुआयामिक प्रहार भएको हुनुपर्छ भन्ने दरिलो छाप मेरो कलिलो दिमागमा त्यसबेला परेको थियो। चिकित्सकले पिरोप्रति वितृष्णा देखाए पनि घरको लोकप्रिय मसला थियो, खुर्सानी। पिरो नभइकन खाना नखाने आदत परेकी आमालाई गत महिना क्यालिफोर्नियामा जँचाउन लगियो र खुर्सानी छुटाउने बहाना बनाएर चिकित्सकको सहरा लिन खोजियो। 

महतारीको भोजनशैली बताएपछि डाक्टरले पिरो खराब नभएको मात्र होइन बरु माताको खान्की संहिताको प्रशंसा गर्दै खुर्सानी खान उक्साए। वार्ताको क्रममा खुर्सानीलाई बहुगुणी ओखतीजन्य तरकारीसमेत भन्न भ्याए, चिकित्सकले। हजारौँमा एक जनालाई हुने प्रोटिन पाचन समस्यालाई आधार मानेर सबैलाई प्रोटिन नखान सल्लाह दिनुझैं देखियो– खुर्सानी सम्बन्धी सोच। पिरोका सम्बन्धमा भएका अन्वेषणको चर्चा गर्नु यो आलेखको लक्ष्य हो। 

झन्डै १० हजार वर्षदेखि नै दक्षिण अमेरिकामा मसलाको रूपमा प्रयोग गरिँदै आएको खुर्सानीका झन्डै ५० हजार प्रजाति संसारका विभिन्न स्थानमा अस्तित्वमा रहेको अनुमान छ। फरक स्वाद, बास्ना, पिरोपन अनि भिन्न भौगोलिक इलाकामा फलाउन मिल्ने नवीन प्रजाति विकास गर्न वैज्ञानिकले गरेको मेहनतलाई विचार गर्दा सूची बर्सेनि बढ्दै गएको देखिन्छ। अन्यत्रझैँ लामो समयदेखि नेपाली खानाको अभिन्न हिस्सा बन्दै आएको छ, खुर्सानी। त्यसो त तराईमा पिरोबिनाको भान्सा कल्पनाभन्दा बाहिरको विषय हो। 

तराईवासी शिक्षक गणित पढाउन पहाडतिर जाने गरेको हामीसबैले देखेकै छाैँ। त्यहाँ उनीहरूले खानासँग खुर्सानीको ढिँडी चबाएको देख्दा पिरो र गणितबीचको अन्तरसम्बन्ध स्थापित गर्ने मानिसहरू पनि नभएका होइनन्। 

हजारौं वर्षदेखि मसलाका रूपमा संसारभर प्रयोग भएको खुर्सानीका सम्बन्धमा सयौँ अन्वेषण भएका छन्। छापिएका सारगर्भित अनुसन्धानामूलक तथ्यांकलाई विश्लेषण गरी अमेरिकाको क्लिभल्यान्ड क्लिनिकका अन्वेषण समूहले सन् २०२२ मा एक समीक्षात्मक लेख प्रकाशन गरे, ‘अमेरिकन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजी’ पत्रिकामा। खुर्सानी खाने मानिसमा मुटुसम्बन्धी रोग र क्यान्सरजन्य मृत्यु पिरो नखाने मानिसको दाँजोमा कम हुने निष्कर्ष मुटुरोग विशेषज्ञ डाक्टर बो सुको अगुवाईमा प्रकाशित उक्त आलेखको थियो। खुर्सानीको खुराक र दीर्घायुबीच ठ्याक्कै हिसाब नपहिल्याए पनि पिरो खाए मुटुका समस्या र क्यान्सरलाई पछि धकेल्न सकिने उक्त आलेखको निचोड थियो। 

खुर्सानीले आयु लम्ब्याउने कुरालाई अस्वाभाविक मान्दैनन्, अमेरिकाको हार्वार्ड मेडिकल स्कुलका प्राध्यापक लङ बेन। पिरोले शारीरिक मेटाबोलिज्मलाई नियन्त्रणमा लिई थोरै खान्की खाँदा पनि अघाएको महसुस गराउने भएकाले शरीरको तौल नबढ्ने ठान्छन्, उनी।

यसरी शारीरिक वजन व्यवस्थापनमा सहयोगीको भूमिका खेल्ने भएकाले खुर्सानीले मुटुरोगबाट जोगाउने ठान्छन्, चिकित्सक बेन। धेरै चरित्रका अर्बुद रोगहरूलाई शारीरिक वजनले हौस्याउने भएकाले खुर्सानीमार्फत तौल घटाउँदा क्यान्सरजन्य मृत्यु ओरालो लाग्नु अन्यथा होइन। अब खुर्सानीको बायोलोजिकल प्रभाव हेरौं। खुर्सानी पिरो हुनुमा त्यसमा पाइने रसायनिक पदार्थ क्याप्सेसनको भूमिका हुन्छ। भिँडेखुर्सानीमा क्याप्सेसन भन्ने तत्व नपाइने भएकाले पिरो नहुने हो। खुर्सानी चपाउँदा निस्कने केमिकल स्नायुप्रणालीका कोसमा टासिन्छन्। उक्त समागमले शरीरमा ‘एड्रिनालिन’ हर्मोन उत्पादन हुन्छ। 

यो हर्मोनले शरीरमा रहेको बोसो पगाल्नुका अतिरिक्त रक्तनलीको चिनीलाई पनि घटाउने भएकाले दोहरो फाइदा पुर्‍याउँछ। यसरी पिरोले सञ्चित बोसो र शारीरिक ग्लुकोज दुबै नियन्त्रण गर्न सहयोग गर्ने भए के चाहियो र? युनिभर्सिटी अफ इन्सुब्रिया, इटलीका अन्वेषणकर्ताहरूले पिरो र गुलियो भेडे खुर्सानी खाने दुई समूहलाई पृथक कित्तामा राखी अध्ययन गर्दा क्लिनिकल परीक्षणले पिरो खुर्सानी खाने मानिसको समष्टिगत मुटुको अवस्था लोभलाग्दो देखिएको तथ्यांक सन् २०१९ मा जर्नल अफ दि अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित छ। यसरी खुर्सानीमा पाइने पिरो तत्वले मुटुको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्ने पुष्टि गरेको पाइएको छ। 

गत महिना मात्र जर्नल मेटाबोलाइट्समा प्रकाशित एक अन्वेषणले पिरो खान्कीले पाचन प्रणालीका ब्याक्टेरियाको समीकरण, माइक्रोबायोमलाई सबलीकरण गरी बाह्य संक्रमणबाट जोगाउने भएकाले खुर्सानी खाने समूहलाई बाह्य ब्याक्टेरिया, भाइरसजस्ता सूक्ष्माणुले रोगी बनाउने सम्भाव्यता कम हुने देखियो। 

त्यस्तै एक पृथक अध्ययनले खुर्सानीको क्याप्सेसनले उग्र चरित्रका प्रतिरक्षा कोसलाई सुषुप्त बनाइ मुटुका रोग जस्ता दीर्घ समस्यालाई नियन्त्रणमा ल्याउने बतायो। खुर्सानीमा पाइने तत्व शरीरभित्र र बाहिर उत्तिकै प्रभावकारी हुने भएकाले बाह्य दुखाइ कम गर्न क्याप्सेसन मिसाइएका मलम बजारमा बेचेको देखिन्छ। खाँदा आन्तरिक दुखाइ कम गर्ने खुर्सानीले बाह्य मसाजमार्फत हाडजोर्नीको दर्द पनि कम गरेको पाइएको छ। सन् २०२३ मा प्रकाशित एक अध्ययनले खुर्सानीमा ‘एन्टिअक्सिडेन्ट’ प्रचुर मात्रामा हुने भएकाले पिरो खाँदा आनुवांशिक पदार्थको बनोटलाई लामो समयसम्म जोगाउने हुँदा चटपटे खान रुचाउने समूहमा अर्बुदरोगको सम्भाव्यता कम देखिन्छ। 

पिरो खुर्सानीले स्वास्थ्य सुधारमा प्रष्ट भूमिका निर्वाह गर्ने भए पनि हप्तामा कति पल्ट पिरो खाना खाने भन्ने थाहा थिएन। त्यसै सम्बन्धमा ब्रिटिस मेडिकल जर्नल बिएमजेमा सन् २०१५ मा प्रकाशित एक अध्ययनले हप्तामा एक पल्ट पिरो खाना खाने समूहभन्दा  ६/७ पटक तिक्खर खाने समूहमा प्रष्ट स्वास्थ लाभको असर देखायो। 

सोही अध्ययनले सुकेको  पिरोसँग  रम्ने  पक्षको दाजोमा खानासँग ताजा खुर्सानी टोक्ने समूहमा मुटुरोग, चिनीरोग र अर्बुद रोगको संभाव्यता कम देख्यो। खानासँग खुर्सानी खाँदा बहुआयामिक लाभ दिने भए तापनि सादा भोजनको आदतमा रहेका मानिसले आफ्नो खान्की ढाँचा एक्कासी परिवर्तन गर्दा क्षति पुग्न सक्छ। तसर्थ चरणबद्ध परिमार्जनमा ध्यान दिन आवश्यक देखिन्छ। पिरो नखाने मानिसले खुर्सानी खान थाल्दा पेटमा गडबडी हुनसक्ने भएकाले आफ्नो शरीरले धान्न सक्ने गरी क्रमिक तवरले परिवर्तन गर्दै जानु उपयुक्त हुन्छ। 

सबैको शारीरिक बायोलोजी पृथक हुने भएकाले अरूले के गरेभन्दा पनि आफूलाई के गर्दा हित गर्छ त्यसमा ध्यान दिनु उचित हुन्छ। पिरो खाने बानी नपरेको मानिसले खुर्सानी खाँदा नुन, गुलियो तथा अन्य स्वादसँग जोडेर खाँदा पीडा कम हुन्छ। पिरोको तेजलाई ‘फ्याट’ अर्थात् बोसोले सुस्त बनाउने भएकाले खुर्सानीलाई लामो समयसम्म तेलमा डुबाएर राखेपछि मात्र खाने गाउँघरको प्रचलन विधिसम्मत देखिन्छ। 

उल्लिखित तथ्यांक र बायोलोजिकल क्रियाकलापको संश्लेषण गर्दा परम्परादेखि नै भात खाँदा हरियो खुर्सानी टोकेर पिरोको आनन्द लिने अभ्यासलाई आधुनिक अनुसन्धानले समर्थन गरेको छ। पिरो खान्कीले मुटुजन्य समस्या र अर्बुद रोगको सम्भाव्यता घटाउने मात्र होइन बरु पाचनप्रणाली अनि प्रतिरक्षा संयन्त्र सवलीकरण गरेर हामीलाई अन्य संक्रमणबाट समेत जोगाउँछ। आजन्म पिरो नछुनेले खुर्सानी खान प्रारम्भ गर्दा ध्यान दिनुपर्ने हुन्छ। 

अनि क्रमिक खान्कीको ढाँचा परिवर्तन फाइदाकारक हुन्छ। आफूलाई आघात पुग्ने गरी पिरो खाएर स्वास्थ्यको जटिलता निम्त्याउनु हुँदैन। खुर्सानी आफैंमा असल भए पनि अस्वस्थकर तारेको भुटेको खान्कीलाई पिरो बनाउँदैमा भोजन स्वस्थकर हुँदैन भन्ने कुरा ध्यान दिनु जरुरी छ। स्वस्थकर भोजनलाई पिरोले थप सवलीकृत गर्छ, शारीरिक फाइदा दिन्छ ।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।

प्रकाशित: १० असार २०८२ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App