गत साता भारतको अहमदाबादस्थित सरदार वल्लभ भाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको गेटविक विमानस्थलको लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर केही क्षणमै नजिकैको बिजे मेडिकल कलेजको छात्रावासमा खस्यो र आगो लागेर विमानमा रहेका २४१ जनाको तत्कालै दर्दनाक मृत्यु भयो।
१२ जुन दिउँसो १ बजेर ३८ मिनेटमा उडेको सो विमानमा एक लाख साठी लिटरभन्दा बढी हवाई इन्धन थियो। विमानमा १२ जना चालक दलसहित २३० जना यात्रु सवार थिए। यस दुर्घटनामा एक यात्रु रमेश विश्वास आश्चर्यजनकरूपमा बाँच्न सफल भए। दुर्घटनामा हवाई यात्रु र जमिनमा रहेका गरी हालसम्म २७१ जनाको मृत्यभएको पुष्टि भइसकेको छ। विमान विमानस्थल नजिकै रहेको घना बस्तीमा खसेको थियो।
बोइङको यो ड्रिमलाइनर विमान सन् २००९ देखि यात्रु सेवामा आएको हो। बोइङ कम्पनीले यो मोडेलको एक हजारभन्दा बढी विमान अहिलेसम्म विश्वभरका एअरलाइनहरूलाई बिक्री गरेको छ। यस विमानले एक अर्बभन्दा बढी यात्रुहरूलाई सेवा दिइसकेको छ। हवाइ क्षेत्रमा यो विमानलाई भरपर्दो विमानकै रूपमा लिइन्थ्यो। अहमदाबादमा भएको यो दुर्घटना ड्रिमलाइनरको पहिलो दुर्घटना हो। यस दुर्घटनाले बोइङ कम्पनीलाई ठुलो धक्का लागेको छ।
बोइङ लामो समयसम्म विश्वको सबभन्दा ठुलो यात्रुवाहक विमान निर्माण गर्ने कम्पनी थियो तर अब एअरबसले बोइङको ठाउँ लिएको छ। पछिल्ला दिनमा भएका दुर्घटनाहरूले गर्दा विश्वमा बोइङ कम्पनीको छविमा निकै धक्का लागेको छ। तथ्यांकको दृष्टिले लामो दूरीको यात्राको लागि हवाइजहाज सबभन्दा सुरक्षित मानिन्छ।
एअर इन्डिया फ्लाइट नं. १७१ जस्तो दुर्घटना भएपछि भने यी सबै तथ्यांकले केही अर्थ राख्दैनन्। यस्ता दुर्घटनाको प्रभाव पीडितहरूमा मात्र सीमित रहँदैन, आर्थिक क्षेत्रमा पनि उत्तिकै गहिरो पर्दछ। यात्रुवाहक विमानका लागि उसको कार्यक्षमता र पर्यावरणप्रति अनुकूलता मात्रै पर्याप्त हुँदैन, त्यसको सुरक्षित सञ्चालन सबभन्दा महत्त्वपूर्ण कुरा हो।
अहिलेसम्म विश्वमा लामो दूरीको यात्राको लागि दुई विमान कम्पनीहरूमात्र यस्ता विमान बनाउन सक्षम छन्। युरोपियन कम्पनी एअरबस र अमेरिकी कम्पनी बोइङ। बोइङ कम्पनी सन् १९१६ मा स्थापना भएको हो भने एअरबस सन् १९८८ मा हामी कतै लामो दूरीको यात्रा गरिरहेका हुन्छौं भने यी दुईमध्ये कुनै एक कम्पनीको विमानमा सवार भएका हुन्छौं। लामो दूरीको व्यावसायिक यात्रुवाहक विमान बनाउने र बेच्ने क्षेत्रमा कैयौं दशकसम्म बोइङ नै अगाडि थियो। पछिल्लो केही वर्षयता भने बोइङले लगातार संघर्षको सामना गर्नुका साथै ठुलो घाटासमेत बेहोर्नु परिरहेको छ।
सन् २०२४ मा ११.८ अरब अमेरिकी डलरको परिचालन घाटा भयो भने यसै अवधिमा जम्मा कमाइ ६६.५ अर्ब डलर भएको थियो। यसैवर्ष बोइङले मात्र ३४८ विमान बेच्यो जबकि सन् २०२३ मा ५२८ विमान बिक्री गरेको थियो। बिक्रीमा आएको यो ह्रासका कैयौं कारण छन् जस्तै जनवरीमा भएको एक उडानमा विमानको ढोका खुल्नु, कम्पनीमा कार्यरत मेसिन अपरेटरहरूले हडताल गर्नु र सप्लाइचेनमा निरन्तर समस्या आउनु।
जबकि २०२४ मा एयरबसले ७६६ विमान उपलब्ध गराएको थियो। यो संख्यालाई विश्लेषण गर्दा के प्रतीत हुन्छ भने एअरबस बोइङभन्दा धेरै अगाडि बढेको छ।
सन् २०२४ मा एयर बसको कुल कमाइ ७५.४३ अर्ब डलर थियो। यी दुबै कम्पनीहरूले यात्रुवाहक विमानबाहेक अन्तरिक्ष प्रणाली र रक्षा उपकरणहरू पनि बनाउँछन्। त्यसैले यी दुबै कम्पनीहरूको सोझो तुलना गर्न गाह्रो छ। यात्रुवाहक विमानको उत्पादन र बिक्रीको तथ्यांकले मात्र यी कम्पनीहरूको वास्तविक स्थिति थाहा पाउन सकिदैन।
एयरबस र बोइङको प्रतिस्पर्धा सन् २००० मा एयरबस (युरोपियन एरोनोटिक डिफेन्स एन्ड स्पेस कम्पनी) को आधिकारिक स्थापना पश्चात झन् बढ्यो। यसको परिणाम बजार नियन्त्रणको लडाइँ यति गम्भीर भयो कि यसमा विश्वव्यापार संगठन अमेरिका र युरोपियन युनियनपनि सामेल हुनुपर्यो।
विश्वका सबैभन्दा ठुला विमान बजारमध्ये एक चीनले बोइङ र एअरबसको लागि चुनौती खडा गरेको छ। १५८ देखि १९२ जनासम्म यात्रु लिएर लगातार चार हजार ७५ किलोमिटर देखि पाँच हजार ५५५ किलोमिटरसम्म उडने सि ९१९ न्यारोबडी जहाज सेवामा ल्याइसकेको छ। त्यतिमात्र होइन विभिन्न चिनियाँ एअरलाइन्सहरूबाट यसको ३०० भन्दाबढी अर्डरसमेत प्राप्त गरेको छ।
यस्तै चीनको सरकारी कम्पनीको मेकले २०२७ मा उपलब्ध गराउने गरी २९० यात्रु लिएर लगातार १२ हजार किलोमिटर उड्ने क्षमता भएको सि ९२९ विमान विकास गरिरहेको छ। स्मरणीय के छ भने बेइजिङ–न्युयोर्कको दूरी ११ हजार किलोमिटर हो।
यस्तै ४०० सिट र १३ हजार किलोमिटरसम्म लगातार उड्ने क्षमता भएका विमान १० वर्षभित्र सञ्चालनमा आउने गरी ९३९ जम्बो विमानको निर्माणमा सिलागेको छ। यसबाट के स्पष्ट हुन्छ भने आउँदा दिनमा लामो दूरीको यात्राको लागि बोइङ र एअरबसको एकाधिकार खोसिन सक्छ।
अहमदाबादमा भएको जस्तै विमान दुर्घटना नेपालमा भएको भएको भए अन्तर्राष्ट्रिय नागरिक उयन निकायहरूले नेपालको हवाई सुरक्षामा प्रश्न उठाउन कुनै कसर बाँकी राख्दैनथे। अहिले पनि युरोपियन आकाश नेपाली विमानहरूका लागि प्रतिबन्धित छ। यो प्रतिबन्धको वास्तविक कारण नेपालले चिनियाँ विमान किनेर सञ्चालनमा ल्याउनु हो।
विश्वमा विकसित देशहरूलगायत अन्यमुलुकमा पनि विमान दुर्घटना भईरहेकै छन्। कुनैपनि पाइलटले जानाजान विमान दुर्घटना गराउँदैनन् किनभने त्यसमा उनीहरूको पनि ज्यान जान्छ र अहिलेसम्म दुर्घटना नहुने अर्थात् पूर्ण रूपले सुरक्षाको प्रत्याभूति गरिएका कुनै पनि विमान निर्माण कम्पनीले उपलब्ध गराउन सकेका छैनन्। तसर्थ इयुले नेपालमाथि लगाएको प्रतिबन्ध तुरुन्त फुकुवा हुनुपर्दछ।
प्रकाशित: ८ असार २०८२ ०९:३१ आइतबार

