इरानका सर्वाेच्च नेता आयातोल्ला आली खामेनीका कारण इरानले झन्डै चार दशकदेखि इजरायलसँग युद्धको बाटो अँगालेको छ। उनले मध्यपूर्व ‘क्षेत्रको क्यान्सर’ भन्दै इजरायललाई नष्ट गर्नुपर्ने घोषणा गरेका छन्। यस सन्दर्भमा त्यहाँ शासन परिवर्तन बिना, इरान र यस क्षेत्रमा दीर्घकालीन स्थायित्व र समृद्धि सम्भव छैन।
एउटा प्राचीन इरानी उखान अनुसार कुनै पागलले इनारमा ढुंगा फाल्छ भने त्यसलाई निकाल्न १० जना बुद्धिमान र एक महिला चाहिन्छ। खामेनी इरानका एकल सर्वाेच्च नेता हुन्– त्यो ढुंगा फाल्ने पनि उनै हुन्। अहिले धेरै इरानी र अन्तर्राष्ट्रिय समुदाय त्यो इनार सफा गर्ने प्रयासमा छन्।
खामेनीकै कारण इरानले इजरायलसँग चार दशकसम्म द्वन्द्व गरेर बितायो। इजरायललाई इरानले सधैं नष्ट गर्नुपर्ने ‘क्यान्सर’ भनिरह्यो। उता जनताको चाहनाविरुद्ध राष्ट्रिय स्वार्थको नाममा इरानले सशस्त्र टकरावलाई टार्ने प्रयास गर्दै आयो। विशेषगरी इरानले हिजबुल्लाह, हमास जस्ता आतंकवादी संगठनहरू र सिरियाको बसर अल असद शासनलाई आफ्नो समर्थनका लागि प्रोक्सीको रूपमा प्रयोग गर्यो।
धेरै इजरायलीहरू पूर्ण युद्धको जोखिम उठाउन तयार नभएको अवस्था र आणविक कार्यक्रमलाई वार्तामा शर्तको रूपमा प्रयोग गरेर इरानले पश्चिमा देशबाट लाभ उठाउन सम्भव भयो। अब भने त्यो पुरानो रणनीतिले काम गरिरहेको छैन। हाल इरानभित्र चरम अस्थिरता छ भने क्षेत्रीय रूपमा पनि ऊ एक्लिएको छ।
अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायलद्वारा हमास र हिजबुल्लाहको ध्वस्तीकरण, भयानक आर्थिक संकट, मुद्राको अवमूल्यन, ट्रक चालकहरूको हड्ताल, ग्यास र विद्युत् संकट लगायतका समस्यामा इरान फसेको छ। साथै इरानमा महिलाहरूले अनुहार छोप्नुपर्ने प्रथाको विरोधमा एउटा सशक्त लहर पनि चलेको छ।
यस्ता बेलामा समेत इरानी नेताहरू भने पुरानै शैलीमा घमण्ड गरिरहेका छन्। उनीहरूले इरानले आणविक हतियार बनाउन सक्छ भनेर दाबी गरिरहे तर आणविक कार्यक्रम सैन्य उद्देश्यको लागि होइन भनेर हास्यास्पद जिकिर पनि गरिरहेका छन्।
यसैगरी ट्रम्प प्रशासनसँगको नयाँ वार्ता प्रत्यक्ष हो कि अप्रत्यक्ष हो भन्ने विषयमा धेरै समय खेर फालियो। खामेनीले ‘महासैतान’ (अमेरिका) सँग प्रत्यक्ष वार्ता हुनुहुँदैन भनेर निर्देशन दिन पनि छाडेनन्।
इरानले आफ्नो दुर्बलता बुझ्न सकेन तर उता इजरायली प्रधानमन्त्री नेतन्याहु भने यो कुरा बुझ्न चुकेनन्। गाजामा आफूले निम्त्याएको मानवताविरोधी संकटप्रति बढेको इजरायली आक्रोशबीच उनले लामो समयदेखि तयारी गरेको हमला अभियान सुरु गरे।
इजरायली गुप्तचर निकायले इरानी सुरक्षा संयन्त्रमा गहिरो घुसपैठ गरिसकेको हुँदा केही दिनमै दुई तिहाइभन्दा बढी वरिष्ठ सैन्य तथा गुप्तचर अधिकारीहरू मारिए। त्यति मात्र होइन ट्रम्पको वार्ताको संकेतलाई समेत इरानले खासै वास्ता गरेन।
इरानी शासक र तिनका कट्टर समर्थकहरूले सधैं आफ्नो असफलताको दोष अरूलाई (विशेषगरी पश्चिम, इजरायल र साउदी अरेबियालाई) लगाउँदै आएका छन्। यद्यपि यी देशहरूले पनि कतिपय गल्ती नगरेका होइनन्। गाजामा इजरायलको आक्रमण र निर्दाेष प्यालेष्टाइनी नागरिकमाथिको हमला अक्षम्य छ।
इरानी जनताको जीवनरक्षा अत्यावश्यक छ। उनीहरूको लोकतान्त्रिक आकांक्षा नै परिवर्तनको एक मात्र उपाय हो। अमेरिका, इजरायल वा रसियाले इरानको भविष्य निर्धारण गर्नुहुँदैन तर यो विषयमा पश्चिमा देश र इजरायलले अल्प र दीर्घकालीन रणनीति अपनाउन भने जरूरी छ।
यस रणनीतिअन्तर्गत नागरिकमाथि भइरहेको हिंसा तुरुन्त रोक्नुपर्दछ। हमासले जस्तै इरानले पनि आफ्ना सैन्य र आणविक संयन्त्र सर्वसाधारणको बस्ती क्षेत्रमा राखेको छ। त्यसैले तेहरानका एक करोड ४० लाख नागरिकलाई स्थानान्तरण गर्ने आग्रह गरेर बम खसाल्न चाहनु कुनै दृष्टिले समाधान होइन, यो त झन् ठूलो संकट निम्त्याउनु हो।
साथै निरंकुश शासनसँग भएका कुनै पनि सम्झौता संकट समाधान भएको अवस्थामा उनीहरूले तोड्ने संभावना रहन्छ। त्यसैले इरानको आणविक समस्याको एक मात्र समाधान भनेको त्यहाँ लोकतान्त्रिक शासन स्थापना हुनु हो। यसो गर्न इरानभित्रका प्रजातान्त्रिक आवाजहरूलाई समर्थन गरेर अघि बढ्न सकिन्छ, यसका लागि प्रवासी इरानी समुदायको सहयोग त्यत्तिकै आवश्यक छ।
झन्डै १० वर्षअघि म र मेरा सहकर्मी सिगफ्रिड हेकरले लेखेका थियौं– इरानले, शाहको पालादेखि नै दक्षिण कोरियाको बाटो लिएको भए राम्रो हुनेथियो। दक्षिण कोरियामा उच्चस्तरको युरेनियम प्रशोधन गर्ने योजनाको साटो शान्तिपूर्ण आणविक प्रविधि अपनाइएको थियो। हामीले विचार गर्नुपर्ने पक्ष के हो भने प्रशोधन योजनाले सधैं शंकाको ढोका खोल्छ।
जटिल परिस्थितिमा लोकतान्त्रिक समाजले कसरी यस्ता कठिन विषय सुल्झाउँछ, त्यो यकिन गर्न सकिँदैन। पक्का कुरा चाहिँ के हो भने केवल लोकतान्त्रिक इरानले मात्र यो संकटको समाधान गर्न सक्छ। जनताद्वारा गरिने शासन अवलम्बन नगरी दीर्घकालीन स्थायित्व सम्भव छैन।
लोकतान्त्रिक समाजहरूले एरिस्टोटलले भनेझैं प्रायः मध्यमार्गको नीति अँगाल्छन्। जनसंख्याको औसत उमेर ३२ वर्ष मात्र रहेको इरानले अब नेतृत्व परिवर्तनबाट मात्र लाभ उठाउन सक्छ।
-मिलानी मिलानी स्टानफोर्ड विश्वविद्यालयको इरानी अध्ययन कार्यक्रमका निर्देशक तथा हुबर इन्स्टिच्युटका अनुसन्धाता हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: ८ असार २०८२ ०८:२२ आइतबार

