२० पुस २०८२ आइतबार
image/svg+xml
विचार

नेपालको सांस्कृतिक सम्पन्नता र आदिवासी जनजातिका सवाल

नेपाली संस्कृति भनेको समग्र नेपालका जात, जाति, जनजाति, आदिवासी, अल्पसंख्यक सबैका संस्कृतिको समष्टि हो। सबैका संस्कृतिको सम्पूर्णता नेपाली संस्कृति हो । एउटा मात्रै नेपाली संस्कृति भन्ने होइन । यो नेपाली संस्कृति, त्यो नेपाली संस्कृति होइन भन्ने कुरा होइन । हाम्रा सांस्कृतिक पहिचान, विविधता, गौरव, सम्पन्नता र वैभवलाई हामीले अगाडि बढाउनु पर्छ । यसका लागि आफ्ना ठाउँबाट कोसिस गरिएन भने अरूले कोसिस गर्दैन ।

नेपाली खाना भनेको के हो भन्दा सरदर नेपालीहरूले जुन खाना खान्छन्, त्यही खाना नेपाली खाना हो । नेपाली पहिरन भनेको हामी नेपालीहरूले जुन पहिरन लगाउँछौँ, त्यही पहिरन हो । गरिबीले नेपाली पहिरन लगाउन नपुग्नु, नसक्नु बेग्लै कुरा हो । र हामीले के बुझ्नु पर्छ अर्को भने हामीले केही केही कुरालाई एउटा साझा र औपचारिक रुपमा राष्ट्रिय स्तरमा निर्धारण गरेका हुन्छौँ, राष्ट्रिय पोसाक, औपचारिक पोसाक भन्ने तय गरेको हुन्छ । यसमा अस्पष्टता हुनु हुँदैन । यसमा अस्पष्टता के हुन जरुरी छैन भने, औपचारिक पोसाक भनेपछि, राष्ट्रिय पोसाकको पनि औपचारिक पोसाकका साथ उपस्थित हुने ठाउँहरू भनेर बुझिन्छ । त्यहाँ विभिन्न जातजातिका पहिरनले झिलिमिली बनाउने होइन । त्यो औपचारिक थलो हो ।

त्यस कारण त्यसमा औपचारिक पोसाक हुने गर्छ । जुन औपचारिक थलोभन्दा बढी हाम्रो सांस्कृतिक थलो हो, त्यहाँ हाम्रो विविधता झल्काउन हामीले ध्यान दिनुपर्छ । हाम्रो विविधता त्यहाँ झल्किनु पर्छ । हाम्रो सम्पन्नता त्यहाँ झल्किनु पर्छ । कुनै देशको राष्ट्रिय समग्र पहिचान केही हुँदैन भन्ने कुरा होइन । हाम्रा आ–आफ्ना जातीय पहिचान हुन्छन्, भाषिक पहिचान हुन्छन्, सांस्कृतिक पहिचान हुन्छन् र समग्र पहिचान पनि हुन्छ । हाम्रो समग्र पहिचान राष्ट्रिय झण्डा हो । पार्टीहरूका आफ्ना आफ्ना झण्डा छन् । आफ्ना आफ्ना संस्थाका झण्डा हुन सक्छन् । संस्था विशेषले झण्डा बनाएका छन्, ती पहिचान हुन् । ती झण्डा हुन् । तर हाम्रो राष्ट्रिय पहिचान फेरि सूर्य चन्द्र अंकित राष्ट्रिय झण्डा हो । त्यो राष्ट्रिय पहिचान हो । झण्डा जाति जातिका हुन्छन् । विभिन्न संस्था संस्थाका झण्डा हुन्छन्, विद्यार्थी विद्यार्थीका झण्डा हुन्छन्, विद्यार्थीको पनि एउटा मात्रै झण्डा हुन्छ र संगठन नै पिच्छेका झण्डा हुन्छन् । ती झण्डा बनाउन पाइन्छ, बोक्न पाइन्छ । तिनलाई आफ्नो पहिचानको रुपमा स्थापित गर्न पाइन्छ तर ती अराष्ट्रिय होइनन् ।

तर राष्ट्रिय झण्डा भन्दा फेरि चन्द्र सूर्य अंकित झण्डा नै बुझिन्छ । राष्ट्रिय होइन भन्यो भने फेरि मान्छेलाई चित्त दुख्छ । विद्यार्थीका झण्डा राष्ट्र विरोधी होइनन् तर राष्ट्रिय झण्डा भनेर तिनलाई भन्न मिल्दैन । ती राष्ट्रिय होइनन्, आफ्ना झण्डा हुन् । देशभित्रका हाम्रा भावनाका, हाम्रा गतिविधिका झण्डा हुन् । त्यस्तै हाम्रा आफ्ना आफ्ना थुप्रै कुराहरु हुन्छन् र राष्ट्रिय भन्ने पनि केही कुरा हुन्छ । राष्ट्रिय भाव, राष्ट्रिय एकता, हामी आफूm आफूmका एकता हुन्छन्, अनि फेरि राष्ट्रिय एकता हुन्छ । यसमा थुप्रै कामहरू गर्नुपर्ने छ । यी कामहरूका लागि र यी भावनाहरूलाई एकजुट बनाउनका लागि उत्थान आवश्यक छ । जस्तो यहाँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान भन्छौँ हामी, यो उत्थानको कुरा महत्त्वपूर्ण कुरा हो ।

उद्देश्य नै उत्थान हो । उत्थान भएपछि असन्तुष्टिहरू समाप्त हुँदै जान्छ र कम हुँदै जान्छ । आफ्नो आफ्नो उत्थान भएको पाएपछि भोको पेटले मान्छे कसरी सन्तुष्ट हुन्छ र ? हुँदैन । नाङगो आङले कसरी सन्तुष्ट हुन्छ ? आवास छैन कसरी सन्तुष्ट हुन्छ ? बच्चाबच्ची पढाउन पाएको छैन, कसरी सन्तुष्ट हुन्छ ? सन्तुष्टिका लागि उत्थान हुनुपर्छ । उत्थान भनेको अभावहीनताको स्थिति हो । उत्थान भनेको क्षमता वृद्धिको स्थिति हो । त्यस कारण उत्थानबाट क्षमता वृद्धि, अभावहीनताको अवस्था अन्त्यको सिर्जना, अवसरहरूको उपलब्धता, क्षमता वृद्धिका अवसरहरू र त्यो क्षमता वृद्धि भइसकेपछि कार्यान्वयन गर्ने ठाउँको उपलब्धता आदि प्रश्नहरू ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई हामी दलीय आधारमा होइन, यसलाई साझा संस्थाको रुपमा लिएर जान्छौँ । यो कुनै एउटा दल विशेषका लागि काम गर्ने पनि होइन । यो मुख्य रुपमा आदिवासी जनजातिहरूको उत्थानका लागिको संस्था हो भन्ने कुरो यसको नाम नै छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । देशको ३५ प्रतिशत जनसंख्या यसभित्र समेटिन्छ । अर्थात् ३५ प्रतिशत जनसंख्याभित्र भएका समस्या र तिनको उजागर हुन्छ । मोटामोटी साधारण साझा समस्या त हामीले बुझेका छौँ । साझा समस्या बाहेक विशिष्टीकृत समस्याहरू के छन् ? विशेष समस्या के छन् ? तिनीहरूको पहिचान र ती समस्याहरुको समाधान यस प्रतिष्ठानको उद्देश्य हो । त्यस कारण यसले साझा संस्थाको रुपमा काम गर्छ, दल विशेषको रुपमा होइन ।

यद्यपि हरेक व्यक्ति दलको कार्यकर्ता वा मतदाता छ भन्ने कुरा हामीलाई थाहा छ । हरेक व्यक्ति कुनै न कुनै दलको या कार्यकर्ता हुन्छ या मतदाता हुन्छ । कम्तीमा मतदाता हुन्छ, कसैले न कसैलाई मत दिन्छ नै । मानिस भनेको एउटा राजनीतिक प्राणी भएको हुनाले उसमा राजनीतिक सोच राजनीतिक चिन्तन हुन्छ । त्योसँग हामी पूर्वाग्रही हुनुपर्ने कुनै अर्थ र आवश्यकता छैन । हामी राजनीतिक मतभेदलाई सहन्छौँ तर यो राजनीतिक मतभेद ल्याएर पोख्ने र छिरल्ने ठाउँ होइन । राजनीतिक मतभेद आफ्ना आफ्ना ठाउँमा होलान्, राजनीतिक मतभेद पार्टीहरूले गर्छन् । यस ठाउँमा हामी राजनीतिक मतभेद होइन, एउटा साझा भावनाका साथ अगाडि बढ्छौँ ।

अर्को कुरा, हामी ३७ प्रतिशत जनसंख्या, त्यस जनसंख्याको प्रतिनिधित्व गरिरहँदा के पनि बुझ्छौँ भने फेरि ६३ प्रतिशत जनसंख्या हामी भन्दा बाहिर छ । उनीहरूसँग पनि हामी सँगसँगै जाने हो । मिलेर जाने हो । एकताबद्ध भएर जाने हो । र हाम्रो ३७ प्रतिशतका विशेष समस्या बाहेक साझा समस्या पनि त छन् नि फेरी शतप्रतिशतका साझा समस्या छन् नि, ती शतप्रतिशतका साझा समस्यालाई कसरी सम्बोधन गर्ने एउटा कुरा, हाम्रो समस्या समाधान गर्दा गर्दै अरु ६३ प्रतिशतका पनि समस्या समाधान हुन्छन् कतिपय, त्यसको अन्तर सम्बन्ध हुन्छ ।

यसैमार्फत पनि अरूका समस्या पनि समाधान हुन्छन् । त्यसमा कसरी योगदान गर्ने र त्यसरी नहुने समस्याहरू, पृथक समस्याहरूप्रति पनि हाम्रो ध्यान जानेछ र हामी कसरी ती अरु पृथक समस्याहरूलाई पनि सम्बोधन गर्ने तर्फ ध्यान दिन्छौँ र अरुलाई पनि दिन सक्छौँ । ती कुराहरु तर्फ पनि हामी ध्यान दिन्छौँ ।

अर्कोतिर हामी जाति जनजातिका कुरा गरिराखेका छौँ । तर यसको अर्थ जाति जनजातिका कुरा गरिरहँदा हामीले जातीय साम्प्रदायिकता, साम्प्रदायिक विद्वेष वा जातीय वैमनस्यता, दूरी, चिसोपन यस्तो खोजेको होइन । यसबाट हामी जातिहरूका बिचमा समझदारी, एकता वृद्धि गर्दै लादै र सामाजिक न्याय र समानताको बाटोबाट सबैको उत्थानका अधिकार र अवसरहरूको स्थापना र कार्यान्वयनमार्फत सामाजिक सद्भाव कायम गर्ने र सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता बलियो बनाउने, राष्ट्रिय एकता कायम गर्ने र राष्ट्र निर्माणमा सबै आफ्नो आफ्नो ढंगले जुट्नु पर्छ । आ–आफ्नो ठाउँमा आआफ्नो पेसा, आआफ्नो व्यवसायबाट जुट्नु पर्छ । 

यसका निम्ति मैले थाहा पाएको छु, अहिले भर्खरै पनि भन्नुभयो स्वागत मन्तव्यको क्रममा कि हाम्रो आफ्नै कार्यालय भवन नभएको हुनाले हामीले विभिन्न समयमा डेराका भाडाका ठाउँहरू खोज्दै हिँड्नु परिरहेको छ । त्यस स्थितिको अन्त्य गरिनुपर्छ । यत्रो प्रतिष्ठानको आफ्नै भवन आवश्यक छ र यस्तो भवनको निर्माणमा सरकारको पनि ध्यान जानुपर्छ, प्रतिष्ठानको पनि ध्यान जानुपर्छ । प्रतिष्ठानको अध्यक्षको हैसियतले मेरो ध्यान गएको छ र प्रतिष्ठानको अध्यक्ष भनेको प्रधानमन्त्री हुने गर्छ ।

प्रधानमन्त्रीको हैसियतमा पनि यसमा मेरो ध्यान गएको छ र यसलाई मन्त्रालयगत ढंगले अगाडि बढाउनका लागि मन्त्रीजी उपस्थित नै हुनुहुन्छ सहध्यक्षको रुपमा । त्यसो भएर यसलाई अगाडि बढाउने कुरा मन्त्रीजीले पनि ध्यान दिनु हुनेछ । प्रतिष्ठानले पनि ध्यान दिनेछ। खास गरेर हाम्रो कार्यकारी साथीहरूले ध्यान दिनु हुनेछ ।

एउटा मलाई खुसी र ठूलो गर्व के लाग्छ भने, यो सांस्कृतिक एक ढंगले डोमिनेसन, थिचोमिचो, अतिक्रमण भइराखेको बेला नेपालका जाति जनजातिहरूले आफ्नो आफ्नो संस्कृतिमा आजको दुनियाँमा सांस्कृतिक गौरव गरेर सांस्कृतिक गौरवमार्फत आफ्नो पहिचान खोजिरहेको र आफ्नो पहिरनको प्रेम, आफ्नो भाषाको प्रेम आदि कुराहरु जुन छ, त्यो अत्यन्तै सराहनीय कुरा छ । वास्तवमा नेपालको पहिचान, नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान, यो कुराहरूमा अग्रणी देख्छु म आदिवासी जनजातिहरूलाई । आदिवासी जनजातिहरूले आफ्नो पहिरन, आफ्नो पहिचान जस्ता कुराहरूमा गर्व गरेको देखिन्छ र त्यो गर्व गर्नुपर्दछ । यसको म प्रशंसा गर्दछु ।

हाम्रो संस्कृति मर्न दिनु हुँदैन । संस्कृति भनेको अमूर्त पनि हुन्छ र मुर्तमुर्त पनि हुन्छ । अमूर्त मुर्त दुई वटै खालका हुन्छ । यसमा हाम्रा गीत, हाम्रा भाका, हाम्रा बाजा अत्यन्त महत्त्वपूर्ण छन् । हाम्रा नृत्यहरू अत्यन्त महत्त्वपूर्ण छन् । इतिहासमा यिनको प्रारम्भ कसरी भयो होला, विकास कसरी भयो होला, यी बाजाहरूको उत्थान र आविष्कार कसरी भयो होला, यो असाधारण कुरा छ ।  सङ्गीत कसरी विकास भयो होला, आफ्ना आफ्ना ठाउँमा आफ्ना आफ्ना खालका सङ्गीत, आफ्ना आफ्ना खालका वाद्यवादन विकास गरेको छ । अलिअलि केही केही कुराहरूमा सिको गरेको देखिन्छ । नत्र भने विकास गरेको देखिन्छ । यो विकास गर्नु साह्रै महत्वको कुरा हो ।

आफू आफूले विकास गरेको देखिन्छ । मुर्चुङ्गा बिनायो अन्त कहीँ कतैबाट सिकेको देखिँदैन । आफैँले विकास गर्दै जाँदा, घाँस दाउरा गर्दै जाँदा विकास भएको होला । यस्तै थुप्रै मौलिक खालका बाजाहरू हाम्रा आफ्नै छन् । केही सिकिएका बाजाहरू होलान् । डम्फु सिकिएको बाजा देखिँदैन । आफ्नै देखिन्छ । यस्ता थुप्रै बाजाहरू आफ्नै खालका छन् । खास गरी यी आदि बाजाहरू जसरी हामीले जीवित राखेका छौँ, यसलाई जीवित राख्नुपर्छ ।

सांस्कृतिक भेषभुषालाई हामीले एकातिर जीवित पनि राख्नुपर्छ, अर्को मोर्डनाइज पनि गर्नुपर्छ । किनभने पहिले गरिबीको अवस्थामा, पछौटेपनको अवस्थामा अहिले अब केही केही जोगी बाबाजीहरुले सिलाएर नलाउने बेलाको जमानाको निरन्तरता दिँदै, त्यस बेलाका ऋषि महर्षिका पहिरनको निरन्तरता दिँदै अहिले पनि त्यही नसिलाएकै कपडा लगाउने गरेका छन् । अब उहाँँहरुको विश्वास हो, उहाँहरुको आस्था हो । म त्यसमा केही भन्न चाहन्नँ ।

तर मेरो विचारमा त्यस बेला लुगा सिलाउने विधि प्रविधि प्रयोग नभइसक्दा  खास गरी यो जनावरका छाला, रुखका केही केही त्यान्द्रा लहरा बाँधेर हिँड्ने त्यस्ता कुराहरूबाट सुरु हुँदै गएर मृग चर्म आदिबाट कपडामा पुग्दा खेरि पनि भएको सिलाई भन्दा अगाडिको जमानाको कुरा हो । त्यसलाई निरन्तरता दिइराखेको देखिन्छ । हामीले त्यस्तै गरेर पुराना कुराहरूलाई आजको सभ्य समाजको सभ्य पहिरन नै यही हो भन्ठान्यौ भने हुँदैन ।

त्यसलाई हामीले मोडिफाई गर्नुपर्ने हुन्छ र कुन ठाउँमा ती कुराहरु प्रयोग गर्ने, कुन ठाउँमा नगर्ने भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ भन्ने लाग्छ । छलफलका थुप्रो विषयहरू हुन सक्छन् र छन् । हामीले विभिन्न रायहरू सुन्न र त्यसमा मन्थन गर्न र ती रायहरुमार्फत् विकास गर्न, नीतिहरू निर्माण गर्न र हामी अगाडि बढ्न आवश्यक छ । भूगोल अनुसारका पहिरन विकास भएका हुन्छन् । तापमान अनुसारका पहिरन विकास भएका हुन्छन् । ती कुराहरूलाई हामीले ध्यान दिन जरुरी छ । जे होस् हामी केही गरिराखेका छौँ, केही गरेका छौँ तर अझै धेरै गर्न बाँकी छ । 

नेपालमा हामीले ठूलो परिवर्तन ल्याएका छौँ । राजनीतिक परिवर्तन मात्रै होइन, आर्थिक परिवर्तन पनि ल्याएका छौँ । सामाजिक, सांस्कृतिक परिवर्तन, उत्थान र जागरण ल्याएका छौँ । असाधारण जागरण आएको छ । यो बहुदलीय प्रणालीको स्थापना भएपछि ०४६ सालको ऐठनबाट मुक्त भएपछि, ०४६ सालसम्म एउटा ऐठनको समय थियो । त्यसबाट मुक्त भएपछि हरेक क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छौँ । त्यस परिवर्तनमा आफ्ना नआफ्नो ढंगले सबैको भूमिका महत्त्वपूर्ण छ । लोकतन्त्रको सुरुमा लोकतन्त्र कस्तो हो, के हो, कसरी लागु गर्ने भन्ने सन्दर्भमा मतभेद देखिनु, विविधता देखिनु प्रयोगमा कमीकमजोरी देखिनु धेरै ठूलो अस्वाभाविक कुरा पनि होइन । त्यस्ता कुराहरूलाई हामीले सच्याएर अगाडि जानेछौँ ।

हामीले विकास गरेका छौँ । आर्थिक उन्नति पनि गरेका छौँ । गाउँ घरतिर पनि विकास भएको छ । व्यवस्थामा परिवर्तन आयो अवस्थामा परिवर्तन आएन भन्ने एउटा फोस्रो लय मिलाउने कुरा हो त्यो । व्यवस्था र अवस्था भन्ने लय मिलाएर व्यवस्थामा परिवर्तन आयो अवस्थामा आएन भनेर लय त मिल्यो तर यथार्थ मिलेन । यथार्थलाई ढाक्नका लागि त्यो लयले भ्याउँदैन र काम गर्न सक्दैन । यत्रो परिवर्तन भएको छ, यत्रो विकास भएको छ । त्यस कारण यस विकासलाई, यस परिवर्तनलाई र उत्थानलाई हामीले निरन्तरता दिनु र अगाडि बढाउनु पर्ने छ। 

(प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जेठ २०८२ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को २५ औं बैठकमा व्यक्त गर्नुभएको विचारका आधारमा प्रधानमन्त्रीको स्वकीय सचिवालयबाट तयार गरिएको ।)

प्रकाशित: ५ असार २०८२ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App