५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
विचार

आवास सहकारीको अर्थ

आवास मानिसलाई जिउन आवश्यक आधारभूत पक्षमध्ये एक हो। यसैले आवासलाई मानव अधिकारका रूपमा स्वीकारिएको छ जसले सम्मानजनक र स्वस्थ जीवनका लािग आवास आवश्यक छ र सुरक्षित, किफायती र सांस्कृतिकरूपमा उपयुक्त आवासमा सबैको पहुच हुनुपर्छ भन्ने पक्षमा वकालत गर्छ। संविधानले पनि आवासलाई मौलिक हकका रूपमा स्थापित गरेको छ जसले ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ’ र ‘कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन’ भनेर स्पष्ट गरेको छ।

आवास सहकारी: मानव जीवनमा आवासको महत्वलाई विचार गरेर आवास नीतिलाई सार्वजनिक नीतिकोे एउटा महत्वपूर्ण अंगका रूपमा अपनाइन्छ जसले हरेक व्यक्तिलाई सुरक्षित, पर्याप्त र किफायती आवासमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राख्छ। आवास सहकारीमार्फत समुदायद्वारा सञ्चालित किफायती, सुरक्षित, भरपर्दो तथा समावेशी आवास प्रदान गर्न सकिने र त्यसबाट सामाजिक एकता, पारस्परिक सहयोग र साझा जिम्मेवारी प्रोत्साहित हुने भएकाले आवास नीति तर्जुमा गर्दा आवास सहकारीलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ।

आवाससम्बन्धी व्यवस्था: परम्परादेखि एकल व्यक्ति वा घरपरिवारको पूर्ण स्वामित्व र व्यवस्थापन भएको एकल आवास प्रणालीको व्यवस्था लागु हुँदै आएको छ। एकल आवासमा घरधनी र निजको परिवारको घर जग्गामा पूर्ण स्वामित्व र अधिकार हुन्छ, घर धनी एकल आवाससम्बन्धी कुनै पनि निर्णय लिन स्वतन्त्र हुन्छ र सम्पत्तिको मर्मतसंभार, परिमार्जन र त्यससम्बन्धी बिमा तथा करका लागि पूर्णरूपमा जिम्मेवार पनि घर धनी नै हुन्छ। यस किसिमको एकल आवास व्यवस्थाअन्तर्गत पूरै घर वा घरका केही कोठाहरू भाडामा लिन सकिन्छ। भाडामा बस्नेलाई किरायादार भनिन्छ। घर धनी र किरायादारहरूबीच भाडा सम्झौता गरिन्छ, किरायादार भाडा लिएको घरमा वसोवास गर्छन्, सम्झौतामा तोकिएअनुसार भाडा तिर्छन् र अन्य सर्तहरू पालना गर्छन्।

समयको परिवर्तनसँगै कन्डोमिनियम/ अपार्टमेन्ट जस्ता साझा वा सामूहिक आवासको विकास भएको छ। यसअन्तर्गत सामूहिक आवासका विभिन्न एकाइ विभिन्न व्यक्तिको स्वामित्वमा हुन्छन् जसले आफ्नो स्वामित्वमा रहेको एकाइको मर्मत संभार गर्छन् र त्यससम्बन्धी बिमा, कर र अन्य शुल्क आ–आफैँ तिर्छन्। अर्कोतर्फ हल–वे, लिफ्ट, व्यायाम स्थल, स्विमिङ पुल, बगैँचा जस्ता सम्पत्तिमा साझा स्वामित्व कायम हुन्छ जसको व्यवस्थापन सामान्यतया घरधनीसँग वा समाजले गर्छ।

सामूहिक वा साझा आवासको अर्को रूप आवास सहकारी हो। यसले आफ्ना सदस्यका आवाससम्बन्धी साझा आवश्यकता पूरा गर्ने उद्देश्य राख्छ। आवास सहकारीमा सदस्यहरू आफ्नो व्यक्तिगत आवासको पूर्ण स्वामित्व लिनुको सट्टा सहकारीको सेयर खरिद गर्छन् जसले तिनीहरूलाई आवास ओगट्न र आवास सहकारीसँग सम्वन्धित निर्णय प्रक्रियामा सहभागी हुने अधिकार प्रदान गर्छ।

आवास सहकारीमा सदस्यहरूको सामूहिक स्वामित्व हुन्छ जसलाई सदस्यहरूले संयुक्त रूपमा व्यवस्थापन गरेर ‘एक सदस्य एक मत’ का आधारमा लोकतान्त्रिक किसिमले सञ्चालन गर्छन्। प्रत्येक सदस्यको निर्णय प्रक्रियामा समान मत हुन्छ। सदस्यहरूले आवास सहकारीको व्यवस्थापन, बजेट तथा अन्य महत्वपूर्ण विषयमा सामूहिकरूपमा निर्णय लिन्छन्।

आवास सहकारीका फाइदा: आवास सहकारीले न्यून आय वर्गलाई संयुक्तरूपमा भए पनि आवासको मालिक बन्ने अवसर प्रदान गर्छ। यो मुनाफामूलक नभएकाले यसमा न्यून आय भएका व्यक्तिहरूले कम लागतमा सस्तो र सुलभ आवास सुविधा पाउँछन्। आवास सहकारीका सदस्यहरूले सहकारीका नियम पालना गरेरसम्म आवास ओगट्न पाउने हुँदा निजी घरमा भाडामा वस्नेकोभन्दा आवास सहकारीमा बस्नेको बसाइ लामो, स्थिर र सुरक्षित हुन्छ, निजी भाडाका घरमा जस्तो जथाभावी किसिमले भाडा बढ्ला कि वा एक्कासि घर छोड्नुपर्ला कि भनेर तर्सिरहनु पर्दैन र घरबेटीबाट हुने दुव्र्यवहारको सामना गर्न र शोषित हुनुपर्दैन। आवास सहकारीका सदस्यहरू यसको सञ्चालनमा संलग्न हुने हुँदा तिनीहरूमा व्यवस्थापकीय सिप अभिवृद्धि हुन्छ।

एकल आवास तथा कन्डोमिनियम/अपार्टमेन्टमाभन्दा सहकारी आवास करमा पनि केही राहत हुन्छ। यसैगरी सहकारी आवासमा मर्मतसम्भारसम्बन्धी राम्रो मापदण्ड अपनाइएको हुन्छ र सुरक्षाको राम्रो प्रबन्ध गरिएको हुन्छ। आवास सहकारी कन्डोमिनियम/अपार्टमेन्ट जस्तो मुनाफा केन्द्रित नभएकाले यसमा मुनाफाभन्दा पनि सदस्य र समुदायकेन्द्रित निर्णयहरू हुन्छन्।

आवास सहकारीले आफ्ना सदस्यहरूमा समुदाय, साझा जिम्मेवारी र सशक्तीकरणको भावना अभिवृद्धि गर्छ। विभिन्न देशमा गरिएका अध्ययनले आवास सहकारीमा बसोबास गर्नेहरू अन्य स्वघर वा भाडामा बस्नेहरूको तुलनामा बढी सन्तुष्टि, सुरक्षा तथा सामाजिक सम्पर्क भएको निष्कर्ष निकालेका छन्।

यसैगरी आवास सहकारीले छिमेक तथा सामुदायिक विकासमा सहयोग गर्छ। आवास सहकारीले सघन व्यवस्थित सहरी योजनालाई पनि प्रबद्र्धन गर्छ। यसैगरी आवास सहकारीले सामूहिक लगानीमार्फत पर्यावरणमैत्री प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्छ। खासगरी बिस्थापनको चाप भएका सहरी क्षेत्रहरूमा आवास सहकारी किफायती आवासको राम्रो विकल्पका रूपमा देखापरेको छ।  

प्रकाशित: ४ असार २०८२ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %