चीनको प्रगति यूरोप–अमेरिका त्रस्त
नयाँ जनवादी क्रान्तिमार्फत अर्ध–सामन्ती दलनबाट उन्मुक्ति पाउँदा चीनको प्रतिव्यक्ति आय नब्बे डलर थियो। त्यसबेला नेपाललगायत सबै ग्लोबल साउथको प्रति व्यक्ति आय यस्तै थियो। तर सन् २०२५ मा आइपुग्दा चीनको प्रति व्यक्ति आय १३ हजार डलर पुगेको छ। १९ खर्ब डलरसहित सामान्य जिडिपीका आधारमा यो संसारको दोस्रो ठूलो अर्थतन्त्र हो।
पिपिपीबाट हेर्दा अमेरिकालाई उछिन्दै प्रथम (४० खर्ब डलर) स्थान हो। चीन संसारको सबभन्दा ठूलो निर्माता भएको छ। ज्ञान र विकास (पुँजी– आर्थिक उत्पादन) का दृष्टिले चीन अमेरिका र युरोपको समकक्षी भैसकेको छ। १४० करोड जनसंख्या रहेको चीनले विगत पचास वर्षयता असी करोड जनसंख्यालाई गरिबीको रेखाबाट बाहिर निकाल्यो र अकल्पनीय आर्थिक विकास गर्यो। इतिहासमै यति तीव्र विकास युरोपले पनि गर्न सकेको थिएन तर चीन सफल भयो।
चीन कसरी अघि गयो भन्ने प्रश्न पश्चिमाहरूले गरिरहेका छन्। यस्तै विकास भैरहने हो भने यही मध्यशदीमा यो देश अमेरिकी प्रभुत्व तोडेर विश्व महशक्ति बन्छ भनिएको छ। यसैले उनीहरू अत्तालिँदै चीन विरोधी षडयन्त्र घनिभूत बनाउँदैछन्। डोनाल्ड ट्रम्पको व्यापार युद्ध चीनलाई कमजोर पार्न डिजाइन भएको हो। तर चिनियाँहरू यसबाट डराएका छैनन्। बेलायत र अमेरिकाले झैँ चीनले कुनै उपनिवेशवाद र साम्राज्यवादमार्फत स्रोत शोषण गरेर धनी भएको होइन। खासगरी सन् १९८० पछिको खुला चीन नीति र वैश्विक भातृत्व मिश्रित समाजवादी नीति एवं त्यहाँका जनताको परिश्रमले यो अवस्थामा पुगेको हो।
यसैलाई चिनियाँ अर्थात् पूर्वीय विचारको समाजवाद भनिन्छ। एशिया, लेटिना र अफ्रिका चीनको समर्थनमा छन्। यसैले चीनको भू–राजनीतिक सामथ्र्य बलियो बन्दै गएको छ। चीनको बिआरआई, सांघाइ कोपरेसन, एसियाली पूर्वाधार बैंक, अन्तरिक्ष एकाइ र एआई विकासबाट ग्लोबल साउथले पााएका सहयोग उत्साहप्रद् छन्। उदाहरण हेर्दा अफ्रिकामा भएको चिनियाँ सहयोग निकै प्रभावी देखिन्छ जहाँ सडक, जलविद्युत्, कृषि आदिमा भएको निस्वार्थ सहयोगले अफ्रिकी विकासलाई उन्नत बनाएको छ।
जब च्याट जिपिटीलाई टक्कर दिनेगरी डिपसिक आयो तब चीन आर्थिक–सैनिक मात्रै नभई एआई महाशक्तिसमेत बन्ने दिशातिर गइरहेको चाल पश्चिमाले पाए। यो हो अमेरिका–युरोपलाई चीनको चुनौती, के यिनले चीनको वैश्विक प्रभाव रोक्न सक्लान्? सक्दैनन् किनकि यो विवेकशील र मानवतामुखी विकास हो न कि नाफामुखी। यो त ग्लोबल साउथका पाँच सय करोडका लगि राजनीतिक अभिप्रेरणासहितको विकास हो, अनि यो इतिहासमा आममानिसको न्यायका लागि बदलिइरहेको चिनियाँ प्रभाव पनि हो। यसैले संसारका दुईतिहाइभन्दा बढी मानिस चीनलाई समर्थन गर्छन् अचेल। थप आँकलन गर्न सकिन्छ पूर्वीय वसुधैव कुटुम्बकम् सांस्कृतिक मान्यता बोकेको चिनियाँ समाजवाद वैश्विक नियात्रामा छ। कार्ल माक्र्सले देखेको ‘मेटरलिस्टिक युटोपिया’को सपना अर्थात् समाजवाद अब पूर्वीय सांस्कृतिक मूल्यसहित पुनरोदय गर्छ भन्ने आशा चीनले जगाइदिएको छ।
कमजोर नाटो : बहुध्रुवीय भू–राजनीति उदय
तत्कालीन सोभियत संघको रणकौशलताले होलोकास्ट नाजीवादको पराजय संभव भएको थियो। दश लाख बढी सोभियतहरूको बलिदानले दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो। रुसको यस्तो प्रभावबाट पश्चिमोत्तर पुँजीवादी देशहरूलाई सुरक्षित पार्न नर्थ एटलान्टिक सन्धिमार्फत नाटो (१९४९) जन्मेको हो। सुरुमा अमेरिका, ब्रिटेन, फ्रान्सहरू भए पनि हाल पूर्वी युरोप र टर्की गरी ३२ देश नाटोमा छन्। यसले पश्चिमा विचार (उदारवाद/पुँजीवाद) फैलाउदै ब्लक राजनीति गर्न प्रोत्साहन दिन्छ। खासमा नाटोलाई सोभियत र कम्युनिस्ट विचारको प्रतिरोधी फौजी गुट भन्ने गरिन्छ। सन् १९९० पछि वार्सा सन्धि विघटन गर्दा नाटो पनि विघटन हुनुपथ्र्यो, भएन किनकि पश्चिमाहरूलाई संसारमा फेरि समाजवादको लहरले पुनर्जन्म लिन्छ भन्ने डर थियो।
यो मानव जातिले शोषणमा आधारित पुँजीवादी समाजलाई अवश्य नै प्रतिस्थापन गर्छ भन्ने यथार्थता थियो। यसैले यिनीहरूले नाटोको झनै प्रवद्र्धन गरे, सोभियत रुसविरुद्ध छिमेकी उक्साए, रुस कमजोर बनाउन अनेकौँ चाल चले। अहिले रुसको सैन्य क्षमता जाँच्न युक्रेनलाई भिडाए तर रुसको शक्ति त कमजोर भएको देखिएन। रुसी जनतालाई ढिलो गरी थाहा भयो किन गोर्बाचोभको उदय भयो र समाजवादी सत्ता पश्चिमा षडयन्त्रले ढालियो भनेर। तसर्थ उनीहरू झनै सशक्त बने। चीन, क्युबा, उत्तर कोरियाले यो कुरा बुझे। सन्दर्भवश, यतिबेला चिनियाँ आणविक सैन्य क्षमता निकै प्रबल भएको छ र उत्तर कोरिया पनि शक्तिशाली छ। बरु नाटो कमजोर देखिएको छ– रुस–युक्रेन युद्धमा।
युरोपको आर्थिक वृद्धि यो दशकमा ज्यादै कमजोर भएको छ। अमेरिकाको पनि कमजोर छ। समग्र जी ७ को वार्षिक वृद्धि २ प्रतिशतको औसतमा रहेकाले नाटोका लागि वर्षेनि पाँच बिलियन डलर सैन्य खर्च जोडजाम गर्न गाह्रो परेको छ। घरेलु सैन्क्तय खर्च थाम्न हम्मे परिरहेका बेलायत, जर्मनी र फ्रान्सले नाटोको खर्च कम गरेकैले अमेरिका रिसाउँदैछ। अमेरिका एक्लैले नाटोको खर्च बेहोर्न र संसारभरका हजार सैन्य आधारका लागि चाहिने वार्षिक १००० खर्ब डलर निकाल्न सकस पर्दैछ। यसको तुलनामा चीनले आफ्नो सैन्य खर्च बढाउँदै छ भने ऊ एक्लै रक्षा खर्चमा समग्र युरोपभन्दा अघि छ। चीनले ३०० बिलियन डलर वाषिक सैन्य खर्च गरेको देख्दा पश्चिमाहरू थप आत्तिएका छन्।
अझ रुस, चीन र उत्तर कोरियाको सैन्य आधुनिकीकरण नाटोका लागि गलपासो बन्दैछ। चिनियाँ जे– १० सी, जे–३६ जस्ता हाइपरसोनिक रकेटले नाटोको एफ–३५ बीभन्दा माथिल्लो काउन्टर दिइरहेको छ। यसर्थ चिनियाँ उन्नत सैन्य क्षमताले गर्दा अमेरिकी एकल भूराजनीति अब बहुधु्रवीय पंक्तितिर मोडिएको छ।
एसियाली सुरक्षा संवाद– २०२५
लन्डनस्थित इन्स्टिच्युट फर स्ट्रटेजिक स्टडी (आइआइएसएस) भन्ने संस्थाले भर्खरै सिंगापुरमा२२औंँ एसियन सेकुरिटी समिट आयोजना गर्यो। यसमा नाटो, क्वाड र इन्डोपेसिफिक जस्ता सुरक्षा रणनीतिबारे समीक्षा भएको थियो। जसमा फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोन र अमेरिकी रक्षा सेक्रेटरी पिट हेगसेथले दिएको अभिभाषण एकअर्कासँग अन्तरविरोधी देखिन्थ्यो। यसमा सुरक्षा विश्लेषकहरू आश्चर्य मानेका थिए। यस संवादको अमेरिकी भनाइ हेर्दा युरोपले विगत सत्तरी वर्षदेखि अमेरिकी सुरक्षा कबच सित्तैमा उपयोग गरेको भन्ने थियो।
युरोपको भनाइ हेर्दा अमेरिकाले युक्रेन युद्ध र गाजा युद्धमा डबल स्टान्डर्ड राखेको भनिएको थियो। अमेरिका युक्रेनसँग दुर्लभ खनिज लिन अनि तेलबाट इरानसँग सौदाबाजी गर्दैछ भनियो। खासमा युक्रेनमा नाटोले सफलता नपाउनुको कारण थियो– यसमा हुने दीर्घकालीन युद्ध लागतदेखि दुवै पक्ष तर्कनु। यो यस्तो युद्ध थियो जसमा रुससँग लड्न अधिक धनराशी चाहिन्थ्यो। यहाँ युरोपले अमेरिकीबाट धोका सहेको छ, मेक्रोनको भनाइ यस्तै थियो।
यस संवादलाई थप विश्लेषण गर्दा के देखिन्छ भने यतिबेला अमेरिकाले आफू सैन्य आधुनिकीकरणमा चीनभन्दा पछि परेको महसुस गरेको छ। यसैले ऊ छैटौ जेनेरेसनको सैन्य आधुनिकीकरण एवं १० खर्ब डलरको गोल्डेन डोम प्रोजेक्टतिर जाँदैछ। यी अभिभाषण (स्पिच नोट) अध्ययन गरी हेर्दा नाटो समूहभित्रको ठूलो अन्तरविरोध प्रकट हुन्छ भने चीन, रुस, कोरिया, इरान र भारत तथा जी २० मुलुकहरू भन्दा नाटो कमजोर बन्दै गएको तथ्य स्वीकारेको पाइन्छ।
ब्रिक्स बलियो बन्दै : झनै कमजोर पुँजीवाद
सन् १९५० देखि लगातार वर्चश्वशाली देखिएको अमेरिका अब ओरालोतिर जाने अवस्थामा छ। एक दशकदेखि आर्थिक मन्दीले वृद्धि दर दुई प्रतिशतभन्दा माथि जान सकेको छैन। बजारभर चिनियाँ वस्तु छन्। डलरको क्रयक्षमता कमजोर भइरहेको छ। अमेरिकी घरेलु बजारको माग घटेको र उपभोक्ता महँगी बढेको छ किनकि कामदार तथा मध्यम वर्गको आय र रोजगारी ओरालो लागेको छ। निर्यात कम भएको छ। अमेरिकी मेनुफेक्चरलाई आइएमएफ र विश्व बैंकले पर्याप्त लगानी/ऋण दिन सकेका छैनन्। जी ७ सँग पर्याप्त डलर बचत छैन।
तर ब्रिक्स अर्थतन्त्र भने विस्तारित भएको छ। डलरका विकल्पहरू आएका छन्। यसरी हेर्दा आर्थिक, सैनिक र वैचारिक मोर्चामा अमेरिकी पुँजीवाद पछाडि पर्दैछ। उसको सहयात्री युरोपलाई पनि आर्थिक मन्दी र नव–नाजीवादले थला पारेको छ। यसैले युरोप पनि शक्तिहीन भएको छ। यो बेला समस्त पुँजीवाद मन्दीको चरणमा प्रवेश गरेको छ। उनीहरू फेरि उपनिवेशवाद र साम्राज्यवादी ब्रह्मलुटको सपना देख्न थालेका छन् र युद्ध, हतियार र बर्चस्व नै पुँजीवादको रक्षा कबच हो भन्ने भ्रममा छन्। यसैले उनीहरू नव–अनुदारवाद (निओकोन) र नवनाजीवादको वैचारिकी खोलभित्र पसेका छन्। जो सर्वथा गलत हो।
असंलग्न आन्दोलनको पुनर्जागरण
शीतयुद्धकालमा नाटो र वार्सामा विभाजित ठूला शक्ति राष्ट्रहरूको भू–राजनीतिक चपेटामा पर्दा आर्थिक विकासमा पछि परिने भनी वाङडुगं सम्मेलन (१९५५) मार्फत पञ्चशीलका सिद्धान्त पछ्याउँदै र कतैपट्टि नलाग्ने भनी बनाइएको १२१ देशको असंलग्न धूरी समूह यतिबेला अलपत्र छ।
तर यसका शान्ति, असैनिकीकरण र मानवताजनित सिद्धान्त भने प्रासांगिक छन्। संसार यतिबेला तेस्रो विश्वयुद्धको नजिकै छ। भारत–पाकिस्तान, युक्रेन–रुस र इजरेल–इरान युद्ध विस्तारित भएमा संसार भयानक आणविक विनासतिर जानेछ। यसैले यी युद्ध कसैगरी पनि रोक्न सक्नुपर्छ। घोर दक्षिणपन्थी युरोपेली युनियन नेतृत्व शान्ति कायम गर्नपट्टि नलागी युद्ध भड्काउन लागिरहेको हुँदा यसको विकल्प असंलग्न आन्दोलनको पुनर्जागरण नै हो। यसको नेतृत्व भावी टिटो, नेहरू, नासिर, सुकार्नो र कास्त्रोका रूपमा आउन् भन्ने हो। इतिहासमा असंलग्न आन्दोलनको आवश्यकता यतिबेला खरो गरी देखिएको छ।
घुम्दै/फिर्दै समाजवाद
मानव जातिको कलंक प्रथम र दोस्रो विश्वयुद्ध जस्ता लडाइँ अब नदोहोरिउन् भन्ने दूरगामी लक्ष्य लिएर नै रुजबेल्ट, चर्चिल र स्तालिनले संयुक्त राष्ट्र संघ बनाएका हुन्। विडम्बना, यिनैका नाति पुस्ता डोनाल्ड ट्रम्प र कियर स्टारमरले लाजै नमानी तेस्रो महायुद्ध सुरु गरिसके। इतिहासले धिक्कार्छ यिनलाई किनकि इजरायल–इरान युद्धले आणविक महाविनासको अट्टहास गरिसकेको छ। ठूला देशहरू निरन्तर साना देशमाथि शोषण गर्न, स्रोत कब्जा गर्ने र ब्लक स्वार्थका कारण लड्ने–लडाइने हो भने साना देशहरू निरन्तर प्रताडित भइरहने अवस्था रहन्छ।
यसर्थ अब यो अन्यायको क्रमभंगता गर्नैपर्छ भन्ने जागरण अहिले ग्लोबल साउथमा आइरहेको छ। यसर्थ महायुद्ध रोक्न नसक्ने, संयुक्त राष्ट्र संघले शान्ति दिन नसक्ने र असंलग्न आन्दोलन पनि पुनर्स्थापना नहुने हो भने तेस्रो संसार स्व:स्फुर्त विद्रोहको मार्गमा घुम्दै/फिर्दै समाजवादकै नियात्रा नगर्ला भन्न सकिन्न। यही विद्रोहले युद्धपिपासु पुँजीवाद, नवउदारवाद र नवअनुदार–नाजीवाद (निओकोन) विचारकको पतन शृंखला सबैतिर सुरु हुन्छ। मानव इतिहास परिमार्जित समाजवादको पुनस्र्थापनाका निमित्त तम्तयार देखिन्छ।
प्रकाशित: ३ असार २०८२ ०९:३२ मंगलबार