१६ पुस २०८२ बुधबार
image/svg+xml
विचार

सगरमाथाको सुन्दरता र सुरक्षा

हामी अहिले समिटर समिट शिखर आरोहीहरूको सम्मेलनमा सहभागी छौँ। यहाँ हामीले यस क्षेत्रका समस्याबारे छलफल गरिरहेका छौँ। विगत र वर्तमानको समीक्षा गर्दै भविष्यलाई कसरी सुरक्षित, सुन्दर र उन्नत बनाउने भनेर विचारविमर्श गरिरहेका छौँ।

सगरमाथा क्षेत्रमा फोहरमैलाको समस्या र त्यसलाई सफा गर्ने चुनौती छ। दुई चरणको अभियान चलाए पनि पूर्ण रूपमा सफा भएको छैन। हामीले अभियानलाई निरन्तरता दिँदै फोहर व्यवस्थापनका लागि नीति र नियम बनाउनुपर्छ। जसले सामान लिएर जान्छ, उसले फोहर गर्न नपाओस् र लिएको सामान, जस्तै बिस्कुटको खोल, बेसक्याम्पमा फिर्ता ल्याउनुपरोस्। यस्तो नियम नहुँदा अर्को आरोहीले फोहर सफा गर्नुपर्ने बाध्यता हुन्छ। एक जनाको फोहर सफा गर्न दुई जना चाहिन्छ। त्यसैले फोहर व्यवस्थापनको उचित बन्दोबस्त गर्नुपर्छ।

हामीले ऐन र नियम संशोधनको प्रक्रिया पनि अघि बढाएका छौँ। सगरमाथामा बढ्दो भिड, जुन भिडियोमा पनि देखियो, त्यसबारे छलफल गरेका छौँ। सगरमाथा पहिलेको जस्तो छैन। तेञ्जिङ नोर्गे र हिलारीले चढेको समयजस्तो गाह्रो छैन। अहिले बाटो बनिसकेको छ, डोरी टाँगिसकेको छ, सजिलो भएको छ। धेरै अभ्यास नगरी पनि मानिसहरू सगरमाथा चढ्न खोज्छन्। किनभने शेर्पाले माथि पुर्‍याइदिन्छन् भन्ने विश्वास छ। 

सोलु, सगरमाथा र शेर्पाबीच राम्रो सम्बन्ध छ। सोलुमा सगरमाथा छ, शेर्पाले हिमाल चिनेर चढाइदिन्छन्। तर सगरमाथा चढ्नलाई यति हल्का बनाउनु ठीक लाग्दैन। ऐन र नियमको संशोधन राष्ट्रिय सभामा दर्ता भएको छ र मन्त्रिपरिषद्‌मा पनि छलफल भइरहेको छ। हामी सगरमाथालाई कसरी सफा, सजिलो र सुरक्षित बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौँ।  

यसका लागि नेपाल पर्वतारोहण सङ्घ र पर्यटन बोर्डमार्फत सरकारलाई ठोस सुझाव दिने उपयुक्त समय आएको छ। ऐन र नियम संशोधनका लागि प्रस्ताव अघि बढिसकेको छ। सरकारलाई यहाँ कुनै स्वार्थ छैन, केवल राम्रो गर्नु छ। त्यसैले म यहाँ सबैसँग सुझाव माग्छु। राम्रो गर्न हामी संशोधन गर्न तयार छौँ।  

आरोहीका अनुभव, सहभागीका छलफल, नेतृत्वका अभिव्यक्ति र भिडियोबाट सगरमाथाको अवस्था बुझ्यौँ। अब हामीले केही गर्नैपर्छ। सबैको प्रयास एक ठाउँमा ल्याउन म आग्रह गर्छु।  

मलाई खुसी लाग्छ, आठ हजार मिटरभन्दा माथि आरोहण गर्ने मौरिस हर्जोगलाई नेपाल एम्बेसी पेरिसमा भेटेर सम्मान गर्ने अवसर पाएँ। उनले गरेको ऐतिहासिक कामका लागि सम्मान गरेँ। पहिलो फ्रान्सेली सगरमाथा आरोही पिरमाजोलाई पनि भेटेर विचार आदानप्रदान गर्ने अवसर पाएँ। त्यो मेरो लागि राम्रो अनुभव थियो।  

फ्रान्सेली साथीहरूमा नेपालप्रति गहिरो भावना छ। मैले कामीरिता शेर्पादेखि अन्य धेरै सफल आरोहीलाई भेटेर सम्मान गर्ने मौका पाएँ। सफलताका कथा जोडिँदै जाउन्, अप्रिय घटना नहोस् भन्ने हामी चाहन्छौँ। सगरमाथा आरोहणले ७२ वर्ष पूरा गरेको छ। आगामी दिनमा यो अझ धेरै वर्षसम्म सफलताका कथा लेखिरहोस्। वातावरण र परिस्थितिलाई अनुकूल बनाउन हामी सबैको सहयोग चाहिन्छ। नेपाल सरकार यसमा प्रतिबद्ध छ।  

म यहाँ सम्मानित सबैलाई बधाई र शुभकामना दिन्छु। सबैलाई एकैचोटी सम्मान गर्न नसकिए पनि धेरैले सम्मानयोग्य काम गरेका छन्। कसैले ३० पटक सगरमाथा चढे, कसैले एकै सिजनमा तीन पटक चढे, कसैले छोटो समयमा वा बिना अक्सिजन चढेर कीर्तिमान राखे। यस्ता कुरा विश्वका लागि आश्चर्यजनक छन्। तर केही कुरामा सावधानी अपनाउनुपर्छ। अन्तर्राष्ट्रिय मिडियामा डोपिङ गरेर सगरमाथा चढेको भन्ने सुनिन्छ। यस्तो नहोस् भन्ने म आग्रह गर्छु। सगरमाथासँग बेइमानी गर्नुहुँदैन। यस्ता कुरालाई रोक्नुपर्छ र ध्यान दिनुपर्छ।  

समिटर समिटमा यहाँको उत्साह, थकानबिनाको निरन्तर प्रयास र सहभागिताका लागि धेरै धन्यवाद। सबैमा शुभ रहोस्। यो सम्मेलन सफल भएको छ। सफलताको कीर्तिमान अघि बढाउनुपर्छ। यसलाई अन्तर्राष्ट्रिय स्तरमा अझ फैलाउनुपर्छ, आकर्षण बढाउनुपर्छ तर भिडभाड र सस्तो बनाउनुहुँदैन। सगरमाथाको गरिमा कायम राख्ने तरिका अपनाउनुपर्छ।  

(प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठ, २०८२ मा ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा व्यक्त गरेको मन्तव्यमा आधारित स्वकीय सचिवालयबाट तयार गरिएको पूर्णपाठ)

प्रकाशित: १६ जेष्ठ २०८२ १६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App