१७ माघ २०८२ शनिबार
image/svg+xml
विचार

नेपालको अन्वेषण भविष्य

गत हप्ता चिनियाँ वैज्ञानिकहरूले एउटा कृषिसम्बन्धी अन्वेषण प्रकाशित गरे बायोलोजीको प्रतिष्ठित जर्नल सेलमा। तराईको गर्मीमा मात्र फल्ने धानलाई लेकमा पनि गाँज हाल्ने चरित्रको धानमा रूपान्तरण गरेको चिनियाँ आविष्कारले अहिले चर्चा पाएको छ, वैज्ञानिक वृत्तमा।

अविच्छिन्न पानी चाहिने अन्नलाई सुक्खामा पनि फल्न सक्ने बाली वर्षौअघि नै आविष्कार भइसकेको अवस्थामा चिनियाँहरूले अहिले आएर गर्मीमा फल्ने धानलाई लगलगी काम छुट्ने पहाडमा उब्जने बनाउँदा किन चर्चा भयो त भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन। आनुवांशिक पदार्थ, जिनमा परिमार्जन गरेर अन्नको चरित्र परिवर्तन गर्नु अहिले सहज भए पनि धानको डिएनएलाई दखल नै नगरी जनकपुरको बाफिलो गर्मीमा मात्र फल्न सक्ने अन्नलाई जुम्लामा पनि अनवरत उब्जाउन सकिने बाली बनाउने काम वैज्ञानिकले हालसम्म गर्न नसकेकाले उक्त आविष्कार चर्चायोग्य भयो, संसारभरका कृषि विज्ञहरूले स्यावासी दिए अन्वेषणलाई। 

सामान्य भाषामा भन्नुपर्दा फुटबलका सफल खेलाडीको बच्चा जन्मँदै सकर खेल्न सक्ने चरित्र लिएरै जन्मन्छ भने जस्तै स्तरको अन्वेषण हो यो। बाबुआमाले आफ्नो जीवनमा हासिल गरेको ज्ञान सिप सन्ततिमा सर्छ भन्ने फ्रान्सका प्रकृतिविद् तथा वनस्पतिशास्त्री जिन ब्याप्टिस्ट लेमार्कले तीन सय वर्ष प्रतिपादन गरेको तर पछिल्लो समय झन्डै मरणासन्नमा पुगेको सिद्धान्त लेर्माकिज्मलाई पुनर्जीवित गर्‍यो यो आविष्कारले।

अब चर्चित उक्त अनुसन्धान कसरी गरियो त त्यसको खाका हेरौँ। गर्मीमा मात्र फल्ने धानको प्रकार एसियन राइसलाई बाला लाग्ने अवस्थामा पुगेपछि शून्यभन्दा १५ डिग्री सेल्सियसमुनिको तापक्रममा सात दिनसम्म राखेर फेरि सामान्य अवस्थामा बढ्न दिइयो। उक्त बोटबाट उत्पादित अन्नलाई संकलन गरे चिनिया वैज्ञानिकहरूले। अनि उक्त अनाजलाई बिउका रूपमा प्रयोग गरी उत्पादित धानको बोटलाई पहिलाझैँ पुन: ठण्डामा सात दिन राखेर सामान्य चक्रमा फर्काइयो। यसरी परिमार्जित अन्नले उल्लिखित तीन चक्र पार गरेपछि थप प्रशोधनबिना नै लेकको कठ्यांग्रिने जाडोमा पनि मनग्य उत्पादन दियो।

धानमा आएको यस्तो ठूलो परिमार्जनमा आनुवांशिक तत्वमा आएको बिचलनले भूमिका खेल्यो कि भनी थप उत्खनन गर्दा अनाजको डिएनएमा कुनै परिवर्तन देखिएन। यसरी छोटो अवधिमै वैज्ञानिकहरूले धानको चरित्रमा ठूलो परिवर्तन ल्याए। आनुवांशिक परिमार्जन गरी उत्पादन गरिएको, जेनेटिकल्ली मोडिफाइड, खान्की खान मानिसहरू हिच्किचाएको अवस्थामा डिएनएलाई नछोइकनै गरिएको चारित्रिक परिमार्जनमा सबैको नजर पर्‍यो।

संसारभर नै धानको खेती हुन्छ अनि धेरै चरित्रका धान आधुनिक वैज्ञानिक आविष्कार हुनुभन्दा अघिदेखि नै अस्तित्वमा छन्। एक प्रजातिको धान अर्को वंशमा रूपान्तर हुनका लागि अन्नले हजारौँ वर्षसम्म संघर्ष गर्‍यो। तापक्रम, आर्द्रता, जमिनको प्रकृतिलगायतका दर्जनौँ राप झेलेर विभिन्न जातका अन्न अस्तित्वमा आए। लामो समयपछि मात्र आफ्नो आनुवांशिक पदार्थलाई क्रमिक रूपान्तरण गर्दै विभिन्न प्रजातिको धान बनेकामा छोटो प्रयासमै चिनियाँ वैज्ञानिकले नवीन चरित्रको अन्न बनाए। अब यो वैज्ञानिक अन्वेषणको सरलीकृत चिरफार गरौँ।

उल्लिखित चिनियाँ अन्वेषणलाई हेर्दा धानको बोटलाई सात दिनसम्म न्यून तापक्रममा राख्दा बालीले जाडोमा पनि उत्पादन दिन सक्ने आंशिक प्रतिरोधात्मक क्षमता विकास गर्छ। धानले उक्त चिसो तातो चक्रको तीन चरण पार गरेपछि गर्मीमा मात्र फल्ने धान जाडो नभइकन गेडा नलाग्ने प्रजातिमा रूपान्तरण भयो। समयको सामान्य गणना गर्दा उल्लिखित अनुसन्धानका लागि चिनियाँहरूले दुई, तीन वर्ष खर्चिएको देखिन्छ। तर यथार्थमा अन्वेषणले उल्लिखित समयभन्दा धेरै बढी श्रमको माग गर्छ।

माइनस १५ डिग्री सेल्सियसमा सात दिन राख्दा उल्लिखित नतिजा दिने देखिए पनि अन्वेषणकर्ताहरूले विभिन्न तापक्रम, समयावधि, पोषण तत्व, प्रजातिलगायतका विभिन्न अवस्थामा परीक्षण गरेका हुन्छन्। साथै, कुन परिस्थितिले अपेक्षित परिणाम दियो भन्नका लागि धेरै चरणको परीक्षण र नतिजाको विश्लेषण आवश्यक पर्छ। कोसिस गरिएकामध्येबाट सबैभन्दा अब्बल रिजल्टलाई मात्र जर्नलमा प्रकाशित गरिन्छ भने अन्य नतिजा केवल अन्वेषणकर्ताको नोटबुकमा सीमित रहन्छ।

स्यानफोर्ड युनिभर्सिटीका प्राध्यापक जोन आयोनडिजले केही वर्षअघि प्रकाशित गरेको अध्ययनले अहोरात्र ल्याबमा काम गर्ने अनुसन्धानकर्ताहरूमध्येमा एक प्रतिशतभन्दा कम वैज्ञानिकहरूले मात्र वर्षको एउटा अन्वेषणात्मक कृति प्रकाशित गर्न सक्छ भन्ने देखायो। तसर्थ, ल्याबमा गरिएका अधिकांश कामले सकारात्मक नतिजा दिँदैन भन्ने देखाउँछ। पाँच वर्षको अवधिभर दिन/रात ल्याबमा काम गर्दा पनि एउटा पनि स्तरीय आर्टिकल प्रकाशित गर्न नसकेका लाचार अन्वेषणकर्ता देखिनु अन्यथा होइन। तसर्थ, क्लिष्‍ट वैज्ञानिक अनुसन्धानमा लाग्नेका लागि आफ्नो कर्तव्य पूरा गर परिणाम तिम्रो वशमा छैन भन्ने भागवद्गीताको मनन अत्यावश्यक बन्छ। अनुत्तीर्ण हुन डराउने प्रशिक्षार्थी सफल वैज्ञानिक बन्न सक्दैन भन्ने भनाइ त्यसै आएको होइन।

वैज्ञानिक अनुसन्धानका लागि उल्लेख्य धन जरुरत पर्छ भन्ने भनाइ आंशिक सत्य हो। सानो लगानीका अनुसन्धानले पनि भीमकाय परिणाम दिएका धेरै उदाहरण छन्। आर्थिक कारण देखाएर नै नेपालमा अनुसन्धान गर्न सम्भव छ कि छैन भन्ने प्रश्न नउठेको होइन। अझ नेपालमा गरिएको अन्वेषण नेचर, साइन्स, सेलजस्ता प्रभावकारी वैज्ञानिक जर्नलहरूमा प्रकाशित गर्न सम्भव छ भन्दा धेरैलाई विश्वास लाग्दैन।

सेलमा प्रकाशित अन्वेषण जस्तै प्रकृतिका रिसर्च केही लाख नेपाली रुपियाँ खर्चिएर देशमै पूरा गर्न सकिने चरित्रका छन्। केही मोलिक्युलर बायोलोजी र जेनेटिक्सका अन्वेषण गर्न अलि क्लिष्‍ट देखिए पनि काठमाडौँका दुई, चार अन्वेषण केन्द्रले संयुक्त प्रयास गरे धेरै अनुसन्धान गर्ने हैसियतमा नेपाल पुगेको देखिन्छ। विदेश प्रशिक्षित वैज्ञानिक समुदायको आयतन बढ्दो क्रममा भएकाले नेपालको अन्वेषण भविष्य उज्ज्वल देखिन्छ। लिभिङ स्ट्यान्डर्ड महँगो नभएकाले अन्यत्र हुने अनुसन्धानको सानो हिस्सा खर्च मात्रले पनि नेपालमा ठूलो काम गर्न सकिन्छ।

अनुसन्धानहरू विश्वव्यापी हुन्छन्। संसारको एक कुनामा भएको अन्वेषणको प्रतिफल पृथ्वीको अर्को पाटोमा बस्नेले पनि लिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा परिवर्तित समयमा अनुसन्धानहरू व्यापारमुखी भए। थोरै लगानीमा अनुसन्धान गर्ने अनि व्यापारिक पेटेन्टमार्फत ठूलो प्रतिफल पाउने आशामा अधिकांश लगानी हुन्छन् आजकल। आर्थिक मितव्ययिताको छायाबाट कुनै पनि रिसर्च केन्द्रहरू मुक्त छैनन्। थोरै रकमको बलमा धेरै नतिजा निकाल्ने अभिलाषा सबैको हुन्छ। तसर्थ, भारतलगायत संसारका धेरै देशमा कन्ट्रयाक्ट रिसर्च सेन्टर खुले। करारमा काम गरेर प्रायोजकलाई स्तरीय नतिजा दिने उद्देश्यले त्यस्ता ल्याब खोलिन्छन्।

ग्राहकले भनेअनुरूपको काम गरेर नतिजा बेच्ने अनि पारिश्रमिक लिने उद्देश्यले खोलिएका रिसर्च ल्याबहरू प्रभावकारी देखिएकाले धेरै करारजन्य अन्वेषण केन्द्र खुलेका छन् विकासोन्मुख देशमा। हामी स्तरीय रिसर्च गर्छौँ भन्ने भरोसा र विश्वास दिन सक्ने हो भने नेपालमा पनि सम्भाव्यता नभएको होइन। तर राजनीतिक चरित्रले देशको छायाको काम गर्ने भएकाले अन्तर्राष्ट्रिय क्षितिजमा नेपालको छवि स्खलित छ। देशका नेता जस्ता नेपाली वैज्ञानिकहरू घृणित काम गर्दैनन् बरु प्रतिबद्धताअनुरूपको दायित्व समयमै पूरा गरेर स्तरीय तथ्यांक दिन्छन् भनी विश्वस्त बनाउन सक्ने हो भने विकसित मुलुकहरूले भारत र चीनमा पठाउने वैज्ञानिक अन्वेषण हामीकहाँ नआउने भन्ने प्रश्न नै छैन।

आर्थिक सूचकांकको पुछारमा रहेका देशले अत्याधुनिक अन्वेषणमा धेरै रकम खर्चनु सम्भव छैन। हार्वर्ड विश्वविद्यालयको सञ्चित कोषभन्दा पनि कम वार्षिक बजेट भएको नेपालले अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्ने गरी अन्वेषण बजेट खर्चने अभिलाषा राख्नुहँदैन। देश सापेक्ष अन्वेषण गर्ने अनि थोरै पैसामा गर्न सकिने अनुसन्धानलाई कसरी प्रवर्द्धन गर्ने भन्नेमा ध्यान दिनुपर्छ। मुलुकलाई केन्द्रमा राखेर गरिने अनुसन्धानले प्रतिफल दिन्छ। उदाहरणका लागि नेपालमा मात्र पाइने यार्चागुम्बामा गरिने उत्खननले देशलाई ठूलो प्रतिफल दिन सक्छ।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।

प्रकाशित: १३ जेष्ठ २०८२ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App