४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
विचार

गाउँ-गाउँबाट उठ!

सूचना प्रविधि क्षेत्रमा भएको विकासको छलाङ अपत्यारिलो छ। यसको अतिक्रमण यति तेज गतिमा फैलिरहेको छ कि एक सामान्य मानिसको जीवनलाई समेत यसले कायापलट गरिदिएको छ। कतिका लागि त यसलाई पछ्याउन हम्मेहम्मे परिरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको आविष्कारले त कम्प्युटरको बुद्धिले मानवलाई उछिन्न लागेको भान हुन्छ। त्यो दिन अब धेरै टाढा छैन, कम्प्युटरको मस्तिष्कले मानिसलाई उछिन्ने। जति यो प्रविधिको विकासबारे नकारात्मक सूचना सम्प्रेषित भएका छन् उति नै सकारात्मक गुण पनि रहेको छ यसमा।

सकारात्मक खोजको उत्तर सकारात्मक नै दिन्छ यसले। नकारात्मक प्रश्नको उत्तर नकारात्मक नै। जस्तालाई तस्तै। एक दिनको कुरो। म पनि सामाजिक सञ्जालमा समय काट्दै थिएँ। मेरो सामु रामेशको एउटा गीत गुञ्जिन थाल्यो:

गाउँगाउँबाट उठ

बस्तीबस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठ।

जनताको गीत, जनताको बोली। जनताले बुझ्ने भाषामा। जनसांस्कृतिक समूह ‘राल्फा’, गाउँ गाउँ डुलेर दिन रात गाउँदै जनचेतना जगाउँदै हिँड्ने समूह। रामेश, रायन, मञ्जुल र केही अरू स्वयंसेवी युवाहरूको संगीत मण्डली। निरंकुश व्यवस्थाविरुद्ध जनतामा चेतना जगाउन हिँडेका क्रियाशील युवाहरूको जमात। धेरै गाए यो गीत उनीहरूले। देशैभरि। कति नयाँ पुस्ताले सुन्नै बाँकी होला, थाहा छैन। तर पुरानो पुस्ताका धेरैले सुने यो गीत। कति सुन्नेहरू त बितेर गए। कति सुनिरहेछन् निरन्तर। कति त धेरै सुनेर विरक्तिए पनि होलान्। यही गीतले मेरो जीवनको एक पुरानो कुराको स्मरण गरायो।

२०६५ सालको कुरो। मेरी सानी बहिनीको विवाह मध्यपुर थिमी भक्तपुरका गंगादास श्रेष्ठका सुपुत्रसित हुँदै गरेको। गंगादास पुराना कम्युनिस्ट। स्वतन्त्र वाम कार्यकर्ताका रूपमा क्रियाशील थिए उनी। २०४६ सालको जनआन्दोलनको दौरान उनी पनि जेल परेका रहेछन्। त्यही जेल सजाय भोग्ने समयमा उनको संगत वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसित भएको रहेछ।

ओलीसितको संगतले साह्रै प्रभावित भएछन्। जेलबाट छुटेपछि २०४७ सालतिर आफ्ना छोराहरूको व्रतबन्धसमेत क्रान्तिकारी ढंगले गर्ने ढिपी कसेछन् परिवारमा उनले। ओलीलाई प्रमुख अतिथि बनाएर उनकै हातबाट छोराहरूको व्रतबन्ध सम्पन्न गराएको कुरा सुनाएका थिए गंगादासले। पछि मेरो भान्जाको व्रतबन्ध पनि ओलीकै हातबाट गराउने सुर थियो उनको। तर के कारणले हो त्यो हुन सकेन। कुरो फेरि वैवाहिक कार्यक्रमको। कार्यक्रमपूर्व उनको एक सर्त थियो। विवाह सामान्य ढंगले सम्पन्न गर्ने। सामाजिक कुरीतिविरुद्ध। तडकभडक शून्य। ठूलो भोजभतेरबिनाको। सहमतिअनुसार विवाहमा दुवै परिवारका तर्फबाट जम्मा जम्मी ३० जनाको मात्र सहभागिता। त्यही ३० जनामध्ये गायक रामेश पनि एक सहभागी। वैवाहिक कार्यक्रमपश्चात रामेशले सहभागीहरूको अनुरोधमा दुईवटा गीत सुनाए। उही गाउँ–गाउँबाट उठ, र तिमी देउ तिम्रा हातहरू...। वैवाहिक माहोल संगीतमय बनेको थियो। उनको ओजनपूर्ण स्वरले कार्यक्रमस्थलै गुञ्जायमान बनेको थियो।

यो मात्र १७ वर्षपहिलेको। तर यति छोटो समयमा पनि छिटो छिटो देशको परिस्थिति फेरिएको छ। नेपालीको जीवनशैलीमा ठूलो परिवर्तन देखिन थालेको छ। विशेषतः शहरी जीवनशैलीमा। सामाजिक रीतिथिति फेरिएका छन्। रीतिरिवाज बदलिएका छन्। कति जायज कति नाजायज! बाहिरिया सांस्कृतिक अतिक्रमणले नेपाली रैथाने संस्कृति विकृत बनिरहेको छ। हामी विवश छौँ। आफ्ना सन्तान, छोरा–छोरी अनि परिवारको खुसीमा रमाउन हामी बाध्य छौँ। उनीहरूको खुसी र हाँसोमा रमाउन विवश छौँ। सन्तान आयातित सांस्कृतिक रीतिथितिमा मस्त छन्। मेहन्दी, हल्दी रश्म अनि विवाह संगीत भारतीय शैलीका। अनि हामी उनीहरूसितै तालमा ताल मिलाउँदै, ताली पिट्दै नाचिरहेछौँ।

रामेशहरू गाइरहन्छन्। न्याय र समानताका लागि हात मिलाउन अनुरोध गरिरहन्छन्। हो, साँच्चै गाउँ रित्तिइसक्यो, बस्ती उजाडियो। सक्नेहरू विदेश भासिए, कोही शहरतिर भास्सिए। बलिया पाखुरा भएका जाँगरिला युवाहरू उठेर हिँडे। खाडीतिर घाम सेक्न बसे। देशको मुहार फेरियो। चाउरी परेको गाला र कुप्रो शरीर लिएर बसेका बूढाबूढीहरू मात्र बाँकी गाउँ बस्तीहरू। उस्तै देखिन थालेछ देश त चाउरी परेको गालाझैँ छियाछिया परेको।

विकासको मूल फुटेर बगेका पहाडहरू। वनपाखा र खेत उजाडिएर प्लटिरूका घडेरी बनेका बाँझा जमिनहरू। गाउँ काकाले पनि मस्त क्रिमपाउडर दलेर खैरे भएझैँ देशको मुहार पनि फेरिएछ। कालो अनुहार गोरो भएछ। कुरीति बेथितिविरुद्ध चिच्याइरहने ती सच्चा कम्युनिस्टलाई जिस्क्याइरहेझैँ लाग्छ। तीनै संस्कृतिका पारखीहरूले, मेहन्दी र हल्दी संगीतमा नाच्दै गरेका केटाकेटीहरूले ती रत्यौली खेलिरहेका बूढीहरूलाई धपाए जस्तो लाग्छ। गिज्याइरहेझैँ लाग्छ।

प्रकाशित: ४ जेष्ठ २०८२ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %