२४ असार २०८२ मंगलबार
image/svg+xml
विचार

स्कुपको उल्झनमा नेपाल-भारत सम्बन्ध

नजिकको छिमेकी देश भारतसँगको हाम्रो सम्बन्ध बहुआयामिक छ। राज्य–राज्यबिचको सम्बन्धका अलावा भौगोलिक, सांस्कृतिक र जनस्तरको घनिष्ट सम्बन्धले, ऊ ठूलो राष्ट्र र हामी सानो राष्ट्र भए तापनि, हामी दुवैलाई छुट्टिन त के, टाढा हुन पनि मिल्दै नमिल्ने गरी बाँधेको छ। समुद्रसम्म पारवहनका लागि मात्र नभई यता केही समयदेखि हामी दुई बीचको विकासको अन्तरका कारणले समेत भारतमाथि हाम्रो निर्भरता पनि निरन्तर बढ्दो छ।  

यद्यपि नेपाललाई एउटा स्वतन्त्र राष्ट्रका रूपमा भन्दा पनि आफ्नो उत्तरी सुरक्षा कवच र चीनसँगको बफर राज्यका रूपमा हेर्ने, आफ्नो उपग्रह राज्यका रूपमा व्यवहार गर्न खोज्ने औपनिवेशिककालीन भारतदेखि स्वतन्त्र भारतसम्मको ‘डिपस्टेट’को हेपाहा मानसिकता पहिलेभन्दा कम त भएको छ तर पूरै निर्मूल भइसकेको छैन।

समयक्रमसँगै स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहने नेपालको चाहना र भूमिकालाई औपचारिक रूपमा उसले मान्दै गएको त छ। तर, नेपालको आन्तरिक मामलामा हस्तक्षेप र सूक्ष्म व्यवस्थापन गर्ने काम पनि बेलाबखत गर्न छाडेको छैन। यद्यपि यो कुराका लागि काठमाडौंकै राजनीतिक वर्ग बढी जिम्मेवार छ।

जो आफू सत्तामा जान र टिकिरहन आफैं दिल्लीको आशीर्वाद खोज्छ। अनि सत्ताबाट तल खँदारिना साथ वा सत्तामा तत्काल पुग्न नपाउना साथ आफूहरू ‘खाटी राष्ट्रवादी’ भएको हुँदा भारतले सत्तामा पुग्न, बस्न नदिएको दोष लगाउँदै भारत विरोधी राष्ट्रवादको कार्ड खेल्छ, अनेक षड्यन्त्रको कथा बुन्छ। जसबाट त्यसै पनि आफू सानो राष्ट्र भएको हीनताबोधले ग्रसित नेपालको राजनीतिक सामाजिक वृत्तमा भारत विरोधी भावना अझ भर्भराउन खोज्छ। जसको दुष्प्रभाव भारतमा भन्दा धेरै गुणा बढी फेरि नेपालमै पर्छ। त्यो दुष्प्रभावले आफू र आफ्नो सत्ता राजनीतिलाई असर गर्न थालेपछि राजनीतिज्ञहरू क्षति नियन्त्रण गर्न अनेक कसरत गर्छन्। जसको पछिल्लो उदाहरण प्रधानमन्त्री केपी शर्मा ओली हुन्। यस्ता कुराको चिरफार गरेर यथार्थ कुरा जनसमक्ष ल्याउन ठूलो भूमिका हुने दुवै प्रजातान्त्रिक देशका मिडिया भने यो कार्यमा चुकेका छन्।

भारतका हावादारी मिडिया

हामीले देखेकै भोगेकै कुरा हो। वर्षात्को समय खासगरी कोशी नदीमा जब जब बाढी आउँछ, भारतीय मिडियामा ‘नेपाल ने कोशी मे पानी छोडकर बिहार मे तबाही मचा दी’ भन्ने असत्य समाचार र उटपट्याङ रिपोर्टिङहरूका बाढी आउँछन्।

समाचार कक्षमा बसेर पुराना श्रव्यदृश्य सामग्रीहरू जोडजाड गरी बनाइने खासगरी यस्ता टिभी प्रसारणले जनस्तरमा पनि असमझदारी उत्पन्न गर्छ। किनकि नेपालले त कोशी वा अन्य कुनै पनि नदीका पानी पहिले थुनेर जम्मा गर्ने अनि छोडिदिने गर्नलाई उच्च बाँँधहरू बनाएकै छैन। न त कोशीको बाँध (जुन त्यसै पनि धेरै पानी थुनेर राख्ने क्षमता भएको उच्च बाँध होइन) को सञ्चालन नै नेपालले गर्न पाएको छ। त्यो त भारत र नेपालका बीच भएको ९९ वर्ष कायम रहने सम्झौता बमोजिम झन्डै ७० वर्षअगाडि भारतले नै बनाएको बाँध हो।

 जसको सञ्चालन अर्को तीन दशकसम्म भारत सरकारले नै गरिरहने छ। माथि उचाइमा रहेका नेपालको पहाडमा आकाशबाट परेको वा हिमाली हिउँ पग्लेको कोशीको पानी उँधो भारततिर बगेर जानु त नदीको प्राकृतिक बहाब नै हो। अब गुरुत्वाकार्षणको नियमले आफैं बग्ने त्यस्तो पानी नेपालले किन र कसरी छोड्ने रहेछ कुन्नि !

वास्तवमा भारतका कतिपय मानिसमा हामीले यत्रो सहुलियत दिँदादिँदै पनि किन नेपालमा भारत विरोधी भावना व्याप्त छ भन्ने असन्तोषयुक्त जिज्ञासा रहनु र यस्तो मनोविज्ञान चीनले निर्माण गराएको हो भन्ने भ्रम रहनुको एउटा कारक भारतीय मिडियाका यस्तै प्रचारबाजी पनि हुन्।

अब यताका मिडियाको कुरा गरौं। केही दिनअघि बैंककमा सम्पन्न बिमस्टेक राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच लगभग ४० मिनेट लामो साइडलाइन वार्ता भयो। ओली पछिल्लो पटक प्रधानमन्त्री भएदेखि नै भारत भ्रमणका लागि अत्यन्त इच्छुक रहेको तर भारत उनीसँग अप्रसन्न रहेको हुँदा जति कोसिस गर्दा पनि भ्रमणको निम्ता नदिएको चर्चाले नेपालको राजनीतिक र कूटनीतिक वृत्त तातेको परिप्रेक्ष्यमा यो भेट नेपालका लागि व्यग्र प्रतीक्षाको विषय थियो।

ओली–मोदी भेटका तरंग

त्यसैले, नेपाली पक्ष मूल सम्मेलनभन्दा पनि साइडलाइन वार्ताप्रति ज्यादा उत्साहित थियो। काठमाडौँमा पनि, मिडियादेखि राजनीतिक र कूटनीतिक वृत्त हुँदै आमजनतासम्म सर्वत्र साइडलाइन भेट कौतूहलको विषय थियो। तर, सधैंजसो विदेश मन्त्रालयका अधिकारीहरूसँगै बसेर वार्ताको नोट लिने प्रबन्ध अपनाउने भारतीय पक्षबाट पनि यसपालि त्यस्तो भएन।

अधिकारीहरूको अनुपस्थितिमै एक्लाएक्लै भएको यो वार्ताको विषय अहिलेसम्म गोप्य नै छ। यस्तोमा अड्कलकै भरमा कसैले भेट हाम्रा लागि फलदायी रहेको बताएका छन् त कसैले उपलब्धिहीन र बेइज्जतीपूर्ण। पछिल्ला वर्गका कथन धेरै आएका छन्, जुन अपेक्षित नै हो। किनभने भारतसँगको सम्बन्धलाई लिएर ‘नेपाल ने पानी छोड दिया’ मार्काकै रिपोर्टिङ र विश्लेषण गर्नमा नेपालको मिडिया पनि कम छैनन्।

अनलाइन वा युट्युबर मार्का मिडिया मात्र होइन, हावादारी रिपोर्टिङ र हावादारी नै विश्लेषण गर्नमा प्रतिष्ठित सञ्चार माध्यम पनि कम देखिएनन् यसपालि। यो आलेखमा त्यस्तै सञ्चार माध्यमहरूका रिपोर्टिङ र विश्लेषणको चर्चा गरिन्छ, जसको साझा मजबुन यस्ता थिए– एक, वार्ताको परिणामस्वरूप प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आउने निश्चित भएको छ। दुई, तर वार्ता पूरै असफल रह्यो। तीन, त्यति मात्र होइन, भारतका प्रधानमन्त्री ओलीसँग अत्यन्त कठोर रूपमा प्रस्तुत भए। चार, ओलीसँग चिसिएको नयाँ दिल्लीको सम्बन्धमा कुनै सुधार भएन, बरु वार्ताले तीक्तता अरू बढायो। पाँच, भारतसँग समस्या रहेका कुनै विषयमा पनि हाम्रा प्रधानमन्त्रीले कुरा उठाउन सकेनन। उनी पूरै ‘लुते’ देखिए। छ, एक्लाएक्लै वार्ता गर्नु रहस्यमय छ, यसो गरिनु हुँदैनथ्यो आदि।

अड्कलबाजीले बिग्रेको मनोविज्ञान

यदि साँच्चै नै माथि भनेजस्तो भएको हो भने त्यो गम्भीर कुरा हो। जसका लागि ओलीले नेपाली जनतालाई सबै कुरा खुलस्त बताउनु त पर्छ नै। त्यतिले पनि पुग्दैन, डराएर समस्या नउठाएको भए उनले राष्ट्रसामु माफी पनि माग्नुपर्छ। तर यो र यस्तो किसिमको रिपोर्टिङ र विश्लेषणलाई हरेक सचेत नेपालीले पनि कमसेकम निम्नबमोजिमको प्रश्न भने गर्नैपर्छ– एक, दुई देशका प्रधानमन्त्रीबीच वार्तालाई अति गोपनीय राख्ने प्रयोजनले नै एक्लाएक्लै गरिएको वार्ताबारे ती मिडियाहरूलाई कुन स्रोतबाट जानकारी प्राप्त भयो? त्यो त कि मोदी स्वयंले सो मिडियालाई ‘लिक’ गर्नुपर्‍यो।

मोदी स्वयं नै स्रोत हुने त्यस्तो मिडियालाई त हामीले शत शत नमस्कार नै गर्नुपर्‍यो। होइन भने कि ओलीले लिक गर्नुपर्‍यो। आफ्नै बेइज्जत हुने हदसम्मका मूर्खता उनीजस्ता चतुर राजनीतिज्ञले किन गर्दा होलान्? भनेपछि स्रोत त ती मिडियाका आफ्नै उर्वर कल्पना रहेछन्।

अनि, भारत भ्रमणको निम्ता दिने त के कुरा, साइडलाइन वार्ताका लागि समेत पहिले अनिच्छुक रहेको भारतले ४० मिनेट लामो वार्ता गर्न तयार हुनु त हाम्रो लागि राम्रै होला। के हामी जेमा पनि, अझ सबभन्दा महत्त्वपूर्ण छिमेकी भारतसँगको सम्बन्धका कुरालाई लिएर सधैं संशय र नकारात्मकताको खेती मात्रै गरिरहने? उसको आर्थिक विकासबाट र ऊसँगको सम्बन्धबाट नजिकैको छिमेकीले लिनसक्ने फाइदा नलिने?

लोकतन्त्रमा एक्लाएक्लै गरिएको यो भेटबारे प्रधानमन्त्रीले संसद्, मिडिया र नेपाली जनतालाई सुसूचित गर्नैपर्छ। त्यसलाई पारदर्शी बनाउनैपर्छ। तर यस्ता हरेक भेटलाई देश बेच्ने प्रयोजनले भएको भनेर विश्वास गर्ने र उग्र राष्ट्रवादको खेती गर्ने काम हामी सबैले अब बन्द गर्नैपर्छ। त्यसले हामीलाई धेरै नोक्सान गरिसक्यो। जहाँसम्म एक्लाएक्लै वार्ताको उपलब्धिको कुरा छ, धेरै उपलब्धि नहोला रे। तर शून्य उपलब्धि हुने भए वा मोदी ओलीसँग रिसाउनकै लागि भेट गर्ने भए त भेटीभेटी रिसाइरहनुको सट्टा मोदीले बरु भेट्दै भेट्दैनथे, जसरी अहिलेसम्म भेट्न मानेका थिएनन्। भेटले चिसिएको सम्बन्ध सुधार्ने कूटनीतिक यात्राको क्रममा कमसेकम आइसब्रेक त भयो, अरू केही नभए पनि।

सकारात्मक सोचौं

एउटै मिडियाले वार्ता असफल भयो पनि भन्ने र भ्रमणको निम्तो पठाउन भारत तयार भयो पनि भन्ने कुरा आफैंमा विरोधाभासपूर्ण भएन र? त्यसैगरी चिसिएको सम्बन्धमा सुधार नभएको भए वा वार्ता सौहार्दपूर्ण नभएको भए त्यो वार्ता ५–१० मिनेटमै टुंगिन्थ्यो होला।

 ओली रातोपिरो मुख लगाउँदै वार्ता कक्षबाट बाहिर निस्कन्थे होलान्। ४० मिनेट लामो वार्ता सिद्याएर हाँस्दै प्रसन्न मुद्रामा निस्किँदैनथे होलान्। लोकतन्त्रमा आआफ्नो समूहका साथ द्विपक्षीय वार्तामा बस्नु नै राम्रो हो एक्लाएक्लै भन्दा। तर यस्तो एक्लाएक्लै भेटवार्ता न ओली र मोदीबीच मात्र भएको हो, न संसारमा यो नै यस्तो पहिलो घटना हो।

देशहितमा ‘स्टेट सिक्रेट’ लाई स्टेट सिक्रेटै रहन दिन विभिन्न कालखण्डमा अरू मुलुकमा पनि यस्ता अभ्यास भएका छन्। अरूको त कुरै छाडौं, भारतविरोधी राष्ट्रवादको सफल प्रवर्तक र प्रयोगकर्ता राजा भनी बहुप्रचारित, बहुप्रशंसित हाम्रा स्वर्गीय राजा महेन्द्र र साना छिमेकीहरूप्रति वक्र दृष्टि राख्ने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीबीच एक्लाएक्लै भेट भएको कुरा भेटका साक्षी र राजा महेन्द्रका प्रिय एवं विश्वासपात्रले नै आफ्ना संस्मरण÷आत्मकथामा लेखेका छन्। के राजा महेन्द्रले इन्दिरा गान्धीलाई देश बेचेछन्?  

प्रकाशित: १० वैशाख २०८२ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App