१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:३४ पूर्वाह्न
विचार

'नेपाली कांग्रेसः संकट, सम्भावना र समाधान'

हिजो बलियो थियो कांग्रेस

हिजोको समय भूगोलमा देश त  थियो तर चेतनामा देश थिएन । नेपाललाई निस्पट अँध्यारोमा जहानियाँ राणा(शाह शासनले किचेर राखेका थिए । बीपी कोइराला लगायत  प्रवासमा पढ्ने  केही जोशिला ठिटाले चेतना र विद्रोहको मसाल उठाए, देशलाई जगाए, कांग्रेस पार्टी गठन गरे, क्रान्तिको बिगुल फुके र नेपाललाई आधुनिक युगमा प्रवेश गराए । त्यो बेलाको कांग्रेस समयभन्दा निकै अगाडि थियो । नेपाली कांग्रेसको नाम सुन्नासाथ प्रजातन्त्र विरोधीहरूको मुटु काम्थ्यो। कांग्रेसको चारतारे झण्डा फर्फराएपछि निरङ्कुशतावादीहरू भागाभाग गर्थे । कांग्रेस जनतामा थियो, जनताको घरघरमा थियो, गाउँगाउँमा थियो। एक अर्काको दुस्खमा थियो । एकतामा थियो र आदर्शमा बाँचेको थियो ।

तर आज? 

आज संकटमा छ कांग्रेस । आज कांग्रेसको अवस्था त्यो बूढो वटवृक्षजस्तै भएको छ, जसका जराहरू गहिरा भए पनि हाँगाबिगा सुक्दै छन्। अत्याधुनिक प्रवीधि र एआईसँग बाँच्ने चेतनशील जनताले देश भरिदै गर्दा कांग्रेस अर्धचेतमा धर्मराएको छ । जनता र नेताको धर्ती र आकाश जस्तो सम्बन्ध बन्दै गर्दा कार्यकर्ता र नेतृत्वको पनि दूरी बढेको छ । विचारभन्दा व्यक्ति ठूला भएका छन् । युवा नेताहरु रातभरि सामाजिक संजालको ट्रेन पक्रिएर बिहानै त्यसको पछिपछि कुदिरहेका छन् । मिडिया ट्रायलमा मात्र रमाउन बानी परेका उनीहरुबाट भिडलाई नेतृत्व असम्भव जस्तो देखिएको छ अर्थात् सम्पूर्ण रुपमा उनीहरु भिडको नियन्त्रणमा छन् । 

संगठनभन्दा गुटहरु बलिया भएका छन् । पार्टीभित्र लोकतन्त्रको नारा लगाइन्छ तर निर्णयहरू केही व्यक्तिको हातमा सीमित छन् । भ्रातृ तथा शुभेच्छुक संघसंगठनहरु निम्छरा छन् । विचरा उनीहरुले आन्तरिक लोकतन्त्रबारे पार्टीका दस्तावेजमा पढ्नेबाहेक कहीं कतै नाम निशाना भेटाउँदैनन्। अपवाद बाहेक नयाँ या पुराना दुवै थरीका नेताहरु अवसरवादी, नवधनाढ्य र चाटुककारहरुको घेराभित्र मस्त छन् । व्यस्त छन् अर्थात् रमाइरहेका छन् । एउटा नेताको पीछलग्गुले पार्टीकै अर्को नेतालाई यसरी खुइल्याउँछ मानौं उ चाल्स शोभराजभन्दा कुख्यात अपराधी हो । निष्ठावान् सैद्धान्तिक कार्यकर्ताहरु आजका नेताहरुबाट टाढै छन् । समग्रमा कांग्रेस समयभन्दा पछाडि छ, विभाजित छ र संकीर्ण छातीहरुले भरिएको छ । भनौं जसलाई पुरातनवादीहरु प्रतिगामी राजावादीहरुले समेत लतार्न थालेका छन् । आखिर कांग्रेस यति कमजोर र भुत्ते किन भयो रु के कांग्रेसको आत्मा मरेको हो ? 

दशकौं देशको राजनीतिलाई कांग्रेसले आफ्नो वरिपरि राख्यो। गाउँगाउँमा कांग्रेसका भेला हुन्थे, युवा विद्यार्थीहरूले कांग्रेसलाई जीवन दर्शन ठान्थे, वृद्धहरूले कांग्रेसलाई आफ्नो सपना देख्थे तर आज कांग्रेस आफैं दिशाहीन जस्तो देखिएको छ।  

न संगठनको मजबुती छ न नेतृत्वको स्पष्ट दिशा।

न जनतासँग सिधा सम्पर्क छ न विचारमा नवीनता।

तैपनि भन्न सकिन्छ यो पार्टी अझै बाँच्छ, अझै लड्छ, अझै जित्छ तर सही नेतृत्वको खोजी गरे मात्र ।

नेतृत्वको संकटमा कांग्रेस

नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने, यो पार्टीले जहिले पनि अग्रगामी सोच, दूरदर्शिता र बलियो नेतृत्व मार्फत देशलाई दिशा दिएको छ। बीपी कोइरालादेखि सुशील कोइरालासम्म, कांग्रेसको नेतृत्वले संकटको घडीमा निर्णायक भूमिका खेल्दै आएका थिए तर आज कांग्रेस नेतृत्वको गहिरो संकटमा छ।

नेता छन् तर नेतृत्व छैन। गुट छन् तर संगठन छैन। पार्टीभित्र निष्ठा होइन, साइनो बलियो बनाइएको छ। विचार होइन, व्यक्ति हावी भएका छन् । निर्णय क्षमता होइन, सम्झौतावाद मौलाएको छ। कांग्रेसको नीति–दर्शनको रक्षा गर्नेभन्दा गुटगत स्वार्थको रक्षा गर्नेहरू हावी हुँदै गएका छन्।

कार्यसम्पादन मूल्यांकन गर्ने हो भने पार्टीका प्रभावशाली पदमा विराजमा प्राय सबै पदाधिकारी सदस्यहरु फेल हुन्छन् तैपनि आफ्नो उमेर, वाक् कलाको मात्र मूल्यांकन गरेर आफ्ना केही चाटुककार , थोरै मिडिया र सामाजिक संजालको आडमा खुलेआम नेतृत्वको आलोचना गर्ने र पार्टीको परिधि बाहिर बोल्ने दुस्साहस गर्छन् र आफ्नै नेतृत्व निकम्मा हो भन्ने आम जनतामा पुष्टि गर्न हौसिन्छन मानौँ उनीहरु बेहोसमा छन् र आफ्नो पद भुलिरहेका छन् । यो बेहोसीपनाको नेतृत्व भोलिको कांग्रेसले कसरी झेल्न सक्ला रु तैपनि आम कांग्रेसीप्ले यिनीहरुलाई आशातीत नजरले हेरिरहेका छन् । 

यसैले आज कांग्रेसको संगठन जर्जर छ, कार्यकर्ता निराश छन्, जनतासँग पार्टीको दूरी बढ्दै गएको छ। जनताको मनोविज्ञान बुझ्ने, पार्टीको मूल विचारधारालाई पुनः सशक्त बनाउने, गुटभन्दा माथि उठेर समग्र कांग्रेसलाई नेतृत्व गर्ने क्षमता भएको नेताको रिक्तता देखिएको छ कांग्रेसमा ।

अबको बाटो के ?  

यो समय कांग्रेसजनका लागि बादल हट्ला र घाम फर्किएला भनेर बस्ने होइन आफैं घाम बन्ने समय हो ।

संकट गहिरिएको छ तर समाधान असम्भव छैन। नेपाली कांग्रेस इतिहासकै कठिन मोडहरू पार गर्दै यहाँसम्म आइपुगेको पार्टी हो। आज आवश्यक छ, वैचारिक स्पष्टता, विधिविधानको इमानदार पालना, संगठनको पुनर्जीवन र गुटभन्दा माथि उठ्ने दृढ नेतृत्व । कांग्रेस कुनै व्यक्तिको हैन, विचार, सिद्धान्त र संगठनको पार्टी हो। त्यसैले अब निर्णय पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर लिनुपर्छ। विधानअनुसार चल्ने, संस्थागत संरचना बलियो बनाउने, नीति र विचारलाई प्राथमिकता दिने, कार्यकर्तालाई निर्णय प्रक्रियामा समेट्ने बाटो अवलम्बन गर्नुपर्छ ।

“भूइँचालो आउँछ भन्ने थाहा हुँदाहुँदै घर बलियो बनाइएन भने, घर ढल्ने क्षणको मात्र पर्खाइ हुन्छ। कांग्रेस अहिले त्यही अवस्थामा छ।”

राणा-दरबार, राजदरबार, सिंहदरबार हल्लाएर आएको कांग्रेसको आफ्नै घर किन हल्लिरहेको छरु कांग्रेस किन आज आफ्नै घरभित्र शिथिल भएको छ भनेर पार्टीका प्रत्येक  सदस्यले खोजी गर्न जरुरी छ ।

अब नेपाली कांग्रेसका नेताहरुले गुटगत अहंकार त्याग्ने, आन्तरिक लोकतन्त्र व्यवहारमा लागू गर्ने, विचारभन्दा व्यक्ति ठूलो बन्न नदिने, र निष्ठावान् कार्यकर्तालाई पुनः अगाडि ल्याउने बाटो समातेमा कांग्रेस फेरि बलियो बन्नेछ, जनता–कार्यकर्तासँगको सम्बन्ध पुनः गाढा हुनेछ, र भविष्यको राजनीति फेरि कांग्रेसकै नेतृत्वमा अघि बढ्नेछ। संस्थागत सुधार, विचारको सुदृढीकरण, विधि र विधानमा आधारित निर्णय, र संगठनको एकताबद्ध सशक्तीकरण ९ यही हो अबको कांग्रेसको बाटो । अनिमात्र आउनेछ कांग्रेसमा संगठनको मजबुती , नेतृत्वमा स्पष्ट दिशा। 

जनतासँग सिधा सम्पर्क र  विचारमा नवीनता । 

(लेखक रत्न हरि ढुंगेल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।)

प्रकाशित: ७ चैत्र २०८१ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App