पछिल्लो सय वर्षको अवधिमा मानवीय सभ्यतामा धेरै परिवर्तन आयो। ग्रामीण भेगबाट सुखद भविष्यका लागि सहर बसाइँ सर्ने रफ्तार वृद्धि भयो। आयुर्विज्ञान अनुसन्धानले नवीनता हासिल गर्यो। दशकौँदेखि चुनौतीका रूपमा रहेको एचआइभी/एड्सलगायतका धेरै रोगलाई विज्ञानले जित्यो, महारोगको भरपर्दो ओखती बन्यो। जनजीवन नै अस्तव्यस्त पार्ने कोरोना भाइरसको खोप बन्न एक वर्ष पनि लागेन। जन्मँदै आनुवांशिक कैफियतसहित जन्मिएका बच्चालाई समेत जेनेटिक उपचारमार्फत निरोगी बनाउन सक्ने भयो औषधि विज्ञान।
त्यस्तै मुटु, कलेजो, मिर्गौला जस्ता शरीरका महत्वपूर्ण अंग काम नलाग्ने भए पनि ल्याब निर्मित तन्तु ट्रान्सप्लान्टमार्फत झन्डै पूर्ण जीवन बाँच्न सकिने भयो। सबैभन्दा क्लिष्ट मानिने तन्तु, मुटु खराब भए पनि ल्याब र्निमित अङ्गमार्फत व्यक्तिलाई बचाउन सक्ने अवस्थामा पुग्यो विज्ञान। अमेरिकी कम्पनी वाइभाकोरले टाइटेनिएम धातुबाट ल्याबमा बनाएको मुटुको सहारामा एक अस्ट्रेलियन नागरिक एक सय दिन पार गरेको खबर गत हप्ता सार्वजनिक भयो। अनि कृत्रिम मुटुको भरमा बाँचेको रोगीको अवस्था सामान्य रहेको जानकारी पनि आयो। देव निर्मित मुटुलाई मान्छेले बनाएको हार्टले प्रतिस्थापन गरेर विज्ञानले आफ्नो चमत्कार देखायो।
एक झमट गाउँ चाहार्दा हजुर पुस्ताबाट अहिलेको तप्कासम्म आइपुग्दा मानिसको शारीरिक बनोटमा धेरै परिवर्तन आएको देखिन्छ। अधिकांश घरमा हजुरबा/आमाभन्दा माता/पिता अग्ला देखिन्छन् भने बुबा/आमाभन्दा वर्तमान युवा/युवतीको कद ठूलो देखिन्छ। अत्यधिक काम र खान्कीको अभावमा थिचिएको हजुर पुस्ताको तुलनामा कम शारीरिक परिश्रम अनि सन्तुलित आहारमा हुर्किएका युवाहरूको कद ठूलो हुनु अस्वाभाविक होइन भन्ने ठानिन्थ्यो।
कम परिश्रम अनि अधिक खानाले व्यक्तिको शरीर विकासे बन्यो भन्ने सामान्य सोच हो। तर उक्त परम्परागत सोचलाई प्रकाशित अन्वेषणहरूले पृथक उत्तर दिए। नेपाल जस्तो खाद्यान्न अभाव र अत्यधिक परिश्रममा बाँच्न बाध्य भएका देशका नागरिक मात्र होइन, बरु पुस्तौँदेखि खानपिनको समस्यै नभएका संभ्रान्त पश्चिमा मुलुकमा पनि पुस्तान्तरणैपिच्छे नागरिकको उचाइ बढ्यो भन्ने आलेखको निष्कर्ष देखियो। नेपालमा देखिएको पुस्तैनी उचाइ वृद्धिको परिदृश्यलाई समर्थन हुने गरी सन् २०१६ मा जर्नल इ लाइफमा एक अध्ययन प्रकाशित भएको थियो। संसारका विभिन्न देशका नागरिकको उचाइसँग सम्बन्धित झण्डै १५ सय वैज्ञानिक आलेखहरूलाई उक्त बृहत् अध्ययनमा समेटिएको थियो।
सन् १८९६ देखि १९९६ बीचको एक सय वर्षको अवधिमा जन्मिएका संसारका विभिन्न देशका महिला र पुरुषको उचाइमा आएको थपघट नै अध्ययनको केन्द्रमा थियो। दक्षिण कोरियामा सन् १८९६ तिर जन्मिएका महिला निकै होचा थिए। सरदर चार फिट आठ इन्चका कोरियाली महिला त्यसबेला उचाइका आधारमा पुछारबाट तेस्रो स्थानमा थिए। तर एक सय वर्षको अन्तरालमा कोरियन महिलाको उचाइ धेरै बढ्यो। १९९६ मा जन्मिएका कोरियाली महिलाको सरदर उचाइ अहिले पाँच फिट चार इन्च छ।
एक सय वर्षअघि जन्मिएका कोरियनहरूले बाल कुपोषणको मार मात्र सहनु परेन बरु बच्चामै धेरै रोगव्याधी झेल्नुपर्यो। तत्कालीन गरिबीका कारण ख्याउटे र पिलन्धरे बालपन बेहोर्न बाध्य कोरियनले उचाइ हासिल गर्न सकेनन्। पछिल्लो समय दक्षिण कोरियाले आर्थिक उन्नति गर्यो, खाना पर्याप्त पाएपछि बच्चा हृष्टपुष्ट भए। स्वस्थ जीवनका कारण उनीहरूको सरदर आयु मात्र बढेन बरु उचाइसमेत बढ्यो। इ लाइफमा प्रकाशित उक्त आलेखले नेपाल, बाङ्लादेश, फिलिपिन्स, ग्वाटेमाला र टिमोरका महिला संसारकै सबैभन्दा होचा पायो।
पर्याप्त खान्की नपाएर मरन्च्यासे हुन बाध्य मुलुकका नागरिकले पर्याप्त भोजन पाउँदा कद ठूलो हुनु अस्वाभाविक भएन तर सम्पन्न देशका नागरिकको समेत पछिल्लो समय उचाइ बढेको देखियो। पहिलेदेखि नै ६ फिट अग्ला पश्चिमा मुलुक नेदरल्यान्ड्सका पुरुषको उचाइ पछिल्लो कालमा अझ बढेको देखिनुले मानिसको सालाखाला वजन कही जलवायु परिवर्तनले समुन्द्री सतह बढेझैँ भएको त होइन?
यसै वर्षको पूर्वार्धमा जर्नल बायोलोजी लेटर्समा एक अध्ययन प्रकाशित भयो। इटाली, अमेरिका र बेलायतका अनुसन्धानकर्ता संम्मिलित एक अन्वेषणले नेपाललगायत संसारका ६९ देशका हजारौँ नागरिकको उचाइ र तौललाई आधार मानेर विश्व स्वास्थ्य संगठन अनि वल्र्ड बैंकको आकडालाई पनि समेटेर गरिएको उक्त अनुसन्धानले पृथ्वीमा मानिसको सालाखाला उचाइ सालिन्दा बढ्दै गएको देख्यो। विभिन्न देशको तथ्यांकलाई पृथक पृथक विश्लेषण गर्दा पाइएको आकडा केही फरक भए पनि संसारमा प्रत्यक देशमा महिलाको तुलनामा पुरुषको उचाइ बढ्ने रफ्तार अधिक देखियो।
संसारको आकडालाई समेट्दा महिलाको औसत उचाइ प्रत्येक पाँच वर्षमा ०.२५ सेन्टिमिटर अनि त्यही अवधिमा पुरुषको सालाखाला उचाइ ०.६९ सेन्टिमिटरले बढेको देख्यो बायोलोजी लेटर्समा प्रकाशित उक्त आलेखले। खान्की तथा आनिबानी अनुकूल हुँदा मानिसको कद उचो हुनु अस्वाभाविक नभए पनि उचाइको सवालमा आखिर पुरुषले महिलाभन्दा किन अधिक लाभ लियो त भन्ने प्रश्न उठ्छ नै। पुरुषको उचाइ बढ्ने रफ्तार महिलाको भन्दा किन दुगुना बढी छ त भन्ने प्रश्नको एकिन जवाफ छैन।
जीव विकासको क्रममा बाँच्नका लागि संघर्ष गर्न मजबुत मर्दको अहम् भूमिका हुने हुँदा प्रकृतिले आनुवांशिकरूपले उक्त तागत युवालाई दियो भन्ने अनुसन्धानकर्ताको राय रह्यो। महिलाले सन्तान उत्पादनमार्पmत जीवको सन्तुलन कायम गर्न मद्दत पुर्याउने भएकाले स्त्रीको आनुवांशिक बनोटले महिलाको उचाइलाई प्राथमिकता नदिएको हुन सक्ने एक पक्षको राय छ। जे भए पनि असमान उचाइ बढ्ने रफ्तारका कारण आउँदो शताव्दीमा श्रीमान् र श्रीमतीको उचाइ भने निकै फरक हुने देखियो।
अन्वेषणले विश्वको सरदर उचाइ बढ्ने देखाए पनि केही मानिस अग्ला अनि कोही भने होचो हुन्छन् नै। आमा/बाबुको जिन बच्चामा सर्ने भए पनि अग्ला माता/पिताका सन्तति अग्लो नै हुन्छन् भन्ने छैन। अनि इच्छाअनुरूपको उचाइ आफ्ना सन्ततिले हासिल गर्ने पनि होइनन्। त्यस्तो अवस्थामा कस्ता कद भएका सन्ततिले भविष्यमा सफलता हासिल गर्न सक्छन् भन्ने कुराको महत्व हुन्छ नै।
अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयका अनुसन्धानकर्ताद्वय एन केस र क्रिस्टिना प्याक्सनले सन् २००९ मा जर्नल अफ पोलिटिकल इकोनोमिमा अग्लो कदले दिने आर्थिक लाभको चर्चा गरेका छन्। अग्लो मानिसलाई व्यापारिक जागिरमा पस्न र पदोन्नतिको अवसर अर्को समूहभन्दा अधिक रहने पाइयो। त्यसका अतिरिक्त प्रतिष्ठित कम्पनीहरूको समूह फच्र्युन फाइभ हन्डे«डका प्रमुख कार्यकारीको सरदर उचाइ ६ फिट देखियो भने साना मानिसले प्रमुख कार्यकारीको दायित्व पाउने सम्भावना कम रहेको उक्त लेखको निचोड थियो।
त्यस्तै बेलायती नागरिकलाई केन्द्रमा राखी गरिएको एक अध्ययनले अग्लो पुरुषको आम्दानी होचो व्यक्तिको तुलनामा प्रष्ट बढी भएको पायो भने उचाइले महिलाको कमाइलाई भने असर नपार्ने बेहोराको अन्वेषण सन् २०१६ मा ब्रिटिस मेडिकल जर्नल, बिएमजेमा प्रकाशित भएको थियो। सरदर उचाइ पाँच फिट नौ इन्च भएको अमेरिकाका राष्ट्रपतिको सालाखाला उचाइ भने ६ फिट देखिनु संयोग मात्र होइन बरु अग्ला मानिसलाई जनताले भरोसा गर्छन् भन्ने अमेरिकास्थित ड्युक युनिभर्सिटीको एक अध्ययनले देखायो।
उल्लिखित परिदृश्यहरूले अग्लो कद भएका मानिसमा पेसागत सफलताको सम्भाव्यता अधिक देखाए तापनि उचाइले व्यक्तिको बौद्धिकतालाई पनि बढावा दिन्छ वा समाजले अग्ला व्यक्तिलाई पत्याउँछ, त्यसको वैज्ञानिक उत्तर भने छैन। आयुर्विज्ञानको सफलता अनि मानिसको उचाइ बढ्ने प्रवृत्तिलाई ध्यान दिँदा अर्को शताव्दीमा अग्ला मानवको उपस्थिति मनग्य हुने सम्भाव्यता देखियो।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: ५ चैत्र २०८१ ०९:५७ मंगलबार