पश्चिम अफ्रिकामा अवस्थित बेनिनबारे नेपालमा त्यति धेरै जानकारी पनि छैन। मैले प्रसंगवस बेनिन जाने सिलसिलामा कुरा गर्दा मेरा धेरै विद्वान् साथीले पनि यो देशको बारेमा थाहै नभएको अभिव्यक्ति दिएका थिए। यस भनाइले मलाई यस देशबारे केही जानकारी गराउनु उपयुक्त लागेर यो लेख तयार गरेको हुँ।
मलाई स्विडेनको कोपनहेगनस्थित अन्तर्राष्ट्रिय विज्ञान संस्था (इन्टरनेसनल फाउन्डेसन फर साइन्स) ले आफ्नो ५० वर्षको अनुभव र भविष्यका युवा वैज्ञानिकहरूलाई अनुसन्धानको अवसर र चुनौतीबारे आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा विशेष वक्ताका रूपमा आमन्त्रित गरेको थियो।
उक्त अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन म यही २०८१ फागुन १० देखि १७ सम्म यो पश्चिम अफ्रिकी देशको सबैभन्दा ठूलो सहर कोटोनो पुगेको थिएँ। यो एक हप्तामा मैले छलफल गरेका विभिन्न विश्वविद्यालयका उपकुलपति, प्राध्यापक, विद्यार्थी, किसान, विकास साझेदार, व्यापारी र उच्च शिक्षा तथा अनुसन्धान मन्त्रीलगायत केही राजनीतिकर्मीसँगको छलफल, केही संस्थाको स्थलगत भ्रमण, लिखित दस्ताबेज र केही ग्रामीण क्षेत्रको अवलोकनका अनुभव यो लेखमा समावेश छ।
गोमन साँपको घाँटीसहितको टाउको जस्तो वा साँचो आकारको, १,१२,६२२ वर्ग किलोमिटर क्षेत्रफल र सन् २०२१ को जनगणनाअनुसार लगभग १ करोड ३० लाख जनसंख्या भएको यो सुन्दर देशको दक्षिणमा आन्ध्र (एट्लान्टिक) महासागर, पूर्वमा नाइजेरिया, उत्तरमा नाइजर र बुर्किनाफासो र पश्चिममा टोगो छन्। यो देशको उत्तर–दक्षिण ६७२ किलोमिटर र ३४२ किलोमिटर पूर्व–पश्चिम फैलिएको रहेछ।
यो देशमा बोलिने सरकारी भाषा फ्रेन्च तथा ५० भन्दा बढी स्थानीय भाषा भएको प्रजातान्त्रिक बहुदलीय प्रणाली अन्तर्गत कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरूप अवलम्बन गरेको रहेछ। यो देशको कुल जनसंख्यामध्ये ५२.२ प्रतिशत क्रिस्चियन, २४.६ प्रतिशत मुस्लिम, १७.९ प्रतिशत ट्रेडिसनालिस्ट र ५.३ प्रतिशतअन्य धर्मावलम्बी रहेछन् ।
नेपालमा यो देशबारे त्यति जानकारी नभए पनि पश्चिम अफ्रिकाका देश, जस्तै–घाना, नाइजर, नाइजेरिया, बेनिन, लिबिया, आइभेरिकोस्ट, माली, बुर्किनाफासो, गाम्बिया, टोगो, गिनिया, क्यामरुन, माउरितिनिया, सेनेगल लगायतमा यो देश राम्रैसँग प्रभाव छाड्न सफल रहेछ।
पश्चिम अफ्रिकाका १३ वटामध्ये बेनिनसहित आठ वटा देशले त मुद्रासमेत एउटै ‘फ््रयांक’ चलाएर र भिसा फ्रि गरेर एकीकृत हुँदै गएको रहेछ। यही कारण पनि यो देशको आर्थिक विकास दु्रत हुँदै जानमा सहयोगी भएको रहेछ। अर्को प्रमुख कारणमा एटलान्टिक महासागरको गल्फ अफ गुएनासँग जोडिएको कोटोनोको बन्दरगाहाले आर्थिक विकासमा ठूलो योगदान पुर्याएको रहेछ। यो देशबाट बढी निर्यात हुने वस्तुमा कपास, पाम आयल, नरिवल, काजु तथा सुन र पेट्रोलियम रहेछन्। मूलतःबढी निर्यात हुने देशमा युएई, बंगलादेश, टोगो, भारत र चीन रहेछन्।
राजनीतिकरूपमा पाँच क्षेत्रमा विभाजित बेनिनमा एउटा व्यक्ति २ पटक ५–५ वर्षका लागि राष्ट्रपति हुन पाउने, कार्यकारी राष्ट्रपतीय प्रणाली, ४ वर्षीय कार्यकालको एक सदनात्मक संसद्सहित बहुदलीय प्रणाली रहेछ। यो देश सन् १९६० को अगस्ट १ मा फ्रान्सेली उपनिवेशबाट मुक्त भई विभिन्न राजनीतिक उतारचढाव पार गर्दै १९९० को संविधानमार्फत प्रजातान्त्रिक अभ्यास संस्थागत गर्दै विकासमा द्रुत पाइला चाल्दै गरेको रहेछ। तर विकासमा अधिक क्षेत्रीय असमानता रहेकाले मानवीय विकास, गरिबी, वातावरणीय अवस्था, लैंगिक अवस्था जस्ता सूचकांकमा यो देश अझै तलै रहेछ।
एटलान्टिक महासागर तटीय क्षेत्रमा द्रुत गतिमा विकास भए पनि उत्तर, पश्चिम र पूर्व क्षेत्रमा विकास गति ज्यादै कमजोर रहेछ। खासगरी बेनिनको उत्तरी क्षेत्रका आटाकोरा, अलिबोरी जस्ता अत्याधिक कटन उत्पादन हुने र ऊर्वर कृषि भूमिमा केन्द्रीय सहेल क्षेत्रका देशहरू, खासगरी बुर्किनाफासो, नाइजर र नाइजेरियामा सक्रिय प्रभाव जमाएका हिंसात्मक समूहहरूका गतिविधि बेनिनको उत्तरी क्षेत्रमा बढ्दा यो देशको समतामूलक आर्थिक विकासमा ठूलो अवरोध पुगेको रहेछ किनकि यही क्षेत्रमा कटा जस्ता निर्यातजन्य कृषि उत्पादन अत्याधिक हुने रहेछ।
यहाँ सक्रिय रहेका पाँच वटै राजनीतिक दलले आफ्नो दलको नाम विकास वा समृद्धि झल्कने गरी राखेका रहेछन् र काम पनि त्यहीअनुरूप गर्दारहेछन्। हालसम्म चीनको ग्रेटवालपछि मानिसले बनाएको संसारकै सबैभन्दा दोस्रो लामो ‘बेनिन वाल’ नामले चिनिने पर्खाल पनि यहीँ रहेछ।
नवौँ शताब्दीदेखि सक्रिय राजतन्त्रात्मक रहेको दाहेमे भनेर त्यतिबेला चिनिने यो मुलुकमा इदो जातिका जनता आफ्ना राजासँग असन्तुष्ट भई १३औँ शताब्दीमा आइपुग्दा राजा नै अर्को फेरेर १९औँ शताब्दीसम्म स्वतन्त्ररूपमा चलेको राजतन्त्र सन् १९७२ मा फ्रान्सले उपनिवेश बनाएपछि अन्त भएको रहेछ। यो देश फ्रेन्च प्रोटेक्टिटेट (फ्रान्स अधीनस्त) भई सन् १९६० सम्म उपनिवेशका रूपमा रह्यो।
सन् १९६०मा उपनिवेशबाट मुक्त भएपछि ६ पटक (१९६३, १९६५, १९६७, १९६८, १९७०, १९७२) सम्म सैनिक कु भएको यो देशमा १९७२ मा शोभियत संघको सहयोगमा सैनिक मेजर माथियु केरेकुलेले कुबाटै कम्युनिस्ट शासन सुरु गरेका र पछि १९७५ मा देशको नाम फेरि जनवादी गणतन्त्र बेनिन बनाइएको थियो।
उता जर्मनीमा बर्लिन पर्खाल ढलेपछि कुरेकुले पनि अब बेनिन राज्यको वैचारिक मार्गदर्शन माक्र्सवाद लेनिनवाद नरहने घोषणा गरेका रहेछन्। सन् १९९० देश बहुदलीय प्रणालीमा रूपान्तरण भई १९९१ को निर्वाचनबाट सैनिक राष्ट्रपतिलाई आफ्नै क्याबिनेट मन्त्रीले हराइ सैनिक शासनको अन्त्य र लोकतान्त्रिक प्रणालीको सुरुवात भएको रहेछ ।
सन् १९९१ पछि भने बेनिनले खासगरी महासागर तटीय क्षेत्रमा आर्थिक विकासमा आशा लाग्दो प्रगति गरेको रहेछ। कृषि प्रमुख आर्थिक आधार रहेको यो देशमा पोर्ट अफ कोटोनोमा भएको पूर्वाधार विकास, टेक्सटायल र पेय पदार्थसम्बन्धी उद्योगहरू स्थापना जस्ता गतिविधिका कारण वार्षिक ६.३ प्रतिशतभन्दा बढी आर्थिक विकास गरिरहेको रहेछ जुन पश्चिम अफ्रिकाकै तीव्र वृद्धि दर मानिँदो रहेछ।
कपास, तरुल, याम र पाम आयललगायतका कृषि उपजले आर्थिक विकासमा प्रमुख योगदान गरेका रहेछन्। खनिज पदार्थ तथा धातुजन्य वस्तुहरूमा सुन, चुनढुंगा,फस्फेट, मार्बल, टान्टालुम, प्राकृतिक ग्यास, तेल रहेछन्। यो क्षेत्रमा विदेशी लगानीमा पेय उद्योग र टेक्सटायलका उद्योगहरू उल्लेख्य मात्रामा विकास भइरहेका रहेछन्।
अफ्रिकाको क्षेत्रीय व्यापारको केन्द्रविन्दु रहेको कोटोनोको बन्दरगाहाले ठूलो आर्थिक लाभ दिइरहेको छ। अरू विकासोन्मुख देशका जस्तै गरिबी, जलवायु परिवर्तनका नकारात्मक असर, क्षेत्रीय परनिर्भरता जस्ता समस्या रहे पनि सुशासन, सेवा प्रवाह जस्ता क्षेत्रमा यो देशले पछिल्लो समय उल्लेख्य उपलब्धि हासिल गरेको रहेछ।
प्रकाशित: २३ फाल्गुन २०८१ ०८:३० शुक्रबार