३१ चैत्र २०८१ आइतबार
image/svg+xml ४:४२ पूर्वाह्न
विचार

बिदा, बिदा, कति बिदा!

‘बिदा, बिदा, कति बिदा!’

एउटा सरकारी कार्यालयमा एक जना सेवाग्राही आक्रोश पोख्दै थिए। जरुरी कामले आएका सेवाग्राहीको काम त्यो दिन सकिएको थिएन। भोलिपल्ट बिदा भन्ने थाहा पाएर निज सेवाग्राही त्यसरी आक्रोशित भएका थिए।

हुन पनि नेपालमा अलि धेरै नै सरकारी बिदा छन्। धार्मिक तथा सांस्कृतिक पर्व र अन्य विशेष दिवसहरूमा समेत बिदा दिने परम्पराले नेपालमा सरकारी बिदाको संख्या अलि बढी छ। नियमतः कर्मचारीले पाउने वर्षको सरदर ५२ दिनको शनिबारे बिदाबाहेक पनि धार्मिक तथा सांस्कृतिक पर्व र अन्य विशेष दिवसहरू र जन्मजयन्ती समेतमा दिइने सरकारी बिदाले कर्मचारीको कार्यदिन कम हुने गरेको छ। बढी सरकारी बिदाले राष्ट्रिय उत्पादन वृद्धिमा समेत असर परेको छ।

राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार २०८१ सालमा ५३ दिन शनिबारबाहेक ३५ दिन सरकारी बिदा परेको छ। जसअनुसार २७ दिन पर्व बिदा, ६ दिन दिवसको बिदा र दुई दिन जन्मजयन्तीको बिदा परेको छ। यसरी घोषित र अघोषित अर्थात् भैपरी आउने बिदासमेत गरी वर्षमा झन्डै एक सय दिन बिदामा बस्ने कर्मचारीको कार्यसम्पादन कसरी प्रभावकारी हुनसक्छ ? काम गरेर भन्दा बिदा मनाएर तलबसुविधा खाने कर्मचारीबाट कसरी देश विकासमा योगदान हुनसक्छ ? अनि कसरी सेवाग्राहीले सहजरूपमा नियमित सेवा पाउन सक्छन् ?

धेरै सरकारी बिदाले गर्दा सरकारी सेवाप्रवाह निकै प्रभावित हुने गरेको छ। सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसक्ने र सेवा पाउनकै लागि सेवाग्राहीले अतिरिक्त दिन पर्खिनुपर्ने र अतिरिक्त खर्च बेहोर्नुपर्ने हुँदा सेवाको लागतसमेत बढ्ने गरेको छ। कार्यदिनमा पनि बिदाको दिनको गफ चुटेर समय व्यतीत गर्ने कर्मचारीतन्त्रको प्रवृत्तिबाट सेवाग्राही अनभिज्ञ छैनन्। कर्मचारीतन्त्रको कामचोर र भ्रष्टाचारी मनोवृत्तिबाट हायलकायल भएका सेवाग्राही यस्ता सरकारी बिदाकै कारण थप प्रताडित छन्।

अधिक सरकारी बिदाकै कारण सेवाग्राहीले हैरानी खेप्नुपर्ने, सेवाग्राहीको अमूल्य समयको बरबादी र त्यस्तै अमूल्य अवसरहरूसमेत गुम्ने सम्भावनाले गर्दा सरकारी बिदाकै कारण सेवाग्राहीले मानसिक तनाव भोग्नुका साथै आर्थिक क्षतिसमेत बेहोर्नुपर्ने हुन्छ।

विशेषगरी वैदेशिक रोजगारीमा जान लागेका, विदेशमा अध्ययनका लागि जान लागेका, विदेश भ्रमणमा जान लागेका, विभिन्न परीक्षाहरूमा सामेल हुन चाहेका वा प्रतिस्पर्धामा सहभागी हुन चाहेका सेवाग्राहीहरूले अधिक सरकारी बिदा अथवा अकस्मात् भैपरी आउने सरकारी बिदाले गर्दा सेवा पाउन नसक्दा अथवा सरकारी प्रक्रिया पूरा नहुँदा मानसिक तनाव भोग्नुका साथै अमूल्य अवसर गुमाउनुपर्ने र आर्थिक क्षतिसमेत बेहोर्नुपर्ने हुन्छ। धेरै सेवाग्राहीले यस्तो समस्या भोगिसकेका छन् र अहिले पनि भोगिरहेका छन्। यस्तो समस्या आफूलाई पर्दा मात्रै थाहा हुने हो। अनि त्यस्तो समस्याले कति पीडा हुन्छ र कति तनाव दिन्छ भन्ने कुरा पनि आफूलाई परेपछि मात्रै थाहा हुने हो।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था लागु भइसकेको छ। यो व्यवस्थाले नागरिकलाई केही हदसम्म लोकतान्त्रिक व्यवस्थाअनुसारको स्वतन्त्रता पनि प्रदान गरेको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष मुलुक बनिसकेको छ। यस्तो अवस्थामा विभिन्न जातजाति र धार्मिक सम्प्रदायले आफ्नो इच्छा र आस्थाअनुसारको धर्मलाई अवलम्बन गर्ने अवसर पाएका छन्।

कुनै एक धर्मावलम्बीलाई अर्को धर्मावलम्बीले धर्मकै आधारमा अनादर गर्ने अथवा हस्तक्षेप गर्न नपाउने व्यवस्था कानुनले गरेको छ। यस्तै एक जातिलाई अर्को जातिले जातकै आधारमा विभेद गर्न नपाउने व्यवस्था पनि कानुनमा भइसकेको छ। यस्तो अवस्थामा कुनै पनि जातिलाई आफ्नो धर्म र संस्कृतिअनुसार धार्मिक वा सांस्कृतिक उत्सव मनाउने स्वतन्त्रता संविधानले नै प्रदान गरेको छ। संविधानप्रदत्त अधिकारलाई कुण्ठित पार्ने अधिकार कसैलाई पनि छैन। अतः अरू जाति वा धर्मलाई अनादर नगरी आफ्नो जाति वा धर्मअनुसार धार्मिक वा सांस्कृतिक उत्सव मनाउने स्वतन्त्रता सबै नागरिकलाई छ। यस्तो अवस्थामा कुनै नागरिकले अरूको धर्म, संस्कृति र परम्परालाई अनादर नगरी आफ्नै धर्म, संस्कृति र परम्परालाई मात्रै अनुशरण गर्न पाउँछ।

नागरिकलाई संविधानप्रदत्त धार्मिक र सांस्कृतिक स्वतन्त्रता छ भने सबै जाति, सम्प्रदाय र धर्मावलम्बीले सबै धर्म, संस्कृति र परम्परालाई अपनाउँछन् अथवा अपनाउनुपर्छ भन्ने बाध्यकारी नियम हुँदैन। यो अवस्थामा कुनै एक धर्मावलम्बीले पाएको बिदा अर्को धर्मावलम्बीलाई आवश्यक नहुन पनि सक्छ। उसले चाहेमा त्यो दिनमा उसले आफ्नो नियमित काम, कर्तव्य र दायित्व निर्वाह गर्न पाउनुपर्छ अथवा उसलाई आफ्नो नियमित काम, कर्तव्य र दायित्व निर्वाह गर्न लगाउने व्यवस्था हुनुपर्छ। यस्तो व्यवस्था भयो भने सेवाग्राहीको निर्वाध सेवा पाउने अधिकार पनि कुण्ठित हुन पाउँदैन।

दसैं नमनाउनेलाई दसैं बिदाको के औचित्य ? तिहार नमनाउनेलाई तिहार बिदाको के औचित्य? छठ नमान्नेलाई छठको बिदाको के औचित्य? इद नमान्नेलाई इद बिदाको के औचित्य? ल्होसार नमान्नेलाई ल्होसार बिदाको के औचित्य? गाईजात्रा अथवा इन्द्रजात्रा नमान्नेलाई त्यस्तो बिदाको के औचित्य?

यसरी औचित्य नै नखुल्नेगरी बिदा दिएर समयको बरबादी गरेर सेवाग्राहीको निर्वाध रूपमा सहज सेवा पाउने अधिकारलाई किन कुण्ठित पार्ने?

सरकारी बिदा घटाउन बिदामा पनि विकल्पको व्यवस्था गरेर बिदा रोज्ने स्वैच्छिक अवसर दिनु उचित हुनेछ। विशेषगरी पर्व बिदालाई स्वेच्छिक गर्न सकिन्छ। जोजससँग सम्बन्धित छ, उसलाई मात्र बिदा दिने गरे वर्षैभरि सरकारी सेवाप्रवाहलाई नियमित बनाउन सकिन्छ। कसैले कम र कसैले धेरै बिदा पाउने अवस्था आए वर्षमा कति दिन पर्व बिदा दिने भनेर निश्चित गर्न सकिन्छ।

शनिबारबाहेकका अरू बिदालाई सरकारी बिदा नभनी वैकल्पिक बिदा मानेर सम्बन्धित धर्म, संस्कृति र परम्पराका कर्मचारीलाई मात्रै बिदा बस्ने सुविधा दिएर अरू कर्मचारीलाई कार्यालयमा उपस्थित हुनुपर्ने विकल्पसहितको व्यवस्था गर्नसके शनिबारबाहेकका अरू बिदामा झन्डै आधा कटौती गर्न सकिन्छ। यसबाट सेवाग्राहीले सहज सेवा पाउनुका साथै देश पनि आर्थिक रूपमा लाभान्वित हुनेछ। अल्पसंख्यक जाति, समुदाय र संस्कृतिका नागरिकले विभेदको अनुभूति पनि गर्नुपर्ने छैन। थोरै बिदा र धेरै कार्यदिनले गर्दा कार्यसम्पादनको समय वृद्धि भई कर्मचारीको उत्पादकत्व वृद्धि हुनेछ भने राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पर्नेछ। यसबाट देशलाई आर्थिक लाभ हुनेछ।

प्रकाशित: ८ फाल्गुन २०८१ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App