२ वैशाख २०८२ मंगलबार
image/svg+xml २०:१२ अपराह्न
विचार

अब सरकारी होइन राष्ट्रिय सञ्चार माध्यम

झन्डै दूई दशक पहिलेदेखिका औपचारिक/अनौपचारिक चर्चा र बहसहरू टुङ्गिएर २०८१ असोज २३ देखि सार्वजनिक सेवा प्रशारण (सासेप्र)  नीति लागु भएको छ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै प्रशारण नीतिअन्तर्गत आबद्ध गरी नेपाली जनताको आवाज, आवश्यकता र आकांक्षालाई सरकारसमक्ष पुर्‍याउँदै अनि सरकारका कामकारबाही, दृष्टिकोण, जिम्मेवारी, सूचना एवं सार्वजनिक गतिविधिबारे जनतालाई सुसूचित गराउने स्वतन्त्र, विस्तारित र मुलुककेन्द्रित राष्ट्रिय प्रशारण नीति सार्वजनिक सेवा प्रशारण नीतिको ध्येय हो। यसअघि हुने गरेका चर्चा र बहस बढी दुवै गृहका वार्षिकोत्सवहरूका अवसरमा गुन्जिथ्यो। अब भने ती चर्चा र बहसहरूले नीतिगत तहमा सार्थकता प्राप्त गरेका छन्।

हुन त रेडियो नेपाल (२००७ चैत २०) र नेपाल टेलिभिजन (२०४१ माघ १७) सार्वजनिक प्रशारण संस्थाकै रूपमा सरकारी पहलमा स्थापना गरिएका सञ्चार संस्था हुन्। सरकारी अग्रसरतामा स्थापित संस्थामा सरकारको अंकुश लाग्ने नै भयो। कुनै पनि संस्थाको सञ्चालन नीति, विधि र कार्य प्रणालीमा समय अनुसार परिवर्तन, परिमार्जन भइरहन्छ। अनि मात्र संस्था जीवित र गतिशील रहन्छ। दुवै संस्थाले आधुनिक विद्युतीय सञ्चार जगत्मा नेपाललाई श्रव्य अनि श्रव्य–दृश्यको युगमा प्रवेश गराए। दुवै संस्थाका स्थापनाकालको अन्तर लामो छ।

रेडियो नेपालको स्थापना ऐतिहासिक जनक्रान्ति २००७ को पृष्ठभूमिमा भएको थियो भने विश्व समुदाय टेलिभिजन युगमा निकै अगाडि बढिसकेको पृष्ठभूमिमा समयको मागलाई स्वीकार गर्दै जाने आवश्यकताबोध गरी २०४१ सालमा नेपाल टेलिभिजन स्थापना गरियो। दुवैले नेपालीलाई आआफ्नै प्रविधिगत विशेषता र नवीनताका साथ सूचना, सञ्चार, शिक्षा र मनोरञ्जन प्रदान गर्न अग्रणी भूमिका खेल्दै आएका हुन्।

 आमजनताका आकांक्षा समयसँगै बढ्दै जानु स्वाभाविक छ। ती आकांक्षालाई अझ विस्तारित र स्वतन्त्र ढंगले पूरा गर्दै जान रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रशारणको नीतिले अब चुनौतीपूर्ण अवसर प्रदान गरेको छ।  

दुवै संस्थालाई सार्वजनिक प्रशारण संस्था हुँदाहुँदै पनि सरकारी सञ्चार माध्यमका रूपमा लिइयो, बुझियो र प्रयोग पनि भयो। यद्यपि दुवै संस्थामा अब सरकारको बिल्कुलै सरोकार नरहने भन्ने होइन। संस्थाहरूको मूल्यांकन, अनुगमन, नियमन, निर्देशन गर्न विज्ञहरूको एउटा परिषद् रहने व्यवस्था भएअनुसार त्यसले कार्यारम्भ गर्न थालेको देखिन्छ।

अब सरकारी सञ्चार माध्यम र सरकारी सञ्चार गृहको संकुचनबाट मुक्त भएर दुवै संस्थाले राष्ट्रिय सञ्चार गृह र राष्ट्रिय सञ्चार माध्यम बन्न सक्ने नीतिगत आधारशीला तय भएको बुझिन्छ। ‘राष्ट्रिय’ भन्ने बित्तिकै प्रशारित विषयवस्तु, शैली, सहभागिता, सरोकार, सान्दर्भिकता, तथ्यपरकता, अनुसन्धानात्मकता, जनअभिरुचि आदिका हिसाबले सरकारपक्षीय सन्तुष्टिलाई भन्दा बढी आमजनपक्षीय सन्तुष्टिलाई केन्द्रमा राखेर कार्यक्रमहरूको उत्पादन र प्रशारण गर्ने राष्ट्रिय दृष्टिकोण र सोअनुसारको जिम्मेवारीबोधपूर्ण कार्य भन्ने बुझिन्छ।

‘राष्ट्रिय’ भित्र पहिले सरकारमाथि पर्ने र पारिने अभ्यास थियो अब पहिले आमनागरिक रहन सक्नेछन् वा सम्बोधित हुन सक्नेछन्, अनि त्यसपछि मात्र सरकारका आदेश र निर्देशहरू। सरकार पनि जनताकै निम्ति हुने भएकाले सरकारले गरेका जनकेन्द्रित कार्यहरू, तिनका प्रभाव र परिणामहरूबारे सुसूचित गराउने दायित्वलाई नजरअन्दाज गर्ने भन्ने त रहँदैन नै।

सरकार वा राज्यलाई जनस्तरमा पुग्न जिम्मेवार बनाउने र जनताका सामाजिक, आर्थिक, सांस्कृतिक विकास एवं समृद्धिका अभिलाषाहरूलाई प्रस्फुटित गराउन सम्पर्क सेतुका रूपमा सार्वजनिक सेवा प्रशारण संस्थाको दायित्व रहने स्पष्ट छ। यसका निम्ति सेवा प्रशारण संस्था र सरकार दुवै पक्षको भूमिका उत्तिकै सशक्त हुनु जरुरी छ।

प्रशारण सेवाप्रदायक दुवै संस्थाहरूको भूमिका पहिलेको भन्दा अब फराकिलो हुनेमा विश्वस्त हुन सकिन्छ। दुवै संस्थाको केन्द्रविन्दुमा मुलुक वा राष्ट्र अर्थात् जनता हुनुपर्छ। यो सर्वोपरि सिद्धान्तकै रूपमा रहनुपर्नेमा दुई मत हुँदैन। मुलुक आफैँमा विविधतापूर्ण रहन्छ।

भौगोलिक क्षेत्र, सामाजिक, सांस्कृतिक, जातीय एवं भाषिकतवरले विविधताका अनेकाैं आयामहरूमा पल्लवित हुँदै गतिशील रहेको नेपाली समाजलाई झन् कसिलो, पोषिलो बनाउँदै लैजान प्रशारण संस्थाहरू आर्थिक, हिसाबले सबल, प्राविधिक हिसाबले सक्षम र पर्याप्त दक्ष जनशक्तियुक्त हुनु र रहनु  अनिवार्य छ।

दुवै संस्थामा यसबेला मुख्य चुनौतीका रूपमा रहेको यो पक्ष आधारभूत पूर्वाधारको विषय हो। यस निम्ति सरकारको प्रचुर लगानी अनिवार्य देखिन्छ। सार्वजनिक सेवा प्रशारणको रथलाई सुगमतापूर्वक गुडाउन आर्थिक सबलता, अत्याधुनिक उपकरणीय व्यवस्थापन र उच्च जनशक्ति सामथ्र्य प्रथम तीन सर्त हुन्। रथको चालक वा नेतृत्वको सबल भूमिकाको परख अनि मात्र गर्न सकिन्छ।

उल्लिखित तीन मूलभूत पक्षमा सुनिश्चिन्त रहने स्थिति तर्जुमा भएपछि सेवा प्रशारण संस्थाहरूले आआफ्नो जिम्मेवारी पूर्ण क्षमताका साथ अघि बढाउन सक्छन्। जिम्मेवारीका क्षेत्रहरू बहुमुखी अर्थात् बहुआयामिक छन्। ती बढ्दै जान्छन्। ती क्षेत्रहरूको आधारभूमि भनेको नेपाली  समाज हो।

विगतमा यिनै प्रशारण संस्थाहरूद्वारा स्पर्श नगरिएका सामाजिक सांस्कृतिक धड्कनहरू अब ब्युँझन थालेका छन्। ती सुसाइ, सुस्केरा र आँसु हाँसोलाई सम्बोधन गरी सबैले सुन्ने र देखिने गरी बनाउने समय अब आएको छ। जनसाङ्ख्किय हिसाबले अल्पसङ्ख्यकहरूका स्वरहरू समेट्न धेरै बाँकी छ। सबै क्षेत्र, जाति, भाषा, लिङ्ग, पेसा, वर्ण, साहित्य, संस्कृतिको अस्तित्व, अवस्था र आकांक्षा उद्बोधन हुनुपर्छ।

नेपाल राष्ट्र भनेकै विविधताभित्र मुस्कुराइरहेको पारस्परिक हार्दिकता, सहअस्तित्व र सहिष्णुताको जगमा निर्मित आमनेपाली जनताको धड्कन हो। त्यसलाई नै आफ्नो कर्तव्य र जिम्मेवारीको मूल मन्त्र बनाएर कार्यक्रमहरूको उत्पादन÷प्रशारण गर्ने अग्रसरता लिने संस्थाको हैसियतामा सासेप्र नेपालले आफूलाई खरो उतार्न सक्नुपर्छ।

यस गम्भीर र चुनौतीपूर्ण जिम्मेवारी बहन गर्न सीमित विज्ञापनलाई आधार मानेर सम्भव देखिँदैन। समय बिक्री गरेर निर्मित आर्थिक हैसियतले सेवाप्रदायक संस्थाहरूको प्रवद्र्धन हुन सक्दैन। रेडियो नेपाल र नेपाल टेलिभिजनले विज्ञापन र समय बिक्रीबाट आर्जित न्यूनतम आयस्रोतमा मात्र भर पर्ने बाध्यताबाट माथि उठेर राष्ट्रकेन्द्रित हुन राज्यले दीर्घकालीनतवरमा टेवा दिइरहनुपर्ने आवश्यकता देखिन्छ। नत्र नाम मात्रको सासेप्र भन्ने हुन्छ। व्यापारीको विज्ञापन प्रशारण गर्ने उद्देश्य आफ्नै व्यापार र बजार बिस्तार गर्ने हो।

यी प्राथमिक जिम्मेवारीका आयामहरूलाई सम्बोधन गर्न सक्षम भएपछि ‘नेपालबाहिरको नेपाल’ लाई सम्बोधन गर्न सासेप्र अग्रसर हुनुपर्छ। विश्वभरि छरिएर रहेका नेपाली कान र आँखा नेपाललाई नै सुन्न र देख्न चाहन्छन्। तिनीहरूसम्म पुग्न राष्ट्रिय प्रशारणका निश्चित स्लटहरू नियमितरूपमा छुट्याए पुग्छ। एप र वेबसाइटका विकल्प भनेका न्यूनतम मात्र हुन्।

अर्कातिर, नेपाली रहे/बसेका क्लस्टर क्षेत्रहरू पहिल्याएर रेडियो नेपाल र नेपाल टेलिभिजन उहीँ पुग्नुपर्छ, रिपोर्टिङ्ग गर्नुपर्छ, कार्यक्रम बनाउनुपर्छ। भविष्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनका अन्तरदेशीय कार्यक्रम उत्पादन केन्द्रहरू खोल्नेतर्फ सोच्नुपर्छ। विदेशिएका नेपालीलाई नेपालप्रति अपनत्व जगाइराख्ने उपाय यही नै हो। यो जिम्मेवारी पनि सासेप्र नेपालकै हो।

सञ्चार जगत्मा बाढीझैँ बगिरहेको सामाजिक सञ्जालको लोकप्रियता, इन्टरनेट, स्मार्टफोन, टेलिभिजन, यातायात सुविधा लगायतका कारण संसार कहीँ र कसैका लागि पनि टाढा र अपरिचित रहेन। तर आफ्नै घर परिवार, सामाजिक सांस्कृतिक सम्बन्धबाट भने हामी एकापसमा टाढिँदै पनि गएका छौँ। नयाँ पुस्ता यी सबै सम्बन्ध र तीभित्रको न्यानोपनबाट अलग्गिँदै गएको छ। त्यसबाट नयाँ पुस्तालाई आफ्नोपनतर्फ फर्किन सघाउ पुग्ने कार्यक्रमहरूको खाँचो छ। सासेप्र नेपालले यस यथार्थलाई सम्बोधन गर्न सक्नुपर्छ।

नेपालको मौलिक संस्कृति, स्वाभिमान र राष्ट्रिय भावनालाई प्रभावकारी कार्यक्रमहरूमार्फत् जगेर्ना, प्रवद्र्धन र सम्वद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दायित्व पनि सासेप्र नेपालको हो, हुनुपर्छ। नेपालको सांस्कृतिक मौलिकता र यसको सुगन्धलाई वैश्विक पुँजीवादी सांस्कृतिक कोलाहलले छोप्दै गएको छ। त्यसबाट आफ्नो सांस्कृतिक अस्तित्व र नेपालीपनलाई जोगाउन सासेप्रले सर्वाधिक भूमिका खेल्न सक्छ।

यस्तै, नेपालको पर्यटकीय क्षेत्रका प्रचुर सम्भावनाहरूलाई विश्व पर्यटन बजारमा पुर्‍याउने दायित्वबाट पनि सासेप्र नेपाल अलग्गिन सक्दैन। प्राकृतिक सम्पदाका साथै नेपालका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरू पर्यटकीय आकर्षणका मूल आधार हुन्। यी सम्पदाहरूबारे कार्यक्रम बनाउन सकिने सम्भावना अनन्त छ।

अहिलेसम्म सघनरूपमा यी क्षेत्रका कार्यक्रमहरूको उत्पादन र प्रशारण भएको छैन। अब बेला भएको छ। नेपाली समाजको समग्र मौलिक सांस्कृतिकपन सर्वत्र यन्त्रमय, जीवनरहित र क्षयोन्मुख बन्दै गइरहेको छ। यसबाट जोगाउन जनचेतना अभिवृद्धि गराउनुपर्ने प्रमुख दायित्वबोध सासेप्र नेपालको हुनुपर्छ। आफ्नो मौलिकताबाट क्रमशः टाढिँदै गएको नेपाली समाजको प्रवृतिलाई डोर्‍याएर आफ्नो सांस्कृतिक चेत र संस्कारभित्र  रमाउँदै ‘नेपाली’ बनेर विश्वलाई नियाल्न र चियाउन सिकाउने दायित्वबाट सासेप्र नेपाल पर रहनुहुँदैन।

मुलुकमा नियमित हुने गरेका सामाजिक आर्थिक गतिविधि विकास निर्माणका महत्त्वपूर्ण कार्यहरूको ‘कभरेज’ त सामान्यतः भइरहेकै पनि छ। वैश्विक समस्याका रूपमा देखिएको जलवायु परिवर्तनका नकारात्मक प्रभावका कारण उत्पन्न मानवीय एवं प्राकृतिक समस्याहरूबाट जोगिन सन्देशमूलक कार्यक्रमहरू नियमितरूपमा उत्पादन/प्रशारण गर्नु रेडियो नेपाल र नेपाल टेलिभिजनको अर्को गहन दायित्व छँदैछ।

प्रशारण संस्थाहरूलाई विषयवस्तुको अभाव कहिल्यै हुँदैन। नेपाल र नेपालीको समष्टिगत ध्वनि, अवस्था र अस्तित्वलाई आँखामा राखेर सार्वजनिक सेवा प्रशारण नेपाल बलियो र दिगो पाइला चाल्न सकोस्। सार्वजनिक सेवा प्रशारण नेपालको एक प्रमुख हात नेपाल टेलिभिजनको ४१आँै वार्षिकोत्सवका अवसरमा शुभकामना।  

प्रकाशित: १७ माघ २०८१ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App