यो कुनै पनि मानव समाजको स्वतन्त्र रोजाइ हो, भरपुर ताकत प्रदर्शित गर्ने या यौनिक स्वतन्त्रतामै आनन्दित हुने। प्रमाण यो छ कि यी दुवै एकसाथ एक पिँढीभन्दा बढी समयसम्म रहन सक्दैनन्।
-जेडी अनविन
ब्रिटिस मानवशास्त्री तथा समाजशास्त्री जोसेफ ड्यानियल अनविनले ८६ विभिन्न संस्कृति र सभ्यता (८० प्राचीन जाति र ६ मुख्य सभ्यताहरू -सुमेरियन, बेबिलोनियन, इजिप्सियन, रोमन आदि ) को विश्लेषणात्मक अध्ययनपश्चात सन् १९३४ मा सेक्स एन्ड कल्चर पुस्तक प्रकाशित गरे।
इतिहासमा उल्लिखित पाँच हजार वर्षदेखिका विविध समाज, त्यसका सभ्यताहरू, आदिवासी संस्कृति, आधुनिक राष्ट्रहरू आदिको समीक्षा गर्दै त्यसका तथ्य र तथ्याङ्कहरूलाई एकीकृत गरेर यौनिक संयमता/ स्वतन्त्रता र ती सभ्यताको सांस्कृतिक र सामाजिक उपलब्धिलाई अध्ययनको प्रमुख केन्द्रमा राखे। उनले यौनिक आचार, संस्कृतिको विकास र सभ्यताको उत्थान र पतनका बीचमा गहिरो सहसम्बन्ध रहेको तथ्य र प्रमाणहरू प्रस्तुत गरे र यौनिक अभ्यास र व्यवहारको प्रभाव सामाजिक उन्नति, संगठन र स्थायित्वमा पर्ने कुरा दर्शाए।
यौन संयमताको आधारमा समाजलाई चार भागमा वर्गीकृत गरे। पहिलो जुओस्टिक (ती समाजहरू जहाँ पूर्व–विवाह कुनै संयम नभएको), दोस्रो मानिस्टिक (त्यो समाज जहाँ पूर्व–विवाह सीमित संयम र मृतकसँग सम्बन्धित प्रथाहरू भएको), तेस्रो देइस्टिक (ती समाजहरू जो पूर्व–विवाह संयम अभ्यास गर्ने र मन्दिर र पुजारीहरू भएको) र चौथो र्यासनलिस्टिक (ती समाजहरू जो पर्याप्त समयसम्म देइस्टिक अवस्थामा रहेर ब्रह्माण्डको तर्कसंगत/ विवेकशील समझ र आचारको औपचारिक प्रणाली विकसित भएको र ती संस्कृतिमा उन्नत बौद्धिकता, कलाकारिता र सामाजिक उपलब्धिहरू देखिनुका साथै तर्कवाद/ विवेकशीलता र दर्शनले सामाजिक संगठनमा अहम् भूमिका निर्वाह गरेको) छन्।
उदार प्रजातन्त्रमा ‘एक पुरुष एक महिला’ विवाह मात्रै अस्तित्वमा रहन कठिन हुँदै गएको परिवेश छ तर एक मात्र वैवाहिक दाम्पत्यले विशेष मूल्य मान्यता राख्नुका साथै समाजमा परिवार व्यवस्था मजबुत हुन्छ भन्ने तर्क अनविनको छ। एउटा जीवनका लागि एक पुरुष र एक महिलाबीचको यौनिक सम्बन्धले मात्र स्थापित संस्कृतिलाई मर्न दिँदैन र सभ्यतालाई दरिलो बनाउँदै लैजान्छ।
विवाहअघिको वा इतरको यौनिक सम्बन्धले समाज मात्र विकृत हुँदैन कि अन्ततोगत्वा तीन पुस्ता/पिँढी (लगभग एक सय वर्ष) पछि मानि÷चलिआएको संस्कृति/सभ्यतासमेत ध्वस्त हुन पुग्छ। अनैतिक यौनिक आचार तथा सम्बन्धहरूका नकारात्मक प्रभावले वर्षौँ वर्षका सभ्यताहरू स्खलित हुँदै गरेको ऐतिहासिक प्रमाणहरू अनविनले उल्लेख गरेका छन्।
सामाजिक सहसम्बन्धका रेसाहरूलाई जीवित राख्नका लागि महिलाको भूमिका अझ अहम् हुनाले विवाहअघि यौनिक व्यवहारबाट टाढै बस्नु र विवाहपश्चात एकअर्काप्रतिको निष्ठा र समर्पण ओजिलो हुनुपर्ने भनौँ जीवनपर्यन्त ‘एक पुरुष, एक महिला: एक दाम्पत्य जीवन’ अनिवार्य रहेको बताउँछन्।
मानवमा रहेको बौद्धिकता एवं विवेकशीलता अझ भनौँ प्रचुर सम्भावनालाई सकारात्मक कार्य र सिर्जनशीलतामा लागिपर्न बेलगाम यौनिक आचारले द्रुत दरमा विमुख गराउँदै लाने उनी बताउँछन्।
१९औँ शताब्दीको सुरुवातदेखि भएका महिलावादी आन्दोलनहरूले क्रमशः पुरुषसरह महिलाका समानता/समताका हक अधिकारहरू स्थापित हुँदै जाँदा सम्बन्ध विच्छेद तथा बहुपति/पत्नी (विच्छेदपश्चात हुने सम्बन्ध तथा बिहाबारी) जस्ता कार्य सहज कानुनी तथा सामाजिक पद्धति बन्न पुगेको देखिन्छ।
फलस्वरूप एक दाम्पत्य जीवन (एक पुरुष र एक महिला आजीवन साथ रहने) को यौनिक आचारको परम्परागत पवित्रतामाथि आधुनिक उदारताले ओगट्दै लाँदा यौन विकृतिका घटनाहरू बढ्न पुग्ने अनविनको मान्यता छ। जब समाजमा यौन अनुशासन समाप्त हुन्छ भनौँ यौन स्वतन्त्रताको कुनै सीमा हुँदैन त्यस समाजमा अराजकता एवं अस्थिरता (पारिवारिक ढाँचाको विघटन, सामाजिक जिम्मेवारीमा कमी आदि) उच्च हुँदै जानाले त्यसको समृद्धि नासिन्छ र अन्ततः पतन उन्मुख दिशामा अग्रसर हुन्छ।
रोमन, ग्रिक अनि मध्यकालीन युरोपियन सभ्यताको उदाहरण दिँदै उनी भन्छन्– जसै यौनिक नैतिकतालाई खुकुलो बनाउँदै लगियो सोहीपरि क्रमिकरूपमा उल्लिखित सभ्यता खस्कँदै खस्कँदै आखिरमा पतन भयो। अनि केवल इतिहासको पन्नामा समेटिन पुगे।
हप्ताको दुई घण्टा (७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला) अनलाइन अश्लील सामग्री हेर्ने लतले पनि समाजको उत्पादनशील समय खेर गएको सर्वेक्षणले देखाउँछ। यसले खासगरी नौजवान युवाहरूको ऊर्जाशील समय र शक्तिको बर्बादी मात्रै दर्शाउँदैन कि मानसिक स्वास्थ्य र हत्या हिंसाको बढ्दो दरलाई समेत बढोत्तरी गराउँदै लगेको देखिन्छ।
वर्तमान चालामा सुधार नहुने हो भने के प्रक्षेपण गरिएको छ भने अबको २० देखि ३० वर्षमा सम्भवतः सन् २०५० तिर तेस्रो पुस्ता पुग्नेछ अनि त्यस बखतसम्ममा केही सभ्यता तथा संस्कृतिको अधोपतन अवश्य हुने अनुमान गर्न सकिन्छ।
कुनै पनि समाजले यौन स्वतन्त्रता या समृद्धिमध्ये एक चयन गर्नुपर्ने हुन्छ। दुवै खुट्टा नाउमा हालेर यात्रा गर्न प्रयास त गर्न सकिन्छ तर गन्तव्य भेट्टाउन असम्भवप्रायः छ। समाजका लागि एक व्यवस्थित र प्रतिबद्ध परिवार व्यवस्था सामाजिक सुदृढता र समृद्धिको कुञ्जी हो भन्ने अनविनको केन्द्रीय अवधारणा हो। जुनजुन प्राचीन सभ्यतामा विवाह र परिवार जस्तो मजबुत संस्था बनाइए त्यहाँ त्यहाँ प्रजननका लागि नियन्त्रित यौन व्यवहारले सामाजिक–सांस्कृतिक प्रगतिमा योगदान दिएको सप्रमाण उजागर गरे। साथै सामाजिक एवं पारिवारिक एकतामा ह्रासको अनुभव खासै नभेटिएको बताए।
पूर्ण रूपेण एक दाम्पत्य जीवन बिताएका/अपनाएका आमाबाबुका सन्तानहरू स्वस्थ, खुसी र आरामदायी जीवन बिताउनुका साथै भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सबल र सक्षम हुन पुग्ने कुरा अनविन लेख्छन्। यसको विपरीत दाम्पत्य जीवन टुटेका/खटपट परेका परिवारका बालबच्चाहरू दुःख कष्टमा गुज्रिँदै विशृंखलित हुँदै सभ्यता र संस्कृति क्रमशः मासिँदै गएको र अन्ततोगत्वा पहिचान लोप भएको बताउँछन्। रोमन साम्राज्य पतनको सम्बन्ध यही यौनिक संयमता गुमाउनुमा रहेको अनविनको धारणा छ।
तर आर्थिक, राजनीतिक, प्राविधिक परिवर्तन जस्ता जटिल प्रकृतिका प्रभावित पार्ने तत्वहरूलाई बेवास्ता गर्दै सभ्यता एवं संस्कृतिलाई जीवित र जीवन्त राख्न यौनिक संयमता खातिर कडा यौनिक आचार विवाहअघि र पछिका सम्बन्धहरूमा मात्र एकोहोरिनु निश्चिततावादी दृष्टिकोण हाबी रहेको विद्वान्हरूको विश्लेषण छ। परन्तु सेक्स एन्ड कल्चर उनीहरूमाझ आज पनि महत्वपूर्ण छ जो यौन नीति, पारिवारिक व्यवस्था र समाज विकासका सम्बन्ध र उपलब्धिहरू खोजबिनमा रुचि राख्छन्।
प्रकाशित: २१ पुस २०८१ ०९:३९ आइतबार