२० पुस २०८१ शनिबार
image/svg+xml
विचार

बझाङबाट देखिएको काठमाडौँको राजनीति

मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको जिल्ला बझाङ राजनीतिक रूपमा सुदूरपश्चिमकै अग्रणी भूमिकामा छ। पञ्चायतकालदेखि गणतन्त्रकालसम्म बझाङको राजनीतिक अवस्थाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा केन्द्रसम्म असर पारेको देखिन्छ। पञ्चायतकालमा राजदरबारसम्म पहुँच भएका कारण पञ्चहरू आफूलाई शक्तिशाली सम्झन्थे। कुमार दीपकबहादुर सिंहले राजा महेन्द्रकी छोरी शान्तिसँग बिहे गरेका थिए। त्यसैले राजदरवारसँग राजनीतिक नाता कसिलो हुने नै भयो।

२०५८ सालको राजदरबार हत्याकाण्डमा शान्तिको पनि निधन भयोे। कुमार दीपकबहादुर सिंहको भने पहिले नै निधन भएको थियो। 

बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि २०४६ सालको जनआन्दोलन सफल पार्न सर्वोच्च कमान्डर गणेशमान सिंहको निवास चाक्सिबारीमा माघ ५, ६ र ७ गते बृहत् भेला भएको थियो। भेलाको सन्देश लिएर बझाङका नेताहरू लोकराज जोशी, ज्योतिप्रकाश जोशी, सुरेश मल्ल, अर्जुनबहादुर सिंह, चेतराज बझाल, सत्यराज भण्डारी, रुद्रवीर स्नेही, झक्कु स्नेही तत्कालीन युवा विद्यार्थी शमशेर बम, लक्ष्मीराज जोशी, सुश्री देवी सेठीलगायतले ‘सदरमुकाम कब्जा गर’ अभियान चलाए। दायाँतर्फ हिमनदी सेती, वायाँतर्फ वाउलीगाड (ठूलो खोला) बीचमा सदरमुकाम छ। भौगोलिक अवस्था निकै जटिल छ चैनपुरको।

कैलालीको धनगढीबाट २७९ किलोमिटर दूरी पार गरेपछि ऐतिहासिक जिल्ला बझाङ पुगिन्छ। कुनैबेला भारी बोक्न सिपालु हाम्रा पितापुर्खा बझाङ, तलकोट, धुली, सुर्मा, भात्याकोला रिलु लगायतका ठाउँबाट धनगढी र भारतको टनकपुर पुगेर कपडा, गुड, सुर्ती भाँडाकुँडा खरिद गर्न १५/१६ दिन पैदल यात्रा गर्थे। घर फर्कँदा पनि त्यति नै दिन बिताउनुपर्थ्याे। केही वर्षयता बैतडीको खोड्पेदेखि सदरमुकाम चैनपुरसम्म सडक पुगेको छ, जसलाई जयपृथ्वी राजमार्ग भनिन्छ।

देश संघीयतामा गएपछि राष्ट्रिय र स्थानीय गरी २ वटा चुनाव सम्पन्न भए। अधिकांश निर्वाचन क्षेत्रमा काङ्ग्रेस र एमाले समर्थकहरू विजयी बनेका छन्। तर पनि युवाहरू पञ्चायतकालीन अवस्थामा झैँ भारतका गल्ली गल्लीमा गएर दण्ड बजाइ परिवार पालिरहेका छन्।

हुनेखाने युवाहरू मलेसिया खाडी मुलुक, अझ बलियाले अमेरिका, बेलायत, दक्षिण कोरियामा गएर काम गरेका छन्। जिल्ला कुरेर बसेका तमाम युवाका लागि कुनै पनि सरकारले नयाँ र दीर्घकालीन योजना ल्याउन सकेन। यही कारण अधिकांश युवायुवतीको प्रश्न छ कि हामीले गणतन्त्रपछि के पायौँ ?

२०६३ असारमा शेरबहादुर देउवासँगको मेरो सुदूरपश्चिम भ्रमण ऐतिहासिक थियो। त्योबेला म डडेलधुरा जिल्लाका तत्कालीन २२ वटा गाउँ विकास समितिमै पुगेको थिएँ। एनपी साउद, वीरबहादुर बलायर, गोविन्द शाह, नैनसिंह महर, पुष्कर शाह लगायतका साथी सुदूरका प्रत्येक जिल्लाका राजनीतिक सभामा सँगै थियौँ।

जता गयो गीत गाउनुपर्ने, दर्शक स्रोतालाई गोलबद्ध गरी देउडा खेलाउनुपर्ने, लोकतन्त्र र सुदूरपश्चिमको राजनीतिबारे छोटोरूपमा मन्तव्य दिनुपर्ने काम देउवा दाइले मलाई दिनुभएको थियो। पाँच पटक प्रधानमन्त्री सम्हालेका, सात पटक लगातार विजयी गराएर पठाएका डडेलधुराका केही युवाले उहाँप्रति पहिलेझैँ सकारात्मक सोच नराखेको पाएँ।

जिल्लाको भित्री मधेसमा पर्ने जोगबुढालाई बस्न योग्य मात्र बनाएनन्, आलितल, शीर्ष र जोगबुढालाई जिल्लाकै नमूना बनाउन देउवाले निकै खर्च छुट्टयाए। प्रत्येक गाउँपालिकामा सडक, पिउने पानी, अस्पताल रोजगारी सिर्जनासमेत गरे। जिल्लाका कैयौँ युवालाई उनीहरूको मागअनुसार अमेरिका जापान, दक्षिण कोरिया, मलेसिया लगायतका मुलुकमा पठाए पनि।

कुनैबेला बझाङका मानिस यही जिल्ला भएर हाट जाँदा ‘ओ मितरो घिऊ र दाल छाडेर जाऊ’ भन्ने वर्गहरूलाई आफ्नो पालामा भौतिक सुविधा दिलाएर सम्पन्न बनाएका युवाहरू नजानिँदोतवरले किन देउवाको विपक्षमा उभिन खोज्दैछन् ? जानिनसक्नु छ।

तराई झरेपछि युवाहरूमा अझ राजनीतिक आक्रोश धेरै पाएँ। डा. आरजु राणा परराष्ट्र मन्त्री बनेकामा पनि उनीहरू सन्तुष्ट रहेको पाइएन। जबकि आफ्नो गैरसरकारी संस्थामार्फत गरिब जनताको जीवनस्तर उकास्न उनले पनि सो क्षेत्रमा निकै धनराशि खर्चिएकी छिन्।

बझाङ जल, जमिन जंगल, संस्कृति र देवालयहरूका लागि प्रख्यात जिल्ला मानिन्छ। साइपाल हिमाल मुहान भएको सेती नदी जिल्लाको बीच भाग भएर बग्छिन्। जयपृथ्वी राजमार्ग सेती किनारा भएर चीनको स्वशासित क्षेत्र तिब्बत पुर्‍याउने सरकारको २० वर्षपहिलेको लक्ष्य थियो तर साकार हुन सकेको छैन।

आफूखुसी मनकारीहरूले निःशुल्क जग्गा पनि उपलब्ध गराए। ठेकेदार र राजनीतिक पार्टीका कार्यकर्ताको उद्देश्य पूर्तिको माध्यम बनिरहेछ सो राजमार्ग। तलकोटस्थित रातापानी भन्ने ठाउँमा पक्की पुल निर्माणका लागि २०६६ सालमा प्रधानमन्त्री माधव नेपालसँग भेट गर्‍यौँ। १० करोड रुपियाँ निकासा पनि भयो। तर राजनीतिक विवादका कारण सो काम हालसम्म अधुरो छ।

राजनीतिकरूपमा चनाखो मानिएको बझाङमा २०१५ सालमा सम्पन्न पहिलो निर्वाचनमा कांग्रेसबाट कर्णबहादुर सिंह सांसद बनेका थिए। पञ्चायतकालमा वीरेन्द्रबहादुर सिंह, चन्द्रबहादुर सिंह, चन्द्रजङ्गबहादुर सिंह, धीर्गबहादुर सिंह, दीपकबहादुर सिंह, गगनजङ्गबहादुर सिंह र नवराज जोशीले जनप्रतिनिधिका रूपमा काम गरे। बहुदलीय व्यवस्था आगमनपछि जिल्लालाई दुईवटा निर्वाचन क्षेत्रमा वर्गीकरण गरियो।

निर्वाचन क्षेत्र नं. १ मा पाँच पटकसम्म अर्जुनजङ्गबहादुर सिंह र दुई पटक पृथ्वीबहादुर सिंहले संसदीय चुनावको टिकट हात पारे। दुई वर्ष पहिले उनको सवारी दुर्घटनामा परी दुखद निधन हुन पुग्यो। प्रदेशको मन्त्री बनेका पृथ्वीबहादुर सिंहले जनताको सेवा गर्न पाएनन्। गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा उनका छोरा अभिषेकबहादुर सिंहले चुनावी मैदानमा उठ्ने मौका पाए तापनि पार्टीको केही कमजोरीका कारण पराजय भोग्नुपर्‍यो।

उता क्षेत्र नं. २ मा लोकराज जोशीले २०४८ सालमा निर्वाचित हुने मौका पाए। २०५१ को मध्यावधिमा स्वतन्त्र उम्मेद्वार नरेशबहादुर सिंहले जित हासिल गरे। खेलकुद राज्यमन्त्री भएर राज्यको सेवा गरे। यसैगरी २०५६ मा सुरेश मल्लले संसदीय चुनावमा विजयी भई राज्यमन्त्री बन्ने मौका पाए। क्षेत्र नं. १ बाट पनि अर्जुनबहादुर सिंहले २०४८ र २०५६ सालमा संसदीय चुनावमा विजयी हासिल गरी परराष्ट्र राज्यमन्त्री बन्ने मौका पाए।

यसरी कोरिएको छ हिमाली एवम् पहाडी जिल्ला बझाङको राजनीतिक इतिहास। वामपन्थीहरू दुई टुक्रामा विभाजित भएर पनि समाजवादी पार्टीका नेता भानुभक्त जोशीले काङ्ग्रेसको समर्थनमा २०७९ मा सम्पन्न संघीय संसद्मा जीत हात पारे। जिल्लाकै पहिलो क्याबिनेट मन्त्री बन्ने सौभाग्य पनि प्राप्त गरे।

जयपृथ्वीबहादुर सिंहको नाममा रहेको जयपृथ्वी नगरपालिकालाई सेती नदी र बाउलीगाडबाट बच्न गाह्रो छ। जमिन कम छ। जनसंख्याको चाप अत्यधिक छ। सुदूरपश्चिमकै ठूलो व्यापारिक नाका पनि हो सदरमुकाम चैनपुर।

तिब्बतसँगको व्यापार सुरु भएपछि र मानसरोवर तीर्थाटन सुरु भएपछि सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र बन्नेछ सदरमुकाम चैनपुर। मानवतावादी राजा जयपुथ्वीबहादुर सिंहको नाममा पूर्ण कदको सालिक निर्माण गरिँदैछ यसै आर्थिक वर्षभित्र।

१० वटा गाउँपालिका र दुई वटा नगरपालिका रहेको बझाङ जिल्ला विद्वान्, विदूषी, कलाकार र राजनीतिकर्मी जन्माउने जिल्ला हो। भारतको उत्तराखण्डका रामदत्त अवस्थीले २४ वर्षसम्म जिल्लामा बसी जिल्लाबासीलाई शिक्षा दान गरे। उनकै चेला दीर्घराज जोशीले सत्यवादी हाइस्कुल र देवीदत्त जोशीले पनि तलकोटलगायत धेरै ठाउँमा शिक्षाको ज्योति बाले।

 अंग्रेजीमा देउडा गीत लेखी ख्याति कमाएका धनराज जोशीले ३३ वर्षसम्म बाजुरा जिल्लामा शिक्षा सेवा गरे। उनकै छोरा डा. विष्णु जोशी हाल अमेरिकामा त्यहाँका वैज्ञानिकसँग सहकार्य गरी नयाँ नयाँ विषयमा अनुसन्धान गर्दैछन्। रसायनशास्त्रमा विद्यावारिधि गरेका जोशी सुदूरपश्चिमकै आशालाग्दा वैज्ञानिक हुन्।

प्रकाशित: १७ पुस २०८१ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App