३ वैशाख २०८२ बुधबार
image/svg+xml ५:४७ पूर्वाह्न
विचार

अझै सान्दर्भिक छ बिपीको मेलमिलाप?

२०१७ पुस १ गते प्रजातन्त्रविरुद्ध शाही कुपछि नेपाली कांग्रेसको सम्पूर्ण प्रयत्न प्रजातन्त्र पुनर्स्थापना गर्ने संघर्षमा लाग्यो। बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जेलमा रहँदा सुवर्णशमशेरले २०१८ सालदेखि शाही शासनविरुद्ध सशस्त्र क्रान्ति आरम्भ गर्नुभयो। करिब एक वर्षको शाही सैनिकसँगको मुठभेडमा सैनिक तथा राजाको मनोबल गिर्न लागेको अवस्थामा दुर्भाग्यवस कात्तिक, २०१९ मा चीन र भारतको सीमा युद्धका कारण नेहरूको दबाबले सुवर्णजीले सशस्त्र क्रान्ति स्थगन गर्नुभयो। बिपीले जेलभित्रैबाट भन्नुभएको थियो–हाम्रा साथीहरूबाट कमजोरी भयो। सबै अण्डा एउटै टोकरीमा राख्नु हुन्थेन। अर्थात पूर्णतः भारतीय भूभागमा आधार नबनाई नेपालभित्र सशस्त्र क्रान्तिको आधार क्षेत्र निर्माण गरेको भए भारतको दबाबमा पर्नुपर्ने थिएन।

२०१९ पछि २०२५ सालमा बिपी जेल मुक्त नहुँदासम्म प्रजातन्त्र पुनर्स्थापनाको कांग्रेस संघर्ष शिथिल बन्न पुग्यो। कारावासबाट बाहिर आएको केही समयपश्चात राजाले प्रजातन्त्र स्थापना गर्नेतर्फ कुनै अग्रसरता नदेखाएकाले बिपीले सशस्त्र क्रान्तिको तयारी सुरु गर्नुभयो। बिपीको सशस्त्र क्रान्तिको आवश्यकताको व्याख्या र त्यसको आह्वानले नेपालका युवाहरूमा नयाँ स्फूर्तीका साथै शिथिल बनेको प्रजातान्त्रिक विचार र आन्दोलनले ऊर्जा प्राप्त गर्‍यो। सशस्त्र क्रान्तिका क्रममा २०३१ सालको ओखलढुङ्गा विद्रोहको असफलता र भियतनाम युद्धको समाप्तिपछि विकसित घटनाक्रम विश्लेषण गर्दै बिपी सशस्त्र क्रान्ति स्थगन गरी २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिँदै नेपाल आउनुभएको थियो। यही दिनको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा सम्झना गर्दै आएको छ।

२०३३ सालदेखि २०३९ सालसम्म बिपीले राष्ट्रिय एकता र मेलमिलाप नीतिको व्याख्या र यसको अपरिहार्यताको सन्दर्भमा वक्तव्य, वार्ता, सन्देश तथा प्रवचनको माध्यमबाट नेपालीहरूलाई सम्झाउने कोसिस गर्नुभयो। विशेषगरी राजालाई राष्ट्रिय एकताका लागि सबभन्दा ठूलो व्यवधान जनतालाई अधिकारबिहीन बनाउने पुस १ को तत्कालीन राजाले रोजेको बाटो हो। त्यसलाई सच्याई जनतालाई अधिकार सम्पन्न नबनाउँदासम्म देश संकट मुक्त हुन सक्दैन भन्ने सम्झाउन निरन्तर प्रयास गर्नुभयो। प्रजातन्त्रबिनाको राष्ट्रिय एकताको कुराले कुनै परिणाम दिँदैन र एकल प्रयासले न त देशको उन्नति हुन्छ न राष्ट्र बलियो बन्छ भन्ने बिपीको दृढ मान्यता थियो। यसै मान्यतालाई परिणाममा पुर्‍याउन क्रियाशील रहँदारहँदै उहाँको देहावसान भयो।

बुद्धलाई आफ्ना जिज्ञासाको सन्तोषजनक जवाफ दिने कोही भएनन्। सात वर्षको कष्ट साध्य प्रयत्न, एकान्तवास र निरन्तरको ध्यान चिन्तनपछि उहाँले आफैँ आफ्ना जिज्ञासाहरूको उत्तर फेला पार्नुभयो। बुद्धको मध्यम मार्ग, करुणा, दुःख मुक्तिका उपायको उहाँको व्याख्याका कारण उहाँलाई ‘बुद्ध’ अर्थात “जागृत” भनियो। मोहबाट मुक्त हुनु नै दुःख समाप्त हुनु हो भन्ने बुद्ध वचन सत्य हुँदाहुँदै पनि सांसारिक व्यवहारमा यो कति सम्भव छ त्यो अलग विषय छ। बिपी राणाको दमनको प्रत्यक्ष भोगाइमा परेको, विद्यालय अध्ययनका क्रममा नै भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रही व्यावहारिक अनुभव र डा.राजेन्द्रप्रसाद, जयप्रकाश नारायण, जवाहरलाल नेहरू, डा.राममनोहर लोहियाहरूसँग बौद्धिक संवाद गरेको व्यक्ति नागरिक अधिकारको महत्वबारे युवा वय हुँदा नहुँदै जागृत भैसक्नु भएको थियो।  

राष्ट्रियताको भावना अभावमा गरिब देशको विकास हुन सक्दैन र नेपालमा राष्ट्रियताको भावना विकास हुन नागरिक अधिकार सम्पन्न हुनुपर्छ भन्ने ज्ञान वा विश्वास बिपीलाई समकालीन विश्व इतिहासको अध्ययन र प्रजातन्त्रप्रतिको निष्ठाका कारण प्राप्त थियो। यिनै विश्वास, मान्यता र समकालीन विश्वका हरेक घटनाको निरन्तर अध्ययन र विश्लेषणका आधारमा उहाँ आफ्ना नीति तथा राजनीतिक कार्यक्रम निर्माण गर्नुहुन्थ्यो।

बिपी मूलतः अहिंसावादी हुनुहुन्थ्यो तर शान्तिपूर्ण परिवर्तनका सम्पूर्ण मार्ग अवरुद्ध हुन्छन् र शासक अत्याचारी छ भने हिंसात्मक क्रान्तिको विकल्प हुँदैन भन्ने मान्यतामा पनि उहाँ दृढ हुनुहुन्थ्यो। बिपीलाई जनशक्तिमा विश्वास थियो। सैनिक शक्ति अर्थात् सैन्य संगठनबाट उहाँ कहिल्यै आकर्षित हुनुभएन। राजाले कु गर्दैछन् र त्यसलाई हामी सैन्य विद्रोहबाट विफल पार्छौँ भन्ने प्रस्ताव आउँदा पनि बिपी त्यो प्रस्तावमा आकर्षित हुनुभएन। राजाले पुस १ गते सैनिक शक्ति प्रयोग गरी प्रजातन्त्र अपहरण गर्दै क्रूर दमन सुरु गरेपछि भने उहाँले हिंसात्मक क्रान्तिको समर्थन गर्नुभयो। साथै कारावासबाट २०२५ सालमा छुटेपछि हिंसात्मक क्रान्तिको तयारी सुरु गर्नुभयो। 

हिजोआज यदाकदा कांग्रेसभित्रै केही नेता तथा कार्यकर्ता बिपीलाई उद्धृत गर्दै भन्नुहुन्छ– राष्ट्रिय मेलमिलाप भनेको राजासँग मेलमिलाप हो। बिपी कम्युनिस्टसँग गठबन्धनको विपक्षमा हुनुहुन्थ्यो। कम्युनिस्टसँग मिल्नु र गणतन्त्र ल्याउनु राष्ट्रिय मेलमिलापको नीति त्याग्नु हो। कांग्रेसले बाह्रबुँदेमा हस्ताक्षर गरेर बिपीको राष्ट्रिय एकता र मेलमिलापको नीति त्याग्यो। त्यसैले कांग्रेस कमजोर भयो। आश्चर्य त यो छ कि बाह्रबुँदे सम्झौतापछि जो साथी २०६२–६३ को आन्दोलनमा सरिक हुनुभयो, प्रहरी हिरासतमा रहनुभयो र गणतान्त्रिक आन्दोलनलाई सहयोग गर्नुभयो, अहिले उहाँहरू नै बाह्रबुँदेको कडा आलोचक हुनुहुन्छ।

राष्ट्रिय एकता र मेलमिलाप नीतिअन्तर्गत राजासँग सहकार्य नेपालको तत्कालीन अवस्था र दक्षिण एशियामा शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाबाट उपस्थित परिस्थितिमा नेपालको स्वतन्त्र अस्तित्वमा आउन सक्ने चुनौतीको सामना गर्न बिपी तथा नेपाली कांग्रेसले अपनाएको रणनीति हो। राष्ट्रमाथि आइपरेको चुनौतीको सामना गर्न हरेक देशमा राष्ट्रिय शक्तिहरूका बीचमा एकता आवश्यक पर्छ र सबै एक भएर सामना गर्छन्। तत्कालीन अवस्थामा नेपाल अत्यन्त कमजोर अवस्थामा थियो र प्रजातन्त्र अपहरणका कारण राष्ट्रिय शक्तिहरू विभाजित थिए। तत्समयका तत्कालीन राजा र उनको सरकारका मन्त्रीहरूको बयान हेर्ने हो भने पनि उनीहरूले बारम्बार राष्ट्रियता खतरामा परेको कुरा उल्लेख गर्छ।

राष्ट्र खतरामा रहेको अवस्थामा राष्ट्रिय एकताको पहल शासक अर्थात् राजाबाट हुनुपर्थ्यो तर उनी आफ्नै पिताको गलत कदमको परिणामको बन्दी बनेर रहेका थिए। यस्तो अवस्थामा हिंसात्मक संघर्ष आह्वान गर्दा लागेका मृत्युदण्डका अभियोगबाट पनि नतर्सिकन राष्ट्रिय संकट निवारणका लागि बिपीले नै अग्रसरता लिनुभयो। यो एउटा निर्णयले बिपीले दुई अनिष्टकारी तत्वलाई एकै पटक हत्प्रभ र हतोत्साहित गराउनुभयो। बिपीको प्रवासकाललाई देखाएर राजालाई तर्साउने विदेशी शक्ति र बिपी राजतन्त्रकै स्थायित्वका लागि चुनौती भन्दै राजालाई आफ्नो पकडमा राखेका पञ्च भनिने स्वदेशी भुइँफुट्टा वर्ग। त्यही हतोत्साहित मनस्थितिको प्रतिक्रिया थियो– यी दुवै तत्व बिपीप्रति आक्रामक बन्दै फासीको सजाय माग गर्नु।

राष्ट्रिय एकता र मेलमिलापको नीति कांग्रेसले २०१७ सालपछि प्रजातन्त्र पुनर्स्थापनामा मात्रै जोड दिएको तथा राजाको पुस १ को कदमले राष्ट्रियता लगातार कमजोर बन्दै नेपालको स्वतन्त्र अस्तित्वमा प्रश्नचिह्न लाग्न थालेकाले प्रजातान्त्रिक संघर्षमा राष्ट्रियतालाई पनि जोडेर राष्ट्रको रक्षा र जनताको सार्वभौम अधिकार प्राप्तिको संघर्षलाई एकाकार गर्न बनेको नीति हो। तत्कालीन अवस्थामा शासनको बागडोर राजाको हातमा रहेको तथा सामन्ती व्यवस्थाका नायक वंश तथा परम्पराको मायाले पनि राष्ट्रको स्वतन्त्र अस्तित्व चाहने हुनाले राजासँगको सहकार्य तत्कालीन अवस्थाको रणनीति हो। 

यो रणनीतिको उद्देश्य राष्ट्रको अस्तित्व रक्षाका साथै देशमा प्रजातन्त्र स्थापना गर्नु र त्यसका लागि अनुकूल वातावरण सिर्जना गर्नु थियो। बिपीको नेपाल आगमनपछि जनतामा आएको उत्साह, राजालाई जनमत संग्रह घोषणा गर्ने अवस्थामा पुर्‍याउनु, जनमत संग्रहमा सरकारले धोखाधडी गरे तापनि त्यसले सिर्जना गरेको केही खुलापनका कारण २०४६ सालमा जनआन्दोलन सफल पार्न सम्भव भयो।

निश्चय नै बिपी कम्युनिस्टसँग मिलेर आन्दोलन गर्न अनिच्छुक हुनुहुन्थ्यो। बिपीलाई अध्ययन गर्दा यो विचारको पक्षमा दुईवटा बलिया तर्क भेटिन्छन्। पहिलो, नेपाली कांग्रेसले आफ्नो संगठनात्मक शक्ति पुनः प्राप्त गरी प्रजातन्त्रको लडाइँ एक्लै सम्पन्न गर्न सक्छ र यसबाट नै नेपालमा प्रजातन्त्रको सुसञ्चालन हुन्छ र देशले गति लिन सक्छ भन्ने बिपीको आत्मविश्वास र दीर्घदृष्टि। दोस्रो, कम्युनिस्टहरूमा स्वतन्त्र र राष्ट्रहितमा निर्णय गर्न सक्ने क्षमताको अभाव देख्नु। यसको परख उहाँले वनारसमा संयुक्त आन्दोलन गर्ने पुष्पलालको प्रस्तावमा आफ्नो विचार राखी पुष्पलाललाई निर्णय गर्न आग्रह गर्दा पुष्पलालले निर्णय गर्न विलम्ब गर्नु र अन्ततः बिपीको प्रस्ताव अस्वीकार गर्नु।

सबैलाई ज्ञात छ, तत्कालीन समयमा नेपालका कम्युनिस्टहरू रुस वा चीनको पक्षमा विभाजित थिए। रुस, चीन वा तिनीहरूका सहयोगी देशबाट सञ्चालित नहुने कम्युनिस्टको प्रभाव नगण्य थियो। रुसी वा चिनियाँ धुरीको छाता ओढ्ने कम्युनिस्टहरूसँग आन्दोलन गर्दा जुनसुकै अवस्थामा धोका हुन सक्थ्यो। त्यसैले बिपी भन्नुहुन्थ्यो– म बाहिरबाट सञ्चालित कम्युनिस्टसँग मिल्न सक्दिनँ। विचारका आधारमा र आफ्नै स्वतन्त्र निर्णय गर्न सक्ने कम्युनिस्टसँग मलाई आपत्ति छैन। 

बिपी अरू ५–७ वर्ष जीवित रहनुभएको भए नेपालको प्रजातान्त्रिक आन्दोलनले कुन रूप लिन्थ्यो? के हुन्थ्यो? यो केवल कल्पना गर्ने कुरा मात्र भयो। तर बिपीको देहावसानपछि नेताहरूमा कांग्रेसले एक्लै प्रजातन्त्र स्थापना गर्न सक्छ भन्ने आत्मविश्वास रहेन। फलस्वरूप कम्युनिस्टलगायतसँग मिलेर २०४६ सालमा आन्दोलन भयो। प्रजातन्त्र पुनर्स्थापना भयो। हामी धेरै कांग्रेसीहरू त्यो आन्दोलनमा सरिक भयौँ। अब यो इतिहास भैसकेको छ।

अहिले गणतन्त्र स्थापना भएको छ। संविधानतः जनता पूर्णतः सार्वभौम भएका छन्। यो हामी सबै नेपालीका लागि खुसीको कुरा हो। शीतयुद्धकालमा जस्तो अहिले नेपाल भौगोलिक अस्तित्वको संकटमा पनि छैन। देशमा केही प्रगति पनि भएको छ। सुस्त गतिमा नै होला, अझ प्रगति पनि हुँदै जानेछ। तर पनि हाम्रो स्वतन्त्र निर्णय गर्न सक्ने क्षमतामा र नेपालीहरूको आत्मविश्वासमा वृद्धि हुनुको बदला ह्रास आएको छ। प्रचण्डको उछलकुदबाट दिक्क भएर कांग्रेस र एमाले मिलेर सरकार बनेको छ। संसद्मा करिब दुईतिहाइ बहुमत छ तर बाहिर दिनहुँ हल्ला हुन्छ, अहिलेको सरकारसँग भारत खुसी छैन, सरकार छिट्टै गिर्दैछ। वर्तमान सरकार गठन भएको भर्खर छ महिना पुगेको छ तर कांग्रेस एमाले मिलेको दिनदेखि नै गल्ली गल्लीमा चर्चा हुन्छ, यो सरकार धेरै चल्दैन। 

नेपालमा सरकार बन्दा कहिले भारतलाई मन नपर्ने त कहिले चिनको चित्त दुख्ने। अनि यहाँ सरकार गिर्ने हल्ला चल्ने। यो भारत र चीनको दोष कि नेपालका नेताहरूको? नेताहरूले सत्ता आशक्तिमा विदेशी सहयोग खोजेको परिणाम आमनेपालीको आत्मविश्वास र आत्मसम्मानमा क्षति पुगेको छ। नेताहरूले स्वतन्त्र निर्णय गर्ने र त्यसमा अटल रहने, सत्ताप्रति धेरै आशक्त नहुने हो भने विदेशीले के गर्न सक्छन्? नेपाली नेताहरू नै मोहरा बनिदिएपछि विदेशीहरूलाई किन दोष दिने? त्यसैले आज पनि हाम्रो राष्ट्रको प्रगतिका लागि र स्वतन्त्र निर्णय गर्ने क्षमता अभिवृद्धिका लागि राष्ट्रिय एकता र मेलमिलापको त्यत्तिकै आवश्यकता छ। 

राजनीतिमा सत्ता आकांक्षा हुन्छ। प्रजातन्त्रमा सत्तामा जाने पनि निश्चित बाटा र मर्यादा हुन्छन्। मर्यादाको उल्लङ्घन नगर्ने र विदेशीको खेलौना नबन्ने हो भने सरकारको परिवर्तन स्वाभाविक बन्दछ। नेपालीको आत्मबल बढ्छ। राष्ट्रिय सुरक्षा नीति, विदेश नीति, कृषि तथा उद्योगको विकास नीतिमा कम्तीमा कांग्रेस, एमाले, माओवादीमा सहमति निर्माण गर्ने हो भने उद्यमीहरूको मनोबल बढ्छ। 

विदेशी लगानी भित्रन सहयोग हुन्छ। यसले देशमा भौतिक उन्नति र आत्मविश्वास वृद्धि हुन्छ। नेपालको इज्जत अन्तर्राष्ट्रिय क्षेत्रमा वृद्धि हुन्छ। यसले नेपालीको आत्मसम्मान र देशप्रतिको विश्वास बढ्छ। आजको सन्दर्भमा राष्ट्रिय एकता र मेलमिलाप नीति यही नै हो। के यस्तो प्रयत्न गरी बिपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अगाडि बढाउने नेतृत्व कांग्रेसले प्राप्त गर्न सक्ला? ४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना।

प्रकाशित: १६ पुस २०८१ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App