आर्थिक वर्ष २०२३/२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनहुँ १३ वटा (वर्षमा ४१८३) पारपाचुकेका मुद्दाहरू परे। नेपालमा सबैभन्दा बढी जनसंख्या भएको र शिक्षितहरू भएको मानिने काठमाडौं देशको सबैभन्दा बढी पारपाचुके हुने जिल्ला पनि हो । भक्तपुर, ललितपुर, कास्की र विराटनगरको पनि राम्रो रिकर्ड छैन । गतवर्ष नेपाल भरी करिब ४९ हजार दम्पत्तिले पारपाचुके पाएका थिए ।
नेपाली दम्पत्ति बिचमा यसप्रकारको बढ्दो अविश्वास आर्थिक समस्या, पारिवारिक कलह, समझदारीको अभाव, विवाहेत्तर सम्बन्ध आदिका कारण सिर्जना भइरहेको छ । यसरी बढ्दैगएको पारपाचुकेले नेपाली दम्पत्तिका लागि आपत्कालीन सहयोगको आवश्यकता भएको देखाउँछ । केही अधिकारीवादीले पारपाचुकेलाई ‘नारीहरूको आर्थिकस्तर उठेको’ भनेर टिप्पणी गर्छन् । तर, यसप्रतिको बुझाई यत्तिमा सीमित राख्न भने सकिन्न ।
किनभने पारिवारिक विखण्डनको पीडा सबैलाई हुन्छ। पीडक र पिडित पक्षको ठिकठिक अनुसन्धान गर्ने दायित्व प्रहरी प्रशासनको हो, तर अनुसन्धानले टुटिसकेको परिवारलाई जोड्न सक्दैन । दम्पतिहरू छुट्टिएका कारणले ‘बाबुआमा हुँदाहुँदै टुहुरा बन्न पुगेका बालबालिका’ले भोग्ने समस्या विकराल हुन्छ । पश्चिमाहरूमा पारपाचुके संस्कृति नै बनिसकेको अवस्थामा पनि त्यहाँका बालबालिकाले भोग्ने पीडा भनिसाध्य छैन, न समस्याको समाधान नै हुन सकेको छ।
पारपाचुकेका धेरै आयामहरू हुन्छन् । मानसिक, शारीरिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतका कारणले पारपाचुके हुने गरेका छन् । शारीरिक सम्बन्धको आकर्षणमा परेर कुरकुरे बैंसमा भागी विवाह गर्नेहरू होउन् वा भर्खरै विवाह गरेर वैदेशिक रोजगारमा पलायन गर्ने युवायुवती । अथवा, आफ्नो धर्म, संस्कृति तथा परम्परालाई लत्याएर ‘लिभिग टुगेदर’को माखेसाङ्लोमा पर्नेहरू अधिकांशहरू जीवनमा पारपाचुकेसम्म पुगेका छन् । विश्वव्यापी अनुसन्धानहरूले पारपाचुकेका प्रमुख कारक यिनै विषयलाई मानेको छ ।
तर, जसरी भएपनि परिवार विखण्डन हुँदा पीडित हुनेहरूलाई त पीडा नै हुन्छ । पीडितले सही उपचार र न्याय प्राप्त गर्नुपर्छ । सकभर पारपाचुके हुन नदिने र सुखद दाम्पत्त्यका लागि काम गर्नैपर्छ ।
नेपालमा पारपाचुकेको संस्कृतिलाई प्रवर्धन गर्नमा आइएनजिओ, इसाई मिसनरिज र तथाकथित मोडर्निस्टहरूको बढी हात छ । कतिपय आफ्नो घरबार बिगारेकाहरू नै दाताको पैसामा जेन्डर इक्वालिटीका नाममा पारपाचुके संस्कृतिको नेतृत्व गरेर हिँडेका छन् । केही यस्ता पात्रहरू आर्थिक स्वतन्त्रता, शारीरिक स्वतन्त्रताका नाममा पारिवारलाई मिलाउने भन्दा महिला र पुरुषका बिचमा अनेकौं खाल्डाहरू सिर्जना गरेर द्वन्द्वलाई उक्साउँदै परिवार भाँड्ने काममा उद्दत छन् । पतिपत्नीको सम्बन्धमा अधिकारका जायज कुरा त होलान् नै, तर प्रतिकार, द्वन्द्व सिर्जना गराउने भन्दा परस्पर विश्वास र सम्मानका पक्षमा वकालत गर्नुपर्ने समाधानको उपाय हो ।
नेपालको परम्परागत पारिवारिक प्रणालीका सबै पक्ष पूर्णतः राम्रा छन् भन्न नसकिएला, अथवा उचित नहोला । तर, नेपाली संस्कृतिले सकेसम्म एकपटक विवाह गरेको दाम्पत्य जीवनपर्यन्त साथसाथ रहोस् भन्ने कुराका जोड दिन्छ । युरोपेली वा अब्रहमिक संस्कारमा पतिपत्नीको सम्बन्ध केवल ‘करारनामा’ मात्रै ठान्दछ । जसमा दाम्पत्य जीवनपर्यन्त चल्छ भन्ने कुराको कल्पना समेत गर्न सकिदैन ।
सोही संस्कृतिको अनुशरण गर्दै अधिकारजस्तो शब्दको दुरुपयोग गरेर पतिका विरुद्ध पत्नी र पत्नीका विरुद्ध पति उभ्याएर पारिवारिक कलह र पारपाचुके गर्न प्रेरित गर्ने तत्त्वहरूलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता छ । आफ्नो घरबार भत्कियो भन्दैमा अर्काको घर भत्काउन उक्साउनेहरू समाजको कदापि हितचिन्तक हुनसक्दैनन् ।
यसको अर्थ आजीवन दुख सहेर दाम्पत्त्य जीवन जोगाउनु पर्छ भन्ने होइन । सँगै बस्नै नसक्ने, अर्को दुर्घटना हुनसक्ने अवस्थामा छुट्टिनु नै उचित हुन्छ ।
दिगो दाम्पत्त्यका लागि पतिपत्नीका बिचमा आपसी विश्वास जरुरी हुन्छ । विश्वास गर्ने वातावरणमा भने बढ्दो सामाजिक आधुनिकता र प्रबिधिको प्रयोगले निकै कमजोर बनाएको छ। आधुनिकताले परपुरुष र परस्त्रीसँगको सहवासलाई सामान्यीकरण गर्दै लगेको छ । तर, यही कुरा पतिपत्नीका लागि सबैभन्दा बढी शंकाउपशंकाको विषय बन्छ । जसले परिवारलाई भत्काइरहेका छन् ।
दाम्पत्त्य जीवन सुखी बनाउन यस्ता गलत प्रवृत्ति अंगाल्नुहुन्न । यसमा पतिपत्नीबीचमा निरन्तर संवादका माध्यमबाट विश्वासको वातावरण राख्नुपर्छ । परस्पर सम्मान र सहकार्यका बानी बसाल्नुपर्छ ।
पतिपत्नीका बिचमा भएको सामान्य मतभेदलाई घृणावादी अधिकारवादको तराजुमा तौलिने प्रवृत्ति पनि सुखद् दाम्पत्त्यका लागि हितकर नहुनसक्छन् । यसबाहेक दाम्पत्त्य जीवनमा आइपर्ने समस्याहरू आफै सुल्झाउन सक्ने सीप आफूमा हुनुपर्छ ।
यसका लागि राज्यका तर्फबाट पनि आवश्यक शिक्षा नीति, परामर्शको व्यवस्था र जुट्नै नसक्ने सम्बन्धहरूको सुरक्षित अवतरणमा काम गर्नुपर्ने हुन्छ ।
पारपाचुकेबाट जोगाउन अनेकौं उपायहरू हुनसक्छन् । जसमध्ये केही यहाँ उल्लेख गरिएको छ ।
एकले अर्काको कुरा राम्ररी सुन्नु र परिवेशलाई बुझ्नुपर्छ ।
एकले अर्कालाई अधिकतम विश्वासको वातावरण बनाउने ।
परस्पर अधिकतम सम्मान गर्ने र आत्मीयभाव राख्ने ।
क्षमा दिने, गल्ती भैहाल्यो भने गल्ती गर्नेले भित्रैदेखि स्वीकार गर्ने र क्षमा दिनेले दोषी भावले नहेर्ने ।
आर्थिक कारोबारमा पतिपत्नी बिचमा पारदर्श सरसल्लाह गर्ने ।
यौनजन्य क्रियाकलाप गर्दा सधैँ सहमति लिने ।
पारिवारिक जिम्मेवारी पूरा गर्दा आपसी सल्लाह र सहमति बनाएर कर्तव्य निर्वाह गर्ने
दाम्पत्त्यमा कहिकाहीँ समस्या देखिए घरका ज्येष्ठ सदस्य, मान्यजन, शुभचिन्तक वा परामर्शदाताको सहयोग लिन पनि सकिन्छ ।
(लेखक डा.गोविन्द शरण उपाध्याय मनोविद हुन्। उनी त्रिचन्द्र कलेजमा पीजिडिसिपी कार्यक्रम निर्देशककाे रूपमा कार्यरत छन्।)
प्रकाशित: १० पुस २०८१ १८:११ बुधबार

