म जन्मेको–हुर्केको, हाँसेको–खेलेको मेरो भक्तपुर। पाँच दशकभन्दा बढी जीवन व्यतीत गरेको यो सहर। बाँकी जीवन पनि यहीं बिताउनुपर्ने मेरो सहर भक्तपुर। माया लाग्छ आफ्नो जन्मथलोको। मलाई मात्र होइन, सबैलाई लाग्छ। आफू हुर्केको खेलेको माटोको सुगन्ध कति मगमगाउँदो। अविस्मरणीय !
मंसिर १ गते शनिबारको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले भक्तपुरमा मंंसिर २८ देखि पुस २ गतेसम्म आयोजना हुन लागेको ‘भक्तपुर महोत्सव २०८१’बारे जानकारीमूलक लामो सचित्र लेख पस्कनुभयो। उहाँको त्यस लेख पढेपछि म भक्तपुरेलाई पनि देश विदेशबाट पाल्नुहुने र भक्तपुरको कला, संस्कृति र सभ्यतालाई माया गर्ने आगन्तुकहरूलाई स्वागत गर्न हामी भक्तपुरे लालायित छौं भन्न कर लाग्यो। र हाम्रो आतिथ्य स्विकार्नका लागि आमजनसमुदायलाई आमन्त्रण गर्न पनि करै लाग्यो।
प्राचीन, ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुरको कला, संस्कृति र सभ्यताको प्रवर्धनमा हामी भक्तपुरेहरूले ऐक्यबद्धता नजनाउनु त लज्जास्पद हुने भयो भन्ने बोध गराउनुभयो लामिछानेले। अनि केही लेख्ने चेष्टा गरेँ।
भक्तपुर नगरपालिकाले आयोजना गर्न लागेको यो महोत्सव पहिलो भने होइन। पहिलो भक्तपुर महोत्सव २०५४ सालमा आयोजना गरिएको थियो। मैले भेटेका विदेशी मित्रहरू त्यो बेलाको महोत्सवको भव्यताले हामीलाई बारम्बार भक्तपुुर भ्रमणका लागि उक्साइरहन्छ भन्ने गर्छन्। धेरैले धेरै पटक भ्रमण गरेका छन्, दोहोर्याई तेहर्याई भक्तपुरको।
भक्तपुर नगरपालिकाले नगरको ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षण अनि जगेर्ना गर्ने मात्र होइन, लोप हुन लागेका कला संस्कृतिलाई पुनर्जीवन दिने कार्यमा समेत तदारुकता देखाउँदै आएको कुरा छर्लंगै छ। त्यसको ज्वलन्त प्रमाण यही हुन लागेको महोत्सवमा हेर्न पाइने छ। कतिपय अवस्थामा सम्पदाहरूको संरक्षण गर्न कठिनाइ पनि बेहोर्नुपरेको छ नगरपालिकाले। भक्तपुरे जनताले आफ्नो कला–संस्कृतिको रक्षार्थ सक्दो सहयोग पुर्याउँदै आएका पनि छन्।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्ने गर्नुभएको छ– भक्तपुरको कला, संस्कृति र सभ्यताको संरक्षण र विकासका लागि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले २०५९ सालमा लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’लाई मार्ग निर्देशनका रूपमा लिएको छ। यो कुराले मलाई एउटा पुरानो कुराको सम्झना गरायो, २०७७ सालतिरको। त्यो बेला मेरो छोरा र मबीच एक सम्झौता भयो। उसको परीक्षाको नतिजा राम्रो भएको खण्डमा एउटा राम्रो स्मार्ट फोन किन्नका लागि मैले स्वीकृति दिने। परीक्षाको नतिजा राम्रै ल्यायो। फोन पनि किने उनले।
कोभिड १९ को लकडाउनको समय थियो। साँझको समय, सुनसान हुन्थ्यो सहर। छोरा नयाँ फोन भिर्दै निस्के सयर गर्न भक्तपुर सहर। कोरोनाको भयावह परिस्थितिमा खुलेआम घुम्नु उनको पुरुषार्थ प्रदर्शन थियो, जुन घातक पनि हुन सक्थ्यो। उनले नगरका केही फोटा खिचेर ल्याएका रहेछन् फोनमा। घर फर्केपछि मलाई पनि देखाए।
ती फोटामध्ये सुनसान दत्तात्रय चोकका केही सुन्दर अनि लोभ्याउने दृश्य कैद भएको देखेपछि नारायणमान बिजुक्छेले लेख्नुभएको त्यही पुस्तक ‘सय वर्षपछिको भक्तपुर’को पुनःस्मरण गरायो। खोजेर पल्टाएँ। उहाँले भविष्यमा भक्तपुर नगरको स्वरूप कस्तो हुनुपर्छ भनी तयार पार्न लगाउनुभएको परम्परागतशैलीमा बनाइएका कलात्मक घरहरूको स्केच हुबहु ठ्याक्कै मिलेको देखियो छोराले ल्याएको तस्बिरमा। म प्रभावित भएँ बिजुक्छेको कल्पनाशीलताबाट। अनि उहाँका सहयोगीहरूको निपुणता, भक्तपुरे सिकर्मी–डकर्मीहरूको सिप अनि दक्षता, अनि भक्तपुरे जनताको साथ।
उहाँले कल्पना गर्नुभएको नगरको प्रारूप त केही हदसम्म पूरा हुन थालेको पनि देखियो। बिजुक्छे उमेरले ८५ वर्ष पुग्नुभयो। अहिले पनि युवाजोशका साथ देश र जनताका लागि क्रियाशील, समर्पित। कहिलेकाहीं उहाँलाई भेट्दा व्यक्त हुने देश र जनताप्रतिको चिन्ता, समर्पण भाव देख्दा त आफैंलाई हीनताबोध हुन्छ आफ्नो सुस्तता देखेर। जहिल्यै व्यस्त भक्तपुर र भक्तपुरे जनताको हितका लागि, यही उहाँको दैनिकी पनि। साँच्चिकै प्रशंसनीय छन् उहाँका दूरदर्शिता, कल्पनाशीलता अनि चिन्तन देशप्रतिको।
उहाँको अभिभावकत्व पाएको भक्तपुर नगरको कला, संस्कृति र सम्पदा संरक्षणको क्षेत्रमा हुँदै आएको, भइरहेको र भविष्यमा हुने कार्य नमुनाका रूपमा रहेका छन् नेपालभरिका अरू स्थानीय निकायको तुलनामा। नभए भक्तपुर नगरपालिकाले पाइरहने थिएन उत्कृष्टताको पहिचान बारम्बार।दिनहुँजस्तो आइरहने देशका विभिन्न स्थानीय निकायका जनप्रतिनिधिको भ्रमण दललाई स्वागत गर्न, यहाँको प्रगतिका कुरा सुनाउन नगरप्रमुख सुनिल प्रजापति अनि उपप्रमुख रजनी जोशीलाई भ्याइ नभ्याइ छ।
त्यत्तिकै घुम्न मात्र आएका अवश्य होइनन् होला ती व्यस्त जनप्रतिनिधि। केही सिकेर आआफ्ना स्थानीय पालिकामा पनि यस्तै योजना कार्यान्वयन गर्न सके केही प्रगति होला भन्ने उद्देश्य नै हुनुपर्र्छ भन्ने मेरो ठम्याइ छ। राम्रो कामलाई राम्रो भन्न कन्जुस्याइँ गर्नुहुन्न। यसले सबैलाई राम्रो काम गर्न अभिप्रेरित पनि त गरिरहेको हुन्छ।
प्रकाशित: ५ मंसिर २०८१ ०९:३७ बुधबार