६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

नजित्ने लडाइँमा इजरायल

लामो समयदेखि अशान्त मध्यपूर्व थप सङ्कटमा जाकिँदो छ। यतिबेला विश्वको एक मात्र यहुदी बाहुल्य राष्ट्र इजरायल तीन वटा प्रभावशाली छापामार संगठनसँग एकैसाथ भिडिरहेको छ।

प्यालेस्टाइनको हमास, लेबनानको हिजबुल्लाह र यमनको हुथीविरुद्ध एकैपटक तीर चलाइरहेको इजरायल आफैँ पनि यी समूहमार्फत चौतर्फी जोखिम सामना गर्न बाध्य छ। पछिल्लो समय विकसित यो परिस्थितिले इजरायल र ती विद्रोही समूहलाई मात्र पिरोल्ने ठानिए पनि यसको सबैभन्दा बढी असर मध्यपूर्वभर फैलनेछ भने विश्वमा समेत यसका बाछिटाले सताउन थालिसकेका देखिन्छ।

को हुन् विद्रोही समूह ?

प्रसंग सुरु गरौँ -इजरायलले एकसाथ मुकाबिला गरिरहेका तीन विद्रोही समूहको सामान्य परिचयबाट। हमास प्यालेस्टाइनको विद्रोही समूह हो। शहरी युद्ध योजनाबद्धतवरले लड्ने उद्देश्यले तयार गरिएको यो समूह गाजाको  

४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइमा राज गर्छ। करिब २२ लाख मानिस बस्ने यो क्षेत्रका तीन वटै नाकामध्ये दुई वटामा इजरायलले र एउटामा इजिप्टले नाकाबन्दी गरेका छन्। त्यसैले यो क्षेत्र अभाव र पीडाको पर्याय हो।

 विशेषगरी इजरायलविरुद्ध भूमिगत युद्ध लड्दै आएको यो समूह माकुरे जालो शैलीका सुरुङहरूमा आधारित छ। जसको आकारप्रकार र सामथ्र्य तथा योसँग जोडिएका रहस्यहरूबारे विश्वका अत्याधुनिक प्रविधिसमेत अनभिज्ञ छन्।हुथी यमनको विद्रोही समूह हो।

सिया मुसलमानअन्तर्गतको अल्पसङ्ख्यक जैदी सम्प्रदायका हुसैन अल हुथीले सन् १९९० ताका गठन गरेका अन्सर अल्लाह नामक समूह नै २००४ मा उनको निधनपछि हुथीमा बदलियो। जसको नेतृत्व अहिले हुसैनका भाइ अब्दुल मलिकले गर्छन्। यमनको सुन्नी बाहुल्य सरकारविरुद्ध गतिविधि सञ्चालन गर्नु यसको मुख्य काम भए पनि इजरायल र यमन सरकारको सहयोगी/समर्थक पश्चिमा देशहरूविरुद्ध आक्रमणलगायत गतिविधिलाई समेत यसले बढावा दिँदै आएको छ।

अघिल्लो वर्षको असोज २० गते हमासले इजरायलमाथि एक्कासि आक्रमण गरेपछि प्यालेस्टाइनमाथि आक्रामक रूपमा खनिएको इजरायल र उसका समर्थकलाई यसले तारो बनाउँदै आएको छ। यस क्रममा लालसागर हुँदै सामान ओसारपसार गर्ने कार्गो जहाजहरूमाथि आक्रमण गरेर यो समूहले विश्वका मै हुँ भन्ने शक्तिशाली राष्ट्रहरूको समेत निद्रा हराम गर्दै आएको छ।

युरोप र एसिया जोड्ने सबैभन्दा उपयुक्त र छोटो मार्ग भएकाले रेड सि भनिने यो सामुद्रिक मार्ग निकै व्यस्त हुने गर्छ तर लगातारको हुथी आक्रमणले कार्गोहरू अन्य मार्ग प्रयोग गर्न विवश भइरहेका छन्। जसका कारण एकातिर खाद्यान्नलगायत सामग्री आपूर्तिमा अनावश्यक ढिलाइ भइरहेको छ भने अर्कोतिर लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा भाउसमेत वृद्धि भइरहेको छ। जसको असर विश्वव्यापीरूपमा देखिन थालिसकेको छ।

हिजबुल्लाहको जन्म लेबनानको गृहयुद्ध (जुन सन् १९७५ देखि १९९० सम्म चलेको थियो) सँग सम्बन्धित छ। इजरायलले गृहयुद्धको फाइदा उठाउँदै आफ्नो भूमि कब्जा गर्न थालेको दाबीसहित त्यसको प्रतिरोध गर्ने उद्देश्यका साथ यो समूह गठन भएको थियो। यसले मध्यपूर्वमा पश्चिमा राष्ट्रहरूको बढ्दो प्रभावको विरोध गर्छ भने इजरायलको विरोध यसको मुख्य कर्म रहिआएको छ।

हमासले इजरायलमा गरेको आक्रमण र त्यसपछि इजरायलले हमासविरुद्ध चालेको गतिविधिविरुद्ध यसले आफ्नो हैसियतअनुसार कदम चाल्दै आएको छ। त्यसयता यो समूह इजरायल र उसका सहयोगीहरूविरुद्ध घोषित रूपमै लागेको छ।

विशेषगरी इजरायलीहरूलाई निशाना बनाउँदै सीमामा गोली चलाउनु र अन्य अप्रत्यक्ष आक्रमण यसका कारबाही शैली हुन्। केही दिनअघि मात्र इजरायलले हिजबुल्लाहका नेता हसन नसुल्लाहलाई मारेपछि यो समूह रन्थनिएको छ र उसले बदला लिने चेतावनीसमेत दिएको छ। त्यसो त इजरायलले हमास जस्तै हिजबुल्लाह समूहमाथि पनि आक्रमण जारी राखेको छ। जसबाट यो समूहका एक हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

विद्रोहीको शक्ति

यी यस्ता विद्रोही समूह हुन् जो आफ्नो मुलुकमा आफ्नै वैधानिक सरकारभन्दा पनि बढी हैसियत राख्छन्। जस्तो– प्यालेस्टाइनका दुई मुख्य भूगोलमध्ये गाजामा पूरै हमासको शासन छ। ऊ १६ वर्षअघिको निर्वाचनमा विजयी भएरै यहाँको शासक समूह बन्न सकेको हो। जसका कारण आफूलाई यहाँको वैधानिक शासक दाबी गर्ने महमुद अब्बास वेस्ट ब्याङ्कमा खुम्चिएका छन्।

अब्बासलाई इजरायलले समर्थन गर्ने भएकाले उनी शासित क्षेत्रमा इजरायलीहरूको समेत प्रवेश बढ्दो छ। त्यसैले पनि अब्बासको विरोध र हमासको समर्थन गर्नेहरू क्रमशः  बढ्दो छन् प्यालेस्टाइनमा।

हिजबुल्लाह लेबनानको सियाबाहुल्य क्षेत्रहरूमा त पकड राख्छ नै, साथै दक्षिणी लेबनान र पूर्वी बेका उपत्यकामा पनि उसकै शासन चल्छ। राज्यसँगको सम्झौताद्वारा नै सरकारमा गतिलो प्रभुत्व राख्ने यो समूह सैनिक, सुरक्षा तथा सेवा जस्ता क्षेत्रमा प्रभावशाली निकाय मानिन्छ। सरकार बनाउने र ढाल्नेसमेत हैसियत राख्ने यसले हरकुरामा सरकारलाई चुनौती दिन सक्छ। समग्रमा भगवानको पार्टी अर्थ रहेको हिजबुल्लाह आफूलाई लेबनानको ‘राज्यभित्रको राज्य’ को उपाधि दिलाउन सफल छ।

यमनको हुथीले राजधानी साना र उत्तर–पश्चिमी क्षेत्रहरूमा कब्जा जमाएको छ। राजधानी नै नियन्त्रणमा लिएपछि ऊ सरकारभन्दा बलियो हुने नै भइहाल्यो। आफ्नो मुलुकमा साउदी अरब (सुन्नी बाहुल्य) प्रभाव बढेको र त्यसलाई नियन्त्रण गर्ने उद्देश्यका साथ अघि बढेकाले यसको प्रभाव स्थानीयबीच राम्रै छ।

यसरी हेर्दा हमास, हिजबुल्लाह र हुथी विद्रोही समूह मात्र नभएर आआफ्ना देशका अर्धशासकसमेत हुन्। जोसँग मुलुककै आम्दानीबाट सहयोग हात पार्ने आधार छन् भने विशेषगरी यी तीनै समूहलाई सिया मुसलमान बाहुल्य इरानको संस्थापन पक्षले निरन्तर सहयोग गर्दै आएको दाबी पश्चिमा राष्ट्रहरूले गर्दै आएका छन्।

 विशेषगरी आर्थिक सहयोग, हतियार र प्रशिक्षणमार्फत इरान उनीहरूको मुख्य सहयोगीका रूपमा रहेको धारणा राख्नेहरू धेरै छन्। यसबाहेक यी समूह समर्थक विदेशमा बस्नेहरूले पनि उल्लेख आर्थिक सहयोग गर्दै आएका पश्चिमा सञ्चार माध्यमले बेलाबखत लेख्दै आएका छन्।

किन एकसाथ भिड्दैछ इजरायल ?

पहिलो कुरा त यी छापामार समूह हुन्। छद्मरूपमा दुश्मनमाथि आक्रमण जारी राख्छन्। समय, तिथिमिति अनि सुरु गरिने र रोकिने कुनै ठेगान नहुनेखालको शैली प्रिय हुन्छ यस्ता समूहका लागि।

दोस्रो कुरा, यी तत्तत् देशमै पनि प्रिय छन्, विशेषगरी तल्लो तहका जनतासामु। यिनीहरूले लिएका ‘मुलुकको स्वतन्त्रता, स्वाधीनता र अखण्डता’ ले स्थानीयलाई आकर्षित तुल्याएको देखिन्छ। त्यसैले सत्तासीनहरूले चाहेर पनि यिनलाई नियन्त्रणमा लिने त के, यिनीहरूविरुद्ध कुनै निर्णयसमेत गर्न नसक्ने अवस्था छ।

 तेस्रो, यी समूह विश्वमै एक चौथाइको हाराहारीमा रहेका मुसलमान समुदाय र अझ त्यसमा पनि सिया (करिब २० करोडको हाराहारीका) को प्रतिनिधित्व गर्छन्। त्यसैले यी समुदाय विश्वभरका सिया समुदायको सहानुभूति प्राप्त छन्।

जनस्तरमा मात्र नभई शासकस्तरबाट समेत यिनीहरूले विभिन्नखाले सहयोग पाउन सक्नुको मुख्य कारण यही हो। यही कारण पनि यी समूहको नरसंहारमार्फत शान्त इजरायल खडा गर्ने इजरायली चाहना असम्भवप्रायः छ।

प्रश्न उठ्छ -त्यसो भए किन इजरायल यस्ता तीनवटै खतरनाक समूहविरुद्ध एकैपटक लड्ने आँट गरिरहेको छ त ? यो प्रश्नको उत्तर यी समूह र इजरायलबीच विवाद सुरु हुनुको अवस्थासँग जोडिएको छ। एकातिर यी तीनै समूहको एउटै समान धारणा यो छ कि यहुदीहरूले प्यालेस्टाइनी भूमि कब्जा गरेर इजरायल बनाए। अनि इजरायलीहरू भने यसलाई कुनै हालतमा स्वीकार गर्दैनन्। परिणाम– एकले अर्कोलाई सिध्याउने अभियान जारी छ। त्यसैले आफू कुनै हालतमा निसिध्दिने बरु आफूलाई सिध्याउन खोज्ने विरोधीहरूलाई सिध्याउने योजनासाथ इजरायल अघि बढेको छ। अमेरिका/बेलायत लगायत पश्चिमा राष्ट्रको दरिलो धापका कारण आफू यो योजनामा सफल हुने दृढ विश्वास उसमा प्रबल देखिन्छ।

समाधान

प्रत्यक्षमा यो इजरायल र तीन विद्रोही समूहबीचको लडाइँ देखिए पनि यसमा इजरायलतर्फ अमेरिका र उसका समर्थक जोडिएका छन् भने विद्रोही समूहसँग इरान र ऊप्रति सहानुभूति राख्ने राष्ट्रहरू अनि एउटा सिंगो समुदाय मुसलमानभित्रको एक सम्प्रदाय (सिया) जोडिएको छ। त्यसैले यो युद्धमा न इजरायलले चाहे जस्तो विद्रोहीहरूको कत्लेआम हुन सक्छ न त कुनै समुदायविशेषको नरसंहार नै सम्भव छ।

अर्कोतिर प्रहार गर्ने उपयुक्त मौका र परिस्थिति कुर्दै पश्चिमा राष्ट्र र उसका पिछलग्गुका प्रत्येक गतिविधि नियालिरहेको रुस जस्ता राष्ट्र पनि छन् भन्ने बिर्सनु हुँदैन। त्यसैले एकैपटक तीन विद्रोही समूहमाथि जाइलाग्नु इजरायलका लागि अरि·ालसँग भिड्नु बराबर हो।

यस्तो अवस्थामा संयुक्त राष्ट्र सङ्घमा इजरायल–हमास युद्ध रोक्न भएको मतदानमा  १४ विरुद्ध एक सय २० राष्ट्रको अभिमतको कदर गर्दै संयुक्त राष्ट्र सङ्घकै मार्गचित्रअनुसार हिँड्नुको विकल्प इजरायलसँग छैन। यसो गरेमा मात्र इजरायलको मात्र नभई सि·ो विश्व चराचरको भलो हुने निश्चित छ। 

प्रकाशित: १७ आश्विन २०८१ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App