१ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

बिपी आचार बिपी विचार

आज भदौ २४ गते बिपी कोइरालाको १११ औं जन्मजयन्ती हो। देहावसानकै ४२ वर्ष पूरा भएको छ। उहाँको पार्थिव शरीरको अन्त्य भयो तर बिपी नेपाली जनमनमा अझै जीवित हुनुहुन्छ। आफ्नो जीवनकालभर बिपीलाई कहिले नबुझेर तथा कहिले जानिबुझीकन विवादित बनाइयो। मरणोपरान्त उहाँ सर्वस्वीकार्य हुनुभएको छ।

बिपी राष्ट्रवादीका लागि जति उदाहरणीय हुनुहुन्छ, देशभक्तहरूका लागि पनि सर्वाधिक प्रिय हुनुहुन्छ। क्रान्तिकारीहरूले बिपीबाट जति ऊर्जा प्राप्त गर्छन्, सत्याग्रहीहरूले त्यही मात्रामा वा त्योभन्दा अझ धेरै उहाँबाट आत्मबल प्राप्त गर्छन्। बिपी जीवित छँदा राजासँग आफूलाई तुलना गर्‍यो भनी आलोचना गर्ने राजावादीहरूले आजभोलि बिपीलाई उद्धरण गर्दै नेपाली कांग्रेसलाई उपदेश दिने गरेका छन्।

गणतन्त्रवादीहरूका लागि पनि उहाँ सर्वाधिक प्रिय हुनुहुन्छ। कार्यरूपमा गणतन्त्र स्थापनाका नायक गिरिजाप्रसाद कोइराला मानिनुहुन्छ तर नेपाली जनमनलाई आधुनिकता र गणतन्त्रको विचारले आलोकित गर्ने युग नेता बिपी कोइराला हुनुहुन्छ।

समाजवादबाट प्रजातन्त्र झिकिदियो भने त्यो साम्यवाद हुन्छ र साम्यवादमा प्रजातन्त्र थपिदियो भने त्यो समाजवाद हुन्छ भन्ने मौलिक विचार दिने पनि बिपी कोइराला हो। पदले परिचित त नेपालका धेरै शासक हुनुहुन्छ तर विचार र बौद्धिकताले नेपाल सरहद बाहिर एशिया मात्र नभएर युरोप, अमेरिका, अस्ट्रेलियामा सम्मानसहित सम्झिने एक मात्र नेपाली राजनीतिक व्यक्तित्व बिपी कोइराला मात्र हुनुहुन्छ।

आज बिपी कोइरालालाई सम्झनु केवल औपचारिकता पूरा गर्नु होइन। उहाँप्रति कृतज्ञता व्यक्त गर्नु हो। भाग्यको फल भन्दै राणाहरूको अत्याचार र शोषणमा बाँचेका नेपालीलाई कर्मफल अनुभूत गराई हाम्रो भाग्य हामी आफैं निर्माण गर्छाैं भनी जगाउने महान् व्यक्तिप्रति सम्मान व्यक्त गर्नु हो।

भाषाको माध्यमबाट नभए पनि कार्य वा हाउभाउबाट कृतज्ञता र कृतघ्नताको प्रदर्शन अन्य प्राणीले पनि गर्छन् तर उनीहरूका यस्ता क्रियामा दोषरहिता हुन्छ। मानिस मात्र यस्तो प्राणी हो जो नियोजितरूपमा कृतघ्न बन्छ। नेपालीले देखिने गरी बिपीप्रति कृतघ्नता प्रकट गरेका छैनन्। तर बिपीलाई राष्ट्रिय सम्मान दिने गरी उदारता पनि देखाएका छैनन्। यस अर्थमा सन्तोष मान्नुपर्छ कि भारतीयझैं नेपालीहरू कृतघ्न बनेका छैनन्। भारतको वर्तमान शासक मण्डली गोडसे, गोवाल्करहरूको सम्मान गर्छ र गान्धी, अम्बेडकरहरूप्रति अनुदार बन्छ। संसद् भवनबाट गान्धी, अम्बेडकरको प्रतिमासमेत स्पष्ट दृष्यबाट हटाई प्रत्यक्ष दृष्टि नपर्ने अन्तरकुन्तरमा राख्न लगाएको छ।

बिपीलाई सम्झनुपर्ने धेरै विषय छन्। २००७ सालको क्रान्तिको नायकका रूपमा इतिहासले उहाँलाई सधैँ सम्झनेछ।

२००७ सालको क्रान्तिको माध्यमबाट बिपीले नेपाली जनतामा नवीन जागरण प्रारम्भ गराउनुभयो। देश विकास र जनताको आर्थिक प्रगतिका लागि शासनमा रहेका मानिसमा जिम्मेवारी रहन्छ भन्ने बोध २००७ सालको क्रान्ति र २०१६ को बिपी नेतृत्वको सरकारले गरायो। शासकको अगाडि शिर झुकाएर हिँड्न अभ्यस्त नेपालीलाई शिर उचो गराई प्रश्न गर्न सक्ने अवस्थामा पुर्‍याउनुभयो।

तत्कालीन अवस्थामा जमिनमा आधारित अर्थव्यवस्थामा भूमिको पुनर्वितरण गरी गरिब जनताको हक स्थापित गर्नुपर्छ भन्ने अभियानअन्तर्गत बिर्ता उन्मूलन, राज्यरजौटा उन्मूलन, जंगलको राष्ट्रियकरण गरी भूमिसुधार नीति प्रारम्भ गर्नुभयो। औद्योगिकीकरणबिना राष्ट्रको सर्वाङ्गिण सम्भव छैन भनी औद्योगिकीकरणको सुरुवात गर्ने नेपालको पहिलो प्रधानमन्त्री पनि बिपी हुनुहुन्छ।

भारत र चीनसँग मैत्रीपूर्ण सम्बन्ध बनाउँदै बिपीले नेपालको विदेश नीति सञ्चालन गर्नुभयो। मित्रवत् सम्बन्ध कायम गर्दा नेपालको हित र सम्मानलाई सधैं प्राथमिकतामा राख्नुभयो। नेपालको सार्वभौमिक स्वतन्त्रतामा आँच आउन सक्ने वक्तव्य नेहरूले भारतीय संसद्मा बोल्दा बिपीले हाम्रो अनुमतिबेगर हाम्रो देशको सीमाभित्र कोही प्रवेश गर्न सक्दैन भन्दै नेहरूको वक्तव्यको प्रतिवाद गर्नुभयो। साथै नेहरूले पनि बिपी कोइरालाको वक्तव्य ठीक हो भनी स्वीकार गर्नुपर्‍यो।

चीनसँगको सीमा विवादमा माओ त्सेतुंगले सगरमाथा चुचुरो साझा गरौँ भनी आग्रह गर्दा बिपीले यो त नेपालको हो भन्नुभयो र यो पनि भन्नुभयो कि नेपालको सार्वभौम संसद्को अधिकार मैले हरण गर्न मिल्दैन।

यसरी कूटनीतिक चातुर्यताका साथ अस्वीकार गर्नुभयो।पछि चाऊ एनलाई नेपाल आउँदा दुवै देशका विशेषज्ञ सम्मिलित सीमा आयोग  गठन गर्ने सहमति भयो। भारत र चीनले मान्यता नदिएको इजरायल र भारतसँग शत्रुतापूर्ण सम्बन्ध भएको पाकिस्तानसँग दौत्यसम्बन्ध कायम गरी नेपालको विदेशनीति अरू कोहीबाट निर्देशित हुँदैन भन्ने परिचय दिनुभयो।

संयुक्त राष्ट्रसंघको महासभामा गौरवपूर्ण प्रतिनिधित्व गर्दै नेपालको इज्जत बढाउनुभयो। ख्रुस्चेभ जस्ता शक्तिशाली नेता बिपीले दिएको नेपालको पार्टीमा आए र पार्टीको अन्तिमसम्म बसे। खुस्चेभले सीमित मानिस मात्र बोलाएको पार्टीमा बिपीलाई आमन्त्रण गरे। अमेरिकी  राष्ट्रपति आइजनहावरसँग भेट गरी नेपालको आवश्यकता बताउनुभयो साथै  आइजनहावरसँग विश्व राजनीतिको चर्चा गर्नुभयो।

बिपीले नेपालीलाई राणाहरूको दमन र शोषणबाट मुक्त गरेर नेपालीहरूमा जागरण मात्र ल्याउनु भएन, नेपालको विकासका लागि आवश्यक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालीलाई सम्मानित गराउनुभयो।

दोस्रो विश्व युद्धपछिका २५–३० वर्षको अवधिमा संसारका र विशेषगरी एशियाका धेरै देशले आर्थिक प्रगति गरे। सिंगापुर र दक्षिण कोरियाको प्रगति त आश्चर्यजनक रह्यो। तर नेपाल भने अँध्यारो युगतर्फ प्रवेश गर्‍यो। जुन प्रकाशयुक्त युगको सुरुवात बिपीले गर्नुभएको थियो, राजा महेन्द्रबाट मुलुकलाई पुनःअन्धकारतर्फ धकेल्ने काम भयो। बिपीमा राष्ट्र निर्माणको उत्साह र आन्तरिक प्रेरणा थियो। जनता पनि त्यत्तिकै उत्साहित र कर्मशील थिए। त्यो कर्मशील जमातलाई राष्ट्र निर्माणमा सहभागी बनाउन सकेको भए नेपालले आज सिंगापुरको लक्ष्य राख्न पर्दैनथ्यो। एशियाको स्विट्जरल्यान्ड बन्न सक्ने सम्भावना थियो।

दुर्भाग्य, त्यो महत्त्वपूर्ण समय केवल राजभक्तिका प्रशस्ति गाउन बाध्य पारी नेपालीलाई विकासको मूल प्रवाहबाट अलग राखियो। औद्योगिक वस्तु,खाद्यान्न, विद्युत्, फलफूल, जडीबुटी निर्यातबाट राष्ट्रको अर्थतन्त्र बलियो बनाउनु/बन्नुपर्ने नेपाली आज कर्मशील, ऊर्जावान युवा निर्यात गरेको विप्रेषणबाट अर्थतन्त्र धानेका छौँ।

नेपालमा आजभोलि सुशासनको निकै चर्चा हुन्छ। नेता, जनता, उद्योगी, व्यवसायीहरूका साथै समाचारपत्र, टेलिभिजनहरूमा सुशासनका विषयमा चर्चा/परिचर्चा हुने गरेको छ। तर परिणाममा भ्रष्टाचार घटेको छैन, कार्यालयहरूमा ढिलासुस्ती यथावत छ। सेवाग्राहीलाई अनावश्यक शास्ती भोग्नुपरेकै छ।

प्रचण्ड सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी मुद्दामा केही गर्न खोजे जस्तो गरे तर जब सत्ता ढल्मलाउन थाल्यो, शरणार्थी काण्डका मूल नाइकेतर्फ डोरिँदै गरेको मुद्दा केही हाँगाबिँगालाई मुद्दा चलाइ सामसुम पारियो।

सुनकाण्डको अनुसन्धानले जब एकपछि अर्को माओवादी नेताहरूको संलग्नता खुल्न थाल्यो तब नारायणकाजीको मुटु काम्न थाल्यो। बीचमा आएका रवि लामिछानेले सुनकाण्डका आरोपीहरू आफ्नो अपराध दबाउन मोलमोलाइका साधन बनाए। दोहोरो पासपोर्ट,सहकारी बचत अपचलनका अपराध दबाउन गिरफ्तार सुनकाण्डका आरोपीलाई थुनामुक्त गरिदिए।तर पनि पार्टी नेताहरू सुशासन ल्याउछौँ भनी फलाकिरहेका छन्।

आजकालका नेताहरूको वचनअनुसारको कर्म छैन। कर्मअनुसारको वचन बोल्न सक्ने साहस पनि छैन। आफ्नो वाणीमा आफैं बेइमान भएपछि कसरी सुशासन आउँछ ? कसरी भ्रष्टाचार र अनियमिततामा कमी आउँछ ?

बिपी आफ्नो वचनप्रति इमानदार रहनुभयो र कर्मप्रति पनि। सामान्य जीवन जिउनुभयो। ऐशआरामले उहाँलाई आकर्षित गरेन। नेपाली जनताको पूर्ण स्वतन्त्रता र दुःख मुक्तिको लक्ष्य लिनुभयो र जीवनभर त्यो लक्ष्य प्राप्तिका लागि संघर्ष गर्नुभयो। बिपीलाई लामो कारावासले गलाएन, यातनाले पनि बिपीलाई पराजित गर्न सकेन। घाँटीमा देखिएको घातक अर्बुद रोगले पनि बिपीलाई विचलित गराएन।

बिपीलाई सरकारमा रहनु र सरकारबाट बाहिरिनुमा कुनै भिन्नता थिएन। सरकार गिर्छ कि भनेर भ्रष्टाचारलाई प्रश्रय दिनुभएन। राजा महेन्द्रले गणेशमानमाथि भ्रष्टाचारको आरोप लगाउँदा पनि उहाँले आफ्नो अभिन्न मित्र र पार्टीको प्रभावशाली नेता भनेर खुम्चिनु भएन। राजाकै मानिसबाट छानबिन गराउनुभयो। जब गणेशमानजीको कुनै कैफियत भेटिएन, राजा नै लज्जित हुन पुगे।

मानिसको परिचय नाम होइन, उसको कर्म हो। नाम मात्र परिचय हुँदो हो त बिपीको नाम मात्र प्रख्यात हुने थिएन। बिपीको कर्मले बिपीको नामलाई परिचय दियो। बिपीको नामलाई सम्मानित बनायो। महामानव त्यत्तिकै भनिएको होइन। मानव श्रेष्ठ कर्म र वचनका कारण महामानव भनिनुभएको हो। भारतमा गान्धी राष्ट्रपिता मानिनुहुन्छ। गणेशमानलाई लौह पुरूष भनिन्छ। यी सबै उहाँहरूका कर्मले दिएका नाम हुन। बाबुआमाले दिएका न्वारानका नाम सबैका हुन्छन्। श्रेष्ठ कर्मले केही व्यक्तिले बाबुआमाले दिएका नामलाई विशिष्ठता प्रदान गर्दछन्।

हामी बिपी जन्मजयन्ती मनाइरहेका छौँ। नेपाली कांग्रेसले पनि कार्यक्रम आयोजना गरेको छ। बिपीको नाममा खोलिएका संस्थाहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। के हामी साँच्चिकै मन, वचन र कर्मले बिपीलाई सम्झिरहेका छौँ? बिपीको विचार र कर्मको अनुपालन गरेका छौँ? यो नै महत्त्वपूर्ण र अहिलेको घडीमा अनुशीलन गर्नुपर्ने विषय हो।

बिपीको जस्तो बौद्धिकता र उहाँको जस्तो चेतनाको स्तर सबैको नहुन सक्छ। सबै बिपी जस्तै बन्नुपर्दछ भन्न खोजिएको पनि होइन। तर यदि बिपीप्रति श्रद्धा गर्दछौँ भने उहाँका केही महत्वपूर्ण कुरा, जो हामी अनुशरण गर्न सक्छौँ, अनुशरण गर्न संकल्पित हुनुपर्दछ।

अनुशरण गर्नुपर्ने धेरै विषय छन् तर त्यसको सुरुवात जुन साधारण र अति महत्त्वपूर्ण छ– वचनअनुसारको आचरण र कर्म गराैं। आज लोकप्रिय हुनका लागि र भिडको खपतका लागि मात्र बोल्ने गरेका छौँ। हाम्रा वाणीहरू कर्ममा, आचरणमा रूपान्तरित हुँदैनन्।

कतिपय अवसरमा जिम्मेवारी बहन गर्दा आफ्नै वाणी विपीरतका कार्य सम्पादन भएको हामी सबैले अनुभूत गरिरहेका छौँ। तसर्थ आजको दिन हामी हाम्रा वचनमा दृढ रहने र वचनअनुसारको कार्य गर्ने अठोट गरौँ। यति मात्र गर्‍याैं भने अरू तपसिलका कुरा ठीक हुँदै जानेछन्। अहिलेको सन्दर्भमा यही नै बिपीप्रति सच्चा अघ्र्य हुन सक्छ।

प्रकाशित: २४ भाद्र २०८१ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App