२१ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

नेपालीलाई हैजाको सास्ती कहिलेसम्म ?

अमूल्य मानव जीवन पानीजन्य सरूवा रोगको संक्रमणका कारण गुमाउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। नेपालीले प्रत्येक वर्षजसो पिउने पानीजन्य रोगहरू संक्रमणका कारण ज्यान गुमाउनुपरेको छ। यो वर्ष पनि लगातारको वर्षात्ले देशभर हैजा फैलिएको छ। हैजा लागेर उपचार नपाउनु एउटा पक्ष हो जुन स्वास्थ्य सेवाको पहुँचको कुरासँग जोडिएर आउँछ तर हैजा बर्सेनि किन फैलिन्छ ? त्यस्तो कारण खोज्नु अर्को महत्वपूर्ण पक्ष हो।

नेपालमा हैजाको इतिहास केलाउँदा

सन् १८२३ देखि सन् २०२४ सम्मका विभिन्न घटना नियाल्न सकिन्छ। सन् २००९ मे १ देखि १६ सम्म जाजरकोटमा १११ जनाको मृत्यु र ६ हजार  जति संक्रमण भएका काहाली लाग्दा घटना नेपालले भोगिसकेको छ। हैजा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीबाहेक अरू यो समस्यामा कति गम्भीर छन् भन्ने अर्को प्रश्न हो। हैजालाई स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूसँग मात्र जोडेर हेर्नु र प्रतिकार्यलाई मात्र ध्यान दिने भुल यो क्षेत्रमा काम गर्ने सरोकारवालाले गर्नुहुँदैन।

संविधानले पिउने पानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा स्थापित गरको नौ वर्ष पुग्न लागिसक्यो। आधारभूत पिउने पानीको पहुँचमा उल्लेखनीय वृद्धि भएको भए पनि नेपालमा पिउने पानीको गुणस्तरको अवस्था कहालिलाग्दो छ। खानेपानी मन्त्रालयले हालै प्रकाशन गरेको खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रगत प्रगति प्रदिवेदनअनुसार सुरक्षित पिउने पानीको पहुँच पुगेको जनसंख्या जम्मा १९ प्रतिशत हो। सुरक्षित पिउने पानीको पहुँच विगतको तुलानामा खस्कँदो छ। यो भन्नु भनेको पिउने पानीजन्य रोगको जोखिम वढ्दो क्रममा छ।

नेपालमा बढ्दो हैजाको संक्रमण न्यूनीकरण अथवा रोकथामको कुरा गर्दा पिउने पानी वितरण गर्ने सेवा प्रदायकको काम, कर्तव्य र क्षेत्र अधिकारबारे पनि कुरा गर्नुपर्छ। यस्ता सेवाप्रदायकहरू काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जसले काठमाडौँ उपत्यकाको अधिकांश भागमा पिउने पानी आपूर्ति गर्छ। नेपाल खानेपानी संस्थान जसले नेपालको २२ वटा शहरमा पिउने पानी आपूर्ति गर्छ। शहरी खानेपानी बोर्ड जसले भरतपुर, हेटौँडा र धरानमा पिउने पानी आपूर्ति गरेको छ। केही ग्रामीण खानेपानी बोर्ड पनि बन्ने क्रम जारी छ। नेपालको बाँकी भूभागमा ४३ हजार जति खानेपानी तथा सरसफाइ उपभोक्ता समिति छन् जसले नेपालको ठूलो हिंसामा पिउने पानी आपूर्ति गरेका छन्। यसका अलवा नेपालमा निजी क्षेत्रहरू पनि पिउने पानी वितरणमा सक्रिय छन्। जस्तै– ट्यांकर व्यवसायी, बोटल र जार उत्पादन गर्ने कम्पनीहरू।

नेपालमा कुनै सेवा प्रदायकविना आफैँ पानीको जोहो गर्ने पनि छन्। नेपालको कानुन, खानेपानी तथा सरसफाइ ऐन २०७९ र खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० बमोजिम कुरा गर्ने हो भने यी सवै सेवा प्रदायकहरूले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ वमोजिमको पानी वितरण गर्नुपर्ने हो। तर हैजा संक्रमणपश्चात विभिन्न स्थानमा गरिएको पिउने पानीको परीक्षणले धरैजसो स्थानमा जैविक संक्रमण देखिएको छ। जुन यी माथि उल्लिखित सेवा प्रदायकको सेवा क्षेत्रमा नै पर्छ। सबैभन्दा दुःखद पक्ष त केही निजी क्षेत्रबाट वितरण गर्ने जार र बोटलको पानीमा पनि जैविक जीवाणु भेटिएको अवस्था छ।

सन् २००६ सम्ममा नेपालमा पिउने पानीजन्य रोगका कारणले गर्दा बार्षिक १० हजार पाँच सय बालबालिकाको मृत्यु हुने गर्दथ्यो। एक घर एक शौचालय निर्माणको अभियानसँगै बाल मृत्युदरमा धेरै कमी आएको छ तर पानीजन्य रोग फैलिन सक्ने उच्च जोखिम अहिले पनि कायम छ। यही कारण प्रत्येक वर्षजसो हैजाको संक्रमण नेपालमा भइरहन्छ।

नेपालमा पिउने पानीको गुणस्तरमा सेवाप्रदायक र सेवाग्राही दुवैको ध्यान गएको देखिदैन। सामान्यतया निजी क्षेत्रबाहेक अधिकांश सेवा प्रदायकहरूले वितरण गर्ने पानीमा वर्षातको समयमा पानी धमिलो आउनु, पानी प्रदूषित हुनु सामान्य जस्तो भइसकेको छ। सेवाग्राही पनि वर्खाको बेलामा धमिलो पानी आएमा गुनासो नगर्ने बानी परेको छ। वर्षाको बेलामा पानी धमिलो आयो भनेर सुधार गर्नुको साटो वर्खामा दुई चार दिन पानी धमिलो आइहाल्छ नि भनेर जिम्मेवारीबाट पन्छने चलन पिउने पानी सेवा प्रदायकहरूमा वढेको छ।

पानीजन्य रोगको अन्त्य गर्ने हो भने पिउने पानीका प्रणालीहरूमा व्यापक सुधारका साथै दिसाजन्य लेदो व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हुन्छ।  

सन् २०१९ मा नेपाललाई खुला दिसा मुक्त गरेपछि सरसफाइको क्षेत्रमा त्यति ध्यान दिन सकिएको छैन। २०१९ बनाएका अधिकांश शौचालय भरिएका छन्। ती शौचालयको दिसाको उचित व्यवस्थापन गर्न सकिएन भने भविष्यमा पानीजन्य रोग अझ धेरै फैलने उच्च जोखिम छ। सरकारले पिउने पानी सेवा प्रदायकहरूको सेवाको स्तर मापन गर्ने स्पष्ट खाका तयार गर्नुपर्ने हुन्छ।

पिउने पानी प्रणालीबाट वितरित पानी शुद्ध हुँदाहुँदै पनि आममानिसका स्वच्छतासम्बन्धी बानी बेहोराका कारणले पनि हैजा फैलने जोखिम कायमै हुन्छ। तत्काल हैजाबाट बच्नका लागि पानी भक भक उमालेर मात्र पिउने, घरायसीरूपमा प्रयोग गर्ने पानीलाई पनि क्लोरिन गरेर मात्र प्रयोग गर्ने, पहाडतिर खुला मुहानबाट पानी आएको छ भने त्यहाँ इकोली हुने सम्भावना धेरै बढी हुन्छ। त्यो स्थानमा पानी शुद्धीकरणका घरायसी विधिहरू लागु गर्न सकिन्छ। नेपालको दूरदराजमा बस्ने आममानिसलाई पानीका अन्य शुद्धीकरणका विधिभन्दा पनि उमालेर पिउनुपर्छ भन्दा राम्रो हुन्छ किनकि फिल्टरको आयु र उचित प्रयोगमा धेरै स्थानमा समस्या देखिएको छ।

पिउने पानी सेवा प्रदायकहरूले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ बमोजिम पिउने पानी वितरण गर्ने योजना साथ काम गर्ने र सेवा प्रदायकहरूको सेवा गुणस्तरको नियमितरूपमा अनुगमन, मूल्यांकन गरी पुरस्कार र दण्डको व्यवस्था गर्ने हो भने पिउने पानीजन्य रोगलाई दीर्घकालीनरूपमै कम गर्न सकिन्छ। अन्यथा हरेक वर्ष हैजा सामना गर्नुको विकल्प हामीसँग हुने छैन।

– गौतम वाटरएड नेपालमा खानेपानी सञ्चालक साझेदार संयोजकका रूपमा कार्यरत् छन्।

प्रकाशित: ११ भाद्र २०८१ ११:३५ मंगलबार

#cholera #Nepal