एक दिन मसँग एकजना कमरेडले सोध्नुभयो,‘दोस्रो विश्वयुद्धकालको विश्व कम्युनिस्ट आन्दोलन फर्केर आउन सक्ला कि नाई ?’ मैले उत्तर दिएँ, ‘कुनै पनि घटना फर्केर आउने कल्पना गर्न सकिन्न तर?’ तरलाई पक्डेर उहाँले फेरि सोध्नुभयो, ‘कस्तो तर?’
कम्युनिस्ट आन्दोलन मार्क्सवादी दर्शनको मार्गदर्शनमा विकसित मानवजातिको उन्नतस्तरको आर्थिक, सांस्कृतिक क्रियाकलापसित सम्बन्धित सचेत भौतिक संरचनाको अवस्था हो। यस सम्बन्धमा मैले उहाँलाई सविस्तार आफ्नो परिकल्पना प्रदान गर्ने विचार गरेँ। त्यही वार्ताको सन्दर्भमा यो रचना तयार भएको हो।
मानवजाति सिंगो ब्रह्माण्डको बौद्धिक निष्कर्ष हो। ब्रह्माण्डमा रहेका पदार्थको सबभन्दा विकसित, अन्तिम र गतिशील स्वरूपलाई नै मानवजाति भनिन्छ। यसको अस्तित्व निरन्तर परिवर्तन र विकासको गति अनुरूप भइरहेको छ।
ब्रह्माण्डलाई जस्ताको तस्तै बुझाउने दर्शनको नाम हो माक्र्सवाद। द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई नै माक्र्सवाद नामकरण गरिएको हो। द्वन्द्वात्मक भौतिकवादी दर्शन निर्माणमा लाखौं वर्षको मानवजाति विकासको इतिहासका हजारौं सामाजिक वैज्ञानिकहरू, विद्वान् महापुरुषहरूका बौद्धिक निष्कर्षहरू समावेश भएका छन्। त्यही भएर संसारमा देखापरेका सबै दर्शनमा यो सबभन्दा विकसित दर्शन मानिन्छ।
आजसम्मको मानवजातिको विकासको गति समग्रमा अग्रगामी रहेको छ। यद्यपि अग्रगमन र पश्चगमन विपरीत तत्त्वका रूपमा रहेका हुन्छन्। जस्तोसुकै पदार्थको अस्तित्वमा दुई विपरीत तत्त्वबीच निरन्तर एकता र संघर्षको अवस्थामा अग्रगामी तत्त्वको विजय अनिवार्य हुन्छ। विजयपछि नयाँ विपरीत तत्त्वको एकता र संघर्षको अवस्थामा स्थापित भइहाल्छन्। केही गरी उत्पादन पद्धतिमा विपरीत तत्त्व स्थापित भएनन् भने त्यो विकास होइन, ध्वंशमा परिणत हुन्छ। पदार्थमा विपरीत तत्त्वको एकता र संघर्षविहीन अवस्था कल्पना पनि गर्न सकिन्न।
पृथ्वीमा मानवजातिको विकाससँगै उत्पादन पद्धतिको पनि विकास सुरु भएको हो। दिमागले सोच्ने, खुट्टाले हिँड्ने र हातले काम गर्ने अवस्थामा विकसित भएको मानवजाति ३० लाख वर्षपहिले शिवालिक पर्वतमाला र इन्डोनेसियामा, २० लाख वर्षपहिले पश्चिम अफ्रिकामा विकसित भएका हुन्। पृथ्वीको उत्पत्ति आजभन्दा १३ अर्ब ८० करोड वर्षपहिले बिगब्याङसँगै भएको मानिन्छ।
पृथ्वीमा वायुमण्डल सातआठ अर्ब वर्ष पहिले र पानी अथवा महासागर करिब सात अर्ब वर्षपहिले, वनस्पति पाँच अर्ब वर्षपहिले तथा त्यही कालमा समुद्रमा मोनेरा नाम राखिएको एक कोषीय जीवको विकास भएको मानिन्छ। त्यहीपछि मानिसका रूपमा विकसित भएको छ। करिब तीन अर्ब वर्षपहिलेदेखि पृथ्वीमा विभिन्न प्रकारका जनावरहरूको विकास भएको छ। तिनै जनावरहरूमध्ये एउटा प्रजाति मानवका रूपमा विकसित भएको हो। सुरुदेखि नै मानवजातिको विशेषता समूहमा रहने, सामूहिक रूपमा खाद्य पदार्थको जोहो गर्ने, सामूहिक रूपमै उपभोग गर्ने तथा सामूहिक रूपमै बैरीहरूसँग भिड्ने रहेको थियो।
यही विशेषताका कारण मानवजाति पृथ्वीको मालिक हुन सकेको हो। यही कारण नै विश्वसहित सिंगो ब्रह्माण्डको जानकारी राख्न सक्ने, आफ्ना गतिविधिलाई सुन्दर संस्कृतिसहित निर्माण गर्न सक्ने, त्यही संस्कृतिमा रमाउन सक्ने र आफूले आर्जन गरेको ज्ञानलाई नयाँ पिँढीमा हस्तान्तरण गर्न सक्ने प्राणीका रूपमा मानजाति विकसित भएको हो। मानवजातिको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो परिकल्पना गर्न सक्ने क्षमता।
अब म सुरुको प्रश्नको उत्तर दिने चरणमा प्रवेश गर्छु। आजसम्म कम्युनिस्ट तथा श्रमिक पार्टीको नेतृत्वमा जति राष्ट्रहरूमा सर्वहारा समाजवादी तथा नयाँ जनवादी चरित्रका सामाजिक र सांस्कृतिक क्रान्तिमा संलग्न भएका छन्, तिनमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले निर्माण गरेको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को मुख्य मार्गदर्शन रहेको छ।
संसारका अर्बौं मानिसको आस्था र विश्वास बोकेको लेनिन र स्टालिनसहितका नेताहरू र करोडौं सर्वहारा श्रमजीवी वर्गको रगत, पसिना र बौद्धिक क्षमताले निर्माण गरेको सोभियत समाजवादी व्यवस्था पनि त्यही कम्युनिस्ट पार्टीको घोषणापत्र र मार्क्सवादी दर्शनको मार्गदर्शन रहेको थियो। सोभियत नेता र जनता सामाजिक र सांस्कृतिक क्रान्तिमा संलग्न भइरहेकै अवस्थामा माक्र्सवादी दर्शनको थप सुसंगत विकास पनि भएको हो।
रुसी सर्वहारा समाजवादी क्रान्तिका दौरान माक्र्सवादको समकक्ष लेनिनका विचारलाई सम्मान गर्दै लेनिनवाद पनि नामकरण गरिएको हो। त्यही घोषणापत्र र माक्र्सवादको मार्गदर्शनमा सामन्ती, अर्धसामन्ती र औपनिवेशिक तथा अर्धऔपनिवेशिक अवस्थामा रहेका मुलुकहरूमा सामाजिक र राष्ट्रिय स्वतन्त्रताका निम्ति क्रान्ति सुरु भएपछि विभिन्न मुलुकहरूमा राष्ट्रिय विशेषतासहितको विचारधाराहरूको विकास भयो।
जस्तै चिनियाँ क्रान्तिमा माओत्सेतुङ विचारधारा, कोरियन क्रान्तिमा जुच्छे विचारधारा, भारतीय क्रान्तिमा चारु विचारधारा, पेरु क्रान्तिमा गोन्जालो विचारधारा, क्युवा र ल्याटिन अमेरिकामा चेग्वेरा विचारधारा, भियतनाममा होचिमिन्ह विचारधारा, नेपालमा जनताको बहुदलीय जनवाद या मदन भण्डारी विचारधारा आदि।
कुनै पनि राष्ट्रमा भएको क्रान्ति र निर्माणको सफलता र असफलताका कारणहरू सबभन्दा पहिले त्यही राष्ट्रले अवलम्बन गरेको सिद्धान्त, नीति, योजना, कार्यक्रम र संस्कृतिमा खोज्नुपर्छ। यसरी भन्नुपर्दा सोभियत समाजवादको असफलताका कारण कम्युनिस्ट पार्टीको घोषणापत्र, माक्र्सवाद, लेनिनवाद, त्यसपछि सोभियत कम्युनिस्ट पार्टी र त्यसका मुख्य नेताहरूको भूमिकामा खोज्नुपर्छ।
पूर्वी युरोप र पूर्वी जर्मनीको कम्युनिस्ट आन्दोलन, त्यसैगरी भारतलगायत समकालीन अवस्थाका कम्युनिस्ट आन्दोलन आदिका जय र पराजयसित सम्बन्धित कारण पनि त्यसरी नै खोज्नुपर्छ। ल्याटिन अमेरिका र अफ्रिका तथा अन्य मुलुकहरूको कम्युनिस्ट आन्दोलनका सम्बन्धमा जानकारी प्राप्त गर्न अनुसन्धानको यही बाटो अवलम्बन गर्नुुपर्छ।
विश्व कम्युनिस्ट आन्दोलनको उपर्युक्त शैलीका आधारमा सिंहावलोकन गर्न सकियो र सिंहावलोकनलाई सम्बन्धित राष्ट्रका कम्युनिस्ट पार्टीहरूले अगाडि बढ्नका लागि वैचारिक शक्तिका रूपमा ग्रहण गर्न सके भने हामी बाँचिरहको शतकभित्रै कम्युनिस्ट आन्दोलन जुरमुराएर उठ्न सक्नेछ। त्यसो गर्न सक्दा अर्को शताब्दीअघि नै संसारका सबै राष्ट्रहरूमा कम्युनिस्ट तथा श्रमिक पार्टीको नेतृत्वमा बहुदलीय प्रतिस्पर्धासहितको भव्य समाजवादको उदय पनि हुन सक्नेछ।
त्यसरी अगाडि बढ्न सकियो भने सबैभन्दा पहिले अहिलेको महाशक्ति राष्ट्र रुसी महासंघमा सबैभन्दा पहिलेको संरचनामा होइन, जनताको बहुदलीय जनवादले प्रस्तुत गरेको राज्यसत्तामा रहेको द्वन्द्वात्मकतालाई प्रकट गर्ने बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गरेर वैज्ञानिक समाजवाद पुनः स्थापना हुने प्रबल सम्भावना रहेको छ। किनकि, समाजवाद निर्माणका निम्ति चाहिने जति पनि भौतिक संरचनाहरूको आवश्यकता पर्छ, ती सबै बनिबनाउ अवस्थामा रुसी महासंघमा कायमै छन्।
ब्रह्माण्डमा भौतिक पदार्थ मात्र छ तर त्यो निरन्तर परिवर्तन र विकासको अवस्थामा मात्र हुन्छ। त्यो परिवर्तन र विकासका तीन मुख्य नियम छन्ः (यसलाई माक्र्सवादी दर्शनका तीन मुख्य नियम पनि भनिन्छ) (१) विपरीत तत्त्वबीच एकता र संघर्षको नियम, (२) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम, (३) निषेधको निषेध नियम। उपरोक्त तीन नियममध्ये पहिलो नियमलाई माक्र्सवादी दर्शनको मुटु मानिन्छ।
सिंगो ब्रह्माण्ड, त्यसमा रहेका ठुला साना सबै पिण्डहरू, सबै किसिमका तरल र ग्यास पदार्थ, विद्युत् र ताप तथा चुम्बक अथवा गुरुत्वाकर्षण शक्ति यिनै नियमहरूका आधारमा अस्तित्वमा रहेका छन्, विकसित भएका छन् र मृत्युवरण वा त्यही प्रक्रियाबाट जीवन पनि प्राप्त गरेका छन्। यसका आधारमा विचार गर्दा कम्युनिस्ट पार्टीको घोषणापत्रले निर्देशनात्मक रूपमा उल्लेख गरेको छ–सर्वहारा वर्गको नेतृत्वमा राज्य कब्जा गरेर ध्वंश गर्नुपर्छ र त्यहाँ सर्वहारा अधिनायकत्वसहितको नयाँ राज्य खडा गर्नुपर्छ। त्यसपछि महŒवका साथ पुँजीवादलाई समाप्त गर्नुपर्छ र समाजवाद निर्माण गर्नुपर्छ।
सोभियत संघ उपर्युक्त मार्गदर्शनमा निर्माण गरियो। समाजवाद निर्माण गर्ने सम्बन्धमा कम्युनिस्ट पार्टीको घोषणापत्रमा जे जति निर्देशनात्मक विचारहरू छन्, तिनलाई अवलम्बन गरेर सोभियत समाजवाद खडा गरियो। तर त्यहाँ स्थापित उत्पादन पद्धतिमा विपरीत तŒव स्थापित हुन दिइएन।
कम्युनिस्ट पार्टीको घोषणापत्र सन् १८४८ मा माक्र्स र एंगेल्सले कम्युनिस्ट लिगको अनुरोधमा तयार गर्नुभएको र त्यसबेला युरोपमा रहेका सबै कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू उपस्थित भएको सम्मेलनमा पारित गरी कार्यान्वयन गरिएको थियो। त्यसबेला माक्र्सवादी दर्शन, आज जसरी जीवन र जगत्का सन्दर्भमा मार्गदर्शन प्राप्त गर्न सकिन्छ, त्यसरी विकसित भइसकेको थिएन।
कम्युनिस्ट पार्टीको घोषणापत्रमा माक्र्सवादी दर्शनका तीन मुख्य नियमहरू आज खोज्दा पाइँदैन किनकि त्यसबेला माक्र्सवादका तीन मुख्य नियम विकसित गर्न सकिएको थिएन। आज विचार गर्दा ती नियमहरू घोषणापत्रमा समावेश हुनु अनिवार्य थियो। घोषणापत्र जारी भएको २२ वर्षपछि पेरिस कम्युनको असफलताबाट शिक्षा लिँदै माक्र्स र एंगेल्सले ‘मजदुर वर्गले बनिबनाउ राज्य कब्जा गरी त्यसैलाई प्रयोग गरेर आफ्नो मुक्ति प्राप्त गर्न सक्दैनन्’ भन्ने संशोधन गर्नुभयो। जबकि त्यसपछिका अनेक देशमा भएका क्रान्तिमा क्रान्तिकारीहरूले राज्यसत्ता कब्जा गरी त्यसैलाई प्रयोग गरेर विजय हासिल गरेका अनेकौं उदाहरण छन्।
एउटा उदाहरण रुसी सर्वहारा समाजवादी क्रान्तिमा जारशाही सरकारले निर्माण गरेका सेनाहरूको आधा संख्याले समर्थन मात्र गरेन, अर्को पक्षसँग आमनेसामने युद्धसमेत गरेर मात्र क्रान्ति सफल हुन सकेको थियो। त्यसबेला माक्र्स र एंगेल्सले घोषणापत्रमा गर्नुभएको संशोधन माक्र्सवादी दर्शनको मुख्य नियमका आधार ब्रह्माण्डमा भौतिक पदार्थ मात्र छ तर त्यो निरन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छ भन्ने सिद्धान्त विपरीत छ। त्यो विपरीत तत्त्वबिच एकता र संघर्षको नियम मात्र होइन, माक्र्सवादका सबै नियमसँग मेल खाँदैन। माक्र्स र एंगेल्सले गर्नुभएको संशोधनको अर्थ बनिबनाउ राज्यसत्ता परिवर्तन हुँदैन। त्यसलाई ध्वंश गरी आफ्नो राज्य खडा गरेर मात्र क्रान्ति सफल हुन्छ भन्ने परिभाषाअनुरूप संसारभरिका कम्युनिस्ट पार्टीहरूले अवलम्बन गरे। त्यो सिद्धान्तबमोजिम जाँदा सबैभन्दा पहिले नै क्रान्तिकारी फौज निर्माण गर्नुपर्यो, पुरानो राज्यसत्तामाथि आक्रमण गरेर त्यसलाई ध्वस्त गर्नुप¥यो र नयाँ सर्वहारा वर्गीय राज्य खडा गर्नुपर्यो। अनि बल्ल क्रान्ति सफल हुने भयो। यो प्रक्रियामा संसारका सबै कम्युनिस्ट पार्टीहरू प्रवेश गरे।
केही देशमा सफलता पनि प्राप्त भएको छ तर अधिकांश मुलुकमा त्यसरी सुरु गरेका क्रान्तिहरू खासगरी सन् १९६० पछि गरिएका सशस्त्र क्रान्तिहरू असफल भएका छन्। असफल भएका क्रान्तिमा ठुलो संख्यामा संसारभरिकै हिसाब गरी भन्ने हो भने करोडौं व्यक्तिहरूको क्रान्ति र प्रतिक्रान्तिको नाममा रक्तपात र हत्या भएको छ।
पेरिस कम्युनको असफलतापछि माक्र्स र एंगेल्सले आफ्ना पुराना निष्कर्षहरू पुनरावलोकन गर्दै उपर्युक्त मुख्य तीन नियमहरू विकास गर्नुभएको हो। तीन मुख्य नियममध्ये सबैभन्दा मुख्य नियम ‘विपरीत तत्त्वबीच एकता र संघर्षको नियम’ हो। त्यसअनुसार उहाँहरूले नै विगतका उत्पादन पद्धतिमा विपरीत तत्त्व के थिए र भविष्यमा देखापर्ने उत्पादन पद्धतिमा कुन विपरीत तत्त्वले काम गर्नेछ भनेर स्पष्ट पार्नुभएको छ।
त्यस अनुसार (१) आदिम साम्यवादी समाजमा मानवनिर्मित उत्पादनपद्धति विकसित भएकै थिएन। त्यो प्रकृतिप्रदत्त वस्तुहरूमा निर्भर थियो। त्यसबेला मानवजाति र प्रकृतिबीच विपरीत तत्त्वको अवस्था थियो। (२) त्यसपछि विकसित भएको, दासमालिक उत्पादन पद्धति हो। त्यसमा दास र मालिकबीच विपरीत तत्त्वको अवस्था थियो। (३) त्यसपछि विकसित भएको सामन्ती उत्पादन पद्धति हो। त्यसमा भूदास र सामन्त विपरीत तत्त्वका रूपमा थिए। (४) त्यसपछि विकसित भएको पुँजीवादी उत्पादन पद्धति हो। त्यसमा सर्वहारा र पुँजीपतिहरू विपरीत तत्त्वका रूपमा थिए। त्यसपछि विकसित समाजवादी उत्पादन पद्धति हो।
समाजवादी उत्पादन पद्धति पुँजीवादलाई उन्मूलन गरेर कायम हुने हुनाले पुँजीवाद विपरीत तत्त्वका रूपमा देखापरेन। तर कुनै पनि उत्पादन पद्धति विपरीत तत्त्वको अस्तित्वमै आउन सक्दैन भन्ने निष्कर्ष माक्र्सवादका तीन नियमहरूले स्पष्ट पार्छन्। यो विवादमा माक्र्स र एंगेल्स सामेल हुन चाहनुभएन। चुप रहनुभयो। माक्र्स र एंगेल्स चुप रहनुको कारण आजसम्म कुनै पनि माक्र्सवादीले खोज्न सकेनन्। खोज्न सक्ने बौद्धिक क्षमताको हैसियतमा लेनिन हुनुहुन्थ्यो। तर उहाँको चाँडै हत्या गरियो। त्यसपछि सोभियत दर्शन शास्त्रीहरूले अर्थ लगाए– समाजवादमा पुँजीवाद हुँदैन। त्यसो भएर प्रकृतिसित नै विपरीत तत्त्व कायम हुनेछ, जसरी साम्यवादमा प्रकृतिसित नै विपरीत तत्त्व कायम हुन्छ भन्ने मान्यता रहेको छ।
विपरीत तत्त्वबिना कुनै पनि अस्तित्व सम्भव छैन। अस्तित्वमा रहेका जुनसुकै पदार्थ त्यो ब्रह्माण्ड होस् या अणु, सबैमा विपरीत तत्त्वले काम गरेको हुन्छ। तर सोभियत संघका स्टालिनदेखि सोभियत संघ रहँदासम्मका कम्युनिस्ट पार्टीका नेताहरू र भिक्टर अफानासड्ढभलगायत रुसी महासंघका सबै दर्शन शास्त्रीहरू तथा संसारभरिका एक जनाबाहेक कुनै पनि कम्युनिस्ट नेता वा दर्शनशास्त्री समाजवादमा विपरीत तत्त्व हुँदैन भनेर चुप बसे।
सन् १९९२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पाँचाैं महाधिवेशनमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदन र जनताको बहुदलीय जनवादको कार्यक्रममा पहिलो पटक समाजवादी व्यवस्थामा पनि बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली हामीले अवलम्बन गर्नेछौं भनेर पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले भिन्न शब्दमा समाजवादमा पनि विपरीत तत्त्वले काम गरेको हुन्छ भन्ने विचार प्रस्तुत गर्नुभएको थियो। उहाँ बाँची रहनुभएको भए कार्ल माक्र्स, एंगेल्स, त्यसपछिका नेताहरू र दर्शनशास्त्रीहरूले देख्न नसक्नु भएको विपरीत तत्त्वलाई प्रकट गर्नुहुनेथियो। उहाँसँग त्यसबेला त्यो हैसियत भएको हुनाले उहाँले यो उद्घाटन गर्नुहुन्थ्यो भन्ने मलाई लागेको हो।
विपरीत तत्त्वको अवस्थाबिना न ज्ञान न विज्ञान, न मानिस न कुनै अरू जीव कसैको पनि अस्तित्व रहँदैन। पुँजीवाद समाप्त भएपछि मानवजाति र प्रकृतिबीच विपरीत तत्त्व आवश्यक रहेको देख्ने तर समाजवादमा कुनै पनि विपरीत तत्त्वको आवश्यकता नदेख्ने यो गलत चिन्तनको उपज हो। अझ साँच्चै भन्ने हो भने समाजवादमा विपरीत तत्त्व दिउँसोको घाम जत्तिकै छर्लङै देखिन्छ। किनकि समाजवाद भनेको समूहको विचार हो। समूहको प्रारम्भिक इकाइका रूपमा व्यक्ति हुन्छ। व्यक्ति व्यक्ति मिलेर समाज बन्छ।
सामाजिक उत्पादन र व्यक्तिगत स्वामित्वलाई हामी निर्धक्क पुँजीवाद भन्छौं। किनकि सामाजिक उत्पादनमा सामाजिक स्वामित्व नभएर व्यक्तिगत स्वामित्व भएको हुनाले नै पुँजीवाद विकसित हुन सकेको हो। समाजवादको अर्थ हो सामाजिक उत्पादनमा सामाजिक स्वामित्व स्थापित गर्नुपर्छ। तर सामाजिक स्वार्थ र व्यक्तिगत स्वार्थ प्रकारान्तरले एउटै विषय हो। त्यही भएर समाजवादमा व्यक्तिगत आवश्यकतालाई उच्च महत्त्वका साथ स्थापित गरिन्छ। त्यसलाई व्यवस्थित गर्नका निम्ति बजारको विकास अनिवार्य हुन्छ। त्यति मात्र होइन, उत्पादन गर्ने, उपभोग गर्ने, संकलन गर्ने, व्यवस्थित गर्नेजस्तो कामका निम्ति विनिमय व्यवस्थापन अत्यन्त जरुरी आवश्यकता हुन्छ।
यो सबै व्यवस्थापनमा मध्यस्थकर्ताका रूपमा मुद्रा प्रणाली विकसित भएको हो। यसलाई समयअनुरूप व्यवस्थित डिजिटल वित्त प्रणाली अहिलेलाई अनिवार्य देखापरेको छ। यसलाई स्थापित गर्ने हो भने मुद्रा विनिमय प्रणालीमा जानैपर्छ। यसले जुनसुकै क्षेत्रमा काम गर्नेहरूका निम्ति तलबमान कायम गर्नैपर्छ।
त्यति मात्र होइन, आफ्नो कानुनसम्मत कमाइबाट आर्जन भएको तलबबाट सम्पत्ति कायम हुनसक्ने अवस्था सिर्जना हुन्छ। त्यति मात्र होइन, देशविदेशमा सरकारले नै गर्ने व्यापार व्यवसायमा बिक्री वा खरिद गर्दा प्राप्त हुने मुनाफा अतिरिक्त मूल्यबाट सिर्जित मुद्रा प्राप्त हुने हो। यसले के देखाउँछ भने सम्पत्ति राख्ने व्यवस्था समाजवादमा अनिवार्य हुन्छ। यस्तो अर्थ व्यवस्थालाई समाजवादी अर्थ व्यवस्था भन्नुस् या राष्ट्रिय पुँजीवाद भन्नुस् एउटै हो। जुन अहिले चीन, भियतनाम, लाओस, क्युबामा कार्यान्वयनमा गएको छ।
हामीले यसलाई राष्ट्रिय पुँजीवाद भन्नुपर्छ र यो स्वदेश र संसारभरिका जनताप्रति हाम्रो इमानदारी हुनेछ। त्यसरी आर्जन गरिने पुँजी अतिरिक्त मूल्यबाट आर्जन गरिएको धन हुन्छ। माक्र्सले पुँजीपति वर्गले बिनाज्याला श्रमिकहरूलाई अतिरिक्त काममा लगाएर कसरी मुनाफा आर्जन गर्छ भन्ने सिद्ध गर्न चार वटा पुँजी नामका ग्रन्थहरू तयार गर्नुभएको छ। तर मैले भन्नैपर्छ, कम्युनिस्ट पार्टीको घोषणापत्र लेख्दा विश्वकै उत्कृष्ट व्यक्तित्व धारण गर्नुभएको कार्ल माक्र्सले यति गम्भीर विषयलाई ख्याल गर्न सक्नुभएन। माक्र्सवादी दर्शनको मूल सिद्धान्त लेख्नुभयो तर समाजवादमा विपरीत तत्त्व के हुन्छ भनेर माक्र्स र एंगेल्सले खोल्न सक्नुभएन।
सोभियत संघमा विपरीत तत्त्वका रूपमा रहने राष्ट्रिय पुँजीवादलाई विकसित हुनै दिइएन। तर समाजवादको विपरीत तत्त्वका रूपमा राष्ट्रिय पुँजीवाद रहनैपर्छ। सोभियत नेतृत्वले आफ्नो देशमा पुँजीवाद समाप्त गरे पनि समाजवाद जीवित रहनका निम्ति पुँजीवादी अर्थतन्त्र सोभियत संघ भूमिगत रूपमा स्थापित भयो। त्यसले सोभियत संघलाई समाप्त गर्न चाहने साम्राज्यवादीहरूका जासुसहरू भूमिगत अर्थतन्त्रको माध्यमबाट सोभियत संघमा प्रवेश गरे। उनीहरूले सबै प्रकारका प्रयत्न प्रयोग गर्दै सोभियत संघको कम्युनिस्ट पार्टीका नेताहरूलाई पथभ्रष्ट गराउन सुरु गरे। त्यसपछि साम्राज्यवादीका भूमिगत तत्त्व सोभियत लालसेनामा प्रवेश गर्यो।
सबै अवस्था उपयुक्त देखेपछि सोभियत राष्ट्रपति ग्वोर्भाचोभलाई अपदस्त गर्ने र त्यो ठाउँमा कुनै कम्युनिस्ट नेतालाई पुर्याउने तथा मस्कोका मेयर यल्त्सिनलाई राष्ट्रपति बनाउने साथै समाजवादी व्यवस्था समाप्त गर्न सोभियत लालसेनालाई देशव्यापी रूपमा परिचालन गरियो। त्यसपछि सोभियत संघमा सामेल राज्यहरूमाथि लालसेनाको कारबाही सुरु भयो। त्यसपछि लालसेना छिमेकी समाजवादी मुलुकहरू र पूर्वी जर्मनीसम्म समाजवादी व्यवस्था उल्ट्याएर पुँजीवाद पुनस्र्थापना भयो। लेनिनले स्थापना गरेको, स्टालिनले विकसित गरेको करोडौं रुसी जनताले हुर्काएको समाजवादी व्यवस्था गल्र्यामगुर्लम ढल्यो र पुँजीवाद पुनस्थापना भयो।
अब म कमरेडले सोध्नुभएको प्रश्नको जवाफ छोटकरीमा दिन्छु। मैले यो रचनामा राखेका विषयहरू संसारभरका कम्युनिस्ट पार्टीका निम्ति पनि अनुरोध गर्नकै निम्ति अगाडि सारिएका हुन्। अझ भन्ने हो भने यो रुसी महासंघको कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टीका सबै नेताहरू र पूर्व सोभियत कम्युनिस्ट पार्टीका नेता तथा अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिनका निम्ति पनि हो।
यो रचनामा उल्लेख भएका सकारात्मक पक्षहरूका आधारमा सोभियत संघका सर्वमान्य नेता पुटिनले आफ्नो कामलाई थोरै पुनव्र्यवस्थित गर्न चाहनुभयो भने पहिलेको मोडालिटीको शासन प्रणालीमा होइन, रुस अहिले अवलम्बन गरेको शासन प्रणालीको मोडालिटीमा सोभियत समाजवाद कायम हुनसक्छ। त्यसो भएपछि संसारकै ठुलो भूभागमा र अर्बौं जनसंख्या रहने समाजवादसहितको दोस्रो विश्वयुद्ध आसपासमा रहेको पहिलेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मोडालिटीमा होइन बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीको मोडालिटीमा आगामी दोस्रो शताब्दीभित्र विश्व कम्युनिस्ट आन्दोलन स्थापित हुनेछ भनेर म विश्वास पनि प्रकट गर्छु।
बहुदलीय प्रतिस्पर्धासहितको राजनीतिक प्रणाली र समाजवादी बजार अर्थतन्त्रसहितको सामाजिक आर्थिक व्यवस्था अवलम्बन गर्दै जब नयाँ सोभियत समाजवाद स्थापित हुनेछ, संसारका अधिकांश मुलुकमा तरंग सिर्जना हुनेछ। एसिया, युरोप, अफ्रिका, ल्याटिन अमेरिकाका बहुसंख्यक जनता ढिलो वा चाँडो यस्तो खाले समाजवादमा आफूलाई समाहित गर्नेछन्। त्यसपछि अमेरिका, उत्तर अमेरिका र अस्ट्रेलियामा रहने जनसंख्याको ठुलो हिस्सा नयाँ विचारबाट प्रभावित हुनेछ।
संसारमा युद्ध होइन, शान्तिको प्रवाह सुरु हुनेछ। अत्यन्त उन्नत स्तरको मानवीय संस्कृति विकसित हुनेछ। त्यसबेला संयुक्त राज्य अमेरिकासमेत समाजवादी बजार अर्थतन्त्रसहितको विश्व महाशक्तिका रूपमा देखापर्नेछ। समाजवादी बजार अर्थतन्त्र अवलम्बन गरेको अवस्थामा पनि संयुक्त राज्य अमेरिका संसारको महाशक्ति राष्ट्रकै रूपमा देखापर्नेछ। तर अहिलेको जस्तो होइन, विश्वव्यापी रूपमा समाजवाद स्थापना गर्न लागि पर्ने शक्तिका रूपमा देखापर्नेछ।
–गौतम राष्ट्रिय सभा सदस्य हुन्।
प्रकाशित: १४ श्रावण २०८१ ०५:१८ सोमबार