३१ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

स्वस्थ भोजन, स्वस्थ सन्तान

हामीले आज खाने ओखतीको प्रभावकारिता परीक्षण विगतमा मुसा, बाँदर जस्ता स्तनधारी प्राणीमा गरिएको थियो। जनावर जाँचमा सकारात्मक देखिएका रासायनिक पदार्थको मात्र ओखतीतर्फको यात्रा अघि बढ्छ। सबै पक्ष अनुकूल हुँदै गए उक्त तत्वले अन्ततः दबाइको मान्यता पाउँछ। रोग निको पार्न सेवन गरिएको ओखतीले सन्चो बनाउनुको बदला थप जटिलता नभित्र्याओस् भन्नका लागि दबाइको मान्यता पाउनुअघि रासायनिक पदार्थले धेरै चरणको परीक्षण पार गर्नुपर्छ। स्तन प्राणी र मानवका बीच धेरै समानता रहेकाले वैज्ञानिकहरू रासायनिक पदार्थको ओखतीजन्य चरित्र जाँच गर्न ल्याब एनिमलमा भर पर्छन्।

९६ प्रतिशत तुलनायोग्य जिन भएको बाँदर अनि झण्डै ९० प्रतिशत मानवीय आनुवांशिक समानता बोक्ने मुसामा गरिएको अन्वेषण मानिसको स्वास्थ समस्या समाधानमा सहायक सिद्ध हुने ठानिन्छ। त्यसैले दशकौँअघिदेखि आयुर्विज्ञानका अनुसन्धानमा स्तनधारी जनावरको प्रयोग सुरु भयो। हजारौँ समान इन्जाइम भएको मुसामा प्रयोग गर्दा कुनै विधि सफल भएको खण्डमा उपचारले रोग जित्ने संभाव्यता अधिक हुने भएकाले स्तन प्राणीमा गरिएको प्रयोगले वैज्ञानिकहरूलाई उत्साहित बनाउँछ।

अझ कतिपय अवस्थामा रासायनिक पदार्थहरू बाँदरमा परीक्षण गर्दा सफल देखिने बित्तिकै रोगीको पाखुरामा घोपिन पुग्छन्। तुरुन्तै इलाज नपाए क्यान्सरका रोगीले ओखतीको प्रतिफल पाउन नसक्ने भएकाले धेरै चरित्रका अर्बुद रोगका ओखतीहरू जनावर परीक्षणपछि अविलम्ब रोगीमा प्रयोग गरिन्छ। बलपूर्वक ल्याबमा विकास गरिएको समस्याबाट मुसालाई छुटकारा दिने दबाइले मानवमा पनि काम गर्ने संभाव्यता धेरै हुने भएकाले एनिमल टेस्टले आयुर्विज्ञानमा सदैव महत्व राख्छ। लामो समयदेखि ल्याब एनिमलहरूले दबाइ विकास अनि आयुर्विज्ञान अनुसन्धानमा अहम् भूमिका खेल्दै आएका छन् अनि यो क्रम भविष्यमा समेत चलिरहने निश्चित छ। स्तनधारी प्राणीमा देखिएका खँदिला बायोलोजिकल अनुसन्धानले वैज्ञानिक समूहको मात्र ध्यान तान्दैन बरु संसारभर चर्चा हुन्छ, समाचार बन्छ।

स्वस्थ खान्की खाँदा धेरै किसिमका रोगलाई पछि धकेल्न सकिन्छ भन्ने कुरा नयाँ होइन। तेलजन्य खानाको अधिक सेवन, प्रशोधित खान्की अनि अत्यधिक क्यालोरीवाला भोजनले मुटु रोग, मोटापा, उच्च रक्तचापदेखि अर्बुद रोगसम्मको सिकार बनिन्छ भन्ने यथार्थ धेरैले बुझेका छन्। स्वस्थ खान्की र सक्रिय जीवन शैली अवलम्बन गर्दा धेरै किसिमका रोग जित्न सकिन्छ भन्ने कुरा नयाँ रहेन। कस्तो भोजन स्वस्थकर छ भन्ने बुझ्दाबुझ्दै पनि स्वादे जिब्रोका कारण मानिस चाउचाउ, चिप्स, कोकदेखि चलानी खान्कीको दास भएका छन्। त्यस्तै पसिना बगाउनुको महत्व जान्दाजान्दै पनि अल्छी तिघ्राका कारण परिश्रम गर्न नरुचाउनेको संख्या कम छैन।

कस्तो भोजन अनि आदत आफ्ना लागि हितकर छ भन्ने ज्ञान हँदाहुँदै किन मानिसले आफ्नो जीवनशैली परिवर्तन गर्दैन त ? जीवनको उत्तरार्धमा आउन सक्ने संभाव्य विपद्का लागि अहिलेको आनन्दलाई हाप्न नसकिने प्रतिक्रिया दिने हिस्सा ठूलो देखियो। स्वादिष्ट भोजन हेरेर दीर्घ आयु बाँच्नुभन्दा मजासँग खाएर अल्पायु रोज्ने मानिस बहुसंख्यक देखिए। आफ्नो कर्मले स्वयम्लाई हानि हुन्छ भने पनि त्यस्ता कदमलाई सहजरूपले वरण गर्न तयार भए। अन्यथा केबल धूमपान र मद्यपानलाई मात्र पनि निषेध गर्ने हो भने संसारको अकाल मृत्युको आकडा आधा कम गर्न सकिने ग्लोबल बर्डेन अफ डिजिजको अन्तर्राष्ट्रिय प्रतिवेदन कार्यान्वयनमा संसारका सबै देश तयार हुन्थे होलान् नै।

मानवले सन्तानलाई अत्यधिक माया गर्छ अनि सन्तति हितका लागि आमाबाबुले आफ्ना सबै सुखलाई तिलाञ्जली दिन तयार हुन्छन् भनिन्छ। आफ्ना लागि हितकर नहुने जान्दाजान्दै पनि आदत परिवर्तन गर्न नसक्ने मानिसले कदाचित वर्तमान जीवनशैलीले स्वयम्को जन्मँदो बच्चाको शरीरलाई प्रतिकूल प्रभाव पार्ने बुझेमा के गथ्र्याे होला ? त्यसै सन्दर्भमा यसै महिना  नेचर जर्नलमा प्रकाशित अनुसन्धानले बाबुको भोजनले भविष्यका सन्तानको स्वास्थ्य अवस्थाको प्रक्षेपण गर्छ भन्ने जानकारी दियो। अस्वस्थकर भोजन गर्नेको सन्ततिमा धेरै किसिमका रोग लाग्ने प्रमाण प्रस्तुत गरे मोडल एनिमलमा गरिएको उक्त अन्वेषणात्मक आलेखमा जर्मन सेन्टर फर डाएबेटिस रिसर्च निकायका प्राध्यापक रफायत टेपरिनोले। दम्पतीको आनुवांशिक पदार्थ (डिएनए) सन्ततिमा सर्ने भएकाले नवजात शिशुमा बाबुआमाको जीवनशैलीले फेरबदल ल्याउँदैन भन्ने ठानिएकामा टेपरिनोको नवीनतम अन्वेषणले उक्त भनाइलाई गलत सावित गर्‍यो।

आलेखमा सन्तानको स्वास्थ्य अवस्थालाई बच्चा जन्मनुअघिको पिताको आदतले डोहोर्‍याउँछ भन्ने कुराको बायोलोजिक चिरफार गरिएको छ।

सन्तान उत्पादनका क्रममा बाबुको आनुवांशिक पदार्थ शुक्रकीटमार्फत आमाको शरीरमा विकास हुने डिम्बमा निशेचित भएपछि भ्रुणको विकास सुरु हुन्छ अनि अन्ततः बच्चा जन्मन्छ। तसर्थ, सामान्य हिसाबमा बाबु र आमा दुवैका जिन सकुशल रहेको अवस्थामा सन्ततिहरू धेरै किसिमका आनुवांशिक रोगहरूबाट मुक्त हुनुपर्ने हो। असल जिनहरूबाट बन्ने इन्जाइमहरू क्षमतावान हुने अनि कुशल प्रोटिनले रोग लाग्न नदिने भएकाले आमाबाबुको जिनको अवस्था सर्वेसर्वा भएको ठानिएको थियो। तर अब्बल जिन हुँदाहुँदै पनि कुशल प्रोटिन बन्न नसकेर मानिस रोगी भएका घटनाले परिस्थितिको थप अध्ययन गर्न बाध्य बनायो अनि नवीन विज्ञान, इपिजेनिटिक्सको जन्म भयो। बाबुको आदतले कसरी सन्ततिको स्वास्थ्यलाई निर्देशित गर्छ भन्ने अध्ययन गर्ने क्रममा इपिजेनिटिक्सको सहारा लिए डा. टेपरिनोले। 

अस्वस्थकर बोसोयुक्त खान्की खाएका बखत उत्पन्न भएको शुक्रकीटसँगै औचित्यबिहीन स्मलआरएनए (आनुवांशिक पदार्थ) हरू पनि उत्पादन हुन्छन्। अनावश्यकरूपले उत्पन्न हुने यस्ता साना आकृतिका आनुवांशिक आरएनएहरू सन्ततिमा सर्छन्। यसरी अभिभावकबाट पुस्तान्तरण भएका आरएनएहरूले शरीरको पावर हाउस मानिने माइटोकोन्ड्रियाको क्रियाकलापलाई दखल गर्छ। ऊर्जा केन्द्रमै प्रहार गरेपछि खाद्य प्रशोधन बिथोलिन्छ। भोजनको दहन प्रक्रिया नियोजित नहुँदा व्यक्तिमा मधुमेहलगायतका मेटाबोलिक रोग लाग्छ। बाबुले खाएको विषाक्त खानाको मूल्य सन्तानले तिर्नुपर्ने भयो।

बाबुले अस्वस्थ खान्की खाँदा शुक्राणुको वातावरण बिग्रन गई सन्तानको समष्टिगत स्वास्थ्यमा प्रभाव पार्छ भन्ने कुरा देखाइएको यो अध्ययन प्रकाशित हुनुभन्दा झण्डै एक दशकअघि एउटा अर्को अनुसन्धान प्रकाशित गरेको थियो युनिभर्सिटी अफ उटाहका प्राध्यापक सि चेनको समूहले। जर्नल साइन्समा प्रकाशित भएको उक्त अन्वेषणले आमाले अत्यधिक बोसोयुक्त खाना खाँदा सन्ततिमा मेटाबोलिक डिजिज देखिन्छ भन्यो।

एक दशकको अन्तरालमा प्रकाशित भएका यी दुई अनुसन्धानले मातापिताको खानपिन, मोटोपन अनि परिश्रमसँग भाग्ने बानीले शुक्रकीट तथा डिम्बको वातावरणमा हस्तक्षेप गरी सन्ततिको स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने देख्यो। जंक फुड तथा बोसोयुक्त खानामा बाँचेका अल्छी अभिभावकका सन्ततिहरूमा आनुवांशिक बनोट असल नै भए पनि रोगको सिकार हुनुपर्ने देखियो। जंक खानामा बाँच्ने बा/आमाको सन्तान रोगी हुन सक्छ भन्ने सन्देश आयो।

एकातिर दर्जनौँ अन्वेषणहरूले बोसोयुक्त खान्की अनि चाहिनेभन्दा अत्यधिक भात खाँदा मधुमेहदेखि विभिन्न चरित्रका मुटु रोगको संभाव्यता उकासिन्छ भनेको अवस्था छ अनि अर्कोतिर आमा बाबु बन्ने उमेर समूहकाले अस्वस्थकर खानामार्फत् आलसी जीवन व्यतीत गर्दा आफ्ना सन्ततिहरू जन्मँदै रोगको गुण बोकेर आउने लक्षण देखियो। उल्लिखित परिस्थितिको विश्लेषण गर्दा सबै उमेर समूहले स्वस्थ खाना र सक्रिय जीवन व्यतीत गर्नुपर्ने देखियो। असल खाना अनि कसरतलाई कार्यतालिकामा राख्नका लागि उमेर र लिंगलाई बाधक ठान्न नहुने भयो। आफ्नो स्वास्थ्यको ख्याल नगरे पनि आफ्ना सन्ततिको शारीरिक कुशलताका लागि समेत युवा समूहले स्वस्थ खान्की र कसरतलाई आफ्नो दिनचर्यामा समाहित गर्न आवश्यक देखियो।

–पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।

प्रकाशित: २९ जेष्ठ २०८१ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App