गठबन्धन सरकारले ‘वर्तमान सरकार देशमा समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रतिबद्ध छ’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ।
हामीले सरकारका नीति तथा कार्यक्रम र बजेट भाषण सुन्दै आएको वर्षौं भयो। हिजो पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र र अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि हामीले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेट भाषण सुन्दै आएका छौं। राष्ट्रिय योजनादेखि जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता नीति तथा कार्यक्रम र बजेटबारे जान्ने उत्सुकता हरेक नागरिकमा हुन्छ। त्यसैले धेरै नागरिकले आफ्ना महत्वपूर्ण काम छोडेर पनि सरकारको नीति तथा कार्यक्रम र बजेट भाषण सुन्न समय छुट्याउने गरेका छन्। सुनिसकेपछि केही आशा र केही निराशाले मिश्रित प्रतिक्रिया जनाउनु र छलफलको विषय बन्नु नियमित प्रक्रिया जस्तै भएको छ।
सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम आद्योपान्त पढौँ। पढुन्जेल रमाइलो लाग्नेछ। आनन्द पनि आउनेछ। सरकारप्रति आशा लाग्नेछ। भरोसा पनि जाग्नेछ। अब त केही हुन्छ कि भन्ने आशाले मन पुलकित पनि हुनेछ। तर त्यो रमाइलो, त्यो आनन्द, त्यो आशा, त्यो भरोसा र त्यो खुसी सरकारको नीति तथा कार्यक्रम पढुञ्जेल मात्रै रहनेछ। पढिसकेर सरकारको कार्यशैलीतर्फ दृष्टि नियाल्नेबित्तिकै ती सबै रमाइलो, आनन्द, आशा, भरोसा र खुसीहरू क्रमशः निराशामा परिणत हुनेछन्। किनभने सरकारले यसरी हरेक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसो गरिनेछ र उसो गरिनेछ भनेर जनतालाई आश्वासन मात्रै दिँदै आएको वर्षौ भइसक्यो। तर ती आश्वासन कहिल्यै पूरा भएका छैनन्।
सरकारले आफ्नो प्रतिबद्धता कहिल्यै पूरा गरेको छैन। सरकारको नीति तथा कार्यक्रम निराश जनताको मनमा फेरि एक पटक आशा जगाएर जनतालाई थामथुम पार्ने हतियार मात्रै हो। आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा जम्मा २१७ वटा बुँदा छन्। ती बुँदाहरूमा विभिन्न विषयमा सरकारका नीति र कार्यक्रम उल्लेख गरिएका छन्। मूलभूतरूपमा आर्थिक र सामाजिक विषयमा उल्लिखित नीति र कार्यक्रमहरूले देश र जनताको भविष्य निर्धारण गर्ने अपेक्षा गर्ने गरिन्छ।
सरकारको नीति तथा कार्यक्रमको बुँदा १५ मा उल्लिखित ‘सङ्घीय शासन प्रणालीको सबलीकरण तथा तहगत योजना प्रणालीमा अन्तरसम्बन्ध कायम हुनेगरी समन्वय र सहजीकरण गरिनेछ’ देखि बुँदा २१५ मा उल्लिखित ‘संविधान र प्रचलित कानुनले निर्देश गरेबमोजिम राज्यका नीति र दायित्वका साथै सरकारमा सहभागी राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प कार्यान्वयन गरी आम नागरिकको सुशासन, विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न तथा अन्तर्राष्ट्रिय जगत्मा देशको सम्मान र प्रतिष्ठा वृद्धि गर्न सरकारले आगामी दिनमा आफ्नो कार्यशैली र कार्यप्रणालीलाई थप चुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउँदै लैजानेछ’ सम्ममा जम्मा ६०१ वटा ‘...नेछ’ छन्।
सरकारको नीति तथा कार्यक्रममा यसो गरिनेछ, उसो गरिनेछ, यस्तो बनाइनेछ, उस्तो बनाइनेछ, यस्तो ल्याइनेछ, उस्तो ल्याइनेछ भन्दै ६०१ वटा ...नेछको प्रयोग गरिएको छ। सरकारले यति धेरै कार्यक्रम ल्याएको देखेर जनता दङ्ग मात्रै होइन, छक्क पनि परेका छन्। संयोग नै भन्नुपर्छ, नयाँ संविधान जारी हुनुअघिको संविधानसभामा पनि सभासद्हरूको संख्या ६०१ नै थियो। पहिला ६०१ सभासद्ले नेपाली जनतालाई सपना देखाउँथे, अहिले ६०१ ‘...नेछ’ ले नेपाली जनतालाई सपना देखाउँदैछ, जुन सपना पूरा हुने कुनै गुन्जाइस नै छैन।
जनता र जनप्रतिनिधिले विरोध नगरेपछि सरकारले ढुक्कले पाँच वर्षको अवधि पूरा गर्न पाउँथ्यो। देशमा शिक्षाको विकास हुन्थ्यो। स्वास्थ्यको विकास हुन्थ्यो। गाउँगाउँमा स्कुल र कलेज खुल्थे। गाउँगाउँमा अस्पताल खुल्थे। बाटोघाटो बन्थे। पुलपुलेसा बन्थे। रेलमार्ग बन्थे। रेल चढेर एकैदिनमा पूर्वको मान्छेले पश्चिम र पश्चिमको मान्छेले पूर्वको यात्रा गर्थे। जनताले तुइनमा झुन्डिएर नदी तर्नु पर्दैनथ्यो। घोडामा चढेर यात्रा गर्नु पर्दैनथ्यो। दुर्गम गाउँमा पनि हेलिप्याड बन्थ्यो।
सुत्केरी बेथाले च्यापेकी महिलाले समयमा उपचार नपाएर मर्नु पर्दैनथ्यो। गाउँ–गाउँसम्म सडक पुग्थ्यो। घर–घरसम्म गाडी गुड्थ्यो। सूचना, प्रविधि र सञ्चारको विकासले जनताको जीवनयापन सहज र सरल हुन्थ्यो। विकासले छलाङ माथ्र्यो। देश समृद्ध बन्थ्यो। जनता सुखी हुन्थे। तर...। तर सरकारको नीति तथा कार्यक्रममा उल्लिखित ‘हुनेछ’, ‘गरिनेछ’, ‘बनाइनेछ’ र ‘ल्याइनेछ’ जस्ता ‘...नेछ’हरू‘भयो’, ‘गरियो’, ‘बन्यो’, ‘ल्याइयो’ मा परिणत नहुँदा जनता सधैं निराश हुन बाध्य छन्। गरिबी र अभावको पीडा बोकेर बाँच्न विवश छन्। हेर्नुछ, यी ६०१ भविष्यत्कालका वाक्यहरू भूतकालमा परिणत हुनेछन् कि सधैँ भविष्यत्कालमै रहिरहने छन् ?
प्रकाशित: १३ जेष्ठ २०८१ ०७:३९ आइतबार