प्राचीन ग्रिसमा फोबोस नामक एक देवता थिए जो शत्रुहरूले आक्रमण गर्ने हुन् कि भन्ने शंकाले सधैँ भयभित भैरहन्थे। त्यसैले उतिबेला नै फोबोस डरको पर्यायवाची बन्यो। अनि फोबोसबाट फोबिया शब्द उत्पत्ति भयो। जसको शाब्दिक अर्थ प्रबल भय हो।
अतः मनोवैज्ञानिक दृष्टिमा बिनाकारण वा कुनै स्थिति–परिस्थितिहरूको सामाना गनुपर्दा आवश्यकताभन्दा बढी भयभित हुने मानसिक समस्या फोबिया हो। हाल विश्वका १० प्रतिशत मानिस कुनै न कुनै फोबियाद्वारा पीडित छन्। तर शिक्षा र चेतनाको कमी तथा सर्वसुलभ स्वास्थ्य सेवाको अभावले गर्दा निकै कम मानिसले मात्र फोबियाको औषधि उपचार गर्ने गर्छन्। सयममै यसको समाधान नखोज्ने व्यक्तिको सारा जीवन नै फोबियाको फन्दामा बित्छ।
फोबिया अनेकौं रूपरंगमा प्रकट हुन सक्छ। मुख्यतया फोबियालाई सामाजिक भय (सोसल फोबिया), खुला ठाउँ वा स्थानको भय (एगोरोफोबिया) तथा विशिष्ट भय (स्पेसिफिक फोबिया) गरी तीन वर्गमा वर्गीकृत गर्न सकिन्छ। विशिष्ट फोबियाभन्दा पनि सोसल फोबिया तथा एगोरोफोबिया बढी कष्टकारक हुन्छन्। र, समयमै समाधान नखोजिएमा यस्ता फोबियाले व्यक्तिलाई मानसिकरूपमा अपाहिज बनाउन सक्छन्।
सामाजिक सभा, कार्यक्रम, मानिसको समूह वा यस्ता परिस्थितिहरू जहाँ मानिसले चियाउने, हेर्ने वा मूल्यांकन गर्ने सम्भावना हुन्छ, त्यस्तो ठाउँमा जान वा सहभागी हुन डराउनु नै सामाजिक फोबिया हो। यस्तो फोबियाबाट ग्रस्त मानिसलाई सँधै चिन्ता हुन्छ कि अरू मानिसले उसलाई कमजोर, मूर्ख तथा घटिया नठानोस्। त्यसैले सामाजिक फोबियाबाट पीडित व्यक्तिले सामाजिक कार्यक्रममा जान, भोजभतेरमा खान/पिउन, अगाडि सरेर बोल्न तथा भाषण गर्न डराउँछन्। सकेसम्म यस्तो अवस्थाबाट तर्किन्छन्। यदि डरजन्य परिस्थितिहरू सामाना गर्नुपर्यो भने निकै चिन्तित हुन्छन् र उनीहरूलाई घबराहटको दौरा (प्यानिक अट्याक) पनि आउन सक्छ। एक आम सामाजिक फोबिया हो, भाषणको भय।
एगोरोफोबियाबाट ग्रस्त व्यक्ति खुला ठाउँहरू वा भीडभाड हुने ठाउँहरूमा जान डराउँछन् र प्रायः घर छोडेर बाहिर जाँदैनन्। घरमा नै बसिरहन्छन्। पटक–पटक प्यानिक अट्याक बेहोरेका व्यक्तिमा यस किसिमको फोबिया विकसित हुने गर्छ। सामान्यता एगोरोफोबियाबाट ग्रस्त व्यक्ति सार्वजनिक ठाउँहरूबाट डराउँदैनन्, तर यदि यस्तो ठाउँहरूमा पैनिक अटैक आयो भने त्यहाँबाट भाग्न वा गुहार पाउन गाह्रो हुने काल्पनिक भयले उनीहरू डराउँछन्। तर सबै घबराहटको दौरामा परेका व्यक्तिहरूमा एगोरोफोबिया विकसित भएको हुँदैन।
विशिष्ट फोबियालाई पहिला सामान्य फोबिया भन्ने गरिन्थ्यो। सोसल फोबिया तथा एगोरोफोबियाबाहेक अन्य सबै फोबिया यस वर्गमा पर्छन्। जस्तै– साइनोफोबिया (कुकुरको डर), क्लस्ट्रोफोबिया (बन्द स्थानको डर), एक्रोफोबिया (अग्लो ठाउँ वा स्थानको डर), अकोलोफोबिया (भीडको डर), जुफोबिया (जनावरको डर), फोटोफोबिया (प्रकाशको डर), फोनोफोबिया (तीव्र ध्वनिको डर), हिमोफोबिया (रगतको डर), टक्सिफोबिया (विषको डर) तथा थनाटोफोबिया (मृत्युको डर) आदि।
विशिष्ट फोबिया समाजिक फोबिया तथा एगोरोफोबिया जस्तो गम्भीर हुँदैन। यस्तो फोबियाले व्यक्तिको दैनिक जीवन र प्रगतिमा खासै कठिनाइ पैदा गर्दैन। जस्तो कि साइनोफोबिया (कुकुरको डर) बाट ग्रस्त व्यक्तिलाई कुकुर देखे तर्किए भयो। तर सामाजिक फोबिया तथा एगोरोफोबियाबाट ग्रस्त अध्यापक, नेता तथा कलाकारहरूको जीवन ज्यादै कष्ट र कठिनाइपूर्ण हुन्छ। उनीहरू फोबियाका कारण सधैं तनाब, अन्तद्र्वन्द र कुण्ठामा बाँच्न बाध्य हुन्छन्। यस्तो स्थिति धेरै समयसम्म रहिरहेमा अनेकौं मानसिक समस्या पनि देखा पर्छन्।
फोबिया देखा पर्ने अनेक कारण छन्। कतिपय व्यक्तिमा फोबिया आमा/बाको जिनबाट आउने गर्छ र यो अनुकूल वातावरण पाउनासाथ छोरा/छोरीमा देखा पर्छ। यस्ता व्यक्तिको नातागोताहरूमा समेत फोबिया हुने संभावना अन्य आममानिसको तुलनामा बढी हुन्छ। तर, फोबियाको प्रमुख कारणचाहिँ मानसिक हो। व्यक्तिको अवचेतन मनमा रहेको चिन्ता, भय तथा शंकाहरूका कारण नै अधिकांश फोबिया पैदा हुन्छन्। कतिपय मनोवैज्ञानिकका अनुसार भयभित हुन वातावरणले सिकाउँछ। जस्तै–कुनै बालकलाई कुकुर आयो अब तलाई टोक्छ भनी तर्साउने हो भने त्यो बालक साइनोफोबियाको शिकार बन्ने प्रबल सम्भावना हुन्छ।
– बानियाँ साइकोथेरापिस्ट हुन्।
प्रकाशित: १० जेष्ठ २०८१ ०७:०० बिहीबार